१. विषय आरम्भ
सांस्कृतिक रूपान्तरण समग्रताको विषय हो । यो मानिसको विचार, संस्कार, सामाजिक रितिथिति, व्यवहार, प्रचलन आदि सबैको परिवर्तन हो । निश्चय नै संस्कृतिको चरित्र परिवर्तनशील भएकाले समयको परिवर्तनसँगै यसमा परिवर्तन हुँदै जान्छ । तर त्यस खालको क्रमिक परिवर्तनलाई सांस्कृतिक रूपान्तरण भनिदैन । सांस्कृतिक रूपान्तरण छलाङ्गका रूपमा हुन्छ । सांस्कृतिक रूपान्तरण भनेको शोषक वर्गीय चिन्तन, बानी बेहोरा, संस्कार आदिलाई सर्वहारावर्गको अग्रगामी संस्कृतिमा बदल्ने कार्य हो । निनु भन्दछन्, “संस्कृतिको वर्ग रूपान्तरण नै सांस्कृतिक रूपान्तरण हो (चापागाईं, २०६७ ः १०७) ।”
२. रूपान्तरणबारे फरकफरक दृष्टिकोण र गतिविधि
प्रगतिवादी साहित्य र कलाको फाँटमा अहिले सांस्कृतिक रूपान्तरण कसरी र कुन तरिकाले गर्ने भन्ने सवाल चर्कैगरि उठेको छ । धेरै सांस्कृतिक श्रष्टाहरूले यसबारे थुप्रै लेखरचना प्रकाशित गरेका छन् र समयसमयमा गोष्ठी अन्तरक्रिया र छलफलहरू हुने गरेका छन् जसबाट हामीले धेरै ज्ञान प्राप्त गरेका छौँ । विद्यमान संस्कृति शोषित पीडित श्रमजीवीवर्गको हितमा नभएकाले त्यसलाई परिवर्तन गर्नुपर्छ भन्ने सवालमा हामी प्रगतिवादी साहित्यकार र कलाकारहरू सबै एकमत नै छौँ र वर्तमान अवस्थामा हामी जुन सांस्कृतिक रूपान्तरणको सवाल उठाइरहेछौँ, त्यो आफ्नै वर्तमान परिवेशमा विद्यमान संस्कृतिलाई बदल्नुपर्ने अभिप्रायले नै गरिरहेछौँ । तर हाम्रो अभिप्राय के हो ? रूपान्तरणको आवश्यकता के कति कारणले परेको हो ? यस सम्बन्धमा प्रगतिवादी साहित्यकार र कलाकारहरूमाझ मत बाझिएको अवस्था छ ।
एकथरी सांस्कृतिककर्मीहरू संस्कृतिलाई परिवर्तन गर्न भनी स्वतस्फूर्त ढङ्गले लागेका छन् । तिनीहरू परिवर्तनबारे आफ्नो दिमागमा जे सोचाइ उत्पन्न भएको छ, त्योअनुसार चलेका छन् । यो खालको प्रबृत्ति हामीमाझ विगत लामो समयदेखि देखापर्दै आएको छ । एकचोटी सरकारले पढेलेखेका युवाहरूलाई योग्यताअनुसारको जिम्मेवारी दिएन, नातापाता र आसेपासेलाई मात्र रोजगारी दिने बेथितिको परम्परा बसाल्यो भनी विश्वविद्यालयका उपाधी प्राप्त केही बुद्धिजीवीहरूले देशमा स्वस्थ आचरणअनुसारको शासन व्यवस्था बसाल्ने ध्येयका साथ राजधानीको प्रमुख केन्द्रका सडक छेउमा बसी बुट पालिस गर्ने अभियान चलाए । सामाजिक विकृितविरुद्ध त्यो विद्रोहको संस्कृति थियो । त्यसरी नै २०२० को दशकको आखिरतिर संस्कृतिको क्षेत्रमा राल्फा जमात देखाप¥यो जस्ले तत्कालीन सामाजिक मूल्य–मान्यता विरुद्ध इतिहास नमान्ने, सम्पूर्ण परम्परा, संस्कार र मान्यता भत्काउने, यौन सम्बन्धमा स्वच्छन्द ढङ्गले चल्नेजस्ता नाराहरू अघि सा¥यो । गीत सङ्गीतका माध्यमबाट त्यसले विद्रोहको आवाज घन्कायो पनि । तर बुटपालिस अभियान र राल्फा अभियानजस्ता ती स्वतस्फूर्त विद्रोहहरू वर्षात्का पानीका भुल्कासरी बिलाए । आवेसमा उठ्ने र केही समयपछि सेलाउने खालका गतिविधिहरू वास्तविक रूपमा सांस्कृतिक रूपान्तरणका तौर तरिका होइनन् । सांस्कृतिक रूपान्तरण त निश्चित विचारसँग गाँसिएको योजनाबद्ध र दुरगामी लक्ष्यअनुसारको कार्यक्रमिक सवाल हो । रुची, लगाव, पारस्परिक सम्बन्धमा आधारित आरोह–अवरोह, सफलता–असफलता आदिको कत्ति पनि परवाह नगरि निरन्तर अघि बढ्ने दृढता र अठोट यसमा हुन्छ (चापागाईं, २०७६ ः ४) ।
एकथरी सांस्कृतिककर्मीहरू समाजमा आर्थिक र राजनीतिक परिवर्तन भइसकेकाले तदनुसारको सांस्कृतिक दृष्टिकोण आवश्यक छ भन्ने आसयका साथ प्रस्तुत भएका छन् । गणतन्त्रात्मक सङ्घीय संसदको स्थापनालाई तिनीहरूले राजनीतिक परिवर्तनका अर्थमा लिएका छन् र परिवर्तित राजनीति अनुकूल संस्कृतिलाई बदल्ने अभिप्रायले चलेका छन् । तिनीहरूले यही सङ्घीय परिपाटीलाई संस्थागत गरेपछि समाजवादी संस्कृति निर्माण गर्नेे बाटो खुल्छ भनी भन्दछन् । तर तिनीहरूको सोचाइ सही देखिन्न किनकि देशको वर्गीय संरचनामा खासै परिवर्तन भएको छैन ।
सांस्कृतिक फाँटमा कार्यरत हाम्रा कतिपय सांस्कृतिककर्मीहरू पार्टीका सदस्य छन् । ती कोही नेकपा (एमाले) मा आवद्ध छन्, कोही नेकपा (मसाल) मा आवद्ध छन्, कोही नेकपा एकीकृत समाजवादीमा आवद्ध छन्, कोही क्रान्तिकारी कम्युनिस्ट पार्टीमा आवद्ध छन् त कोही नेकपा (माओवादी केन्द्र) मा आवद्ध छन् । वर्तमान सन्दर्भमा संसदीय अभ्यासमा संलग्न पार्टीहरूसँग आवद्ध संस्कृतिकर्मीहरू सांस्कृतिक रूपान्तरणका पक्षमा अभिमत जाहेर त गर्दछन्, तर आफ्ना दलका नेताहरूले गरेका नोकरशाही शैली, भ्रष्ट आचरण, परिवारवाद आदिलाई अनदेखा गर्दछन् अथवा देखे पनि बेवास्ता गर्दछन् । तिनीहरू पुरस्कार पाउने अथवा राजनीतिक नियुक्तिका पदमा आसीन हुने लोभका कारण नेताहरूका कमजोरीप्रति आँखा चिम्लन्छन् । यो अवसरवाद सिवाय अरू केही होइन । संस्कृतिकर्मीहरू कमी कमजोरीको मुकाविला गर्ने सवालमा निर्मम हुनु आवश्यक छ । गलत विचार विरुद्ध आफ्ना सिर्जनाको माध्यमबाट सशक्त खण्डन गरि बाटो बिराएकाहरूलाई सही गोरेटोमा हिँडाउने प्रयत्न तिनीहरूले गर्नुपर्दछ ।
अक्सर सांस्कृतिक रूपान्तरणका अभियन्ताहरूको ध्यान परम्परागत रूपमा चल्दै आएका सामन्ती संस्कृतिलाई मात्र बदल्नेतर्फ गएको देखिन्छ । आफूहरू त्यही सांस्कृतिक परम्पराबाट पीडित हुनाले त्यस्तो सोचाई उत्पन्न भएको होला । तर विस्थापन गर्नुपर्ने संस्कृति सामन्ती संस्कृति मात्र होइन । हामीले सबैभन्दा बढी प्रहार यतिखेर हामीमाझ विस्तारित रूपमा फैलिएको साम्राज्यवादी बजार–संस्कृति विरुद्ध पनि गर्नुपर्दछ । मुलुकमा फैलिएको कमिशनतन्त्र, उपभोक्तावाद, बिचौलिया धन्दा आदिले समाजलाई अति नै प्रदूषित गरेकाले तिनको दलदलबाट जनतालाई मुक्त गर्नुपर्छ ।
वर्तमान अवस्थामा सांस्कृतिक रूपान्तरणको मार्गदिशा सामन्तवादको अवशेषसहितको दलाल तथा नोकरशाही चरित्रको पुँजीवादी संस्कृतिलाई अन्त्य गरि जनवादी संस्कृतिको जग मजबूत बनाउँदै उदिएमान शक्तिका रूपमा देखापरेको सर्वहारावर्गको संस्कृतिको स्थापनाको दिशातर्फ अघि बढ्नु होे । सांस्कृतिक आन्दोलनको मूल समस्या भनेको वर्तमान संसदीय यथास्थितिमा अल्झिएर बस्ने कि यसलाई भत्काउने दिशामा अघि बढ्ने, साम्राज्यवादी तथा विस्तारवादी बाह्य शक्तिको प्रभुत्वअन्तर्गत बसिरहने कि वैज्ञानिक चेतना अवलम्बन गर्दै क्रान्तिको मार्गमा अघि बढ्ने भन्ने हो । समाजमा गुणात्मक चरित्रको संस्कृति स्थापित नभएसम्म रूपान्तरणको अभिभारा पुरा हुन सक्दैन ।
३. राजनीति र संस्कृतिको अन्तर्सम्बन्ध
वर्तमान अवस्थामा एकथरी अभियन्ताहरूले कोरा संस्कृतिका एजेण्डा बोकेर चल्ने गरेको पनि पाइएको छ । तिनीहरूले देशको राजनीतिक अवस्था र आर्थिक अवस्था के छ र वर्तमान सत्ताको चरित्र के कस्तो छ त्यसबारे ध्यान दिने गरेका छैनन् । सांस्कृतिक रूपान्तरण देशको संरचनागत परिवर्तनसँग जोडिने सवाल हो । यो देशको आर्थिक र राजनीतिक परिवर्तनसँग जोडिने विषय हो । त्यसकारण सांस्कृतिक रूपान्तरणका अभियन्ताहरूले राजनीतिक क्रान्तिमा भाग लिँदै सांस्कृतिक मोर्चाको कामलाई अघि बढाउनु पर्छ । देशको राजनीतिक अवस्था र आर्थिक धरातलको ख्याल नगरि एकोहोरो रूपमा चल्दा संस्कृतिमा केही प्रभाव त पारिएला तर अपेक्षाअनुसार परिवर्तन गर्न सकिँदैन । राजनीतिको वेवास्ता गरि मानिसको संस्कारमा परिवर्तन गर्न खोज्ने यस्तो विशुद्धतावाद अव्यवहारिक हुन्छ (चैतन्य, २०६६ ः १२९) । संस्कृतिलाई मात्र लिएर अघि बढ्ने यस्तो नीतिले सांस्कृतिक परिवर्तनमा खासै योगदान पु¥याउँदैन पनि ।
बुझ्नु पर्ने कुरा के हो भने राजनीतिक र सांस्कृतिक परिवर्तनको गति एउटै हुँदैन । आर्थिक संरचनामा परिवर्तन हुँदा जति छिटो राजनीतिमा परिवर्तन हुन्छ, त्यति छिटो परिवर्तन संस्कृतिमा हुँदैन । राजनीतिक समस्यालाई जसरी चाँडै हल गर्न सकिन्छ, त्यसरी नै सांस्कृतिक समस्यालाई हल गर्न सकिँदैन । संस्कृतिमध्येमा पनि मानिससँग भएको भौतिक संस्कृति छिटै बदलिन्छ । कर्मकाण्ड पूजाआजा आदि गराउने कट्टर पुरोहितहरू आफ्ना व्यवसाय सञ्चालन गर्ने क्रममा विज्ञानले आविस्कार गरेका यातायातका आधुनिक साधन कार, मोटरसाइकल आदिमा यात्रा गर्दछन् र आफ्ना यजमानसँग कुराकानी गर्न मोवाइल प्रयोग गर्दछन् । ज्योतिषीहरूले आजभोलि हेराउन अथवा मानिसको भाग्यवारे भविष्यवाणी गर्न नेट प्रयोग गर्न थालेका छन् । तर समय बदलिए पनि तिनीहरूको दिमागमा जुन रुढीवादी विचार छ, त्यसलाई त्याग्न तयार देखिन्नन् । नयाँ व्यवस्था आए पनि मानिसहरूका दिमागमा लामो समयसम्म पुरानै समयका विचार र बानी व्यहोरा रहिरहन्छन् । त्यस कारण सांस्कृतिक रूपान्तरणका लागि हामीले लामो समयको अवधिका लागि आफूलाई तयार पार्नैपर्छ । हामीले त्यहीअनुरूप कामको योजना बनाउनु पर्दछ र अधिकतम धैर्य दृढता र विधि प्रदर्शन गर्नुपर्ने हुन्छ । सांस्कृतिक कार्य र सांस्कृतिक विकासको काम दीर्घकालीन प्रक्रियासँग गाासिएको हुन्छ । यो हतारोमा जल्दीबाजीमा संभव हुँदैन । पुरानो संस्कृतिलाई न रातारात ध्वस्त गर्न सकिन्छ न रातारात नयाँ संस्कृतिको निर्माण गर्न सकिन्छ (चापागाई, २०७९ ः ३१०) ।
राजनीति र संस्कृतिको अन्तर्सम्बन्धका सन्दर्भमा के पनि बुझ्नु आवश्यक छ भने सांस्कृतिक रूपान्तरण नभएको राजनीतिक आन्दोलन अपुरो र अपर्याप्त हुन्छ । सत्ता परिवर्तन मात्र सबथोक होइन, महŒवपूर्ण सवाल हात परेको सत्तालाई फुत्कन नदिनु हो । राजनीतिक परिवर्तनपछि पनि यदि पुराना मूल्य मान्यता अपनाइरहने वातावरण समाजमा रह्यो भने त्यसले ढिलो चाँडो समाजलाई फेरि पुरानो व्यवस्थातिर फर्काउँछ । यस तथ्यलाई सोभियत सङ्घको बिघटन र विभिन्न देशमा घटेका प्रतिक्रान्तिका घटनाले सिद्ध गर्दछन् । त्यसकारण सामाजिक परिवर्तनका निम्ति सांस्कृतिक रूपान्तरण अनिवार्य आवश्यकता हो । विचारमा खारिएका सांस्कृतिक चेतसहितका राजनीतिक कार्यकर्ता र जनताले मात्र नयाँ व्यवस्थालाई समृद्ध बनाएर समाजवादको दिशातर्फ लैजान्छन् ।
हामीले के पनि सोच्न हुँदैन भने संस्कृति पराधीन प्रकृतिको हुन्छ र त्यो केवल निश्चित आर्थिक र राजनीतिक व्यवस्थाको जगमा मात्र उभिएको हुन्छ । संस्कृतिले पनि विद्यमान प्रतिक्रियावादी आर्थिक आधार र राजनीतिलाई भत्काउन सहयोग पु¥याउँछ । सांस्कृतिक आन्दोलन भनेको विचारको आन्दोलन हो । विचारले नै राजनीतिलाई डो¥याउँछ । क्रान्तिकारी विचारको अभावमा क्रान्ति वा परिवर्तन हुन सक्दैन भनी लेनिनले बारम्बार भनेका छन् । त्यसैगरि माओ भन्दछन्, “क्रान्तिकारी संस्कृति व्यापक जनसमुहका लागि एक शक्तिशाली क्रान्तिकारी हतियार हो । क्रान्ति सुरु हुनुभन्दा अघि त्यसले क्रान्तिकारी विचारधारा फैलाएर क्रान्तिका निम्ति सैद्धान्तिक बाटो तयार गर्दछ (माओ, २०२८ ः १०२) ।” हुन पनि आम पाठक तथा श्रोताहरूलाई हृदयको गहिराइमा पुगेर गहिरो प्रभाव पार्ने जादुमय क्षमता साहित्यकार, कलाकार, गीतकारहरूमा नै हुन्छ । नेताका हजार भाषणभन्दा तिनीहरूका कलात्मक सिर्जनामा जनमानसलाई आकर्षित गर्ने क्षमता हुन्छ ।
नेपाली समाजलाई परिवर्तन गर्न थुप्रै श्रष्टाहरूले भूमिका खेलेको उदाहरण नेपाली इतिहासमा पाइन्छ । राणा शासन कालमा भोजपुरकी योगमाया न्यौपानेले परिवर्तनका पक्षमा उभिने महिलाहरूको समुह लिएर पितृसत्तात्मक उत्पीडन, विधवा विवाह, सामाजिक कुरीति आदि संस्कृतिविरुद्ध पहिला त बैधानिक सङ्घर्ष सञ्चालन गरिन् र त्यतिखेरको शासक वर्गले नसुनेपछि सामुहिक रूपमा आत्मदाह गरि विद्रोहको नेतृत्व गरिन् । त्यस्तै माधवराज जोशीले आर्य समाज नामक संस्था निर्माण गरेर धार्मिक अन्धविश्वास, बालविवाह, विधवा विवाह आदि सामन्ती प्रचलनको बिरोधमा ठाउँठाउँमा प्रवचन दिएर जनजागरण अभियान सञ्चालन गरे । तिनीहरूका कामले हिन्दू धर्मका आडमा जनतामाथि थिचोमिचो गर्ने सामन्ती राणाशासन केही मात्रामा खलबलिन पुग्यो ।
त्यस्तै २००७ पछिको राजतन्त्रात्मक शासन कालमा पनि सामन्ती जातीय प्रचलनविरुद्ध बाहुन परिवारका सचेत युवाहरूले पश्चिमी नेपालमा हलो जोत्ने आन्दोलन सञ्चालन गरे । मधेश तराईमा सञ्चालित किसान आन्दोलनको अवधिमा रौतहटका किसानहरूले जमिन्दारहरूले आफूहरूलाई हेपाइको भाषा ‘रे’ प्रयोग गर्ने गरेकोमा ‘रे नहीँ जी कहो’ भन्ने नारा लगाए । प्रगतिवादी साहित्यकर्मीहरूले प्रगतिशील लेखक सङ्घ, प्रगतिशील प्रकाशन मण्डल, सेवा सदन, जनवादी लेखक सङ्घ, जनसांस्कृतिक सभा, रेलिमाई सांस्कृतिक परिवार आदि संस्था खोलेर जनसंस्कृतिको प्रचारप्रसार गरे । जनताको स्वतन्त्रतामाथि बन्देज लगाइएको अँध्यारो शासनका बेलामा निस्केका प्रगतिवादी धारका विभिन्न पत्रिकाहरू लालुपाते, नौलो राँको, नौलो हाँक, वेदना, सङ्कल्प आदिले पनि जनचेतना फैलाउन निकै सहयोग पु¥याए । त्यस्तै रेडियो नेपालको भाट गायन संस्कृतिको बिरोधमा रामेश, रायन, मन्जुल, पाख्रिन, जेवी टुहुरे, जीवन शर्मा आदि कलाकारहरूले जनस्तरमा क्रान्तिकारी गीत सङ्गीतको अभियान छेडी निरङ्कुश शासनको जग हल्लाउने काम गरे । क्रान्तिकारी कवि लेखक सधैँ राजनीतिक परिवर्तनका अग्रदूत हुन्छन् । नेपालमा प्रत्येक जनआन्दोलनलाई दिशा दिन गोकुल जोशी, श्यामप्रसाद, गोपालप्रसाद रिमाल, युद्धप्रसाद मिश्र, पारिजातजस्ता साहित्यकारहरू र संस्कृतिकर्मीहरूले महŒवपूर्ण भूमिका खेल्दै आएका छन् ।
४. रूपान्तरण अभियान सामुहिक प्रयत्न हो
सांस्कृतिक रूपान्तरणका अभियन्ताहरू सर्वहारा आन्दोलनसँग गाँसिनु पर्दछ । यो आन्दोलन सम्पूर्ण श्रमिकवर्गको मुक्तिका लागि सङ्घर्ष गर्ने द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणप्रति प्रतिवद्ध अग्रणी योद्धाहरूको आन्दोलन हो । यस्तो आन्दोलनमा संलग्न व्यक्तिहरू विचारधारामा प्रतिवद्ध, वर्गीय भावनाबाट विमुख र प्रतिक्रियावादी विचार, संस्कार र संस्कृतिका समर्थक वा त्यसप्रति तटस्थ हुन सक्दैनन् (चापागाई, २०६७ ः १५३) । जुन व्यक्ति सर्वहारावर्ग दृष्टिकोणबाट लैस छैन, त्यसले सांस्कृतिक युद्धको मोर्चामा उभिएर नेतृत्व गर्न सक्दैन । आफ्नो सोचाइलाई विकारमुक्त नगरुन्जेल कसैले पनि परिवर्तनमा सक्रिय भूमिका खेल्न सक्दैनन् । यतिखेर धेरैजसो संस्कृतिकर्मीहरू संसदीय व्यवस्थाको माध्यमबाट समाजवादमा पुग्न सकिन्छ भन्ने विचार बोकेको पार्टीका कार्यकर्ताका रूपमा कार्यरत छन् । तिनीहरूमध्ये कतिपय त ती पार्टीका भातृ सङ्गठनका रूपमा रहेका सांस्कृतिक सङ्घसंस्थाका सदस्य समेत बनेका छन् । ती दलहरूको भित्री उद्देश्य यथास्थितिलाई भरथेग पु¥याउने भएकाले तिनका नीति तथा कार्यक्रम अवलम्बन गर्नेले सांस्कृतिक रूपान्तरणको अग्रिम मोर्चामा उभिएर नेतृत्व दिन सक्दैनन् ।
सांस्कृतिक रूपान्तरण अभियान यस अर्थमा सामुहिक हो कि समुह, दल, सङ्घ संस्थाहरू सबै संयुक्त भएर कार्यकर्तालाई नयाँ संस्कारको अभ्यासका लागि प्रतिक्रियावादी व्यक्ति वा समाजसँग जुध्ने कार्यमा सङ्गठित ढङ्गले सहयोग गर्नुपर्दछ । हाम्रो समाजमा शक्तिमा रहेका ठूला नेताले परम्परागत संस्कृतिलाई नमानी चल्दा समाजले केही भन्न नसक्ने तर सामान्यले नयाँ प्रचलन बसाल्न खोज्दा दवाव दिने र घेरावन्दी गर्ने गरेको पाइएको छ । आजभोलि सांस्कृतिक रूपान्तरण अभियानका कारण केही कट्टरतावादी धार्मिक गुरु र लामा पुरोहितहरूले पेशामा चोट पुगेको महसूस गर्दै एक गठ भएर पुरानै मूल्य मान्यता स्थापित गराउन सङ्गठित ढङ्गले आक्रमक तरिका अपनाउन थालेका छन् । तिनीहरूको सवाल पेशाको हो, जीवन उद्धारको होइन । त्यस्तो अवस्थामा क्रान्तिकारीहरूको तर्फबाट सङ्गठित प्रतिरोधको आवश्यकता पर्दछ ।
वर्तमानमा पुँजीवादी प्रचलनहरू भएका कतिपय शहरबजारमा मानिसहरूमा समुहगत प्रणाली भत्किएको अवस्थामा छ, तर गाउँघरमा सामुदायिक भावना प्रवल रूपमा जनताको मनमा रहेको अवस्था छ । जनजाति समुदायमा यो भावना अझ बढी प्रवल छ । आफ्नो समुदायका परम्परागत रितिरिवाज, चालचलन आदिसँग व्यक्तिको एक किसिमको मनोवैज्ञानिक लगाव (Psychological Attachment) हुन्छ । व्यक्तिले समुदायमा आफ्नो सुरक्षा देख्दछ । यदि कहीँ कतैबाट आफ्नो समुदायमाथि आक्रमण भयो भने त्यसको रक्षाका लागि ज्यूज्यान दिन समेत तत्पर हुन्छ । यो मनोविज्ञान समुदाय र व्यक्ति दुवै पक्षमा हुन्छ । समुदायले पनि के अपेक्षा गर्दछ भने व्यक्ति समुदायको स्वार्थरक्षाका लागि बलिदान दिन समेत अघि बढोस् ! यो वास्तवमा सांस्कृतिक परम्पराकै दवाव हो । प्रत्येक समुदायले आफ्ना सदस्यहरूलाई आफूले कोरेको मार्गमा हिँडाउन चाहन्छ । त्यसकारण समुदायले अपनाएको सांस्कृतिक मूल्य मान्यता ती जतिसुकै अवैज्ञानिक र पिछडिएका भए पनि व्यक्ति तिनमा टाँस्सिएर बस्दछ । यदि बाहिरी वैज्ञानिक शिक्षादीक्षा र प्रगतिवादी चेतनाको प्रभावमा परी समुदायको कुनै व्यक्ति आफ्नो सांस्कृतिक परम्परा र रितिरिवाजबाट पृथक भएर हिँड्ने प्रयास गर्दछ भने उस्को समुदायसँग टक्कर (Contradiction) पैदा हुन्छ । त्यस अवस्थामा व्यक्ति कत्तिपनि नधरमराई परम्परागत संस्कृतिमा परिवर्तन गर्ने ध्येयका साथ उभिन सक्नुपर्दछ । तर सामान्यका लागि यो कार्य सहज छैन । त्यसकारण रूपान्तरणको अभियानमा लागेका संस्कृतिकर्मीहरूले समुदायमा संलग्न व्यक्तिलाई प्रतिकूल धारका विपरीत जान सक्षम बनाउनुपर्दछ ।
साथै अभियन्ताहरूले के पनि बुझ्न आवश्यक छ भने समुदायको सांस्कृतिक रूपान्तरण समग्रतामा हुँदैन । एक ढिक्का भएको बरफ एकै झमटमा पग्लँदैन । त्यस्का केही अवयवहरूलाई पृथक गरेर एकएक गरि परिवर्तन गर्दै जानुपर्दछ र समग्र पुरातन रुढिवादी संस्कृतिलाई भत्काउने प्रयत्न गर्नुपर्दछ । यो बलियोगरि बाटेको धागोको लठ्ठा चूँडाल्ने सवालजस्तै कुरा हो जस्लाई समग्रतामा चूँडाल्न सक्दैन । तर त्यसका एक एक डोरा अलग गर्दै र चूँडाल्दै गइयो भने सम्पूर्ण लठ्ठाको अस्तित्व नामेट गर्न सकिन्छ । जनताको पङ्क्तिमा वर्गअनुसारका मानिसको दृष्टिकोणमा अन्तर हुन्छ । सबैभन्दा बढी उत्पीडनमा परेकाहरूले सर्वहारा राजनीति र संस्कृतिलाई छिटो पक्डिन्छन् भने कम उत्पीडन भोगेकाहरूले ढिलो पक्डिन सक्छन् । जस्ले अग्रगामी चिन्तनलाई छिटो समात्छन् तिनलाई रूपान्तरित गर्दै अरुलाई पनि रूपान्तरित गर्दै जाने नीति अपनाउनु पर्दछ ।
५. चाडपर्व र संस्कार सम्बन्धी दृष्टिकोण
नेपालमा चाडपर्व र संस्कारहरूमाथि विगतदेखि सामन्त धार्मिक गुरुहरूले प्रभुत्व जमाएका हुनाले ती सामन्ती हुन् भन्ने सोचाइ हामीमध्ये कतिमा देखिन्छ । तर तिनलाई सामन्ती नै भनी लेवल लगाइहाल्न हुँदैन । ती सामन्तवादको आगमन पूर्व प्रचलनमा थिए र पछि पनि कायमै छन् । ती तत्कालीन समाजका भौतिक र आत्मिक आवश्यकताका उपज थिए । नेपालका कतिपय चाडपर्वहरूको स्रोत जीवन जगतप्रतिको प्राचीन दृष्टिकोण, ऐतिहासिक घटना, मानव प्रगति, वातावरण, कृषिको विकास आदि भएको पाइएको छ । सुरुका दिनमा कतिपय उत्सवमा भौतिक पक्षको प्राधान्यता भएको देखिन्छ । उदाहरणका रूपमा किराँतहरूको चाड उभौली उधौली सूर्यको गतिसँगै हुने ऋतु परिवर्तन र बसाइसराइसँग जोडिएको थियो, महिलाहरूका पर्व गौरा पर्व, तीज चारैतिरको हरियाली वातावरणमा प्रकृतिलाई प्रभावित गर्ने अभिनय उत्सवका रूपमा थालिएको थियो । दशैँ, तिहार पनि कृषि महोत्सवका रूपमा सुरु भएका थिए । माघे सक्रान्ति, लोसार र माघी पर्व पनि प्रकृतिसँग र ऋतु परिवर्तनसँग जोडिएका देखिन्छन् । पछिका वर्गीय समाजमा सत्ताधारीवर्गले तिनमा कतिपय धार्मिक आस्था र अन्धविश्वास जोडेर आफ्नो वर्गीय हित अनुकूल बनाएका हुन् र तिनलाई सामन्त नायकहरूका गुणगान र भक्तिभाव प्रकट गर्ने उत्सवमा परिणत गरेका हुन् । कतिपय औषधीय गुण भएका वनस्पतिलाई धर्मको आडमा देवत्वकरण गरिएको छ । मानिस बिरामी हुँदा उपचारमा प्रयोग हुने वनस्पति तुलसी, बर, पिपल, बेल आदिप्रति तिनको उपयोगिताका कारण विगतमा पुर्खाहरूले जुन श्रद्धा प्रकट गर्दथे तिनमा अनेक मिथक जोडेर तिनलाई देवीदेवताको रूपमा प्रस्तुत गर्दै पूजाआजा गर्ने प्रचलन बसालिएकोे छ । त्यस्तै मानिसलाई सहयोग गर्ने जनावर गाई, कुकुर, काग, वाँदर आदिलाई पनि भगवानका बाहन, संवाददाता, रक्षक आदिका रूपमा प्रस्तुत गर्दै अन्धविश्वासयुक्त ढङ्गले पुज्ने बनाइएको छ । नारीहरूको प्रजनन क्रियासँग सम्बन्धित मासिक रक्तश्रावलाई श्रापका रूपमा प्रस्तुत गरि नारीमाथि मनोवैज्ञानिक रूपमा प्रहार गर्ने र दबाउने गरिएको छ ।
यस्ता चाडपर्व र संस्कारहरूबारे हामीले के कस्तो नीति अपनाउनु पर्दछ ? सबभन्दा पहिले त तीबारे सतही ढङ्गबाट धारणा बनाउनुको साटो ऐतिहासिक र समाजशास्त्रीय पद्धतिबाट तिनको उद्भव र विकासबारे व्याख्या विश्लेषण गर्नुपर्छ । संस्कृति कुनै निश्चित वर्गका पेवा हुदैनन् । हामीले तिनमा भएका राम्रा र नराम्रा पक्षलाई केलाएर राम्रा पक्षको जगेर्ना गरि आफ्नो वातावरणअनुकूल ढाल्न सकेमा ती जनताका संस्कृतिमा बदलिन्छन् । नेपालमा गौरा पर्व, तीज, भूमे पूजा, दशैँ, तिहार, उभौली उधौली, माघी पर्व आदिमा व्यापक जनताको सहभागिता देखिन्छ । त्यस्तै जन्मदेखि मृत्युसम्मका कर्म संस्कारहरू पनि प्रत्येक जात जातिका मानिसले अपनाउँदै आएका छन् । हामीले तिनमा जोडिएको धार्मिक जलप र अन्धविश्वासलाई हटाउनु पर्दछ । अन्धविश्वासयुक्त विचारहरूलाई माओ जनताको मनभित्र रहेका दुश्मनको संज्ञा दिन्छन् । जापानी साम्राज्यवादसँगको युद्धको सन्दर्भमा उनी भन्दछन्, “जापानी साम्राज्यवादसँगको युद्धभन्दा मानिसको मनभित्र लुकेर बसेका दुश्मनहरूसँग जुध्ने कार्य बढी कठीन हुन्छ (Mao, 1944 : 185) ।”
शताब्दियौँ अघिदेखि व्यक्तिभित्र हस्तान्तरित हुँदै आएका परम्परा रीतिरिवाज, आस्था र विश्वासलाई भत्काउने र तिनका ठाउँमा नयाँ संस्कृतिलाई विकसित गर्ने कार्य अति नै कष्टकर हुन्छ । भौतिक वस्तुलाई झैँ संस्कृतिका गलत पक्षलाई तत्काल खारेज गर्न सकिन्न । जनता लामो समयसम्म विभिन्न सामाजिक परिवेशमा प्रतिक्रियावादीहरूले सञ्चालन गर्दै आएका संस्कृतिमा अभ्यस्त छन् । तिनीहरू भाग्यवाद, पूर्वजन्म पुनर्जन्म आदि मिथ्या अवधारणाको जालोमा परेका छन् । कतिपय पिछडिएको क्षेत्रका किसानहरू आफ्नो पसिना हडप्ने सामन्त जमिन्दारप्रति आक्रोशित हुँदैनन् किनकि उसलाई अन्नदाता, भाग्य विधाता आदिका रूपमा लिन्छन् । कतिपय मजदुरहरू पुँजीपतिले आफूलाई श्रमअनुसारको ज्याला दिएको ठान्दछन् । हिन्दू संस्कृतिले महिलाहरूमाथि अति नै ज्यादति गरेको छ । कतिपय हिन्दू धर्मग्रन्थ र पौराणिक कथामा महिलालाई निकै खसालिएको हुन्छ । तर महिलाहरू आफूलाई होच्याएर लेखिएका तिनै ग्रन्थप्रति भक्तिभाव प्रकट गर्दछन् । सबैभन्दा बढी धार्मिक महिलाहरू नै भएको पाइन्छ । मन्दिरमा महिलाकै बढी भीड देखिन्छ, चाड पर्वमा बढी मात्रामा महिलाहरू नै सरिक हुन्छन् र महायज्ञमा भाग लिन जानेमा पनि महिलाहरू नै बढी देखिन्छन् । परम्परागत रुढिवादी संस्कृतिमा लामो समयदेखिको संलग्नताका कारण जनता परम्परागत संस्कृतिका गुण दोष नकेलाई एकाहोरिएर पछि लागेका छन् । प्रशिद्ध अमेरिकी लेखक मार्क ट्वेन आफ्नो आत्मकथामा लेख्छन्, “जब म विद्यालयको छात्र थिएँ, त्यतिखेर ममा दासताप्रति एक रति घृणा थिएन । दासप्रथामा खराबी छ भन्ने मलाई केही हेक्का थिएन किनभने मैले कहिल्यै आफ्नै कानले कुनै व्यक्तिले दासताको धज्जी उडाएको सुनेकै थिइन । त्यतिखेर स्थानीय अखबार कुनैले पनि दासताको विरुद्ध आवाज उठाउँदैनथे (ब्रोमलेय, २०२० ः १८०) ।”
वास्तवमा आज कतिपय जनता मार्क ट्वेनको बाल्यकालको हालतमा रहेका छन् । गलत संस्कार मूल्य मान्यताले तिनको दिमागमा गहिरोगरि जरा गाडेका छन् । अनेकौँ विकृति र विसङ्गतिमा तिनीहरू फँसेका छन् । ती सबै कुराबाट जनतालाई मुक्त नगरेसम्म तिनका दिमागमा नयाँ विचार प्रत्यारोपण गर्न सकिँदैन । पश्चिमी नेपालमा समस्या बनेको छाउपडी प्रथा अन्धविश्वास र धर्मसँग जोडिएको छ । महिलाहरू महिनावारी भएका बेलामा घरभित्र बस्दा देवता रिसाउँछन् भनी डराउँछन् । त्यस प्रकारका मिथ्या विश्वासबाट जनतालाई मुक्त गर्न संस्कृतिकर्मीहरूले प्राकृतिक घटनाहरू कसरी घट्छन् भन्ने कुरा वैज्ञानिक तथ्यसाथ बुझाउनु पर्दछ । अन्धविश्वास र रूढिवादबाट जनताले कसरी नोक्सानी बेहोर्नु परिरहेछ भन्ने कुरा बारम्बार अवगत गराइरहनु पर्दछ ।
सन्दर्भ सामग्री
चापागाई, निनु, २०६७, सांस्कृतिक रूपान्तरण, खोजी प्रकाशन गृह प्रा.लि.
चापागाई, निनु, २०७६ बर्तमान आन्दोलनको प्रवृत्ति र दिशा, ratolaltin.com
चापागाई, निनु, २०७९, अक्टोवर क्रान्ति सम्बन्धी केही कुरा, रचना विविध, नेपाल प्रज्ञा प्रतिष्ठान चालिसे, विजय, २०७०, राष्ट्रिय
चैतन्य, २०६६, माक्र्सवाद र संस्कृति, सहिद स्मृति प्रकाशन, अनामनगर, काठमाडौँ
ब्रोमलेय, युलिआन ÷पोदोल्नी रोमान, २०२०, मानव और संस्कृति, अनुवाद ः योगेन्द्र नागपाल, अन्तर्राष्ट्रिय प्रकाशन
माओ त्से तुङ, २०२८, नौलो जनवादबारे, नेपाल–चीन मैत्री सङ्घ, काठमाडौँ,
Mao Tse-tung, 1944, The United Front in Cultural Work, Selected Works of Mao Tse-tung, volume III
[इच्छुक अङ्क १२, २०८२ बैशाखबाट साभार]































