१.उठान
कथा लेख्नु भनेको कलाको एउटा रूप निर्माण गर्नु हो किनभने कथा स्वयंमा कलाको एउटा विधा हो । कलाको सर्वथा महङ्खवपूर्ण विशेषता भनेको यो सुन्दर हुनु हो । सुन्दर नभई कला हुँदैन । त्यसैले कथा पनि सुन्दर हुनु अनिवार्य छ । आज हामी यसै विषयमा छलफल गर्दै छौं । यो विशुद्ध सैद्धान्तिक छलफल मात्र छैन । हाम्रा अगाडि एक दर्जन स्रष्टाहरूले प्रस्तुत गरेका कथाहरू पनि छन् । त्यसैले यो एक प्रकारको कार्यशाला जस्तै बनेको छ । तिनै कथालाई सन्दर्भ बनाएर हामी यो छलफल गर्दै छौं । त्यसैले यो छलफल सार्थक हुने अपेक्षा गर्नु अन्यथा हुने छैन । अर्को महङ्खवपूर्ण कुरा यो छलफल केवल कथाको विधागत छलफलमा केन्द्रित व्याख्यानमा आधारित छैन । सुन्दर प्रगतिवादी कथालेखनका आधार र प्रक्रियामाथिको छलफलमा वरिष्ठ प्रगतिवादी कथाकार इस्माली तथा समालोचकद्वय प्रा. डा. जगदीश चन्द्र भण्डारी र रोशन जनकपुरी पनि सहभागी हुनुहुन्छ र उहाँहरूका विचारसमेतको संश्लेषणबाट प्रगतिवादी कथारचनाका आधार र प्रक्रियाबारे हामी ठोस र महङ्खवपूर्ण निष्कर्षमा पुग्नेछौं । यस अपेक्षासहित अब म मूल विषयबारे आफ्ना धारणा राख्न चाहन्छु । यस छलफलमा इस्मालीजीले कथाको विधागत रचनासन्दर्भबारे धारणा राखिसक्नुभएकाले म कथाको विधाताङ्खिवक पक्षमा भन्दा समग्र सौन्दर्यशास्त्रीय सन्दर्भमा धारणा राख्नेछु ।
२.कस्तो कथा सुन्दर हुन्छ ?
हाम्रो आजको छलफलको मूल प्रश्न होः कस्तो कथा सुन्दर हुन्छ ? के भयो भने कथा सुन्दर हुन्छ ? यसैसँग जोडेर यस्तो प्रश्न पनि गर्न सकिन्छः के कुनै सुन्दर भनिएको वस्तु (कलासमेत) सबैका लागि सुन्दर हुन्छ ? पहिला अन्तिम प्रश्नको उत्तरबारे विचार गरौं । यसको उत्तर हो– सुन्दर भनिएको वस्तु सबैका लागि सुन्दर हुँदैन । अर्थात् सुन्दरको अनुभूति सार्वभौम रूपमा सबैले समान रूपले गर्दैनन् । वर्गीय समाजमा सुन्दरको अनुभूति पनि वर्गसापेक्ष हुन्छ । पारिजातको शिरीषको फूल एकथरी पाठक/ समीक्षकका लागि निकै सुन्दर छ । यसले नेपाली उपन्यासलाई विश्वस्तरमा पु¥याएको विचार शङ्कर लामिछाने प्रकट गरे तर गोविन्द भट्टले यसलाई ‘कागजको फूल’ भने । उनलाई यो वासना नभएको फूल अनुभव भयो अर्थात् सुन्दर अनुभव भएन । उनलाई यस्तो किन लाग्यो भने यो आम श्रमजीवी, उत्पीडित मान्छेका लागि उपयोगी छैन किनभने यसले जीवन बाँच्न सिकाउँदैन, यसमा जीवनप्रति राग छैन । यसका विपरीत यसमा विराग, विसङ्गति र मृत्युकामना छ । यसले विसङ्गति, शून्यता र मृत्युलाई उदात्तीकरण गर्छ । हामी जीवनलाई प्रेम गर्छौं, जीवन बाँच्न चाहन्छौं र सुन्दर सार्थक जीवन बाँच्न चाहन्छौं । त्यसैले हाम्रा निम्ति शिरीषको फूल सुन्दर छैन । यसले हाम्रा सौन्दर्यरुचिलाई तुष्ट गर्दैन ।
हाम्रो उद्देश्य भिन्न छ र स्पष्ट छ । हामी किन लेख्छौं भने हामी जीवन बदल्न चाहन्छौं । बहुसङ्ख्यक मानिसहरूलाई उत्पीडन गर्ने सामाजिक संरचना र उत्पादनसम्बन्ध बदल्न चाहन्छौं । हामी समाजरूपान्तरणका पक्षमा उभिएका लेखक हौं । त्यसैले सुन्दर समाज निर्माण गर्ने समाजरूपान्तरणको प्रक्रियासँग जोडिएका, त्यसबाट सम्बल प्राप्त गरेर लेखिएका रचना सुन्दर हुन्छन् । जीवन बाँच्ने उपक्रममा र समाज बदल्ने अभियानमा सङ्घर्षरत मानिसहरूका कथा भन्ने र समाज बदल्नका लागि तिनलाई उत्प्रेरित÷उद्वेलित गर्ने रचना (कथासमेत) सुन्दर हुन्छन् । जीवनका कुण्ठा, विसङ्गति र विरागको रोइलो जति सुन्दर शब्दमा, जति चमत्कारी ढङ्गले भनिए पनि सुन्दर हुँदैन ।
३.सुन्दर कथा (कला) निर्माणको संज्ञानात्मक आधारः यथार्थको संज्ञान र यथार्थप्रतिको निष्ठा
साहित्यका अनेक दार्शनिक वैचारिक धाराहरू छन् र सुन्दरसम्बन्धी तिनका आ–आफ्ना मान्यताहरू पनि छन् । हामी यथार्थवादी रचना (कलासाहित्य)का पक्षमा छौं । हामी यथार्थवादी रचना सुन्दर हुन्छ भन्ने मान्यतालाई स्वीकार गर्छौं । त्यसमा पनि प्रकृतवादी यथार्थ होइन, गतिशील यथार्थको अभिव्यक्ति सुन्दर हुन्छ भन्ने समाजवादी यथार्थवादी मान्यतालाई हामी पछ्याउँछौं । कलाको यथार्थवादी चरित्रबारे समाजवादी यथार्थवादको मान्यतालाई स्पष्ट पार्ने क्रममा माक्र्सवादी सौन्दर्यचिन्तक लुना चास्र्की ‘समाजवादी यथार्थवाद के हो ?’ भन्ने प्रश्नको उत्तर दिँदै भन्छन्, “सबभन्दा पहिला यो पनि यथार्थवाद हो, यथार्थप्रतिको निष्ठा हो” । उनी अगाडि भन्छन्, “हामी यथार्थबाट असम्पृक्त रहन सक्दैनौं । यो हाम्रा कार्यको क्षेत्र, सामग्री तथा कार्यभार समेत हो” । समाजवादी यथार्थवादी साहित्य हुनका लागि यथार्थवादी हुन, स्रष्टामा यथार्थप्रति निष्ठा हुन कति आवश्यक छ भन्ने कुरा चास्र्की यस भनाइले स्पष्ट पार्दछ ।
कुनै रचना (कथा होस् वा अन्य कुनै विधा) सुन्दर छ कि छैन भन्ने कुराको एउटा सूचक के हो भने त्यसले हामी बाँचेको र बाँचिरहेको रहेको जीवन(परिवेश)लाई कति सत्यतामा, कति सूक्ष्मतामा र कति संवेदनापूर्ण ढङ्गले प्रस्तुत गर्छ ? त्यसमा जीवनको बोध कति गहिरो छ ? अर्थात् जीवनलाई सत्यतामा, सूक्ष्मतामा र संवेदनायुक्त ढङ्गले प्रस्तुत गरिएको कला सुन्दर हुन्छ किनभने यस्तो कलाले हामीलाई जीवनयथार्थको संज्ञान गराउँछ । संसार (जीवन) बदल्नु जरुरी छ तर त्यसका लागि संसारका विद्यमान चरित्रको बोध वा संज्ञान पनि उत्तिकै आवश्यक छ । संसारमा विद्यमान कुरूपता, असङ्गति र यसका कारकको बोध नगरी संसार बदल्ने आवश्यकतालाई गहिरो गरी आत्मसात् गर्न सकिन्न ।
रचनामा जीवनलाई त्यसका सत्यतामा प्रस्तुत गर्नका लागि जीवनबाटै सामग्री लिनु आवश्यक हुन्छ । यसका लागि सोझै श्रमजीवी मानिसहरूका माझमा जाने, तिनका जीवन र सङ्घर्षसँग एकाकार भई जीवनको बोध र त्यस्तो बोधबाटै सामग्री सङ्कलन गर्ने काम गर्न सकिन्छ । अर्को आफ्नै र अरूका जीवनभोगाइबाट प्राप्त अनुभवका साथै इतिहासबाट (अर्थात् द्वितीयक स्रोतबाट) सामग्री सङ्कलन गर्ने । यो दोस्रो तरिकाबाट सामग्री सङ्कलन गर्दा कहिलेकाहीँ विश्वसनीयताको समस्या पनि आउन सक्छ । त्यस्तो अवस्थामा अन्य माध्यमबाट त्यसका सत्यपरकताको परीक्षण गरेर उपयोग गर्न सकिन्छ ।
अन्य धारा र खास गरी पुँजीवादी धाराका कलाले जीवनसत्य (यथार्थ)लाई, त्यसको विश्वसनीय र प्रतिनिधिमूलक प्रस्तुतिलाई महङ्खव दिँदैन किनभने जीवनको सौन्दर्य र त्यसप्रतिको पक्षधरताप्रति त्यसको चासो हुँदैन । अर्को शब्दमा भन्दा त्यसमा यथार्थप्रतिको निष्ठा हुँदैन । जीवनका रुग्ण, नग्न, मूल्यहीन असङ्गत, विद्रूप पक्ष हुनु पनि त्यसका लागि स्वीकार्य छ, र छ मात्र होइन, त्यसले यस्तै पक्षको उदात्तीकरणमा रुचि लिन्छ । त्यसका लागि के (यथार्थको /जीवनको कुन पक्ष) प्रस्तुत गरिन्छ, त्यो महङ्खवपूर्ण हुँदैन, कसरी प्रस्तुत गरिन्छ, त्यो महङ्खवपूर्ण हुन्छ । त्यसैले यस्तो कला रूपवादी हुन्छ । हामी रूपवादी कलालाई सुन्दर ठान्दैनौं किनभने त्यसले हाम्रासामु हाम्रो जीवनयथार्थलाई भ्रामक ढङ्गले प्रस्तुत गर्छ । हामी किन उत्पीडित छौं, कसले यो उत्पीडन गरिरहेको छ र संसारलाई कुरूप बनाउने को/कुन वर्ग हो भन्ने कुरामा यसले पर्दा हाल्छ र छोप्छ । त्यसैले जब हामी सुन्दर कला (कथा) को सिर्जना गर्ने कुरा गर्छौं, तब यसको जीवनको सत्यपरक संज्ञानको भूमिकालाई केन्द्रमा राखेर, जीवनका निकट गएर अनि त्यसका गतिशीलताको बोध गरेर कथामा त्यसलाई पुनःसिर्जित गर्नु आवश्यक हुन्छ ।
४.सुन्दर कथा निर्माणको सङ्कल्पात्मक आधार
सुन्दर कला (कथा) रचनाको दोस्रो आधार कथाका अन्तर्यमा रहने सङ्कल्प/सोद्देश्यता वा शिवम्को दृष्टिकोण हो । प्रगतिवादी लेखन सोद्देश्य वा प्रयोजनमूलक लेखन हो । हामी स्वान्तःसुखायका लागि लेख्दैनौं । हामी सिङ्गो समाजलाई बदल्नका लागि लेखिरहेका छौं/लेख्छौं । यही सङ्कल्पको तात्पर्य हो जसलाई शिवम् पनि भन्न सकिन्छ । कलाको शुद्ध सौन्दर्यात्मक र आनन्दको प्रयोजन अर्थपूर्ण हुँदैन । त्यसको सौन्दर्य त्यसले हामीलाई/पाठकलाई आफूलाई/समाजलाई बुझ्न र त्यसलाई बदल्न कति प्रेरित गर्छ, कति ऊर्जा, उत्प्रेरणा दिन्छ भन्ने कुरामा निर्भर गर्छ र निरूपित हुन्छ । कुनै रचनामा जीवनको एउटा पक्ष आएको हुन सक्छ । त्यो जीवनभोगाइ हो भन्न पनि सकिने होला तर ‘यो जीवन भोगाइ नै हो नि’ भनेर पुग्दैन । त्यो त निष्क्रिय प्रकारको सामाजिक यथार्थ हुन सक्छ । कहिलेकाहीँ जीवनका नग्नतालाई पनि कतिपयले ‘यथार्थ नै त हो’ भनेर प्रस्तुत गर्छन् । त्यो यथार्थ त हो तर प्रकृतवादी यथार्थवाद ।
हामी जुन यथार्थको कुरा गरिरहेका छौं, त्यो निष्क्रिय सामाजिक यथार्थ वा प्रकृतवादी (नग्न/भद्दा) यथार्थ होइन । यथार्थको बोध मात्र पर्याप्त छैन, संसार बदल्ने अभियानको उत्प्रेरक भूमिका (सङ्कल्प) पनि सँगसँगै छ । यो पक्ष पनि रचनामा यथार्थसँगै आउनुपर्छ । यो त्यतिबेला आउँछ, जतिबेला हामी निष्क्रिय/जड यथार्थको होइन, गतिशील यथार्थको प्रतिबिम्बन गर्छौं । यसबारे लुना चास्र्कीको भनाइ ध्यानदिन योग्य छ । उनी भन्छन्, “हामी यथार्थलाई अङ्गीकार गर्छौं तर त्यसका स्थिर रूपमा होइन, अपितु एउटा कार्यभारका रूपमा एउटा विकासशील परिघटनाका रूपमा ।… हाम्रो यथार्थवाद अत्यन्त गतिशील छ” । यसबाट स्पष्ट हुन्छ, विशिष्ट यथार्थवादी (अझ समाजवादी यथार्थवादी) रचनामा सामाजिक यथार्थका सन्दर्भलाई स्थिर वा जड यथार्थका रूपमा होइन, जीवन जिउने क्रममा जीवनलाई सहज बनाउन, यसलाई बदल्न र सुन्दर बनाउनका लागि मान्छेले व्यक्तिगत रूपमा र सामूहिक रूपमा जुन श्रम र सङ्घर्ष गर्छन्, त्यसलाई प्रतिबिम्बित गरिन्छ । ‘गतिशीलता’को तात्पर्य मान्छेको सतत् सङ्घर्ष हो । माक्र्सले भनेझैँ जीवन बाँच्नका लागि अनिवार्य रूपमा मान्छे उत्पादन प्रक्रियामा अर्थात् श्रमपूर्ण क्रियाकलापमा सहभागी हुन्छ । यही श्रमपूर्ण सहभागिताले गतिशील यथार्थको निर्माण गर्छ ।
सङ्कल्प/सोद्देशयता वा समाज बदल्ने चेतना वा त्यसको आवश्यकताबोध सोझै भाषणका रूपमा आउनु कलात्मक सिर्जनको अभिलक्षण भने होइन । प्रसङ्ग, परिवेश र पात्रको भूमिकाविशेषका सन्दर्भमा कहीँ स्वाभाविक किसिमले परिवर्तनकारी विचारको अभिव्यक्ति पनि हुन सक्छ; जस्तो उदाहरणका लागि इस्मालीजीको ‘बाटो’ कथामा कोइरी मास्टर (रामसोगारथ) ले जमिन्दारकहाँ बँधुवा मजदुरी गरिरहेको सुरथ (सुरथा) लाई उसको विद्यमान जीवनयथार्थ र त्यसको अँध्यारो भविष्यबारे बुझाउने/सचेत बनाउने प्रयत्न गरेको छ र त्यस क्रममा विचारहरू आएका छन् तर ती अत्यन्त स्वाभाविक छन् । प्रायः सुन्दर रचनामा भाषणबाजी वा नाराका रूपमा समग्र रचनाको अन्तर्वस्तुबाट सङ्कल्पको पक्ष ध्वनित/व्यञ्जित हुन्छ । हिजोको कार्यशालामा प्रस्तुत कतिपय कथामा भने सामाजिक यथार्थसँग सम्बद्ध घटनालाई सामान्य ढङ्गले राखेर छोडियो जसले गर्दा त्यस्ता कथा सामान्य सामाजिक यथार्थवादी स्तरमा सीमित रहन पुगे ।
सङ्कल्प विचारसँग जोडिन्छ । विचारसँग जोडिएर यो रचनामा मूर्तीकृत हुन्छ । समाजवादी यथार्थवादी अर्थात् प्रगतिवादी स्रष्टाले यथार्थबाट सामग्री चयन गर्दा र त्यसलाई कथारूप दिने प्रयत्न गर्दा ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणलाई आधार बनाउनुपर्छ । यसो गर्न सकिएन भने हाम्रो रचना आदर्शवादी बन्न पुग्ने र यथास्थितिको अङ्कनमै सीमित रहने हुन्छ । हिजो प्रस्तुत छायाजीको कथाको अन्त्य त्यस्तै आदर्शवादी बन्न पुग्यो । अहिलेका नेताहरूको भाषण तथा तिनका अभिव्यक्तिमा प्रयोग गरिने भाषालाई मूल विषय बनाएर लेखिएको उक्त कथाका अन्त्यमा सभ्य, शिष्ट भाषामा भन्दा नेता राम्रो हुन्छ भन्ने आशय व्यक्त गरेर कथा टुङ्ग्याइएको छ । वर्तमानमा संसदीय अभ्यासमा संलग्न पुँजीवाद (अझ दलाल पुँजीवाद) का पोषक नेताहरूमा आदर्श चरित्रको अभाव केवल अमर्यादित भाषाका कारण सिर्जना भएको होइन । त्यो त तिनमा रहेको/तिनले आत्मसात् गरेको वर्गीय दृष्टिकोण र तदनुरूपको व्यवहारका कारण हो । त्यसैले नेताहरूको चरित्रलाई द्वन्द्वात्मक भौतिकवादी ढङ्गले बुझ्ने कुरामा कमी हुँदा यो कथा परिणाममा आदर्शवादी बन्न पुग्यो । रचनामा यस्ता स्थितिहरू नजानिँदो किसिमले आउन सक्छन् । कुनै कुरा (घटना, व्यक्ति) खराब लाग्छ भने त्यो रूप (बाह्य पक्ष)का स्तरमा मात्र हो कि त्यसका अन्तर्वस्तुकै तहमा ऊ खराब छ भन्ने कुरालाई समेत आधार बनाएर हेर्नुपर्छ । अथवा कोही बोलीवचनमा नरम, भद्र देखिन सक्छ तर विचारका अन्तर्यमा ऊ यथास्थितिको, उत्पीडक वर्ग र सत्ताको पोषक हुन सक्छ । यी दुबै पाटालाई हेर्नु आवश्यक हुन्छ । यो द्वन्द्वात्मक हेराइ हो । यसरी हेर्न सके मात्र हामी चरित्रप्रति न्याय गर्न सक्छौं ।
रविकिरणजीको ‘सट्टा मृत्यु’ कथामा पनि यस्तै समस्या छ । त्यो पनि आदर्शवादी बन्न पुगेको छ । त्यसमा ८० वर्ष पुगेको बुढो मान्छे मूल पात्र छ । ऊ समाजमा अकालमा (अथवा बुढ्यौली नआई) मानिसहरू मरिरहेको देख्छ । ऊ आफू बुढो भएर पनि मलामी जानु परिरहेको स्थिति छ । त्यसैले उसलाई सट्टा मृत्यु रोज्न पाए हुन्थ्यो भन्ने लाग्छ र त्यस्तै कम उमेरका मानिसको मालमी जाने ठाउँमा ऊ आफू सट्टा मृत्यु वरण गर्ने र मरेकालाई जीवन दिने (४–५ वटा) प्रस्ताव गर्छ । उसलाई कसैले पत्याउँदैनन् । यसो गर्दागर्दै ऊ ९० वर्षको हुन्छ, उसको मृत्यु नै हुँदैन र ऊ निराश हुन्छ । हो, मृत्युका यी सन्दर्भहरू यथार्थ नै हुन् । यस्ता घटना घटिरहेकै हुन्छन् तर मुख्य कुरा यस्ता घटनालाई हेर्ने द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोण के हो भन्ने नै हो । अरूको मृत्युलाई सकारेर आफूले मृत्यु रोज्ने कुरा विज्ञानसम्मत र सम्भव कुरा होइन र द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोण पनि होइन । यो त सोझै आदर्शवाद हो । यस कथाले ध्वनिका तहमा के पनि सङ्केत गर्छ भने मृत्यु त लेखेर ल्याएको कुरा हो, चाहँदैमा कहाँ मृत्यु हुन्छ ? यसले त भाग्यवादी/भावी (संसारको नियामक कुनै मानवेतर शक्ति) मा विश्वास गर्नेतिर लैजान्छ । यसबाट पाठकले के पाउने र के बुझ्ने ? जीवनलई द्वन्द्वात्मक भौतिकवादी कोणबाट हेर्न र बुझ्न नसक्दा यस्ता समस्या आउँछन् । अर्को कुरा यो विषयचयन नै उपयुक्त भएन भन्ने पनि हो । संसारका/जीवनका सबै विषय/घटनालाई साहित्यको विषय बनाउनुपर्छ भन्ने पनि हुँदैन । यसमा चयनको आवश्यकता हुन्छ । जुन विषय वा घटनाले जीवनको वस्तुपरक (त्यसका सत्यतामा) बोध गराउँदैन र जीवनलाई बदल्न/मूल्यवान् बनाउन उत्प्रेरित गर्दैन, त्यस्तो विषयको चयन गर्नु आवश्यक हुँदैन । यसबारे सचेत नभईकन सुन्दर कथा लेख्न सकिन्न ।
५.सुन्दर कथा निर्माणको सौन्दर्यात्मक आधार
सुन्दर कथा रचनाका लागि तेस्रो आधार सौन्दर्यात्मक उपकरणको समुचित र कुशल प्रयोग हो । कथा कलाकै एउटा रूप भएकाले यो सुन्दर हुनुपर्छ । कथा भाषण होइन, रिपोर्ताज होइन, यो यात्रा वा घटनावृतान्त मात्र पनि होइन । यो सुन्दर वस्तु (कलाको विशेष रूप) निर्माण गर्ने कुरा हो । त्यसैले सुन्दर कथाका कालिगढीमा आवश्यक पर्ने उपकरण (तत्व) को समुचित प्रयोग आवश्यक हुन्छ । यसमा पनि ध्यान दिनुपर्ने कुरा के छ भने पुँजीवादी (कलावादी) धाराले कालिगढीलाई नै सर्वोपरि ठान्छ । रचनाको वस्तुपक्षको उपयोगितामाथि त्यसले चिन्ता गर्दैन तर समाजवादी यथार्थवादीहरू उपयोगी (सुन्दर) वस्तुपक्षलाई कथाको कथ्य बनाउँदा त्यसका प्रकृति र अपेक्षाअनुरूप संरचनाका उपकरणहरूको कुशल प्रयोगमा ध्यान दिन्छन् ।
शिरीषको फूलमा विसङ्गत जीवनको कथ्य हुनु त्यस बेलाकी पारिजातका लागि ठिकै थियो किनभने उनको त्यसबेलाको जीवनदृष्टि त्यस्तै थियो । त्यसैले उनले तदनुरूपको कालिगढी प्रयोग गरिन् । विषालु अन्तर्वस्तुलाई अझ विषाक्त बनाउन सक्षम कालिगढी (शिल्प) को प्रयोग । त्यसैले यो पुँजीवादी चेतनाका पाठक र आलोचकका लागि सुन्दर र श्रेष्ठ रचना बन्न पुग्यो । प्रगतिवादी स्रष्टाहरूले भने आफ्ना रचनाका अन्तर्वस्तुअनुरूप उपकरणहरूको समुचित प्रयोग गर्नुपर्छ । यस सन्दर्भमा विचारणीय के छ भने कथा न घटनावृत्तान्त मात्र हो, न यात्रा विवरण हो, न दैनिकी हो, न व्यक्तिविशेषको अनुभूति मात्र हो । हो, यीमध्ये कुनै शैली वा कथा बताउने उपकरणका रूपमा आउन सक्दछन् तर यी आफैमा कथा होइनन् । कथाका लागि प्लट (कथानक) आवश्यक हुन्छ जसमा पात्र र तिनका कार्यव्यापार हुन्छन्, कार्यव्यापारले जन्माउने घटना हुन्छन्, तिनको विकासको शृङ्खला हुन्छ र एउटा परिणतिमा पुगेर त्यो शृङ्खला टुङ्गिन्छ । यी कुराको तानाबाना (संयोजन) बुन्नका लागि दिक् (स्थान) र काल (समय) को परिवेश खडा गर्नु आवश्यक हुन्छ । हामीले माथि गतिशील यथार्थको कुरा ग¥यौं । गतिशीलताको निर्माण पात्रका कार्यव्यापार र चारित्रिक गतिशीलताबाट हुन्छ । जडतामा जकडिएको पात्र गतिशील हुन सक्दैन । निराशाको सामना गर्नु परे पनि ऊ त्यसलाई चिर्दै अगाडि बढ्ने सामर्थ्यका कारण गतिशील हुन्छ ।
हिजो प्रस्तुत गरिएका कथालाई सम्झिने हो भने क्षितिजजीको कथाकी अयोग्य ठहरिएकी र क्यानटोनमेन्टबाट बहिर्गमित हुँदै गरेकी जनमुक्ति सेनाकी सदस्य गतिशील पात्र हो । उसले जडतालाई चिर्ने प्रयत्न गरेकी छ र एउटा कालखण्डमा घटित जनयुद्धको दुःखान्तलाई पनि प्रस्तुत गरेकी छ । परशुरामजीको कथामा भने घटना छ तर चारित्रिक विकास र गतिशीलता छैन । मुख्य पात्र सुन्ने भूमिकामा मात्र छ । त्यसैले त्यो प्रभावकारी हुन सकेन । पठनीयताका दृष्टिले पनि त्यो आकर्षक हुन सकेन । कथामा घटना र चरित्रको संयोजन गर्ने प्रयत्न छ तर त्यसका लागि आकर्षक भाषाको प्रयोग छैन भने पनि कथामा सौन्दर्य सिर्जना हुँदैन । भाषा ललित हुनु, काव्यात्मक हुनु, बिम्ब र प्रतीककै पनि प्रयोग गरेर कथ्यलाई ध्वनिमय बनाउनु आवश्यक र उपयुक्त हुन्छ । भाषाकै कुरा गर्दा पात्रका बिचको संवाद र समाख्याताको वर्णन– यी दुईको समुचित संयोजन पनि आवश्यक हुन्छ । नाटकमा जस्तो संवादै संवाद अथवा वर्णनै वर्णन दुबै उपयुक्त हुँदैनन् । यी बुनोटसँग सम्बन्धित कुरा हुन् । बुनोटका तहमा आउने घटकहरूको निकै सन्तुलित र समानुपातिक प्रयोगले कथालाई कालिगढीका दृष्टिले सुन्दर बनाउने काम गर्छन् ।
निश्चित रूपमा शैलीको चयनमा स्रष्टा स्वतन्त्र हुन्छ । कुन शैलीको चयन गर्ने भन्ने कुरा उसले चयन गरेको विषय र प्लट (कथानक) ले निर्धारण गर्छ । कहीँ परम्परागत कथाकथनको शैली, कहीँ संस्मरणात्मक शैली, कहीँ पत्रात्मक शैली, कहीँ पूर्वदृश्यात्मक (फ्ल्यासब्याक) शैली आदिको उपयोग हुन सक्छ । यसै गरी आवश्यकतानुसार स्वैरकल्पनालाई पनि एउटा शैलीका रूपमा प्रयोग गर्न सकिन्छ । कुन शैलीको प्रयोग गर्दा त्यसबाट कथाको सौन्दर्य र प्रभाव कति समृद्ध हुन्छ भन्ने कुरामा स्रष्टाले चिन्तन गर्नु आवश्यक हुन्छ । मुख्य कुरा कथाको संज्ञानात्मक र सङ्कल्पात्मक भूमिकाका लागि चयन गरिएको शैली मैत्रीपूर्ण र उपकारी छ कि छैन भन्ने कुरामा ध्यान दिनु आवश्यक छ । कथाले पाठकका सौन्दर्यरुचिलाई सम्बोधन/शमन गर्नुका साथै उसका जीवनसङ्घर्षमा र चेतनाका तहमा ऊर्जा/उत्प्रेरणा दिन सक्नुपर्छ । यसका लागि कथामा कालिगढीको भूमिका निकै महङ्खवपूर्ण हुन्छ । यथार्थको चयन र वैचारिक दृष्टिकोण समुचित हुँदाहुँदै पनि कालिगढी कमजोर र अन्तर्वस्तु अनुकूल भएन भने कथा सुन्दर हुँदैन ।
रचनाप्रक्रियाकै कुरा गर्दा एङ्गेल्सका प्रसिद्ध भनाइलाई पनि सम्झिनुपर्छ । सुन्दर र प्रभावकारी यथार्थवादी रचनाको अभिलक्षणबारे उनी भन्छन्– “यथार्थवाद भनेको विशिष्ट (प्रतिनिधि) परिस्थिति (परिवेश)मा विशिष्ट (प्रतिनिधि) पात्रहरूको साँचो (विश्वसनीय) पुनरुत्पादन हो” । हामीले चयन गर्ने घटना/परिस्थिति विशिष्ट/प्रतिनिधिमूलक खालको हुनुपर्छ । अनि हामीले चयन गर्ने पात्र पनि त्यही विशिष्ट परिस्थितिका बिच सङ्घर्षरत हुन्छ र त्यसको साँचो अर्थात् विश्वसनीय किसिमले पुनःसिर्जन/पुनर्निर्माण गर्नुपर्छ । यसलाई यसरी पनि बुझ्न सकिन्छ । सुन्दर यथार्थवादी (समाजवादी यथार्थवादी समेत) रचनाको पात्र सामान्य भईकन विशिष्ट र विशिष्ट भईकन सामान्य हुन्छ । त्यो विशिष्ट मात्र भयो सामान्य मानिसको गुण उसमा छैन, वा सामान्य (आम) मानिसको प्रतिनिधित्व त्यसले गर्दैन भने त्यो कमजोर पात्र हो । त्यसै गरी कुनै पात्र सामान्य मात्र छ, ऊ विशिष्ट खालको छैन भने पनि त्यो कमजोर पात्र हो । रविकिरणजीको ‘सट्टामृत्यु’को ९० वर्षीय वृद्ध पात्रलाई उदाहरणका रूपमा लिन सकिन्छ । ऊ विशिष्ट जस्तो देखिन्छ तर सामान्य र प्रतिनिधि पात्र होइन । यो प्रारूपीकरणसँग जोडिएको ‘टेक्निक’ पनि हो । यथार्थवादी स्रष्टाले उस्तै उस्तै चरित्रहरूलाई गालेर एउटा भव्य र पूर्ण प्रारूप बनाउँछ । त्यसैले त्यो एकैसाथ सामान्य र विशिष्ट दुबै हुन्छ । पारिजातको ‘साल्गीको बलात्कृत आँसु’की किशोरी साल्गी र उसलाई बेचबिखन गर्ने ल्वाङ्गे घर्ती दुबै प्रारूपीकरणका सुन्दर उदाहरण हुन् । इस्मालीको ‘बाटो’ कथाको सुरथा त्यस्तै सामान्य र विशिष्ट दुबै विशेषता बोकेको प्रतिनिधि पात्र हो जसले तराईका ग्रामीण क्षेत्रमा जमिनदारकहाँ काम गर्ने बँधुवा मजदुरको प्रतिनिधित्व गर्छ । यिनीहरूका चरित्रमा सामान्यता र विशिष्टताका दुबै गुण छन् ।
६.उपसंहार
हामीले समाजवादी यथार्थवादी कथाका रचनात्मक आधारका सन्दर्भमा माथि संज्ञान, सङ्कल्प र सौन्दर्यका तीन वटा पक्षबारे चर्चा ग¥यौं । वास्तवमा यी तीन त्यस्ता आधारभूत पक्ष हुन् जसले कथालाई (र कलाका अन्य रूपलाई समेत) सुन्दर र सार्थक बनाउँछन् । कला आत्मिक नभई भौतिक जीवनका लागि पनि उपयोगी हुनुपर्छ र मात्र सुन्दर हुन्छ । भोकले आन्द्रा सुकेको मान्छेका लागि गुलाफको फूलको सौन्दर्य अर्थहीन छ । कुनै कुरा आफ्ना लागि उपयोगी छ भने मात्र त्यो सुन्दर हुन्छ, उपयोगी छैन भने जति बुट्टेदार भए पनि सुन्दर हुँदैन । यसरी सुन्दर ठहरिने सबै वस्तु कला हुनुपर्छ भन्ने हुँदैन । सुन्दर हुनु भनेकै कलात्मक हुनु होइन तर कलात्मक हुनका लागि सुन्दर हुनु अनिवार्य छ । अब यसरी निष्कर्ष निकालौं– उपयोगी पनि हुनु र सुन्दरका गुणले सम्पन्न पनि हुनु सुन्दर कलाको विशेषता हो । कथाका सन्दर्भमा सुन्दरका उपकरण/तत्वबारे पनि हामीले छलफल गरिसक्यौं । उपयोगिताको कुरा गर्दा कथा (र अन्य कुनै पनि कलारूप) त्यति बेला उपयोगी ठहरिन्छ जब त्यसले हामीलाई जीवनको बोध गराउँछ र बोध मात्रै गराउँदैन, जीवन बदल्नका लागि उत्प्रेरित गराउँछ र आवश्यक ऊर्जा पनि दिन्छ । यो काम त्यति बेला सम्भव हुन्छ, जब लेखकसँग ऐतिहासिक र द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोण हुन्छ । यसै दृष्टिकोणले कथाको अन्तर्वस्तुलाई उपयोगी र महङ्खवपूर्ण बनाउँछ । स्रष्टामा यथार्थबोध र सौन्दर्यबोधसँगै यस दृष्टिकोणको स्तर जति उच्च र स्पष्ट भयो उसको रचना त्यति नै सुन्दर र उपयोगी हुन्छ । आजलाई यत्ति कुरा गरौं । छलफलमा सहभागी अन्य तीनै जना विज्ञ मित्रहरूका विचारलाई पनि एकै ठाउँमा जोडेर हे¥यौं भने सुन्दर र प्रभावकारी कथा रचनाको आधार स्पष्ट हुनेछ भन्नेमा म विश्वस्त छु । यस अन्तक्र्रियामा सहभागी हुने स्रष्टा, समीक्षक सबै मित्रहरूलाई हार्दिक धन्यवाद !
२०७८ जेठ






























