तीन भिन्न कविता

तीन भिन्न कविता

कविता

नयाँ अठोट

कीर्तिपुरबासीका
नाक काट्दा होस्
मगर, गुरुङ, किरात
तामाङ, लिम्बू, मैथिल
नेवार केवरत, दलित
आदि आदिका
घरबार बेदखल गर्दा होस्‌

अङ्ग्रेजका खुट्टा
ढोग्दा होस्‌
फिरङ्गीसँग
माफी माग्दा होस्‌
कोशी, गण्डक, अरुण
महाकाली
यस्तै यस्तै नदी बेच्दा होस्
एमसीसी गर्दा होस्
लिपुलेक लिम्पियाधुरा
जस्तै जस्तै भूभाग
सित्तैमा दिंदा होस्
तिमीहरूकै
नापनक्साका
तिमीहरूकै भाषा
बोली भेष भएका
उस्तै उस्तै थरगोत्रका
मानिसकै राइँदाइँ थियोे
तिमीहरूको गणतन्त्रमा
हाम्रो बोलीका
शब्द अटाउने
ती शब्दमा
पसिनाका गन्ध भिजाउने
रस पो कहाँ छ र !

भन्न त भन्छौ नि
पुराना जस्ता
हामी होइनौं
तर
त्यसै थरजातका
मानिसका भाषा
लवाइखवाइ
पद उपाधि
सबै त तिमीहरूकै

इस ! हामी भन्छौं
अब साँच्चिकै
नढाँटिने बैरी हुन्छौं
मार्क्सलाई सम्झदै
तिमीहरूको दुनियाँ
भत्काएर
नयाँ दुनियाँ बनाउँछौं ।

तँ कहाँ छस् बेकुफ !

आकाश छ
ताप छ
हावापानी छ
ऊर्जा छ

हिजो अस्तिको
अस्तित्व छ
निरन्तरता छ
गति छ
वेग छ

चन्द्रमा छ
तारापुञ्ज छ
धरती छ
सजीव छ
निर्जीव छ

ओ ईश्वर !
तँ बेकुफ
तँ कहाँ छस् ।

मार्क्स

केही दबंगहरुले
हँसिया हतौडा उठाएर
गाउँ र सहरतिर
उत्पात मचाइरहेछन्‌
मतपत्रमा
आफ्नो फोटो छापेर
नेता कार्यकर्ता र बुद्धिजीवी
संसदीय मातमा लठ्ठिंदै
तिम्रो फोटोको जुंगा तानेर
बुर्कुसी मारिरहेछन्‌
क्रान्ति मुक्ति र स्वप्नभन्दा
नवउदारवादको गीत गाएर
संसदघरको शोभा बढाइरहेछन्‌

प्रिय मार्क्स
पल्लो कुनामा भने
मानिसको एक हुल
रातो गुलाफको
सुन्दर माला उनिरहेछन् ।