अस्वीकृति

अस्वीकृति

कविता

प्रत्येक साँझ रोकिने र
रातभर पर्खिएर बस्ने
प्रत्येक झुल्केघामसँगै सुरु हुने र
सङ्घर्ष चर्किने
तिम्रो निर्देशनमा बनेको धर्मयुद्धको नियम
अब यो धर्मयुद्धको नियम पनि स्वीकार्य छैन ।

जसका विरुद्ध लड्दालड्दै जीवन रित्तिएको छ
उसैसँग मित लाएर शीर ठड्याउनीमा
उल्टै भाले र बोतल बुझाएको छ
समयानुुकूूल बन्ने निहुँमा बलिष्ठलाई तेल घस्नुपर्ने
भागबन्डाको निर्लज्ज शिष्टता पनि स्वीकार्य छैन ।

पटक, पटकको झुक्यानको मेसो पनि पाइएको छैन
सधैँ कजाईरहने रोटीबेटीको नातो,
साइनो पनि चाहिएको छैन
तँ, तिमीको शिष्टतामै हार्दिकता छचल्किन्छ भने
तपाईं, हजुरको निर्लज्ज शिष्टता पनि चाहिएको छैन ।

अर्कैले खनिदिएको कुलोमा बग्ने
पानी बन्नु जिन्दगी होइन
आफैँले डोरेटो कोरेर अघि बढ्ने
हुन्डरी, आँधी चाहिएको छ
प्रत्येक सङ्घर्षको अन्त्यको सम्झौतामा
झुकाइएको मेरो देशको स्वाभिमान
जुरुक्क उचालेर शीर ठाडो पार्ने
रक्तवर्णी क्रान्ति चाहिएको छ ।

एउटैले चिथोरेर कङ्काल बनाएको मेरो देश
आफैँ चिथोरिएर त्यो पलायन भएपछि
सयौँले स्वाङ् गरेर चुसिरहेछन् त्यही कङ्काल
त्यही कङ्कालको ढाँचा पनि चरमराउने गरि
झुत्ती खेलेको हेरेर बस्न पनि अस्वीकार्य छ ।

अब स्वीकार्य छैन जियसले
तोकिदिएको सिसिफसको जिन्दगी
अब स्वीकार्य छैन पराई घरको
बैठकको निर्देशित निर्णय
अब स्वीकार्न सक्तैन मेलमिलाप र
सम्झौताको बहानामा ठगिएको देशले
अब बोक्न सक्तैन यो व्यवस्थाकाे नाममा
दुर्गन्धित बोझको जडौरी खाँकर ।
२०८२ वैशाख २७