त्यो आलो, रातो, तातो रगत
क्रूर मृत्युको चीत्कार
निर्मम हत्या, हिंसा, बलात्कार
अनि ती तिम्रा राक्षसी शासनका चित्रहरू ।
तँ — निरंकुश, निर्दयी तानाशाह,
बराबरीको कुरा गर्ने
तर रैतीलाई मलिलो माटोमात्र ठान्ने,
मालिक र दासबीचको गहिरो खाडल खनेर
अधिकारलाई बन्दी बनाउने शासक ।
अचम्म लाग्छ
तँ स्वघोषित ईश्वर, राजा, महाराजा
आध्यात्मिक षड्यन्त्रको पर्दा ओढेर
अन्यायलाई भाग्य बनाउने कूटनीतिक पण्डित ।
रामायण र महाभारतका राजा पात्र
सङ्कट मोचनका नाममा
रैतीलाई निहुरिन सिकाउने कथा,
अनि त्यो विनम्र अनुरोध
असली दमनको मुखुण्डो ।
तेरा आँसु गोहीका आँसु,
तेरा अनुरोध प्रतिशोधको ज्वाला निरङ्कुशताको पहाड
तेरो धर्म केवल भाग्यको व्यापार ।
तर सम्झ,
त्यो आलो रातो, तातो रगत
चिच्याइरहेछ अब पर्याप्त भयो
क्रूर मृत्युको कथा फेरिनेछ
तातो छ, रिसको ज्वाला जस्तै
माटोमुनि हराएका सपना बोल्दैछन्
क्रूर मृत्युको कालो गाथा लेख्दैछन् ।
हत्या, हिंसा, बलात्कार
तेरो सत्ता त अपराधको गगनचुम्बी दरबार,
जहाँ न्याय लम्पसार छ
र पीडाका चिच्याहट गुम्सिएका छन् ।
तँ — निरङ्कुश, स्वघोषित राजा, ईस्वर
तँ — भाग्यको दलाल, धर्मको ब्यापारी,
रैतीलाई भुइँचालोको धूलो बनाउने
सामन्ती आँखा बोकेको आत्ममुग्ध अधिकारी ।