‘बन्दुकले विश्राम लिएपछि’ कवितासङ्ग्रह (२०८१) का रचनाकार धनेश्वर पोख्रेल (जन्म वि.सं. २०१४) हुन् । नेपाली भाषाका माध्यमबाट विचारलाई लिखित रूपमा प्रकट गरिरहने निरन्तर क्रान्तिका एक अगुवा कविका रूपमा उनलाई हामी चिन्दछौँ । यसअघि पोख्रेलका विद्रोहको युग कवितासङ्ग्रह (२०६३) र बेनीमोर्चाको शब्दचित्र संस्मरण सङ्ग्रह (२०६७) प्रकाशित भइसकेको छ । आफ्ना साहित्यिक कृतिमा आफ्नो जीवनको भोगाई, समर्पण र सिङ्गो राजनीतिक परिदृश्यलाई एउटा लयमा पस्कने क्षमता राख्ने कवि पोख्रेल अविचल आस्थाका यात्रा हुन् । प्रकाशित दुई कवितासङ्ग्रह र एउटा संस्मरणसङ्ग्रह बाहेक उनका निबन्ध र काव्य विधाका धेरै फुटकर रचना विभिन्न पत्रपत्रिकामा प्रकाशित रहेका छन् । आफू जीवनको अठसठ्ठी वर्षतिर पुग्दा उनले लेखनको यात्रालाई पाँच दशकको दीर्घयात्रामा जोडिसकेको पाइन्छ । २०३३ सालमा कविता प्रकाशित गरेका कवि पोख्रेल लेखनको लयलाई एउटै हिसाबले निरन्तरता दिने कवि नेता हुन् । २०३१ सालदेखि उनले कम्युनिस्ट पार्टीको सदस्यता लिए । २०३३ सालदेखि कविता छपाए । कवि कृष्णसेन इच्छुकको जेल जीवनका साथी बने, शिक्षण पेशालाई छाडेर राजनीतिको मूल प्रवाहमा होमिए ।
कवि धनेश्वर पोख्रेलका लागि राजनीतिका लागि कविता आवश्यक देखियो, सङ्गठनका लागि कविता चाहियो अनि चिन्तनको छाप छोड्ने माध्यम साहित्य बन्यो । विचारलाई सम्प्रेषित गर्न उनले निरन्तर लेखिरहेका छन् । उनको कवितासङ्ग्रह विद्रोहको युग (२०५७–०६२ समय समेटिएको) पूर्वका कविताहरू आन्दोलनको आँधीबेहरीमा हराए । तथाकथित राज्यले उनलाई धेरै यातना दियो । उनका विचारका प्रतिचाप देखिने रचना खोस्यो । उनी २०५७ पछिका कविताहरूबाट मात्र चिनिनुपर्ने स्थिति बन्यो । २०३७ सालमा नै पक्राउ परेका पोख्रेलले छाप्न तयार पारेको पुस्तक ‘जेल सङ्घर्षको सुसेली’ छाप्नै पाएनन् । त्यसपश्चात् २०५४ सम्मका कविताहरूले सङ्ग्रहमा समावेश हुने अवसर नपाएरै नाश हुनु प¥यो । झण्डै १६ वर्ष उमेरबाट राजनीतिको रापिलो र रातोपथमा हिँडेका पोख्रेल मूलतः राजनीतिक व्यक्तित्व हुन् । उनले राजनीति गर्न थालेपछिका उत्पादनको क्षेत्र साहित्य हो । राजनीति र साहित्यलाई निकै राम्रोसँग सन्तुलित ढङ्गले अगाडि बढाउन चाहने पोख्रेल आफैँमा एउटा जीवित इतिहास हुन्, उनको जीवनयात्रा सङ्घर्षको एउटा मूल पाठ हो । उनको राजनीतिक व्यक्तित्व जेलयात्रामा पनि कमजोर भएन र लेखन यात्राले विद्रोहको मैदानबाट पनि वर्गयुद्धका व्याकरणमा योगदान गरिरह्यो । उनको कवितालाई वर्गयुद्धको सापेक्षतामा हेर्ने हो भने मात्र पाठकले कविताको स्वाद लिन सक्छ न कि एउटा लहडको उपज ।
‘बन्दुकले विश्राम लिएपछि’ कवितासङ्ग्रह (२०८१) ले कवि पोख्रेलका २०६३ पछिको विचार र गतिविधिलाई केन्द्रीय परिवेशका रूपमा लिएको पाइन्छ । झण्डै ११ वर्ष लामो कालखण्ड भित्र लेखिएका कविताहरू यस सङ्ग्रहमा परेका छन् । कवितासङ्ग्रह भित्रका बयालिस कविताहरूमध्ये जम्मा ३ ओटा मात्र गीतिलयमा संरचित छन् भने उनन्चालीस ओटा गद्य कविता समावेश रहेका छन् । कवितासङ्ग्रह भित्र कविले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था भित्रका अनेक पक्षलाई घतलाग्दो शैलीमा अभिव्यक्त गरेका छन् । साहित्य पनि प्रगतिशील र अप्रगतिशील हुन्छ र ! साहित्य सबै त प्रगतिशील नै हुन्छ भन्ने विचारविहीनहरूलाई साहित्य भनेको मूलतः द्वन्द्वात्मक चेतनाको इतिहास अर्थात् दस्तावेज हो भनेर जवाफ दिने पोख्रेल वर्गभित्र पनि उत्पीडनका आयाम खोतल्नुपर्ने कुरा उद्घाटन गर्दछन् । ‘अपेक्षा’ शीर्षकको कविताभित्र उनको सूत्रात्मक अभिव्यक्ति यस्तै छ;
तिमी मलाई क्रान्ति देऊ
म तिमीलाई त्याग र बलिदान दिन्छु
तिमीले दिएको क्रान्ति
अरू मैले दिएको त्याग र बलिदानले
राष्ट्र स्वाधीन हुनेछ
हाम्रो वर्गले मुक्ति पाउनेछ
त्यो मुक्ति नै
राष्ट्रको मुक्ति हो
त्यो मुक्ति नै
जात, वर्ग, क्षेत्र र लिङ्गको मुक्ति हो । (पृ. ६७)
यस कवितासङ्ग्रहको भूमिकामा ‘माक्र्सवादीहरूले साहित्य सिर्जना गर्दा श्रमजीवीवर्गको पक्षधरता लिएको हुनुपर्छ । जहाँ पसिनाको उच्चतम मूल्यबोध गरिएको हुन्छ ।’ (पृ. ८) भने झैँ कवि पोख्रेलका कविताले सपाट जनजीवनलाई छोएर मुक्तिको गीत कर्मद्वारा गाउने वातावरण नेतृत्वले दिनुपर्ने कुरालाई प्रकट गरेका छन् । राष्ट्रको मुक्तिलाई क्रान्तिकारीहरूले सबै मुक्तिको मूलपाठ मानेका छन् र त्यही मार्गमा अविचल अगाडि बढ्न आह्वान समेत गरेका छन् ।
नेपालको राजनीतिक इतिहासमा २०६३ सालपछिको समय उपभोक्तावादीहरूका लागि निकै लाभप्रद समय होला तथापि साँचो क्रान्तिकारीहरूले आफ्नो अस्तित्व कमजोर बनाएको समय हो भन्ने आशयको सार कवितासङ्ग्रहको शीर्षकमा झल्किएको छ । जनयुद्धपछि तीब्रगतिमा विकास भएको राजनीतिक घटनाक्रमले पहिलो संविधानसभाबाट प्राप्त गर्नु उपलब्धि नपाएपछि सामन्त, दलाल र काला व्यापारीहरूको प्रतिनिधिहरूले दोस्रो संविधानसभा कब्जा गर्ने स्थिति बन्यो । त्यसमा तत्कालीन संसदीय राजनीतिको अङ्गणितमा फसेका नेतृत्व जिम्मेवार हुनैपर्छ भन्ने कविताको पेटबोली छ । सरकार र युद्धरत पक्षका बिचमा सहमति भए पछाडि नै लत्रन पुगेको नेपाली जनताको शीर आजका मितिसम्म उठ्न सकेको छैन । पुरानै सत्ताधारी ठेकेदारहरूले विदेशीशक्तिको रुचि र तालिकामा खास पात्रहरूलाई प्रयोग गर्दा यो स्थिति आएको हो भन्ने ठोकुवा कवि गर्दछन्;
रातो देखिँदैमा
सबै खुन नहुँदा रहेछ
पहेँलो देखिँदैमा
सबै सुन नहुँदो रहेछ
खुन र सुन
विशेष धातुमा मात्र हुँदो रहेछ । (पृ. ३७)
नेपाली माटोमा रगतको खोलो बगाउन तयार भएर थालिएको जनयुद्धमा धेरै युवाहरूले बलिदान गरे । लाखौँ जनताले सहयोग र समर्थन गरे अनि हजारौँ योद्धाहरू आज पनि अभावको चौबाटोमा चौपट्ट जीवन बिताइरहेका छन् । ‘एक लाल सुन’ कविताले एक थोपा रगत शरीरमा रहेसम्म निष्ठापूर्वक लाग्ने योद्धाको रगत नै वास्तविक ऊर्जा हो भन्ने आशय प्रकट गरेका छन् भने सुनलाई साँच्चै एउटा उपयोगी धातुको रूपमा सदुपयोग गर्न सुन चिन्ने क्षमता बनाउनु पर्छ भन्दछन् कवि । सुन चिनेर हो कि कतै जनताको मुद्दा बोकेर न्याय दिन सिंहदरबार पुगेका उच्च ओहोदाका कमरेडहरू सुनको व्यापारमा लागेको यो समयले देखाएको आजको चरम विकृतिको एउटा दृश्य पनि हो । आफ्नो यात्राको एउटा सहयोद्धा कवि कृष्णसेन ‘इच्छुक’लाई सम्झँदै उनले लेखेका छन् ।
सङ्कल्प नामक शीर्षक दिएर लेखिएको कवितामा कविले त सङ्कल्प गरेका छन् नै उनले नेतृत्व बदमास हुँदा गुमाउनु परेको यात्राका अवसरप्रति पनि सङ्केत गरेको पाइन्छ । कविले आफ्नो रोजाइको धार र धारागत लेखनमा अभिव्यक्त गरेको उत्पीडित वर्गको पीडालाई सम्बोधन गर्दै मुक्तिको यात्रामा सामेल भई आमूल परिवर्तन गर्ने चाहना कविताहरूमा प्रतिबिम्बित भएको देख्न सकिन्छ ।
सुदूर भविष्यको निम्ति
निश्चित गन्तव्यमा पुग्न
फेरि अविचलित अनन्त यात्राको थालनी गरौँ
साहसका साथ आऊ
जोखिमका विरुद्ध
फेरि अर्को जोखिम उठाएर निर्णायक युद्ध लडौँ । (पृ. ७१)
मुक्तिको यात्रामा लाग्नेहरूले आफ्नो वर्गीय परिचयलाई छाड्दै जाँदा झन् मुक्तियुद्धले अपेक्षा बनाएको छ । विघटित मूल्यलाई फर्काउन चिन्ता मात्र गरेर पुग्दैन मूल्यको निम्ति एकताबद्ध हुनैपर्दछ भन्ने आशय कवितामा व्यक्त भएको देखिन्छ । २०५२ सालमा जुन अठोटका साथ मुक्तिको निम्ति झण्डा उठाएको हो त्यसले आंशिक मात्र प्राप्ति ग¥यो जो खासै निम्नवर्गको जीवनमा अनुवाद हुनै सकेन । त्यसप्रति प्रगतिवादी धाराका अन्य लेखकहरू जस्तै कवि धनेश्वर पोख्रेल पनि असन्तुष्ट रहेका छन् । हुन त हामीले विश्व इतिहासलाई हेर्ने हो भने पनि नेपालका रिमालदेखि रूसी क्रान्तिका गोर्की, चिनियाँ क्रान्तिका लुसुन आदि स्रष्टाले सत्ता प्राप्तिमा लाग्ने नेतृत्वप्रति आगो नै ओकलेका छन् । कवि पारिजातको पछिल्लो कालको लेखन अनि आफूलाई निरन्तर रूपमा परिवर्तनको पक्षमा उभ्याउन प्रयत्न गरिरहेका कविहरूको क्रममा पोख्रेलले पनि उभिने आँट देखाएका छन् ।
विचारलाई कलात्मक ढङ्गले स्थापित गर्न गाह्रो हुने कुरा समेत स्वीकार गर्दै कवि आफूलाई त्यही बाटोमा जान साधनामा रहेको तर्क गर्न समेत चुकेका छैनन् । उनी भन्दछन्, कतिपय कविताहरू बिम्ब प्रधान हुनुभन्दा पनि अलि सोझो र नारा प्रकृतिका हुन गएका छन् । (पृ. १७) हो यही हो आफूलाई सपार्ने सोच र आत्मसमीक्षा । कविमा घमण्ड छैन तथापि कविताभित्र केही पक्ष नभइदिएको भए भन्ने त लाग्छ नै ।
दलाली चाकडी सबै उस्तै छ
जनतासँगको तुच्छ व्यवहार
उत्पीडनमुखी कार्यशैली उस्तै छ
कहिलेकाहीँ त उत्ताउलो भएर
अनेकथरि बोल्छ मान्छे
सत्ताको टावरमा बसेको मान्छे
विवेक र स्वाभिमान गुमाएको मान्छे । (पृ. १००)
कविको विचार अभिव्यक्तिमा सहमत नहुनु पर्ने कुरा केही छैन तथापि लाग्नुपर्ने त हामी अर्कै बाटो हो नि ! कविले श्रमको जीवन, सङ्घर्षको इतिहास र आशाको मुहानतिर कै कुरा गरे हुने जस्तो पाठकले महसुस गर्दछन् । आखिर व्यक्ति बिग्रिएको हुँदैनथ्यो भने कमजोर अवस्था आउने थिएन नै । आज हामीले विश्वास गरेका एक÷एक ओटा थुप्रै जगका ढुङ्गा हल्लिएकाले नै यो स्थिति आएको हो । मान्छेहरूले प्रकृतिसँग सिकेर प्रकृतिसँग सहकार्य गर्नुपर्ने र एउटा सुन्दर सुदूर यात्रा तय गर्नै पर्दछ ।
पल्लो डाँडामा फ्याउरो करायो
वल्लो डाँडामा कुकुर भुक्यो
उता फ्याउराहरू कराउँदै गए
यता कुकुरहरू कराउँदै गए
आफ्नो सुदूर भविष्यको गन्तव्यमा पुग्न
नयाँ सडकमा हात्ती निरन्तर लम्किरह्यो । (पृ. १०१)
यही त हो प्रकृतिको नियम । हामीले सबै बुझेर आफ्नो यात्रा तय गर्नैपर्छ । दमित र उत्पीडितहरूका पक्षमा आवाज उठाउन लागिरहनु पर्छ । अवरोधक धेरै छन् । अवरोध छिचोल्दै अगाडि बढ्नु पो बढ्नु । कवि आफ्नो लेखकीय विचारलाई केन्द्रमा राख्दै अगाडि भन्छन्;
बन्दुकले विश्राम लिएपछि
हिजोसम्म रक्तकुण्डमा नुहाएर
मान्छेको मासु लुछ्न पल्केका सैतानहरू
आज खुल्ला सडकमा दिनदहाडै
ताण्डव नृत्य गर्न थालेको धेरै भो । (पृ. ७६)
बन्दुकको बलमा शासकहरू लामो समयदेखि जनताको अधिकारलाई दबाएर लुटको स्वर्ग स्थापित गरिरहेकै थिए । त्यसका विरुद्ध विचारको नेतृत्वले बन्दुकद्वारा प्रतिरोध ग¥यो । अनेकौँ बाधाका विरुद्ध पनि जनतामा आशा जगायो । मृत्युभन्दा पनि मुक्तिको आशाले आलोकित बनेको समाज पुनः निराशाको यात्रामा निस्कन खोज्दा कवि चिन्तित छन् । जीवनयात्रालाई विविध कोणबाट हेर्न र पुनः दुई दशक अगाडि बिसाएको बन्दुकको सम्झना गर्न पुगेका छन् कविले । समयलाई एउटा उपलब्धि पछि अर्को उपलब्धिमा निरन्तर रूपमा लैजान नसक्दा झन् प्रतिक्रियात्मक पक्ष सबल बन्दोरहेछ । श्री ५ का ठाउँमा श्रीपेच पहिरिएर आएकाहरूप्रति लक्षित गर्दै कवि खबरदारीको भाषा प्रस्तुत गर्दछन् । सत्ता आवाज दबाउन बन्दुक प्रयोग गरिरहेछ, जनताको जीविकाको सवाल झन् कमजोर बनिरहेको पृष्ठभूमिमा निराशाले होइन आशाका नजरले निरन्तर आफूलाई खार्न कविताले मार्गनिर्देश गरेको छ ।
निष्कर्ष
नेतृत्वको सल्लाहले होइन, जनताको आवश्यकता र जुझारुपनले नै क्रान्ति अगाडि बढ्छ । सत्ताको दलालीले नेतृत्वको पहिचान गुम्छ । जनताको चेतनास्तर नउकासे जनतालाई शत्रू ठान्ने खेलमा सहभागी हुनैपर्ने स्थिति आउँछ । २०५२ फागुन १ पूर्वको अनेकौँ अभ्यास र तत्पश्चात्को एक दशकको यात्राले ल्याएको आशा मर्न नदिन कवि धनेश्वर पोख्रेलको ‘बन्दुकले विश्राम लिएपछि’ कवितासङ्ग्रहले योगदान गरेको छ । म र मैले गरेको नभन्ने तर मेरा कमजोरीलाई सच्चाउन सचेत बन्नुपर्ने अठोट यहाँ गरिएको छ । यसलाई प्रतिबद्धताको पुनर्यात्रा भन्न सकिन्छ । यात्राका अनेकौँ कमजोरी हटाएर पुनः यात्राले सुनौलो गन्तव्य छाड्नु हुँदैन । कवितासङ्ग्रह भित्र अनेकौँ भाव समाहित रहेका छन् । कवि एउटै मात्र योजनामा छन् जहाँ उनी अरूभन्दा बढी योगदान दिँदै न्याय र समानताको समवेत आवाजलाई अझैँ परसम्म सुनिने गरी आह्वान गर्न चाहन्छन् ।
tejkamere@gmial.com






























