हो महासय हो
युद्ध नभएको भए
थुप्रै दुखहरू व्यहोर्नुपर्ने थिएन ।
मजाले मोहोर राखेर
महाराजका पाउमा
विन्तीपत्र हालिरहन पाइने थियो ।
महिला दलित
मधेशी, मुस्लिम र जनजातिका
सबै भाग एक्लै हसुरेर
मजाले उग्राएर बस्न पाइने थियो ।
गाएर श्रीमान गम्भिर नेपाली
बडो भावुक राजभक्त भैरहन पाइने थियो ।
महाराजले बनाएका
चौध अञ्चल पचहत्तर जिल्ला
राखेर यथावत
भाग शान्तिले खाइरहन पाइने थियो ।
बडो बाठो पल्टेर
बडो क्रान्तिकारी पल्टेर
नथालेको भए युद्ध
आज पनि
महाराजको पैताला धूलोको चन्दन लगाएर
जङ्गी निशान हाम्रो गाइरहन पाइने थियो ।
हो महासय हो
खुब गणतन्त्र चाहियो भन्दै
नथालेको भए युद्ध
देश महाराजको अनुकम्पाले
पचास वर्ष अगाडि गैसक्ने थियो
र महाराजका कट्टुका जुम्रा तपाईंहरू
ढाडिएका ढाडी बनेर
लिखा पारेर बस्नु हुने थियो ।
कसले किन सल्काइदियो
मजदूर किसानको दिमागमा आगो
कसले किन जोडिदियो
महिला दलितको खुट्टामा आँधी
र तिनीहरू आँखामा आँखा जुधाउन थाले
र तिनीहरू इटको जवाफ
पत्थरले दिन थाले
र हेर्दा हेर्दै तपाईंहरूको
म्हान् तथा अग्रगामी राजतन्त्र
गर्लम्म ढल्यो
र देशलाई पचास वर्ष पछि धकेल्दै
आयो यो देशमा गणतन्त्र ।
हो महासय हो
तपाईंहरूले टाउकामा इनाम तोकेका बखत
बहादुरहरूले बुझउन सकेका भए
हाम्रा भएभरका टाउका
तपार्इंहरूलाई क्या हाइसन्चो हुने थियो
तर इतिहास
तपाईंहरूले भने जसरी लेखिएन
त्यसो त हामीले भने जारी पनि लेखिएन
तैपनि ठग्दा ठग्दै पनि
धेरथोर जे लेखियो
तिनै सीमित अक्षरहरूले पनि
सताइरहेछ तपार्इंहरूलाई ।
२०८१ माघ २८































