कथाकार हिरामणि दुखीको दोश्रो कथा संग्रह ‘हेडक्वार्टर’माथि परिचर्चा सम्पन्न

कथाकार हिरामणि दुखीको दोश्रो कथा संग्रह ‘हेडक्वार्टर’माथि परिचर्चा सम्पन्न

काठमाडौं । इच्छुक सांस्कृतिक प्रतिष्ठानको ‘सिर्जना र सम्वाद’को दसौं शृङ्खलाअन्तर्गत शनिबार प्रतिष्ठानका अध्यक्ष समेत रहनुभएका कथाकार हिरामणि दुःखीको नयाँ कथा संग्रह ‘हेडक्वार्टर’माथि परिचर्चा गरिएको छ । प्रतिष्ठानको कार्यसमिति सदस्य गौरी देवकोटाको अध्यक्षतामा आयोजित सिर्जना र सम्वाद कार्यक्रममा कथाकार दुःखीको दोश्रो कथा संग्रह हेडक्वाटरको समीक्षा गरिएको हो ।

लेखक तथा साहित्य अनुरागीहरुको बाक्लो उपस्थितिमा सम्पन्न कार्यक्रम आस्था घिमिरेले सञ्चालन गर्नुभएको थियो भने प्रमुख अतिथि प्रगतिवादी समालोचक अमर गिरी रहनु भएको थियो । प्रमुख अतिथि गिरीले हेडक्वाटर कथा संग्रहमाथि समीक्षा गर्दै जनयुद्वको भोक्ता र कर्ता दुवै स्वयं कथाकार भएकोले यथार्थतालाई कलात्मक रुपमा प्रस्तुत भएको टिप्पणी गर्नुभयो । उहाँले कुनै कथामा लेखक हावी हुन खोजेको आौंल्याउदै पात्रहरुको वर्गीकरण विचारलाई प्रवृत्ति र घटनासँग घोलेर जस्ताको तस्तै अनुवाद गरेर प्रस्तुत गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

प्रा.डा. जगदीशचन्द्र भण्डारीले साहित्य सृजनाको सबैजसो विधामा सक्रिय र खारिँदै गएको दर्शाउँदै जनयुद्वको भोक्ता र कर्ता दुवै भएकोले त्यसको सबैखाले अभिव्यञ्जन कृतिमा विम्बित भएको बताउनु भयो । उहाँले अझ गहकिलो र ओजपूर्ण कृतिको अपेक्षा गरेको बताउनु हुँदै यो कृतिमा देखिएको कमिकमजोरी अर्को कृतिमा सुध्रिएर आउने विश्वास ब्यक्त गर्नु भयो।

वर्णनात्मक शली कथा संग्रहको चरित्र रहेको भन्नु हुंँदै मित्रलाल पङ्गेनीले ऐतिहासिकता र यथार्थताको हिसाबले कथा महत्वपूर्ण र पठनीय रहेको बताउनु भयो । जनयुद्व र कृति प्रकाशित समयावधिको अन्तर धेरै भए पनि यो कृतिलाई युद्व सहित्य नै भन्न सकिने बताउनु हुँदै मोदनाथ मरहठ्ठाले पात्र चरित्र चित्रण यथार्थ रहेको तर व्यख्या अपुग र छोटा भए पनि जनयुद्व नबेहोरेका पाठकलाई जानकारी मुलक रहेको बताउनुभयो।

बाह्र वर्षपछि खोला पनि फर्किन्छ भने जस्तै बाह्र वर्षपछि नै दोश्रो कथा संग्रह प्रकाशित भएकोमा खुसी प्रकट गर्दै नविन विभाषले जनयुद्वको केन्द्र भएको ठाउँ भएर होला धेरै साना मशिना काम गतिविधि थाहा हुन्थ्यो, ती सबै समेट्न नसके पनि प्रतिनिधि मुलुक घटना क्रमलाई कथामा उतारेर नयाँ पुस्तालाई सुसूचित गराउन कथाकार सफल भएको बताउनु भयो ।

सरकारमा हुँदा एउटा रुप र जनता संग हुँदा अर्को रुप देखिने चरित्र चित्रण देखाउनै नचाहेको जस्तो प्रतित प्रगतिशील साहित्य मा पनि देखिन थालेको आौंल्याउदै प्रगतिशील तथा प्रगतिवादी साहित्यकारहरुले लोक चरित्र निर्धारण गर्दा विचार, विश्वदृष्टिकोण बाट अलग्गिएको पाइने गरेको चर्चा गर्दै उहाँले तर यो कृति त्यसबाट अलग रहेको बताउनुभयो।


कथाकार इस्मालीले कथा लेखन बोली हो, यस्तो बोलीमा लेखक आफै न्यायाधिश भएर बोल्नु हुँदैन भन्नु हुंदै कतै कतै त्यस्तो छनक भेटिएकोले आउँदो कृतिमा सच्याउन सुझाव दिनु भयो। जनयुद्वबाट भुक्त भोगी हुँदै खारिएर आएका विषयवस्तुको प्रस्तुतिको निष्कर्षमा पुग्दा कता कता अल्मल्लिएको भाव झल्किन पुगेको आौंल्याउदै सररर बग्ने हुनुपर्छ भन्ने सुझाव दिनु भयो।

खेम थपलियाले कतिपय ठाउँमा व्याकरणात्मक शुद्धतामा समस्या रहेको आौंल्याउदै कथामा बर्तमान परिदृश्यको सचित्र व्यवहारतः पुष्टि भएका घटनाहरु मन छुने खालको रहेको बताउनु हुँदै कतै कतै कथ्य भन्दा लेखक हावी भएको देखिएकोले त्यसलाई सच्याउन सुझाव दिनु भयो।


सबै समीक्षकहरुको सल्लाह सुझाव ग्रहण गर्नुपर्ने मात्रै आएकोले त्यसलाई ग्रहण गर्ने प्रतिबद्वता व्यक्त गर्दै कथाकार हिरामणि दुःखीले भन्नुभयो, “६० सालदेखि कथा लेखन सुरु गरेँ । पहिला देखेका भोगेका घटनाक्रमहरु कवितामा उतारेँ तर सब उतार्न नसकिने भएरै कथा लेख्न सुरु गरें । यसरी लेख्न प्रेरित गर्नुहुने चाहिँ (अमर गिरीतिर देखाउदै) वहाँ नै हो । कथा लेख्दै जाँदा कथा, कथा जस्तो नभएर कतै इतिहास निबन्ध, संस्मरण जस्तो पो हुन्छ कि भन्ने भएर निकै सताउथ्यो। त्यो बेला गोर्कीका कथा संग्रह पढेर अनुभव सँगाल्न थाले र सत्यताले निकै छुन्थ्यो त्यसैको आधारमा कथा लेख्न थाले । ०६२÷०६३ तिर हेडक्वाटरको नजिक भएर काम गर्ने मौका पाएपछि संगठन तथा भुगोलमा काम गर्नेहरु र विभागमा काम गर्नेहरु बिचमा सहिनसक्नुको भेद देख्दा आौधि छुन्थ्यो । त्यसैको विम्ब उतारिएको छ।”

उहाँले अगाडि भन्नुभयो, “कतिपय भेला प्रशिक्षणहरुमा सेक्टर काण्डले नचाहदा नचाहादै नेतृत्व गर्नु परेको प्रचण्डको हुंकार सुन्दा अति खुल्दुली लाग्थ्यो। धेरै जसो नेतृत्वसंग सहकार्य गर्दै गर्दा सुक्ष्म रुपले अध्ययन गर्ने अवसर मिल्यो । तर प्रचण्ड नेतृत्व बन्नुमा त्यो सेक्टर काण्डको कुनै सम्बन्ध नभएको पाउदा मन खिन्न हुन्थ्यो। यी र यस्ता यस्तै अनुभवहरुको विम्ब उतारिएको कथा नै हो– हेडक्वाटर ।”

युद्वसंग सम्बन्धित नौ आोटा र वर्तमान समय र समसामयिक विषयमा वाँकी कथाहरु रहेको बताउँदै कार्यक्रमका अध्यक्ष गौरी देवकोटाले क्रान्तिले धक्का खाएको, नेतृत्वमा स्खलन देखा परेको बिषयहरु सरल रुपले उतारिएको र कतिपय कथाका अंशहरु संस्मरण पढेजस्तो प्रतित हुन्छ भन्नुहुँदै पछिल्ला कृतिमा सच्चिएर आउने विश्वास ब्यक्त गर्दै कार्यक्रममा सहभागिता जनाउनुहुने सबैलाई धन्यवाद दिंदै कार्यक्रमको समापन गर्नुभयो ।