सत्तासंस्कृतिको कुरुप चित्र

सत्तासंस्कृतिको कुरुप चित्र

संस्कृति

नेपाली भाषाको सरकारी कित्ता अहिले पनि भानुभक्तकै वरिपरि छ । हृदयचन्द्रसिंह, गोपाल प्रसाद रिमाल, पारिजात, कृष्णसेन, केवलपुरे किसान, युद्ध प्रसाद मिश्र आदि अग्रगामी र जनताका सर्जकहरू सत्ताको नजरमा उपेक्षित नै छन् । केही छन् भने दोयम छन् । तात्पर्य के हो भने सरकारी कित्ताको भाषिक चरित्र महेन्द्रीय सङ्कीर्ण राष्ट्रवादमा नै मुग्ध छ, गणतन्त्रको बीसवर्ष बितिसकेर पनि सत्ताको राजनीतिक र सांस्कृतिक चरित्रमा कुनै अन्तर छैन ।

म सम्झन्छु पंचायतकालीन त्यो दिन, जुन दिन पंचायती भारदार कवि माधवप्रसाद घिमिरे रीसमा उम्लिँदै नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको भवनमा उभिएर पंचायतविरोधी साहित्यकारहरूलाई तथानाम गाली गरिरहेका थिए ।

म पारिजात पनि सम्झन्छु, जस्ले आफु मरे आफ्नो लास प्रज्ञा प्रतिष्ठानको परिसरमा न ल्याउन भनेर शाही प्रज्ञाप्रतिष्ठानप्रति घृणा र आक्रोश पोखेकी थिइन् ।

अहिले देशमा गणतन्त्र छ । अहिले, जो पंचायती तानासाही सत्ता र सांस्कृतिक चेतना विरुद्ध लडेका थिए, उनीहरूको सरकार छ । यस्तोमा पनि उही माधव घिमिरे राष्ट्रकवि ? उही राणाजीहरूले पगडी पहिर्‍याइदिएका र पंचायती शासकहरूले राष्ट्रवादी प्रतीक बनाएका भानुभक्त आदिकवि ? होइन भने नेपाली भाषामा हालसम्मका ज्ञात सबैभन्दा पुराना जोसमनी सन्त कवि ज्ञान दिलदासले आदिकविको उपाधि पाउनुपर्ने होइन ?

तर शासकवर्ग अहिले पनि भानुभक्त र सङ्कीर्ण नेपालीभाषिक राष्ट्रवादी सांस्कृतिकतामा नै आनन्द र गर्व अनुभूत गरिरहेको बुझिन्छ । होइन भने यस गणतन्त्रमा सामन्तवादी सत्ता र धर्मको स्तुति गाउने र पश्चगामी संस्कृतिका समर्थक भानु होइन, जनता र गणतान्त्रिक चेतका सर्जक र कविहरूको दिवस मनाएर, उनीहरूको योगदानको चर्चा गरेर गणतन्त्रका शासक र बौद्धिक वर्गले गर्व र आनन्दको अनुभूति गर्थ्यो ।

वर्तमान गणतन्त्रमा सत्ता र सरकारी बौद्धिक वर्गले गणतान्त्रिक संस्कृति, बौद्धिक र जनसंस्कृति अनुरूप ढाल्न थुप्रै बाँकी छ । प्रज्ञाप्रतिष्ठानमा त गणतन्त्र आउन र छाउन अझै बाँकी छ । सरकारी कित्ताका ‘इमान्दार’ बौद्धिकहरूले विचार गर्ने हो कि ?