नवलपरासी – क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नवलपरासी भारत अतिक्रमित भुमि सुस्ताको समस्या बारे चाँसो ब्यक्त गरेको छ ।
सुस्ता–५ थारुटोलमा सुस्ता बचाउ अभियानका कार्यबहाक अध्यक्ष आदम खानको निवासमै पुगेर उक्त पार्टीको टोलीले चाँसो ब्यक्त गरेको हो ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका बैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेय, सुस्ता गाउँपालिका संयोजक सोमबहादुर विश्वकर्मा लगायत बिहीवार सुस्ता पुगेर त्यहाँको चारवटै टोलका ब्यक्तित्वहरुलाई छुट्टाछुटै भेटघाट गरेको पार्टीले जनाएको छ ।
भेटघाटको क्रममा सुस्ताका अगुवाहरुले नेपालले सुस्ता लगायतको सीमा विवाद भारतसंग कुटनैतिक तवरले समाधान गर्नुपर्नेमा जोड दिएका थिए । सुस्तावासीले भोग्दै आएको नागरिकता र लालपुर्जाको समस्या प्राथमिकताको साथ हल गर्नुपर्ने अभियानका कार्यबहाक अध्यक्ष आदम खानको भनाई थियो ।
‘बर्षाैदेखि सीमाको सुरक्षा गर्दै आएका हामी सुस्तावासीले नागरिकता पाउन सकेका छैनौ, लालपुर्जाको समस्या उस्तै छ’ –खानको भनाई उदृत गर्दै पाण्डेयले भन्नुभयो – ‘नेपालले असल नायक पाएन । त्यसैको पीडा हामीले भोगिरहेका छौ ।’
खानले फ्रेबुअरी २४ तारिखमा भारतीय एसएसबीले खेत जोतिरहेका सुस्तावासी किसान संग विवाद गरेर आफूलगायत १४ जना सुस्तावासीलाई मुद्धा लगाएको र यो घटनामा समेत नेपालको प्रशासनबाट आफूहरुले उचित साथ नपाएको जानकारी दिनुभयो ।
सो भेटको क्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका बैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेयले बर्तमान सत्ता र ब्यवस्थाले सुस्तावासीको समस्या हल गर्न नसक्ने उल्लेख गर्दै दलाल सत्ता र ब्यवस्था पल्टाउनु जरुरी भैसकेको बताउनुभयो ।
उहाँले राष्ट्रियताको सवालमा आफूहरुले सुस्तावासी संग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता समेत जनाउनुभएको थियो ।