पर्या साहित्य : भ्रम र यथार्थ

पर्या साहित्य : भ्रम र यथार्थ

सांस्कृतिक अालेख

 

—मित्रलाल पंज्ञानी

खेती हुने उर्वर खेत मासी

सिमेन्ट थुप्रो घरनाम राशि

गाँठो पर्यो प्रश्न, फुकेन पोयो

विकास हो यो कि विनास हो यो !

 

काटेर जम्मै वन वृक्ष ढाली

उजाड पारी पहिरो खसाली

पहाडको भूरचना बिगारी

के गर्न आँट्यौ भन धुन्धुकारी !

आज हामीलाई पनि वातावरण असन्तुलनको असरले भत्भती पोल्न थालेको छ ।

‘सम्पूर्ण पृथ्वी हाम्रो भोगको निमित्त हो’ भन्ने सम्झेर निर्धक्कसित प्रकृतिका स्रोतहरू दोहन गरिरहेको मान्छे त्यतिबेला बल्ल नराम्ररी झस्कन पुग्यो जतिबेला उसले आफ्नो अस्तित्व जीवमण्डलका अन्य जीवहरूको अस्तित्वमाथि निर्भर रहेको चाल पायो; आफ्ना सुखसुविधाका लागि प्रकृतिबाट दोहन गरिने पदार्थहरूको भण्डारण असीमित छैन भन्ने बुझ्यो र प्रकृतिमा रहेका पदार्थहरूको अनुपातको असन्तुलनले पनि जीवन्ततामा खतरा उत्पन्न हुने तथ्यको ज्ञान पायो । पृथ्वीका सबै मान्छे एक्कैचोटि झस्केका भने होइनन् । सर्वप्रथम ती केही मान्छे झस्के जसले सर्वप्रथम प्रकृतिका यी तीन अकाट्य तथ्य फेला पारे । यी वातावरणविद् वैज्ञानिकहरू थिए । अब भने पर्यावरण रक्षाको सन्दर्भ विस्तारै अर्थराजनीति र साहित्यको पनि गम्भीर सरोकारको विषय बन्दै गएको छ ।

जल, थल र वायुमा मिसिएको विषाक्त रसायनको दुष्प्रभाव सहन गर्न नसकेर जीव जगतका हजारौँ प्रजाति लोप भइसकेका छन् । करोडौँ मान्छेहरू रोगग्रस्त छन् । सह्य सीमा नाघिसकेको तापमान वृद्धिबाट मौसिमी चाल खल्बलिनाले अखण्ड सङ्कटको शृङ्खला सुरु भइसकेको छ । थोरै मात्रै पनि अध्ययनशीलता भएको साहित्यकार आज पर्यावरणप्रति बेखबर भएर रहन सक्तैन । वैश्विक र स्थानीय जीवन र प्रकृति नबुझेको मान्छेले मर्मको अन्तर्य फेला पार्न पनि सम्भव छैन । युगीन लेखक एउटा कुनामा बसेर गुनासो गाउने निरीह प्राणी होइन, युगानुकूलको असल विचार, सुन्दर कला र कुशल कर्मका माध्यमले दुनियाँ बदल्ने महाभियानको सहयोद्धा र कर्ता पनि हो । आफू बाँचेको समाज र समग्र मानवताप्रति जागरुकता र जिम्मेवारीबोध नभएको लेखक यो समाज र सिङ्गो मानवताका लागि काम नलाग्ने पात्र हो ।

साहित्यमा पनि विचार र कलाका विभिन्न धाराहरू प्रवाहित छन् । एउटा धारा केन्द्रभञ्जनको सिद्धान्तमा आधारित छ । पुँजी संकेन्द्रणको पक्षधर यो उत्तरआधुनिकतावादी धारा श्रमको केन्द्रलाई भत्काउने र पुनर्निर्माण हुन नदिने ध्याउन्नमा तल्लीन छ । मानवजातिले विभिन्न समयमा विभिन्न ठाउँमा आफ्नो उर्ध्वगामी यात्राका क्रममा अपूर्व त्याग, वीरता र बलिदानका गौरवमय इतिहास रचेका छन् । यो धाराका लेखकहरू त्यो सुनौलो इतिहासलाई विस्मरणको गर्ततिर फालिदिने ध्येयले इतिहासको नै अन्त्य भएको हल्ला पिटाउँछन्, ताकि फेरि त्यस्तो नयाँ इतिहास रचिन नपाओस् । कल्पनाशीलता, स्वप्नदर्शिता र कर्मशीलताले नै मानव जातिलाई पशुबाट बाहिर निकालेर भव्य व्यक्तित्व प्रदान गर्यो । यो संसारलाई कसरी सुन्दर बस्तीमा रूपान्तरण गर्ने ? यो संसारका सम्पूर्ण मानवहरूलाई कसरी आपसी प्रेम, आदर र विश्वासको निश्छल सञ्जालमा जोड्ने ? जस्ता प्रश्नका उत्तर खोज्नमा धेरै दार्शनिकहरूले आफ्नो सम्पूर्ण जीवन व्यतीत गरेका छन् । ती अनेकन दार्शनिकहरूमध्ये गौतम बुद्ध र कार्ल मार्क्स सबभन्दा प्रामाणिक छन् । बुद्धले यो जीवन र जगत्का दुःखहरू यसै जगत्को उपज भएको र यहीँबाट उपचार गर्न सकिने सन्देश दिए । ऊ समयका मान्छेहरूलाई परलोकको रहस्यमय प्रपञ्चको भासबाट बाहिर निकाल्नकालागि बुद्धको योगदान अतुलनीय छ । भलै आज बुध्दवादलाई नै रहस्यवादमा फसाउने प्रपञ्च भइरहेको छ । बुध्द यो मानवताका माझबाट उब्जेका यति गुरुत्वशाली व्यक्तित्व हुन् कि करिब छब्बीस सय वर्षपछि आज पनि उनका विचारले हामीलाई चुम्बकले फलामलाई जसरी तानिरहेका छन् । अर्का दार्शनिक कार्ल मार्क्सले संसारको यथार्थमा उभिएर सुन्दर संसार निर्माणको सटीक मार्गचित्र प्रस्तुत गरे । त्यो मार्गचित्रले व्यक्तिवादको दुनियाँमा भीषण भूकम्प ल्याइदियो । करोडौँ मान्छे समाजवादको बाटो पक्रेर अघि बढ्न आँटे । यी लेखकहरूले मार्क्सको त्यो सुन्दर परिकल्पनालाई महाख्यान भने र महाख्यानको अन्त्य भएको घोषणा गरे । पर्या साहित्यमा पनि यस्ता केही भ्रामक दृष्टिकोणहरू लेखिएका छन् । म आज त्यसमै केन्द्रित भएर यो लेख्तैछु ।

पर्यावरण सन्तुलनका पक्षमा वकालत गर्ने कतिपय समालोचकहरू मार्क्सवादलाई वातावरणविरोधी दर्शनका रूपमा व्याख्या गर्दारहेछन् । मार्क्सवादले आर्थिक पक्षलाई मात्रै महत्व दिन्छ भनी अर्थ्याउन खोज्दा रहेछन् । प्रगतिवादीहरूले प्रकृतिलाई बाधक तत्त्व ठान्दछन् भन्दा रहेछन् । तिनले आर्थिक पक्षलाई मात्र जोड दिन्छ भनेर लेख्ने गर्दा रहेछन् ।

तथ्य भने ठिक उल्टो छ । मार्क्स स्वयम् र मार्क्सवादीहरू पर्यावरणीय सन्तुलनका सन्दर्भमा सबभन्दा वस्तुवादी छन् ।

पर्यावरणीय असन्तुलनका सन्दर्भमा कार्ल मार्क्सले अत्यन्त महत्वकासाथ ‘मेटाबोलिक रिफ्ट’को चर्चा गरेका छन् । मेटाबोलिक रिफ्टको तात्पर्य जीवन्नततामा फाटो हो । मेटाबोलिक र रिफ्ट शब्दको तात्पर्य प्रस्ट्याउनका लागि अरू केही शब्द खर्च गरौँ । जीवित रहनका लागि शरीरमा चल्ने ऊर्जा व्यवस्थापनको प्रक्रियालाई मेटाबोलिजम भनिन्छ । शरीरमा यो प्रक्रिया अव्यवस्थित भयो भने मान्छे रोगी बन्न पुग्दछ । यो प्रक्रियाले काम गर्न छाड्यो भने मान्छे मर्दछ । मानव शरीरको आफ्नै प्रकृतिको मेटाबोलिजम भएझैँ सामाजिक प्रणालीको र प्राकृतिक प्रणालीको पनि आ–आफ्नै मेटाबोलिजम हुन्छ । मानव स्वयम् प्रकृतिको उपज भएको र प्रकृतिमै आश्रित रहेको कारणले उसले निर्माण गरेको सामाजिक प्रणालीले प्राकृतिक प्रणालीलाई असह्य अवरोध पुर्याउनु हुँदैनथ्यो । घात गर्नु हुँदैनथ्यो । अवरोध पनि पुर्यायो र घात पनि गर्यो । यो असन्तुलनलाई मार्क्सले सामाजिक प्रणाली र प्राकृतिक प्रणालीका बिचमा परेको फाटोका रूपमा व्याख्या गरे । उनले व्याख्या गरेको सामाजिक प्रणाली पुँजीवादी उत्पादन प्रणाली हो ।

‘निरन्तर नाफा र निजी सम्पत्तिमा निरन्तर बढोत्तरी !’ यही हो पुँजीवादको मूल मन्त्र । अति नाफाका निमित्त अति उत्पादन गरिन्छ । अति उत्पादनका निमित्त मानवीय श्रम र प्राकृतिक स्रोतहरूको अतिदोहन र अतिदहन गरिन्छ । अनि समाज पनि खल्बलिन्छ र प्रकृति पनि खल्बलिन्छ । अति नाफाको चेतनाले मानवतामाथि पनि घात गरेको छ । कसैलाई मारेर नाफा हुन्छ भने त्यसो गर्न आजको पुँजीवाद तयार छ । खर्बौ खर्ब लगानी गरेर यी असङ्ख्य आणविक बमहरू, फाइटर जेटहरू, सबमरिनहरू, ड्रोनहरू र क्षेप्यास्त्रहरू मान्छे मार्नकै लागि बनाइएका हुन् । मान्छेलाई नै मार्न तम्सने मान्छेले अन्य प्राणीलाई कसरी न्याय गर्छ ! कसरी माया गर्छ ! अनि कसरी सहअस्तित्व स्वीकार गर्दछ ! वास्तवमा पर्यावरण विनष्टीकरणको मूल कारण नै अर्थराजनीतिक हो । अधिक नाफा र असीमित धनसञ्चयको अनन्त तृष्णाले विक्षिप्त पुँजीवादी साम्राज्यवादी प्रभुत्वको वैश्विक प्रणाली नै वातावरण क्षयको प्रमुख कारण हो ।

यसरी मान्छे मार्नका लागि सैन्य क्षेत्रमा प्रयोग गरिएको अतुल पुँजीराशि मानवतालाई बचाउनका लागि प्रयोग गर्ने हो भने संसारका सबै मान्छे सुरक्षित र सम्पन्न हुन सक्तछन् । सामाजिक प्रणाली व्यवस्थित हुने हो भने मान्छेहरू यति धेरै रोगी पनि हुँदैनन् । रोग भनेको प्राकृतिक जीवन नबाँचेबापत प्रकृतिले दिएको दण्ड हो । अस्वस्थकर खाद्यप्रणाली र जीवनचर्यालाई बदल्ने बित्तिकै आज विद्यमान नब्बे प्रतिशत रोग गायब हुन्छन् । उता औषधीका नाममा भएका दोहन र रसायनजन्य क्षति पनि ठूलो परिमाणमा घट्न जान्छ । आज निराशा, क्रोध, विक्षिप्तता, कुटपिट, काटमार, हत्या, बलात्कार, चोरी र आत्महत्यासम्मका मनोविकारहरूले पनि संसार आक्रान्त छ । यी सबै मनोरोग अस्वस्थ, अव्यस्थित र भेदकारक समाज व्यवस्थाको उपज हो ।

संसारमा भएका यी आठ अरब मान्छेलाई एक वर्षलाई चाहिने खाद्यान्न कति हो ? लत्ताकपडा कति हो ? स्वस्थ र शान्त जीवन बाँच्नका लागि आवश्यक अन्य चिजवस्तु के के हुन् र कति कति हुन् ? एकमुस्टमा हिसाब गरिनुपर्छ । अनावश्यक चिजहरूको उत्पादन बन्द गरिदिनुपर्छ । आखिर जे उत्पादन गरे पनि प्रकृतिको दोहन गर्ने नै त हो । जीवनका लागि आवश्यक मात्राको दोहन प्रकृतिक्षम्य छ । जुन पदार्थको मात्रा पनि सीमित छ र पुनर्भरण गर्न पनि सकिँदैन त्यो पदार्थलाई त्यत्तिकै प्रकृतिमा रहनका लागि छोडिदिनुपर्छ ।

बाघले मृग खाने वा ठुलो माछाले सानो माछा खाने प्रकृतिभित्रको आहार प्रणालीलाई दृष्टान्त बनाएर मान्छेले मान्छे मार्नुलाई स्वाभाविक मान्नुपर्ने चिन्तन पुष्टि गर्न उद्यत छ साम्राज्यवाद । यस्तो चिन्तन नितान्त गलत छ । वन्य प्रणाली प्राकृत हो । सामाजिक प्रणाली मानवकृत हो । वनका जन्तुले तिनका इच्छाले वन्य प्रणाली बदल्न सक्तैनन् । मान्छेले सामाजिक प्रणाली बदल्न सक्तछ ।

 

विकासलाई प्राथमिकता दिने कि पर्यावरणको सुरक्षालाई प्राथमिकता दिने ! दक्षिणका अति कम विकसित मुलुक आज यो भीषण द्विविधामा फँसेका छन् । यीमध्ये अधिकांश मुलुकहरूमा विकासका पूर्वाधारहरू निर्माण हुन बाँकी नै छन् । कृषि र उद्योगहरूमा वैज्ञानिकीकरण हुन बाँकी नै छ । अति विकसित मुलुकहरूले आफ्नो विकासलाई चरममा पुर्याइसके । स्मरणीय के छ भने युरोप र अमेरिकाको सम्पन्नताको रगतमा पशुलाईझैँ साङ्लाले बाँधेर लगिएका करोडौँ अफ्रिकी जनताको आँसु र पसिनाको सागर छ । उनीहरूले अब आफ्ना लागि पर्यावरणलाई प्राथमिकता दिए पनि पुग्ने अवस्थामा पुगेका छन् । तर उनीहरूले कम विकसित मुलुकमा शोषण गर्न छोडेका छैनन् । सस्तो श्रम र प्रशस्त प्राकृतिक स्रोत भएका देशमा लगेर आफ्ना उद्योगहरू स्थापना गरी वातावरणीय बोझलाई उतै फैलाइदिएका छन् ।

मानव सभ्यताको विकासको क्रममा पुँजीवादको जन्म युगीन आवश्यकताकै कारणबाट भएको थियो । सामाजिक प्रणालीका रूपमा अस्तित्वमा रहेको निरंकुश राज्यसत्ता र रहस्यवादी धर्मसत्तालाई विस्थापित गर्ने युगान्तकारी आन्दोलनको नेतृत्व पुँजीवादले नै गरेको थियो । विज्ञानको विकासलाई उत्कर्षमा पुर्याउनुमा पनि पुँजीवादको महत्वपूर्ण योगदान रह्यो । प्रारम्भमा युरोपमा स्वातन्त्रता, समानता र भ्रातृत्वको नारा दिएर सामन्तवादबाट प्रताडितहरूको साथ र सहयोग जुटाएर क्रान्ति गर्न सफल पुँजीवाद अन्ततः स्वतन्त्रता, समानता र भ्रातृत्वमाथि नै घात गर्ने साम्राज्यवादीका प्रणालीमा रूपान्तरित हुन पुग्यो ।

प्राकृतिक प्रणालीलाई मान्छेले बदल्न सक्तैन । त्यसमा आफूलाई अनुकूलन गर्न मात्र सक्तछ । प्राकृतिक प्रणालीलाई नै बदल्न खोजेपछि मान्छे प्रकृतिको कोपभाजनमा पर्नु अवश्यम्भावी थियो । प्रकृतिको शक्ति अजेय छ । प्रकृतिलाई जितेँ भनेर कसैले पनि फुर्ती नगरे हुन्छ । सामाजिक प्रणालीलाई भने मान्छेले बदल्न सक्दछ । इतिहासले बोल्दछ– सामाजिक प्रणालीहरू युगानुकूल बदलिएर आइरहेका हुन् । परिवर्तनशील संसारमा परिवर्तनको वेगलाई थेग्न नसक्नेहरू भत्केर जाने गर्छन् । मानवीय लापर्वाहीका कारणले प्रकृतिमा आएको परिवर्तनलाई देख्न, बुझ्न र आफ्ना कर्मलाई सच्याउन पट्टि लागेन भने भत्कने मात्र होइन मानवजाति सदाका लागि मासिएर जाने कुरा वैज्ञानिकहरूले ठूलो स्वरले चिच्याई चिच्याई भनिरहेका छन् । यो धर्तीलाई प्रदुषित पार्ने मुख्य पात्रहरू भने अझै पनि गम्भीर बनेका छैनन् ।

संसारको प्रत्येक वस्तु र घटना कारण र कार्यका अखण्ड शृङ्खलामा चलिरहेका हुन्छन् । कारणको निराकरणबिना तदजन्य कार्यलाई रोक्न सम्भव हुँदैन । यो धर्तीमा पर्यावरण र जीवन एक्कासि फुत्त आएको होइन । यसको कारण छ, क्रम छ र ज्ञात अज्ञात इतिहास छ । आज हामीले जुन पर्र्यावरणीय प्रतिकूलता भोग्न थालेका छौँ, यो इतिहासमा प्रकृतिमाथि गरिएको अतिक्रमणको प्रतिफल हो । विकसित पश्चिमले औद्योगिकीकरणका नाममा प्रकृतिमाथि गरेको अन्धाधुन्ध सीमालङ्घनको नतिजा हो । विज्ञानमा भएको क्रान्तिका कारणले औद्योगिक क्रान्ति सम्भव भएको हुनाले प्राकृतिक असन्तुलनको मूल कारण विज्ञान हो भन्ने मत पनि भेटिन्छन् । सोझो हिसाबले हेर्दा त्यस्तो देखिए पनि पृथ्वी तात्नु र यसको हावा, पानी र माटो प्रदुषित हुनुको मूल कारण विज्ञान होइन, विज्ञानको दुरुपयोग हो । पारिस्थितिकीलाई सन्तुलनमा ल्याउनका लागि विज्ञानको दुरुपयोग रोकिनुपर्छ । पुँजीवादी प्रणाली नै विसङ्गतिमा आधारित भएकाले यसले प्रकृतिको चालसित सङ्गति कायम गर्ने हैसियत राख्तैन । वैश्विक प्रणालीका रूपमा यसको विस्थापन र वैज्ञानिक समाजवादको स्थापनद्वारा मात्रै विज्ञानको दुरुपयोग रोक्न सम्भव छ ।

पृथ्वीका आठ अरब मान्छेमध्ये एकजना तपाईँ पनि हो र एकजना म पनि हो । हामी पनि विश्व मानव हौँ । पृथ्वीमा मानवीय कारणले उत्पन्न हुने हरेक राम्रा र नराम्रा नतिजाको जस र अपजसको भागिदारीबाट कसैले भाग्न मिल्दैन । विज्ञानको दुरुपयोग मैले गरेको होइन भनेर सुख पाइँदैन । विज्ञानलाई दुरुपयोग गर्नेहरूका हातबाट खोसेर विश्वको राज्यसत्ता सदुपयोग गर्नेका हातमा पुर्याउने युक्ति पत्ता लगाउने र यत्न गर्ने जिम्मेवारी हाम्रो पनि हो ।

धरतीमा जीवजन्तु जति वनस्पति

सबैलाई आफ्नो ज्युको माया हुन्छ अति

हाम्रो धर्ती हामी सबै यै पृथिवी घरका

अस्तित्वमा जोडिएका सञ्जालका धर्का

यिनै जीव वनस्पति प्रकृतिको सार

सबै मिली बनेको यो धर्ती परिवार

भाँडिएर जान आँट्यो समेल्ने हो कल्ले ?

संसारका मुक्तिकामी मानवका बलले ।

(‘युगान्तर’ महाकाव्यबाट)