गोविन्द पौडेल
काठमाडौं/११ जेठ
यही जेठ ९ गते कास्की जिल्लामा कार्यरत क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल सहितका पाँच राजनीतिक दलहरुले विभिन्न विषयका माग राखेर प्रधानमन्त्रीलाई ज्ञापन बुझाएका छन् । उक्त ज्ञापनपत्रमा पोखरा विमानस्थल सहितका स्थानीय समस्यालाई लिएर गत शुक्रबार उनीहरूले कास्कीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन बुझाएका हुन् ।
ज्ञापनपत्रमा पोखरा विमानस्थलमा देखिएको अनियमितताको छानबिन गरिनुपर्ने, फेवातालको संरक्षणबारे सर्वोच्च अदालतको फैसला कार्यान्वयन गरिनुपर्ने, पृथ्वीचोकस्थित बसपार्क निर्माणमा देखिएको ढिलासुस्ती अन्त्य गरिनुपर्ने रहेका छन् । त्यसैगरि उक्त ज्ञापनपत्रमा सहकारी वचतकर्ताको रकम फिर्ता गरिनुपर्ने, मध्यपहाडी लोकमार्ग निर्माण प्रक्रियामा भएको ढिलासुस्ती अन्त्य गरिनुपर्ने, चौतारीका बरपिपल कटानी रोक्नुपर्ने, सङ्क्रमणकालीन न्यायसम्बन्धी अपारदर्शी र पक्षपातपूर्ण नियुक्ति सच्याइनुपर्ने तथा लोकतन्त्र र गणतन्त्र विरोधी गतिविधि रोक्नुपर्ने विषय समेटिएका छन् ।
विज्ञप्तिमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल कास्कीका सचिव विक्रम थापा, राष्ट्रिय जनमोर्चा कास्कीका अध्यक्ष रवि मोहन ढकाल, नेपाल समाजवादी पार्टी (नयाँशक्ति) कास्कीका अध्यक्ष मेखबहादुर क्षेत्री (राजु), नेपाल कम्युनिस्ट पार्टी कास्कीका सचिव उमेश सी, नेकपा (बहुमत) का सचिव रवीन्द्र राईको हस्ताक्षर गरेका छन् ।
































