पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका विरुद्ध भ्रष्टाचार मुद्दा दायर, नेपाल संसद पदबाट निलम्बित

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका विरुद्ध भ्रष्टाचार मुद्दा दायर, नेपाल संसद पदबाट निलम्बित

काठमाडौं । पतञ्जली योगपीठ तथा आयुर्वेद विद्यालयको नाममा दिइएको जमिन अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियारले छुट्टाछुट्टै कसुर किटान गरी नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । तत्कालीन कानूनमन्त्री प्रेमबहादुर सिंह, भूमिसुधारमन्त्री स्व.डम्बर श्रेष्ठ, तत्कालीन मुख्यसचिव स्व. माधवप्रसाद घिमिरे (पछि गृह)परराष्ट्रमन्त्री, तत्कालीन भूमिसुधार सचिव छविराज पन्तलाई पनि प्रतिवादी बनाइएको छ ।

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशानुसार विभागीय मन्त्रालयबाट उक्त कम्पनीले गैरकानूनी तवरबाट प्राप्त गरेको हदभन्दा बढी जग्गा भूमिसम्बन्धी ऐन बमोजिम जफत तथा सरकारी सार्वजनिक कायम हुने जग्गा बेचविखन तथा सट्टापट्टासम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा ठाडो प्रस्तावको रूपमा पेश गरे गराएको देखिएको छ । यो पतञ्जली योगपिठ भारतीय योगगुरु रामदेव यादवको हो ।

नेपालमाथिको मुद्दालाई एकीकृत समाजवादीका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले अत्यन्त दुःखद भनेर प्रतिक्रिया दिएका छन् । उनले नेपालको इतिहासमै पहिलो पटक पूर्व प्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा दायर भएको घटनालाई सामान्य रूपमा लिन नहुने बताए । एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पार्टी अध्यक्ष नेपालविरुद्ध अख्तियारले विशेष अदालतमा दायर भ्रष्टाचार मुद्दा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा भएको आरोप लगाएका छन् । यसलाई उनले पूर्वाग्रहपूर्ण भएको टिप्पणी गरेका छन् । पार्टीको बैठक बसेर थप धारणा सार्वजनिक गरिने पाण्डेले बताए । भ्रष्टाचार मुद्दा लागेपछि गृहजिल्ला रौतहटमा रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल काठमाडौं फर्किँदै छन् । उनी बुधबार गृहजिल्ला रौतहट गएका थिए । पार्टी कार्यक्रममा सक्रिय रहेकै बेला भ्रष्टाचारमा मुद्दा दायर भएको थाहा पाएपछि नेपाल आजै (बिहीबारै) काठमाडौं फर्किन लागेका हुन् ।

एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको सांसद पद निलम्बनमा परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विहीबार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि उनको सांसद पद स्वतः निलम्बनमा परेको हो । नेपालको इतिहासमा पहिलोपटक पूर्व प्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा दर्ता भएको हो । यस्तै, मन्त्रिपरिषद्को निर्णयमाथि भ्रष्टाचारविरुद्धको मुद्दा चलेको पहिलोपटक हो । माधव नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ विगो जरिवाना र सजाय मागदाबी सहित भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार स्रोतका अनुसार, दुई महिनाअघि नै पूर्वप्रधानमन्त्री नेपालसँग अख्तियारले सुटुक्क बयान लिएको थियो । नेता नेपालले टंगालस्थित आयोग कार्यालयमा गएर यो प्रकरणबारे बयान दिएका थिए । यो प्रकरणमा तत्कालीन प्रधानमन्त्री नेपालको संलग्नता पुष्टि हुने आधार भेटिएपछि उनीविरुद्ध मुद्दा चलाउने निष्कर्षमा आयोग पुगेको थियो । तर, राजनीतिक दबाबका कारण रोकिएको थियो ।