यस समयका कविता

यस समयका कविता

कविता

दुःखको वर्णमाला

चौताराहरु मासिए
चौताराको चिसो हावा बहन छाड्यो
गाउँ हरायो
गाउँको गोरेटो हरायो
बेसी आवाद बन्यो
माटोले लिपेका
घरहरु हराए
खरको छानो हरायो
सिमेन्टको ढलान आयो
नदीको पानी
सुरुङ छि¥यो
बगरहरु बढे
बगरको उष्णता बढ्यो
टुकी निभ्यो
र बिजुली बत्तीले
घरको उज्यालो फेरियो

मान्छेको चलन फेरियो
मान्छेको दलन फेरियो
प्रेम हरायो
सद्भाव हरायो
चिनजान हरायो
संवेदना हरायो

प्रविधिले विकास ग¥यो
र, प्रकृतिको विनाश बढ्यो

उपरान्त
मान्छेहरुले लेखे
पृथ्वीबाट लोपोन्मुख मान्छे जातिको
दुर्दान्त एउटा कथा

र, लेखे– दुःखको वर्णमाला ।
०००

गाजाका नानीहरू

भोक त्यति सजिलो कहाँ छ ?
ओ, युद्धका सम्राटहरू
जति सजिलो छ
तिम्रो युद्धविराम

तिम्रा युद्धले भत्काएको
गाजाको आकाशलाई नियालिरहेका
ऊ ती बेघरबार
र, आफन्त गुमाएका
नानीहरूलाई हेर
भोकभन्दा बढी
अहिले तिनीहरूका आँखाले
कसरी तिमीहरूप्रति
घृणाको आगो ओकलिरहेका छन् ?

ओ युद्धका सम्राट्हरू
तिम्रा युद्धहरूभन्दा
खतरनाक हुन्छन् उनीहरूका आँखाले
ओकलिरहेको घृणाको आगो ।
०००

देश

कहिले
दलालहरुका
गोजीभित्र उपेक्षापूर्वक
किचिएको छ

कहिले
ठेकेदारहरुको
कोटेशनमा बेढङ्गले
थिचिएको छ

कहिले
तस्करहरुका
हातहरुले निर्ममसँग
मिचिएको छ

सधैं
दलाल,
ठेकेदार
र तस्करहरुले
चलाइरहेको सरकारको
कार्यसूचिहरु बोकेर
हिँडिरहेको छ
देश
०००