१६ वटै ब्यूरोका प्रशिक्षण र बैठक सम्पन्न हुँदै, भ्रष्टाचारविरोधी अभियानको तयारी तीव्र

१६ वटै ब्यूरोका प्रशिक्षण र बैठक सम्पन्न हुँदै, भ्रष्टाचारविरोधी अभियानको तयारी तीव्र

काठमाडौं । देशव्यापी डेढ महिने जनसम्बन्ध विस्तार अभियान सम्पन्न गरेसँगै हालै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले पार्टीको स्थायी समिति र पोलिटब्यूरोको बैठक सम्पन्न गरेको छ । बैठकबाट संगठन र संघर्षको क्षेत्रमा महत्वपूर्ण निर्णय लिइएको छ । पार्टीका कार्यवाहक महासचिव गौरवको अध्यक्षतामा यही जेठ १०–१२ गते स्थायी समितिको बैठक सम्पन्न भएको थियो भने त्यसअघि कार्यवाहक महासचिव गौरवकै अध्यक्षतामा जेठ ६ देखि ८ गतेसम्म राजनीतिक परिषदको दोस्रो पूर्ण बैठक सम्पन्न भएको थियो । पोलिट ब्यूरोको बैठकमा छलफल भएका अधिकांश विषयहरुलाई स्थायी समितिको बैठकले संश्लेषण गर्दै ठोस निर्णय गरेको थियो । बैठकबाट लिइएका निर्णयहरुलाई एक प्रेस विज्ञप्तिमार्फत् पार्टीका कार्यवाहक महासचिव गौरवले जेठ १३ मा सार्वजनिक गर्नुभएको थियो ।

बैठकमा कार्यवाहक महासचिव गौरवले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि व्यापक छलफल चलाई सर्वसम्मत रुपमा पास गरिएको थियो भने भाकपा (माओवादी)का महासचिव नम्वाला केशवराव (क.वसवराजु) सहित अन्य २६ जना क्रान्तिकारी कार्यकर्ताहरुलाई घेरा हालेर मई २१ का दिन फासिष्ट मोदी सरकारले गरेको क्रुरतापूर्ण सामूहिक हत्याको विरोध गर्दै उहाँहरुप्रति शोक प्रस्ताव पारित समेत गरिएको थियो ।

बैठकले गत ०८१ चैत्र ४ गतेदेखि ०८२ वैशाख १८ गतेसम्म सञ्चालित जनसम्बन्ध विस्तार अभियानको विस्तृत समीक्षा गर्दै अभियान शानदार रुपमा सफल रहेको र संगठन विस्तारका लागि राम्रो आधार तयार भएको निष्कर्ष निकाल्यो ।

वैठकले प्रचण्ड नेतृत्व सरकारको निरन्तरतामा हाल ओली नेतृत्वको सरकारले सरकारी स्वामित्वका उद्योगहरु, खास गरेर हेटौंडा र उदयपुर सिमेन्ट उद्योग, भृकुटी कागज कारखाना, बुटवल धागो कारखाना, गोरखकाली रवर उद्योग, विराटनगरको जुटमिल, हेटौंडा कपडा उद्योग, नेपाल मेटल उद्योग तथा नेपाल औषधि लिमिटेडलाई निजीकरण गर्ने निर्णय गरेको, शिक्षकका आन्दोलनमाथि धोका दिंदै माग पूरा नगरेको, विद्युत प्राधिकरणलाई पनि टाट पल्टाएर निजीकरणका लागि आधार तयार पार्ने योजना मुताविक कुलमान घिसिङलाई महानिर्देशकबाट पदच्यूत गरेको, देशमा भ्रष्टाचारको एक पछि अर्को किर्तिमान कायम गर्दै देशलाई असफल राष्ट्र बनाउने तर्फ धकेलेको, महंगी, भ्रष्टाचार, घुसखोरी, अनियमितता र कुशासनलाई प्रोत्साहित गरेको, असंलग्न तथा पंचशीलको सिद्धान्त विपरीत इजरायल–प्यालेस्टाइन, रुस–युक्रेन (अन्तर्यमा नेटो) र हालै भारत–पाकिस्तान युद्धको सन्दर्भमा क्रमशः इजरायल, युक्रेन र भारतको खुला रुपले समर्थन गरेर मित्र राष्ट्रहरुलाई चिढाउने काम गरेको निष्कर्ष निकाल्यो । र, सरकारका यी गलत कामहरुको विरोध गर्ने र मुख्यतः भ्रष्टाचार आजको प्रमुख समस्या भएर आएको हुँदा त्यसका विरुद्ध अभियान संचालन गर्ने निर्णय समेत गरेको छ ।

त्यसैगरी बैठकले देशमा पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सहितका पार्टीहरुले प्रतिनिधित्व गर्ने अग्रगामी धार, संसदवादी पार्टीहरुको यथास्थितिवादी धार र राजतन्त्र तथा हिन्दुुराज्यका पक्षधरहरुको पश्चगामी धारका बीच विचारधारात्मक तथा राजनीतिक टक्कर चल्दै आएको सन्दर्भमा यतिबेला भारतीय हिन्दुवादीहरुको उक्साहट सहितका कारण पश्चगामी धार क्रियाशील हुँदै आएको विश्लेषण गर्दै यथास्थितिवादीहरुको राष्ट्रघाती तथा जनविरोधी गतिविधि र कुशासने प्रतिगमनका लागि मलजल गरिरहेको स्थितिमा यथास्थितिवादीहरुको भण्डाफोर गर्ने र प्रतिगमनका विरुद्ध व्यापक जनमत निर्माण गरी त्यसलाई निस्तेज गर्ने नीति अबलम्बन गरेको छ । बैठकले जनताको जनवादी अधिनायकत्वसहितको संघीय जनगणतन्त्रलाई विद्यमान संकटको विकल्पका रुपमा अगाडि सारेको छ । र, सहकार्यका निमित्त वातावरण बनाउन देशमा छरिएर रहेका विभिन्न क्रान्तिकारी समूह, व्यक्तित्वहरु सित भेटघाट, छलफल गर्नका लागि राजनीतिक संवाद समिति गठन गरेको छ ।

सम्पन्न स्थायी समितिको बैठकले पीबी बैठममा भएको छलफलमा आधारित भएर संगठन र संघर्षका आगामी योजनाहरुलाई ठोस र मूर्त बनाउने काम गरेको पार्टी एचक्यू स्रोले जानकारी दिएको छ ।

बैठकले पार्टीका १६ वटै ब्यूरोका बैठक र प्रशिक्षणको मिति र प्रशिक्षकहरु तय गरेको छ । जस अनुसार १ नंं ब्यूरोमा जेठ २८ र २९ गते बैठक र प्रशिक्षण राखिएको छ भने मुख्य प्रशिक्षकको रुपमा स्थायी समिति सदस्य कुमुदलाई जिम्मा दिइएको छ । त्यसैगरी २ नं. ब्यूरोमा जेठ २६ र २७, मुख्य प्रशिक्षक कुमुद, ३ नं. ब्यूरोमा २४ र २५ मुख्य प्रशिक्षक सुदर्शन, ४ नं ब्यूरोमा २० र २१, मुख्य प्रशिक्षक असीमलाई तोकिएको छ भने जेठ १६ र १७ मा ७ नं ब्यूरोमा सुदर्शन, ८ नंं ब्यूरोमा राजवीर, १० नं ब्यूरोमा प्रतीक, ११ नंं ब्यूरोमा कुमुद र ९ नं. ब्यूरोमा (जेठ १७ र १८) गौरवले बैठक र प्रशिक्षण सम्पन्न गरिसक्नु भएको छ ।

त्यसैगरी २० र २१ मा १२ नं ब्यूरोमा कुमुद, २५ र २६ मा १५ नं ब्यूरो र २८ र २९ मा १६ नं ब्यूरोमा असीमले प्रशिक्षण र बैठक सम्पन्न गर्ने निर्णय लिइएको छ ।

विकसित राजनीतिक परिस्थितिलाई ख्याल गर्दै बैठकले विभिन्न पार्टी तथा व्यक्तित्वहरुसँग छलफल चलाउन स्थायी समिति सदस्य असीमको नेतृत्वमा वसन्त, प्रीतम र सागर रहने गरी राजनीति संवाद समिति गठन गरिएको छ । बैठकले महाधिवेशनमा पारित दस्तावेजहरु केन्द्रीय समितिको आगामी बैठकपूर्व नै प्रकाशित गरिसक्ने निर्णय पनि गरेको छ ।

बैठकले पार्टी सम्बद्ध केही प्रमुख जवसहरुको बैठकको मिति र सम्मेलनको महिना समेत तोकेको छ । जसअनुसार क) मजदुर ः बैठक — जेठ मासान्त, सम्मेलन — फागुन। ख) किसान ः सम्मेलन — २०८३ वैशाख, ग) युवा ः बैठक — जेठ २४ र २५, सम्मेलन — माघ, घ) विद्यार्थी ः बैठक — जेठ २८ र २९, सम्मेलन — चैत्र, ङ) महिला ः बैठक — २३ गते, सम्मेलन — मंसिर, च) जनस्वयंशेवक ः बैठक — २७ र २८, सम्मेलन — असोज, छ) दलित ः बैठक — जेठ २९ र ३०, सम्मेलन — फागुन, ज) जनजाति महासंघ ः बैठक — असार ५ र ६, सम्मेलन — चैत्र, र, झ) अन्य जवस तथा मोर्चाहरुको बैठक यही असार मासान्त र सम्मेलन २०८२ साल भित्र सक्ने गरी तोक्नु पर्नेछ ।

बैठकले क) निजीकरण र भूमि बैंकको व्यापक भण्डाफोर गर्ने, ख) मिटर ब्याज, सहकारी तथा स्थानीय समस्या र भ्रष्टाचारका मुद्दालाई लिएर जनसंघर्ष उठाउन जोडदिने, ग) सरकारले संविधान संशोधनको मुद्दा अगाडि सारे त्यसको खारेजीको माग गर्दै जनताको जनवादी अधिनायकत्वमा आधारित संघीय जनगणतन्त्रात्मक संविधानको पक्षमा आन्दोलन उठाउने, घ) आवश्यकता अनुसार जनतन्त्र, जनजीविका र राष्ट्रिय स्वाधीनताका मुद्दालाई उठाउने, र, ङ) आगामी असार ५ गते भ्रष्टाचार विरोधी अभियानको घोषणा गर्ने र त्यसलाई निरन्तरता दिने लगायतका विषयमा संघर्षसम्बन्धी निर्णय गरेको छ ।

यो भ्रष्टचार विरोधी अभियान निम्नानुसार तीन चरणमा चलाइने पनि बैठकले निर्णय गरेको छ । पहिलो चरण : सबैभन्दा बदनाम भ्रष्टाचारी पत्ता लगाउने र उसका जनविरोधी कर्तूतहरु खोज्ने । ती कर्तूतलाई पर्चा, पोस्टर, वाल पेन्टिङ वा अन्य उपयुक्त माध्यमबाट जनताका बीचमा प्रचार गरी उसका विरुद्ध जनमत निर्माण गर्ने, दोस्रो चरण : जनताका बीचमा उसको खुला भण्डाफोर गर्ने र तेस्रो चरण : जनतालाई साथमा लिएर जनकारवाही गर्ने । त्यसपछिको परिस्थिति हेरी पार्टी केन्द्रले नयाँ र थप योजनाहरुको विकास गर्ने पनि बैठकको निर्णय रहेको छ ।