नयाँ आर्थिक वर्षका लागि ल्याइएको बजेटका यी केही हाइलाइट मात्रै हेरौं…
*२२ जिल्लामा चैतेधान रोप्न ३३ करोड दिने
*८० स्थानीय तहमा उच्चमूल्यको बाली लगाउन ८९ करोड दिने
*माटोको गुण कायम राख्न ४० करोड दिने
*मासुका लागि ठूला फार्म खोल्न ८५ करोड बाँडिने
*बुटिक विमानस्थल बनाउन ४ अर्ब छुट्याइने
*मध्यपहाडमा नयाँ सहर बसाउन १ अर्ब ७० करोड दिने र सहर विकास गर्न अलग्गै ५ अर्ब दिने
*फुसको छानो विस्थापन गर्न ७५ करोड बाँड्ने
*सार्वजनिक संस्थान (सरकारी उद्यम ?) लाई कम्पनीमा लैजाने अर्थात् निजीकरण गर्ने
*विद्युत् प्राधिकरणलाई ‘सुदृढ संस्थागत विकास’का नाममा निजीकरण गर्ने, दुग्ध विकास संस्थानलाई पुनर्संरचनाका नाममा बेचिदिने
*पाँच लाख परिवारलाई एक वर्षमै जग्गा बाँड्ने र लालपूर्जा दिने… ।
—
यी त प्रत्यक्ष लेखिएका केही बुँदा मात्रै हुन्, बजेटमा नदेखाइएका यस्ता सयौं प्रावधानहरु छन् । चैतेधान, उच्चमूल्यको बाली, मासु फार्म जस्ता योजना कार्यकर्ता पोस्ने छली योजना होइनन् भन्न कसले सक्छ ? बुटिक विमानस्थल कसलाई चाहिएको हो ? गाउँबस्तीहरु उजाडिएका उजाडियै छन्, नयाँ सहर बसाउन भनी अर्बौं रुपियाँ कुन प्रयोजनका लागि हो ? विद्युत् प्राधिकरण लगायत बाँकी बसेका थोरै संस्थानहरुलाई पनि अब बजारका साहुजीलाई बेच्ने कसको हितका लागि हो ? सुकुम्बासीका नाम लिएर जग्गा कसलाई बाँडिने हो अनि लालपूर्जा दिने आसेपासेलाई हो कि साँच्चैका सर्वहारा–सुकुम्बासीलाई हो ?
यो देश प्रतिक्रान्तिको बाटोमा हिंडेको दशकभन्दा बढी भइसक्यो । यो प्रतिक्रान्तिको मैझारो कहाँ पुगेर हुने हो, अझै ठेगान छैन । राजावादीहरु फेरि निरंकुश राजाकै तानाशाहीमा लगेर यसको साङ्गे गरौंला भनेर सडकमा निस्कन थालेका छन् । धर्मान्धहरु एक धर्मको प्रभुत्व लादेर प्रतिक्रान्तिको बिट मारौंला भनेर जोखाना हेरिरहेका छन् । प्रतिक्रान्तिको दूषित वायु फैलाउने शक्तिहरु अझै पनि चेतेका छैनन् । जनतालाई ढाँट्नु, जनताको करमाथि रजाइँ गर्नु र राज्यस्रोतको चरम दोहन गर्नु नै उनीहरुका लागि लोकतन्त्र र गणतन्त्रको ‘अग्राधिकार’ बनेको छ ।
प्रतिक्रान्ति वा प्रतिगमन सधैंभरि सीधा वा एकैरातको सत्तापलटबाट आउँदैन । कहिलेकाहीं यो बिस्तारैबिस्तारै आउँछ, लोकतन्त्र वा गणतन्त्रको नारा लगाउँदै–लगाउँदै पनि आउँछ ! एक–एक पाइला पछाडि हट्दै, एक–एक खुड्किलो तल ओर्लंदै, एक–एक धड्कनमा मुटु कुल्चँदै पनि आउँछ, प्रतिगमन । शक्तिशाली भनिएको गठबन्धन हरदिन एक–एक पाइला प्रतिक्रान्तितिर लर्खरिएको छ र यो गठबन्धनले ल्याएको बजेट पनि एक खुड्किलो प्रतिक्रान्तितिरकै ओरालो हो । यसले जनताका असन्तुष्टि सम्बोधन गर्दैन, थप बढाउँछ । यसले रोजगारी सिर्जना गर्दैन, बेरोजगारी बढाउँछ । यसले कमिसनखोरीलाई नियन्त्रण गर्दैन, त्यसको विस्तार मात्रै गर्छ ।
गणतन्त्रको रक्षा गणतन्त्रको मन्त्रणा गरेर हुँदैन । गणतन्त्रको आरती गाएर गणतन्त्र जोगिंदैन । गणतन्त्रको भजन गाउँदै देश लुट्नेहरुले गणतन्त्र जोगाउन सक्दैनन् । देश लुट्नेहरुलाई शिरमा राखेर लामबद्ध हुनेहरुसँग यो प्रतिक्रान्ति रोक्ने ल्याकत हुँदैन । प्रतिक्रान्ति रोक्ने हो भने एक पाइला अगाडि जाने हिम्मत हुनुपर्छ, एक पाइला अगाडि टेक्ने बाटो खोज्नुपर्छ ।
आउनुस्, त्यो अगाडिको बाटो खोजौं ! आउनुस्, यो प्रतिक्रान्तिको प्रदूषण रोक्न एकताबद्ध होऊँ !!






























