पार्टी एकतालाई बलियो बनाउने सन्दर्भमा

पार्टी एकतालाई बलियो बनाउने सन्दर्भमा

 

 

 

नेपालको कम्युनिस्ट आन्दोलन स्थापनाकालदेखि टुटफुट र विभाजनका कैयौं उतारचढाव पार गर्दै आएको छ । यो सिलसिलाको क्रमभंगता गर्दै देशका तीनवटा कम्युनिष्ट पार्टीहरु नेकपा (क्रान्तिकारी माओवादी) नेकपा (मशाल) र नेकपा (बहुमत) को बीच मा २०८० वैशाख १८ गते पार्टी एकीकरण भयो । त्यसको करिव ७ महिनापछि एकता महाधिवेशन सम्पन्न भयो । एकता महाधिवेशनले ठोस रुपमा क्रान्तिकारी पार्टी निर्माण ग¥यो । नेपालको कम्युनिस्ट आन्दोलनमा यो एकताले महत्वपूर्ण तथा ऐतिहासिक कडी थपेको छ ।

पहिलो कुरा त पार्टी एकताका लागि विभिन्न सैद्धान्तिक, वैचारिक, राजनीतिक, संगठनात्मक विषयहरुमा करिव २वर्ष सिलसिलेवार छलफल भएको छ । छलफलबाट एकताका लागि आधारभूत विषयहरुको निक्र्यौल गरिएको छ । ती आधारहरु के थिए त ? ती आधारहरु यसप्रकार थिए १) माक्र्सवाद, लेनिनवाद, माओवाद त्यतिबेला माओवाद÷विचारधारा लाई पथप्रदर्शक सिद्धान्त मान्ने २) नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवादतर्फ अगाडि बढ्ने ३) नयाँ जनवादलाई आम तथा वैज्ञानिक समाजवादलाई आधारभूत कार्यक्रम र साम्यवादलाई अन्तिम लक्ष्यका रुपमा अंगीकार गर्ने । ४) क्रान्तिमा बल प्रयोगको भूमिकालाई स्वीकार गर्ने र त्यससम्बन्धी मान्यतालाई विकसित तुल्याउने । ५) सर्वहारा अधिनायकत्व अन्तर्गत क्रान्तिको निरन्तरताको सिद्धान्तलाई अवलम्वन गर्ने र महान् सर्वहारा सांस्कृतिक क्रान्ति संचालन गर्दै जाने ६) सर्वहारा अन्तर्राष्ट्रियतावादलाई स्वीकार गर्ने ७) जनवादी केन्द्रियताको सिद्धान्त अनुसार संगठन परिचालन गर्ने ८) पार्टीको नाम क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल राख्ने ।

त्यति मात्र होइन, तीन पार्टीबीच एकले अर्कोलाई दबाब हाल्ने काम नहोस् र स्वतन्त्रतापूर्वक महाधिवेशनसम्म पार्टीको कार्यलाई अगाडि बढाउन सकियोस् भनेर निर्णय गर्ने विधि पनि तयार गरिएको थियो । ती विधिहरुमा १. सहमतीय विधि,२. भौतिकवादी द्वन्द्ववादको विधि, (जसमा एकता, संघर्ष र रुपान्तरणको विधि अपनाइएको थियो । ३. जनवादी केन्द्रियताको विधि थिए । यी विधिहरु वैज्ञानिक थिए । त्यसैकारणले गर्दा महाधिवेशन भन्दा पहिला र महाधिवेशन भन्दा पछाडि निर्णय प्रक्रियामा खास समस्या देखा परेन । तीनवटै पार्टीहरु बीच सम्मानजनक ढंगबाट एकता प्रक्रियाहरु पूरा भइरहेका छन् ।

नेपालको सन्दर्भमा यो पार्टी एकताको प्रक्रिया निकै जटिल कार्य थियो । कम्युनिस्ट पार्टीका नेताहरु प्रायः जसो के देखिन्छ भने सानो मतभेद देखिनासाथ पार्टी कार्वाही प्रारम्भ गरिहाल्ने प्रवृत्ति । गम्भीर सैद्धान्तिक, राजनीतिक मतभेद अर्थात् दुई लाइन संघर्ष देखा परेपछि बहुमतले अल्पमतलाई कार्वाही गरिहाल्ने । कहिले कांही साना प्राविधिक विषयमा पनि कार्वाही गरिहाल्ने । त्यो कुरा पाँचौं महाधिवेशनदेखि हालसम्म चल्दै आएको छ । यो कुनै व्यक्ति विशेषको मात्र कुरा होइन, आम प्रवृत्ति हो । त्यसैले गर्दा त्यो स्वेच्छाचारी प्रवृत्तिका व्यक्तिहरुबाट यो एकतालाई सफल हुन न दिन विभिन्न कोणबाट प्रहार शुरु भयो ।
सर्वप्रथम त क्रा।मा। भित्रै पार्टी एकता विरोधी गतिविधि शुरु भयो र त्यो अहिले पनि चलिरहेको छ । त्यसपछि पूर्व मशालभित्र पार्टी भित्रबाटै प्रहार भयो । त्यसपछि पार्टी एकतापछि महाधिवेशनको पूर्व सन्ध्यामा बहुमतको नामबाट पार्टीलाई फुटाउने प्रयास गरियो । फुटाउने सिलसिला त्यतिकै रोकिएन महाधिवेशनकै सेरोफेरोमा पार्टीलाई ३ जना फुटपरस्तहरुले बार्गेनिङ शुरु गरे । पार्टीलाई त्यो कुरा स्वीकार्य नभएपछि उनीहरु छुट्टै पार्टी घोषणा गरे । अहिले तीनै जनाका आ–आफ्ना ३ वटा पार्टी खुलेका छन् ।

आज पनि एकीकृत पार्टीमाथि प्रहार गर्ने प्रयास जारी छ । पार्टीलाई फुटाउनु र आफू क्रान्तिकारी देखिन खोज्नु उनीहरुको अभिप्राय देखिएको छ । त्यो प्रहार दक्षिणपन्थी तथा अराजकतावादी दुवै कोणबाट भइरहेको छ । उनीहरु हाम्रो पार्टीका कतिपय पदलोलुप, महत्वकांक्षी र क्यारिरिष्टहरुलाई उक्साइरहेका छन् । कसैलाई वैज्ञानिक समाजवाद रणनीति नमानेको, कसैलाई संघीयता विरोधी र माओविचारधारा मान्ने र जनयुद्धको विरोध गर्ने पार्टीसित एकता गरेको भनेर भड्काउने प्रयास गरेका छन् । कसैलाई माओवाद मानेको, संघीयता मानेको, जनुयद्धलाई समर्थन गरेका भनेर पनि भड्काइरहेका छन् । त्यसरी भड्काउने काममा माके, मसाल, मशाल, बहुमत आदि समूहहरु छन् । मसालका कतिपय नेताहरु आठौं महाधिवेशनको त्यति ठूला र गम्भीर सैद्धान्तिक तथा राजनीतिक मतभेदलाई बिर्से जस्तो गरेर आज पनि विद्रोही मशालका कार्यकर्ताहरुलाई पुरानो घरमा फर्कन आह्वान गरिरहेका छन् । सायद त्यो पुरानो घर थोक्रो भइसकेको उनीहरुलाई थाहा नभएर हो कि ? माकेले क्रा.मा.लाई “माओवादीहरु एक हौं” भन्ने नारामा तान्न नसकेपछि अहिले अमेरिकी साम्राज्यवाद विरोधी मोर्चा निर्माण गर्न जोड दिइरहेको छ । उसले त्यो मोर्चा निर्माण गरेर आगामी ०८४ को निर्वाचनमा आफू त्यसको मुखिया बन्न खोजिरहेको छ ।

यो स्पष्ट छ कि माकेसँग हाम्रो पार्टी कार्यगत एकता गर्न सक्छ । तर संयुक्त मोर्चा बनाएर जान सक्दैन । यदि कुनै खास अवस्थामा संयुक्त मोर्चा बनाउनु प¥यो भने सर्वप्रथम त माकेले पार्टीलाई साम्राज्यवादसित आत्मसमर्पण गरेको कुरालाई गल्ती स्वीकार गर्नु पर्छ । मसालले माकेको त्यही अभिष्ट पूरा गर्न मोर्चा निर्माणका लागि प्रस्ताव अगाडि सारेको छ । गत दुईवटा संयुक्त कार्यक्रम गर्दा त्यो विषयमा प्रस्ताव राखिएको थियो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले संयुक्त मोर्चा बनाउन इन्कार गर्दै कार्यगत एकताका लागि मात्र सहमत भएको छ। किनकि माके सरकारको नेतृत्व गरिरहँदा एमसीसी पारित गरेको थियो । एकातिर साम्राज्यवादको दलालीगर्ने, अर्कोतिर विरोध पनि गर्ने, यो दोहोरो चरित्र माकेद्वारा किन देखाइएको छ भन्ने कुरा सबैले जानी राखेको कुरा हो । मसालले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको मूल्य मान्यतालाई विर्सेर आइकोर ९क्ष्ऋइच्० को गलत मान्यतालाई समर्थन गर्दै आएको छ । हमास र इजरायलका बीचको युद्धको सन्दर्भमा मसालले हमासलाई दोषी ठहर ग¥यो । आइकोर ९क्ष्ऋइच्० ले पनि हमासलाई दोषी ठहर ग¥यो ।

त्यसै विषयलाई लिएर भारतीय कम्युनिस्ट पार्टी रेड स्टार र आइकोर बीच अहिले बहस चलिरहेको छ । मसाल र आइकोर ९क्ष्ऋइच्० को विचार लेनिनवादी विचारसित मेल खाँदैन । लेनिनले माक्र्सको “संसारका मजदुर एक हौं” भन्ने नारामा उत्पीडित राष्ट्र र जनतालाई पनि पछि जोड्नु भएको थियो । राष्ट्रिय मुक्ति आन्दोलनका लागि लडिरहेको शक्तिलाई “आतंककारी” भनेर विरोध गर्नु सही थिएन । उनीहरुद्वारा अमेरिकी साम्राज्यवाद वा इजरायलको विरोध गर्नु ठीक भए पनि हमासको विरोध गर्नुले प्यालेस्टीनी जनताको साम्राज्यवाद विरोधी युद्धलाई कमजोर पार्न खोज्नु हो । यसप्रकारका अवसरवादी पार्टीहरुले एउटा क्रान्तिकारी पार्टीलाई अवसरवादी दिशामा लैजान चाहे पनि त्यो एकदमै असम्भव कुरा हो । क्रान्तिकारी कम्युनिस्ट पार्टी एउटा बलियो माक्र्सवादी लेनिनवादी सैद्धान्तिक जगमा उभिएको पार्टी हो । पार्टीले कुनै पनि विषयमा गम्भीरतापूर्वक विचार गरेर नै आफ्नो कार्यनीति निर्धारण गर्छ ।
केही पदलोलुप, महत्वकांक्षी र क्यारिरिष्ट तत्वहरुले आफ्नो उद्देश्य पूरा नहुने देखेपछि पार्टी छाड्नु र पार्टीभित्रका इमान्दार कार्यकर्ताहरुलाई एक वा अर्को असैद्धान्तिक तथा अराजक कुराद्वारा भड्काउन पुगे पनि तीन पार्टीको मूल शक्ति यथावत सतिसाल झैं उभिएको छ । हाम्रो पार्टी एकताको बेला निश्चित गरिएका आधारहरु क्रान्तिकारी छन् । ती आधारहरुलाई अस्वीकार गर्ने दक्षिणपन्थी संशोधनवादी तथा अराजकतावादीहरु संगठनमा बस्न सक्दैनन् । तर कहिलेकांही त्यसप्रकारका अवसरवादीहरुले आफू अत्यन्त क्रान्तिकारी जस्तो देखिएर सीधा साधा कार्यकर्ताहरुलाई भड्काउने काम गर्न सक्छन् । त्यसप्रकारका सीधासाधा कार्यकर्ताहरु भड्किएर बाहिर गए पनि उनीहरु न त पार्टी बनाउन सक्छन् न उनीहरु राजनीतिक भूमिका निर्वाह गर्न सक्छन् । ठूला पार्टीमा गए भने उनीहरुलाई दास मात्र बनाउने काम गर्छन । यो अवस्थामा पार्टीको क्रान्तिकारी कार्यदिशालाई ठीकसित नबुझेका कार्यकर्ताहरुका अगाडि चुनौती खडा भएको देखिन्छ । पार्टीबाट अलग भएका केही व्यक्तिहरु अहिले दिशाहीन भएका छन् । जीवनको उद्देश्य नै धरापमा पारिरहेका छन् । त्यसकारण पार्टी कार्यकर्ताहरु गम्भीर भएर सोंच्नुु पर्ने बेला आएको छ ।

जहाँसम्म क्रा।क।पा।को प्रश्न छ, तीनवटा पार्टीको बीचमा कैयौं मतभेदका बाबजुद एकता भएको छ । पार्टीभित्र मतभेदले पार्टी कमजोर हुँदैन तर मतभेदको नाममा गुटबन्दी गरियो भने पार्टी कमजोर हुन जान्छ । पार्टी सदस्यले जहिले पनि आफू बसेको पार्टीलाई कमजोर बनाउने काम गर्नु हुँदैन । इमान्दार पार्टी सदस्यले आप्mना विचारहरु पार्टीमा खुलस्त राख्न सक्नुपर्छ । र पार्टी भित्रैबाट समस्या समाधान गर्नुपर्छ । माथि उल्लेखित ८ वटा आधारभूत विषयमा सहमति छ र कतिपय तात्कालिक नीतिको प्रश्नमा असहमतिहरु छन् भने ती असहमतिहरुलाई हामी खुला छलफल गर्न पनि खुला छौं । त्यसकारण कसैको नीतिले कसैको विचारमाथि विजय प्राप्त गरेको वा पराजित भएको सोच्नु गलत हुनेछ । कुनै नीति अहिलेको लागि लागु भएपनि ती नीति सार्वभौम हुँदैनन् । देश र समाजको परिस्थितिमा परिवर्तन आउनासाथ हाम्रा तात्कालिक नीतिहरु परिवर्तन हुन्छन् । हाम्रा नीतिहरु गीताका श्लोक जस्ता होइनन् । तर आधारभूत नीतिहरु तत्काल परिवर्तन हुँदैनन् । संघर्षको कुनै खास चरणले माग गरे बाहेक ती नीतिमाथि तत्काल परिवर्तन हुँदैन । हाम्रो तात्कालिक नीतिहरुमा समय परिस्थिति अनुसार परिवर्तन भइरहन्छन् । हामी कुनै पनि कुरालाई जडको रुपमा बुझ्नु हुँदैन । हरेक चीज परिवर्तनशील छ ।

हामीले ३ वटा पार्टीका लागि मात्र यो कुरा गरिरहेका छैनौं । यी नीतिमाथि टेकेर अन्य क्रान्तिकारी व्यक्ति, समूह, पार्टी जो एकीकृत हुन चाहन्छन्, सबैसित एकता गर्न र पार्टीलाई अग्रगामी दिशामा रुपान्तरण गर्न हाम्रो पार्टी प्रयत्नशील छ । नेपालको जनवादी क्रान्ति सम्पन्न गर्नका लागि पार्टीलाई बलियो बनाउनुको कुनै विकल्प छैन । पार्टीभित्र गुट, उपगुट, समूह बनाउने प्रयास कसैले गर्छ भने त्यसलाई रोक्न प्रयास गर्नु प्रत्येक इमान्दार पार्टी कार्यकर्ताको जिम्मेवारी हो । यस सन्दर्भमा पार्टी बाहिरका अवसरवादको प्रभावलाई निस्तेज पार्दै एउटा सृदृढ, क्रान्तिकारी र अनुशासित कम्युनिस्ट पार्टीको निर्माणमा सबै जुट्नु पर्ने आवश्यकता छ ।