
हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले २०८१ चैत्र ४ गतेदेखि २०८२ वैशाख १८ गते मई दिवसका दिन समापन गर्ने गरी “जनसम्बन्ध विस्तार अभियान” संचालन ग¥यो । उक्त अभियानमा मेरो नेतृत्वमा गठन गरिएको केन्द्रीय अभियान टीमले पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर र ललितपुर जिल्लामा अभियान संचालन ग¥यो । यस अभियानको दौरानमा मैले अनुभूत गरेका कुराहरुलाई क्रमशः प्रस्तुत गर्ने प्रयास गरेको छु ।
पूर्वको पहाडी जिल्लाहरुमा म पुगेको थिइनँ । त्यसो त पाँचथर, तेह्रथुम र धनकुटामा धेरै पहिले पुगेको थिएँ । तर सदरमुकाममा मात्र । भोजपुर र खोटाङ मेरो लागि नयाँ नै थियो । हाम्रो अभियानको कार्यक्रम एउटा जिल्लामा कम्तिमा २ दिन र बढीमा ४ दिनको थियो । जिल्लाको सबै वस्तुस्थिति बुझ्न यो समय पर्याप्त थिएन । तैपनि अभियानको क्रममा जे जस्तो अनुभूति भयो, त्यसलाई प्रस्तुत गरिएको छ ।

पाँचथरको चियो भञ्ज्याङ, जुन मध्य पहाडी लोकमार्गको पूर्वको अन्तिम विन्दु हो, को बारेमा मेरो जुन प्रकारको सोंचाई थियो । यथार्थमा निकै फरक रहेछ । मेरो सोंचमा चियो भञ्ज्याङ पाँचथरको फिदिमबाट नजिकै होला भन्ने थियो । तर त्यस्तो रहनेछ । चिया भञ्ज्याङ फिदिमबाट १०० किमि जति टाढा उत्तर पूर्वमा रहेछ । अर्को कुरा चिवा भन्ज्याङ निकै उचाईमा रहेछ । यो भञ्ज्याङको उचाई समुन्द्रतटदेखि ३,१३९ मिटर तदनुसार १०,२९९ फिट रहेछ । मलाई चियो भञ्ज्याङको आस पास बाक्लै मानव बस्ती होला भन्ने थियो । तर त्यहाँ नेपालतर्फ तीनवटा साना होटल थिए भने सिक्किमपट्टी चेकपोष्ट बाहेक केही देखिएन । फेरि सिक्किमभित्र पसिएन पनि । नेपाल र सिक्किम दुवै पट्टि जंगलहरु मात्र छन् । त्यहाँ एउटा सशस्त्र प्रहरी पोष्ट रहेछ । सशस्त्र प्रहरीको इन्चार्जले हामीलाई सुनाए अनुसार इण्डियाको सिक्किमपट्टी पनि नेपालतिर जस्तै जंगल र पहाड मात्र छन् । त्यहाँबाट तीन घण्टा हिंडेपछि मात्र बस भेटिन्छ भने । उनले हामीलाई यो पनि भने कि तपाईहरु भाग्यमानी हुनुहँुँदोरहेछ किनकि आज मौसम सफा छ । नत्र यहाँ सधै कुहिरो लाग्छ । तीब्र हावा चल्छ । यता उति केही हेर्न पाइन्न । हुन पनि मौसम सफा थियो । टाढा टाढासम्मको दृश्य देख्न सकिन्थ्यो । चिसो हावा भने निकै तेजले लागेको थियो । गाडीको आड लिएर हामीले जनसम्बन्ध विस्तार अभियानको उद्घाटन ग¥यौं । उद्घाटन कार्यक्रम विहान १०,३० बजे सुरु ग¥यौं । उद्घाटन कार्यक्रममा का. कृष्ण पछाई (पाँचथरको सचिव) को अध्यक्षतामा भयो । का. सुरेन्द्र भण्डारीले संचालन गर्नु भयो भने, म, का. चन्द्रहरी सुवेदी र का. शारदा महतले सम्बोधन गर्ने काम भयो । त्यसपछि हामी हिजो बास बसेको च्याङथापुको तिम्बुपोखरी चाङवरक गेष्ट हाउसमा फर्कियौं । खाना खाएपछि पाँचथरको याशोकमा बास बस्न गयौं ।

मध्यपहाडी लोक राजमार्गको चिवा भञ्ज्याङदेखि खोटाङको हलेसीसम्म यात्रा गरियो । मैले सोंचको थिएँ, मध्यपहाडी लोक मार्गको पूर्वी भाग पिच भइसकेका होलान् भने लागेको थियो , तर त्यसो रहेन छ । पाँचथरको फिदिमदेखि याङवरक गा.पा.को थर्पुसम्म मात्र पिच भएको रहेछ । त्यहाँदेखि उता चिवा भञ्ज्याङसम्म केही ठाउँमा ग्राभेलिङ अधिकांश ठाउँ ग्राभेलिङ पनि नभएको बाटो रहेछ । चिवा भञ्ज्याङको आसपास पनि ग्राभेलिङ भएको छैन । पाँचथरदेखि तेह्रथुम म्याग्लुङबजारसम्म आउँदा पनि बीचबीचमा पिच भएको रहेनछ । चखेवा भञ्ज्याङको खोटाङ जिल्लापट्टी पिच भएको रहेनछ । यसरी मध्यपहाडी लोकराजमार्गको अवस्था पनि मैलो सोंचे जस्तो रहेनछ ।

गाडीको कच्चि बाटाहरु भने गाउँगाउँमा पुगेको पाइयो । खोटाङ बजार गयौं । यो गाडीको बाटो पनि अधिकांश भाग कच्चि नै रहेछ । खोटाङ बजारदेखि हामी सिराहा जान, उदयपुरको गाइघाटसम्म जिल्ला पार्टीले गाडीको व्यवस्था गरिदिएको थियो । यो बाटोको पनि अधिकांश भाग कच्चि नै रहेछ । सुनकोशीको पुल यसपालीको बाढीले बगाएको रहेछ । उदयपुर जिल्लामा भनवे बाटो पिच भएको रहेछ ।

तराई झरेपछि हामीले धनुषादेखि पर्सासम्म अभियान संचालन ग¥यौं । तराईको पनि प्रायः सबै गाउँहरुमा गाडी हिंड्ने बाटाहरु प्रायः सबै कच्चि नै रहेछन् । जे होस् तराईको प्रायः सबै गाउँहरुमा मोटरबाटो पुगेको पाइयो ।
मकवानपुर जिल्ला आएपछि काठमाडौं–निजगढ फास्टट्रयाक मोटर बाटोको केही अंशहरु देख्ने अवसर प्राप्त भयो । काठमाडौं–निजगढ फास्टट्रयाकको निजगढमा पूर्व पश्चिम राजमार्गसँग जोडिने विन्दु, मकवानपुरमा मदन भण्डारी राजमार्गसँग क्रस हुने ठाउँ युदुने र बकैया गाउँ पालिकाको ठिंगन नजिकको गुरुङको मुख र पुल अवलोकन गर्ने अवसर प्राप्त भयो । फास्ट ट्रयाकको यी ठाउँहरु हेरेपछि यो साँच्चिकै राष्ट्रिय गौरवको आयोजना रहेछ भन्ने महशुस गरें ।

ललितपुर जिल्लाको भट्टे डाँडा आएपछि हामी ललितपुर जिल्लाको दक्षिण पहाडी भेगतिर लागियो । यस भेगमा बागमती गाउँपालिका, महाकाल गाउँपालिका र कोन्जोसोम गाउँपालिका रहेछ । यी तिनै गाउँपालिका अभियान संचालन गरियो । यो क्षेत्रमा कच्चि पाटाहरु प्रायः जसो सबै गाउँमा पुगेको रहेछ । तर सवारी साधनहरु अत्यन्तै कम चाहिने रहेछ । यस क्षेत्रमा असाध्यै भिरालो पहाडहरु रहेछन् । यस क्षेत्रलाई ललितपुरको कर्णाली पनि भन्दारहेछन् । ललितपुरको यस क्षेत्र घुमेपछि मेरो दिमागमा पहिलेको भन्दा फरक ललितपुर घुम्न थाल्यो । (क्रमशः)






























