
ज्ञान र व्यवहारबारे प्रस्ट नभइकन हामीले कुनै पनि क्रान्ति सफल पार्न सक्दैनौं । ज्ञान र व्यवहारको घनिष्ठ संयोजनद्वारा नै क्रान्तिकारी दिशालाई अघि बढाउन सक्छौ। त्यसोभए ज्ञान भनेको के हो र यो कसरी प्राप्त हुन्छ ? प्रायः गरेर मानिसहरू ज्ञान भन्ने कुरा देवी देनबाट प्राप्त हुन्छ भन्ने कुरा मान्दछन् । दैवीज्ञान प्राप्त मानिसहरू नै विद्वान र बुद्धिमान हुन्छन्, तिनीहरूहरूले नै समाजलाई विकास गराउँछन् भन्ने पनि कतिपयको धारणा छ। अर्का थरी चाहिँ वस्तु अथवा पदार्थद्वारा नै विचार बन्दछ र त्यसैअनुरूप कालान्तरमा स्वतःस्फूर्त रूपमा ज्ञानको विकास हुँदैजान्छ भन्छन्। उनीहरू विचार र ज्ञानलाई वस्तुको यान्त्रिक प्रतिछायाँ बनाउँछन् । यो धारणा यान्त्रिक भौतिकवादी धारणा हो। यो पनि सही र वैज्ञानिक धारणा होइन ।
त्यसोभए सही र वैज्ञानिक धारणा के हो त ? सही र वैज्ञानिक धारणा भनेको द्वन्द्वात्मक भौतिकवादी सिद्धान्तद्वारा निर्मित धारणा हो । त्यो धारणा भनेको के हो ? यो धारणाअनुसार पदार्थ र मानवमस्तिष्कका बीचको परस्पर क्रियाद्वारा मानिसमा ज्ञानको विकास हुन्छ । त्यस्तै यान्त्रिक भौतिकवादीहरूले पदार्थलाई आधार बनाए पनि उनीहरू पदार्थ अथवा वस्तुको पछि लागेर परिस्थितिको दास बन्छन् । द्वन्द्ववादीहरू वस्तुलाई बुझेर त्यसलाई रूपान्तरणको आधार बनाउँछन्। उनीहरू यसमा सचेतन पक्षको भूमिकालाई महत्त्व दिन्छन् । उनीहरू ज्ञानको विकासका बीच पदार्थ र चेतनाबीच परस्पर क्रिया हुन आवश्यक सम्झन्छन् । उनीहरू सर्वप्रथम वस्तुलाई बुझ्ने कुरामा जोड दिन्छन् । वस्तुलाई बुझ्ने प्रक्रियाका बारेमा जान्नुपर्ने आवश्यकता सम्झन्छन् । मानिसको मस्तिष्क र वस्तुका बीच परस्पर क्रिया भनेको प्रकृतिका विरुद्ध मानिसका सङ्घर्षका रूपहरू हुन् । यो सङ्घर्ष भनेको मान्छे र समाजका आवश्यकताहरू पूरा गर्नका लागि उत्पादन बढाउन गरिएका गतिविधिहरू हुन् । त्यसैकारण मानिसको मानसिक प्रक्रिया र प्रकृतिसँग उसको परस्पर क्रिया र अन्तरसम्बन्ध हुन्छ । त्यसैले ज्ञान सिद्धान्तमा पदार्थ नै विचारको आधार हो भनिएको हो ।
जुन देशमा क्रान्ति गर्नुछ, त्यस देशको आन्तरिक र बाह्य वस्तुगत परिस्थितिको ज्ञान हुनु आवश्यक हुन्छ। त्यो ज्ञान भनेको त्यस देशको ऐतिहासिक विकासको चरणमा कुन अवस्थामा पुगेको छ, समाज विकासका नियमअनुसार समाज कुन चरणतिर प्रवेश गर्दैछ, त्यसमा बाधाविरोध कुन वर्गबाट भएको छ, अथवा कुनकुन वर्गहरूका बीच अन्तर्विरोधहरू छन्, त्यसमा मुख्य विरोधी शक्ति कुनकुन हुन्, विरोधी शक्तिमध्ये कुन शक्तिको विजयले विकासको मार्ग खुला हुन्छ, आदि कुरा ठम्याएर विकासशील शक्तिलाई बल पुरÞ्याएर जानु आवश्यक हुन्छ । वस्तुगत परिस्थितिको ज्ञान भनेको नै यही हो । यसका लागि वैज्ञानिक दृष्टिकोणको आवश्यकता अनिवार्य हुन्छ । द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोण भनेको पुरानोको हास र नयाँको विकास अनिवार्य हुन्छ, यो विश्व र समाज निरन्तर गतिमान छन् र यसलाई कुनै तागतले पनि छेक्न सक्दैन भनेर बुझ्नु हो। त्यो गतिमान हुनाको कारण त्यसमा निहित अन्तर्विरोधहरू हुन्, त्यसभित्र निरन्तर हासोन्मुख र विकासोन्मुख तत्त्वहरूका बीच भइरहने सङ्घर्षहरू हुन् । त्यसो नभएको भए जङ्गली युगको मानव समाज आजको अवस्थासम्म आइपुग्ने थिएन । चेतनशील ज्ञानले वस्तुको ठोस विशिष्टता पहिल्याएर त्यस वस्तुको गति र समाज विकासको गतिलाई तीव्र पार्न सकिन्छ । सचेतन पक्षको भूमिकालाई इन्कार गरी विचारलाई पदार्थको यान्त्रिक प्रतिबिम्बन मात्र हो भनेर मान्न थाल्यौं भने हामी प्रकृतिको दास र पुच्छरसिवाय केही हुँदैनौँ । यस्तो चिन्तन वैज्ञानिक चिन्तन नभएर यान्त्रिक भौतिकवादी हो। यान्त्रिक भौतिकवादीले वस्तुलाई विचार अथवा चेतनाको माध्यमबाट परिवर्तन गराउन र गतिशील बनाउँछ भन्ने कुरा मान्न इन्कार गर्दछ ।
हामीले के कुरा बिर्सनु हुँदैन भने एकातिर मानिसको विचारको आधार अथवा उद्गमको रूपमा वस्तुको आवश्यकता हुन्छ भने पदार्थको रूपमा विचारको रूपान्तरणको प्रश्नको विभेदीकरण हुन्छ । यसमा विचारको आधार वस्तुलाई बनाएको यो भौतिकवादको विशेषता बन्यो, किनभने यसले आदर्शवादबाट छुट्याउँछ । आदर्शवादीले पदार्थलाई विचारको आधार बनाउँदैन र वस्तुको अस्तित्त्वलाई उसले स्वीकार गर्दैन । अस्तित्त्व स्वीकार गर्ने आर्दशवादीले पनि वस्तुलाई विचारको अधीनमा राख्दछ । वस्तुको रूपमा विकासको रूपान्तरणको प्रश्नले यान्त्रिक भौतिकवादबाट छुट्याउँछ, यो द्वन्तात्मक भौतिकवादको विशेषता हो । यसले मानिसको पहलकदमीको भूमिकालाई बल पुरÞ्याउँछ । यान्त्रिक भौतिकवादीले मानिसको चेतनशील भूमिकालाई इन्कार गर्दछ र वस्तुलाई स्वस्फूत विकासमा छाडिदिन्छ र त्यस्तो बल पुरÞ्याउनेहरूलाई यान्त्रिक भौतिकवादीहरूलाई उग्रवादी, दुस्साहसवादी देख्न पुग्दछन् । त्यसैले माओले यसलाई पदार्थको विचारमा रूपान्तरण अथवा जाँचपडतालद्वारा पदार्थलाई बुझ्ने कोसिस भनेका छन् । विचार पदार्थमा रूपान्तरण हुन्छ र भौतिक शक्तिलाई ठोस दिशातिर मोड्न सकिन्छ । यस धारणाले वस्तुलाई बुझ्ने र त्यसलाई व्यवहारद्वारा फेर्ने बीचको एकात्मकतालाई प्रस्तुत गरेको छ ।
मानिसले वस्तुगत कुरालाई त्यसबेला मात्र रूपान्तरण गर्न सक्छ, जुनबेला वस्तुगत यथार्थले त्यसलाई आवश्यक सम्झन्छ । वस्तुगत यथार्थले आवश्यक सम्झेर पनि सचेतन पक्षको भूमिकाले त्यसलाई बल पुरÞ्याएन भने रूपान्तरण हुन पचासौँ, सयौँ वर्ष पनि लाग्न सक्छ। वस्तुगत यथार्थअनुकूल सचेतन पक्षले बल पुरÞ्यायो भने चाँडै नै रूपान्तरण गर्न सकिन्छ । वस्तुगत यथार्थ नभई मुढेबलले कसैले रूपान्तरण गर्न सक्दैन । हामीले के कुरा बुझ्नुपर्छ भने मान्छेले विचारलाई मूर्त रूप दिन असफल हुनुको अर्थ हुन्छ– कि त विचार नै गलत छ कि त्यसलाई अलत ढङ्गले लागू गरिएको छ। भौतिकवादी तर्कले अरू सबै पक्षहरूलाई दबाइदिन्छ तापनि विचार र पदार्थको रूपमा एकता रहिरहन्छ । त्यसैले माओका तीन पक्ष– ज्ञान र व्यवहारको परस्पर निर्भरता, वर्गसङ्घर्षको रूपमा व्यवहार र पदार्थ र चेतनाको परस्पर रूपान्तरणलाई नै ज्ञान सिद्धान्तको सार ठान्नुपर्दछ ।
मानिसका विभिन्न ज्ञानेन्द्रियहरूमार्फत पदार्थको जानकारी उसको मस्तिष्कमा पुग्दछ। ती ज्ञानेन्द्रियहरूमार्फत भौतिक शक्तिबारे मानिसले जुन कुरा पाउँछ, त्यो माओका शब्दमा इन्द्रियग्राह्य ज्ञान हो। हामीले नेपालको वर्तमान अवस्थाको बारेमा जुन कुरो देखेका छौं, सुनेका छौं र भोगेका छौं, त्यो हाम्रो इन्द्रियग्राह्य ज्ञान हो। त्यो इन्द्रियग्राह्य प्रत्यक्ष ज्ञानबाट तर्कसङ्गत वा युक्तिसङ्गत ज्ञान प्राप्त हुन्छ। हरेक राजनीतिक पार्टीहरूले ल्याएका कार्यक्रमहरू नीति– निर्देशनहरू युक्तिसङ्गत ज्ञानका रूपमा ल्याइएका हुन्। हरेकले एउटै वस्तुलाई भिन्नाभिन्नै रूपले हेर्छ र बुझ्छ । त्यो युक्तिसङ्गत (सिद्धान्त, विचार) ज्ञानलाई ठीक हो वा होइन भनेर जाँच्ने, प्रमाणीकरण गर्ने, परिष्कार गर्ने र सही र गलतको कसीमा राख्न व्यवहारमा जानु पर्दछ। ठीक वा प्रमाणीकरण भएमा त्यो सही भयो, नभएमा परस्पर निरन्तर क्रियाप्रतिक्रियाबाट नै अन्त्यमा ज्ञानको विकास हुन्छ र सही निष्कर्षमा पुग्दछ। यी अनुभवहरूले नै मानिसको ज्ञानको प्रकृति र त्यसको सारतत्त्वलाई निर्धारित गर्दछ । प्राप्त युक्तिसङ्गत ज्ञानले जति असफलता प्राप्त गरे पनि छेपारोले घोचो समातेझैँ समाति राख्ने हो र त्यसलाई व्यवहारद्वारा खार्दै र रूपान्तरण गरेर अघि नबढ्ने हो भने ज्ञानको विकास हुँदैन, इतिहासको मञ्चबाट त्यो पछाडि पर्दैजान्छ ।
नेपाली क्रान्तिको दिशाका सम्बन्धमा साँढे चार दशकभन्दा बढी सयमसम्मको इतिहास हेर्दा नेपाली कम्युनिस्टहरूका युक्तिसङ्गत भनिएका ज्ञानहरू प्रमाणीकरण नभए पनि थोरैले मात्र परिष्कार गर्दै अघि बढेका देखिन्छन् । आज त्यो युक्तिसङ्गत ज्ञानको आधारमा एक थरी कम्युनिस्टले परस्पर निरन्तर क्रियाप्रतिक्रियाबाट, सकारात्मक नकारात्मक अनुभव र विश्वघटनाक्रमहरूको शिक्षा लिँदै नेपाली क्रान्तिको दिशामा पनि नेपालको विशिष्टताअनुसार द्वन्द्वात्मक पद्धतिलाई अगालेर परिमार्जित र विकास गर्दैलगेका छन् । देशको ऐतिहासिक चरणको अवस्था, असमान विकासको स्थिति, कृषि क्रान्ति तथा नयाँ जनवादी क्रान्तिको रणनीतिक लक्ष्य, ग्रामीण वर्गसङ्घर्ष र दीर्घकालीन जनयुद्ध आदि नेपालको विशिष्टताअनुसार बनाइएको क्रान्तिकारी कार्यदिशाहरू हुन् । गतकालका अनुभव र यी विशिष्टताबाट पाठ नसिक्नेहरू निश्चित रूपमा इतिहासको मञ्चबाट झर्दै जानेछन् । यी कार्यदिशाहरू व्यवहारका क्रममा थप परिमार्जित हुँदै अघि बढ्ने कुरा द्वन्द्ववादी विज्ञानसम्मत हो । यसरी नै भौतिक शक्तिहरूका साथ परस्पर क्रिया हुने कुरा ज्ञानसिद्धान्तको महत्त्वपूर्ण पक्ष हो र यसैलाई माओले व्यवहार भनेका हुन् । त्यसैले हरेक किसिमका ज्ञान व्यवहारबाट पैदा हुन्छ र व्यवहारको बाटो भएर नै विकास हुन्छ । व्यवहार भन्नाले सङ्घर्ष खासगरिकन वर्गसङ्घर्ष जारी राख्नु हो। यसरी नै दर्शन र वर्गसङ्घर्षका बीच एकता हुन्छ ।
ज्ञान र व्यवहारबारे माओको ठोस भनाइ यस्तो छ– “ज्ञानको प्रक्रियामा पहिलो श्रेणी बाह्य जगत्का वस्तुहरूका साथ सम्पर्क हो, यो प्रत्यक्ष ज्ञानको अवस्था हो । प्रत्यक्ष ज्ञानबाट पाइएका तथ्यहरूलाई व्यवस्थित र पुननिर्मित गरेर त्यसको संश्लेषण गर्नु ज्ञानको दोस्रो अवस्था हो । यो सङ्कल्पना निर्णय र निष्कर्षको चरण हो। प्रत्यक्ष ज्ञानबाट पाइएका तथ्यहरू निकै समृद्ध, खण्डित नभएको, अवास्तविक होइन, यथार्थमा आधारित भएअनुरूप भएपछि नै त्यसलाई सही अवधारणाहरू र सिद्धान्तको आधार बनाउन सकिन्छ ।”
यसमा माओले दुई कुरामा जोड दिएका छन्, एउटा हो, इन्द्रियग्राह्य ज्ञानमा युक्तिसङ्गत ज्ञान निर्भर हुन्छ। दोस्रो हो, इन्द्रियग्राह्य ज्ञानबाट हमेसा युक्तिसंगत ज्ञानमा विकसित पार्ने कुराको आवश्यकता। यसमा पहिलोमा निर्भर भए आदर्शवादतिर र दोस्रोमा गल्ती गरे अनुभववादतिर जान्छ। जसले सिद्धान्तलाई बेवास्ता गर्छ ऊ अनुभववादमा फस्छ र जसले व्यवहारलाई कम महत्त्व दिन्छ, त्यो कठमुल्लावादी बनेर जान्छ । त्यसैले व्यवहारबारे माओले भनेका छन् ः “व्यवहारद्वारा सत्यको खोजी गर्नु र फेरि विकसित पार्नु, व्यवहार, ज्ञान, फेरि व्यवहार, फेरि ज्ञान । यो क्रम अनन्तकालसम्म आवृत्ति भइरहन्छ र हरेक आवृत्तिका साथ व्यवहार र ज्ञानको अन्तर्वस्तु अरू झन् माथिल्लो स्तरमा पुग्छ । यही हो द्वन्द्वात्मक भौतिकवादको वस्तुलाई बुझ्ने र रूपान्तरण गर्नेबीच एकता।” माओको व्यवहारको मुख्य अभिप्राय मुख्यगरी भौतिक उत्पादन र वर्गसङ्घर्ष वैज्ञानिक प्रयोग हो ।
माओले विचार पदार्थमा रूपान्तरण हुन्छ र गर्नुपर्छ भन्ने कुरामा जोड दिँदा चीनका संशोधनवादी दार्शनिक याङ सिएन चेनले पदार्थलाई विचारको अधीन राख्ने आदर्शवादी आरोप लगाएका थिए । तर माओवादीहरूले विचार पदार्थको यान्त्रिक छायाँ होइन, त्यसभित्र पदार्थलाई आकार दिने क्षमता पनि छ भनेका थिए। उनीहरूले एकताको माओको अभिप्राय विचारलाई सही ढङ्गबाट यथार्थमा परिवर्तित हुने र त्यसमाथि काम गर्ने क्षमतासँग छ, तर यथार्थको परावर्तनलाई सही हुन आवश्यक छ भनेर जोड दिएका थिए । त्यसैले माओवादीहरूले याङको चिन्तनले चेतना तथा पदार्थका बीचको एकात्मकतालाई पूरै नकारेको, जनसमुदायको सचेतन भूमिकालाई परावर्तनको यान्त्रिक सिद्धान्तको रूपमा तोडमरोड गरेको भनेर जवाफ दिएका थिए ।
माओले आफ्ना आलोचकहरूलाई पदार्थ चेतनामा र चेतना पदार्थमा रूपान्तरण सम्भव छ भन्ने कुरालाई बुझ्न नसकेकोमा आश्चर्यको कुरा भनेका छन् । हुन त दैनिक जीवनमा यस किसिमको छलाङ एउटा चमत्कार नै भए पनि यो कसरी हुन्छ भने एकपल्ट सही विचारलाई जनसमुदायले आत्मसात गर्यो भने त्यो विचारले भौतिक शक्तिको रूप लिन्छ सिद्धान्त र र समाज र विश्वलाई नै फेरिदिन्छ । एउटा विशेष परिस्थितिमा उत्पादनसम्बन्ध, माथिल्लो ढाँचाले पनि प्रधान र निर्णायक भूमिका खेल्दछ । सङ्क्षिप्तमा भन्ने हो भने ज्ञान, सङ्घर्षको माध्यम व्यवहारको उपज हो र यसलाई भौतिक शक्तिमा पनि बदल्न सकिन्छ भनेर माओले स्पष्ट पारेका छन् । तसर्थ ज्ञान सिद्धान्तमा माओका यी विचारहरू द्वन्द्वात्मक भौतिकवादका क्षेत्रमा महत्त्वपूर्ण क्रान्तिकारी विचारहरू हुन् । आज विश्वकम्युनिस्ट आन्दोलन र हाम्रै नेपालमा पनि संशोधनवादी, नवसंशोधनवादी र क्रान्तिकारी कम्युनिस्टका बीच यसैमा तीव्र सङ्घर्ष चलेको छ ।
मानिसको इच्छा, रणनीति र जनताको उत्साह, यी सबैको विकास उत्पादन, श्रमकार्य तथा अध्ययनको क्रममा हुन्छ । जनअभियानहरूमा भाग लिने कार्यलाई भौतिक शक्तिहरूमा रूपान्तरित गर्ने कोसिस गर्नुपर्छ । यसबाट मजदुरहरूले समाजवादी क्रान्तिको लागि बढी उत्पादन गर्दछन् । कठिन श्रमका लागि भौतिक प्रोत्साहनको साटो क्रान्तिकारी प्रोत्साहन दिनु, राजनीतिक प्रक्रियाका यी सबै विशिष्टताहरू पदार्थ र विचारको परस्पर रूपान्तरण यसै दार्शनिक अवधारणामा आधारित छ । पदार्थ र चेतनाका बीच एकात्कमताको प्रश्नबारे माक्र्स, एङ्गेल्स, लेनिनले पनि आफ्ना अवधारणाहरू व्यक्त गरेका छन् । माओले यसलाई अझ विकसित, स्पष्ट र व्यवहारिक रूपमा रणनीतिसँग गाँस्ने काम गरेका छन् । उनले दैनिक व्यवहारका लागि कार्यकर्ता र जनताका बीच दर्शनलाई पुरÞ्याएर द्वन्द्वात्मक भौतिकवादको आधारभूत दार्शनिक अवधारणालाई सरल बनाइदिएका छन् ।
(महिमा, चैत २०५७)
(भक्तबहादुर श्रेष्ठका संकलित रचनाहरुबाट)































