अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प दोश्रो पटक निर्वाचित भएर पद सम्हालेपछि विश्वमै आर्थिक र राजनीतिक हलचल बढेको देखिएको छ । ट्रम्पको बोली र ब्यवहारको ठेगान नहुने समस्याले गर्दा अमेरिकाका सहयोगी राष्ट्रपनि चिडिदै गएका छन्भने बिरोधी राष्ट्रहरु थप आक्रामक हुने र अमेरिका आफै चौतर्फी घेराबन्दीमा पर्ने संभावनाहरु देखिएका छन् । जसलेगर्दा नेपालजस्ता अमेरिकाको हुबहु आर्थिक र राजनीतिक नीतिहरु लागू गर्न÷गराउन तम्सिएका मुलुकहरु पनि गंभिर संकटमा धकेलिएको देखिन्छ । ट्रम्पले अमेरिकामा आफ्नो कार्यभार सम्हालेपछि रुस–युक्रेन र इजरायल–हमास युद्ध आफ्नो अनुकूल बनाएर समाधानगर्ने जुन प्रयास गर्नुभएको थियो, त्यो प्रयास असफल भैसकेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू दोश्रो पटक अमेरिका पुगेको अवस्था छ । संभवत आज सोमबार अमेरिकी राष्ट्रपति ट्रम्प र नेतन्याहू बीच ह्वाइट हाउसमा भेटवार्ता हुने छ । उक्त भेटवार्ताबारे इजरायलको सरकारी स्वामित्वको कान टिभी न्यूजले गत शनिबार बिशेष चर्चा गरेको थियो । उक्त च्यानलले गरेको टिप्पणीअनुसार नेतान्याहुले मुख्यत अमेरिकाले इजरायली सामानहरुमा लगाएको १७ प्रतिशत अतिरिक्त करकाबारेमा छलफलगर्ने संभावना छ । जबकी ट्रम्पको कर सम्बन्धी घोषणाको ठीक अघिल्लो दिनमात्रै इजरायलले अमेरिकाबाट आयात हुने सबै करहरु हटाएको थियो । त्यसैगरी ट्रम्प र नेतान्याहुका बीचमा लेवनान र सिरियामा भएको आक्रमण तथा इरानसँगको आणविक संकट र गाजामा जारी द्वन्दबारे पनि छलफल हुने ठानिएको छ । इजरायलले पछिल्ला दिनमा युद्धबिरामको उल्लंघन गर्दै प्यालेटिनीहरु रहेको गाजामामात्र नभएर लेवनान र सिरिया लगायतमासमेत आक्रमण गरेर ठूलो क्षतिगरेको छ । संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्को ५८ औं बैठकले गतसाता बुधबार इजरायललाई गाजा पट्टीमा नरसंहार रोक्न मागगर्ने प्रस्ताव पारित गरेको थियो । जसको पक्षमा २७ मत, विपक्षमा चार मत र ततष्टमा १६ मत परेको थियो । उक्त पारित प्रस्तावमा इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेकोमा निन्दासमेत गरिएको छ । राष्ट्रसंघको उक्त बैठकले इजरायलले आफ्ना प्रतिबद्धताहरु पूर्णरुपमा पालना नगरेका कारण गाजामा भोकमरी र थप मानवीय हताहती बढेको ठहर गरेको छ । इजरायलले लेबनानको सिडोनस्थित एक अपार्टमेन्टमा गतसाता शुक्रबार गरेको ड्रोन आक्रमणमा हमासका वरिष्ठ अधिकारी हसन फरहत र उहाँका दुई छोराको मृत्युभएको थियो । सो कुरा लेबनानी सेना र अल जदीद टिभी च्यानलले पुष्टि गरेका छन् । इजरायली ड्रोनले मध्य सिडोनको अल–जहरास्थित हमास नेता हसन फरहत बस्ने अपार्टमेन्टमा क्षेप्यास्त्र प्रहार गरेको लेबनानको सुरक्षा श्रोतलेसमेत जनाएको छ । क्षेप्यास्त्र प्रहारबाट अपार्टमेन्टमा आगलागीहुँदा फरहत र उहाँका दुई छोराको मृत्यु भएको भनिएको छ । सन् २०२४ नोभेम्बर–२७ मा शुरु भएको हमला हेजबुल्लाह र इजरायलबीचको युद्धविरामका बावजुद इजरायली सेनाले लेबनानको सीमानाका पाँचवटा प्रमुख बिन्दुहरुमा सैन्य उपस्थिति कायम राख्नुका साथै आक्रमण पनि गरिरहेकोे छ । त्यसैगरी सिरियामा इजरायलले निरन्तररुपमा गरेको सैन्य परिचालन तथा आक्रमणको पनि निन्दा भैरहेको छ । हालैमात्र सिरियाका लागि संयुक्त राष्ट्रसंघीय विशेष दूत गियर पेडरसनले इजरायलको मानवता विरोधी कार्यको विरोधगर्दै इजरायली आक्रमणका कारण निर्दोष नागरिकले ज्यान गुमाउनु परेको बताउनुभएको थियो । विशेष दूतले इजरायललाई यस्ता आक्रमणहरु रोक्न आह्वानगर्दै उक्त काक्रमणबाट अन्तर्राष्ट्रिय कानूनको गंभिर उल्लंघन भएको टिप्पणी गर्नुभएको थियो । उता युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नोे गृहनगरमा हालै भएको क्षेप्यास्त्र आक्रमणमा मानवीय हतहती भएको जनाउँदै ट्रम्पले रुसको आलोचनागर्न कञ्जुस्याइँ गरेको बताउनु भएको छ ।
गत शुक्रबारमात्र पनि युक्रेनको मध्यभागमा पर्ने क्राइभी रिग शहरको आवासीय क्षेत्रमा रुसी क्षेप्यास्त्र आक्रमण भएको थियो । त्यहाँ पनि ट्रम्पले रुस र युक्रेन दुबैतिर खेलेर प्राकृतिक श्रोतहरु हत्याउने प्रयासगर्दै आएको देखिएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले रुस र युक्रेनबीच आंशिक युद्धविरामका लागि दबाब दिइरहेकै बेला उक्त आक्रमण भएको हो । उता बेलायती र फ्रान्सेली सेना प्रमुखहरुले युक्रेनलाई उचाल्ने र ट्रम्पका युक्रेनसम्बन्धी नीतिहरुलाई असफल बनाउने प्रयास थालेको देखिएको छ । उनीहरुले गत हप्ता किएभको यात्रासमेत गरिसकेका छन् । गतसाता फ्रान्सका थिएरी बुर्खार्ड र बेलायती रक्षा प्रमुख टोनी राडाकिनले युक्रेनी राष्ट्रपति जेलेन्स्की, युक्रेनी सेनाप्रमुख ओलेक्जेन्डर सिस्र्की र रक्षामन्त्री रुस्तेम उमेरोभसँग वार्ता गर्नुभएको थियो । युक्रेनले रुसले युद्धविराम नचाहेको बताउँदै आएको छ । फ्रान्सेली र बेलायती सैन्य प्रमुखहरुको किएभ भ्रमण त्यही दिन भएको थियो जुन दिन रुसको बालिष्टिक मिसाइल आक्रमणमा जेलेन्स्कीको गृह शहर क्रिभी रिगमा नौ बालबालिकासहित कम्तीमा १८ जनाको मृत्यु भएको थियो । त्यसैगरी अमेरिकी उक्साहटमा सत्ता पलट भएर गठन भएको भनिएको बंगलादेशको सरकार पनि ट्रम्पका कर नीतिको बिरोधमा अगाडि बढ्न बाध्य भएको देखिएको छ । विश्वको दोश्रो ठूलो गार्मेन्ट उत्पादक राष्ट्र मानिएको बंगलादेशका टेक्सटाइल व्यवसायसँग सम्वद्धहरुले अमेरिकी करले प्रमुख उद्योगका लागि ठूलो धक्का भएको बताएपछि त्यहाँको अन्तरिम सरकारले गत शनिबारमात्र आपत्कालीन बैठक बोलाएको थियो । सो बैठकमा उच्च विज्ञ, सल्लाहकार र अधिकारीहरु सहभागी थिए । बंगलादेशको कर प्राधिकरण, नेशनल बोर्ड अफ रेभेन्यूले पनि अतिरिक्त करबाट हुने असरको समीक्षागर्न अलग्गै बैठकगर्ने तयारी गरेको भनिएको छ । करिब दुई करोड ५० लाख अमेरिकी डलरको कारोबारगर्ने बंगलादेशको प्रमुख उत्पादक कम्पनी आरडिएम ग्रुपका अध्यक्ष रकिबुल आलम चौधरीले आफ्नो उद्योगले व्यापारको रफ्तार गुमाउने बताइसक्नु भएको छ । चीनपछिको दोश्रो ठूलो उत्पादक बंगलादेशले ग्याप इङ्क, टोमी हिलफिगर र लेभी स्ट्रासजस्ता अमेरिकी कम्पनीका लागि गार्मेन्ट उत्पादनगर्दै आएको अवस्था छ । ट्रम्पले गतसाता बंगलादेशमा कपासमा १६ प्रतिशत र पोलिष्टर उत्पादनमा ३२ प्रतिशत कर वृद्धिगर्दै बंगलादेशमाथि ३७ प्रतिशत कर लगाउने घोषणा गर्नुभएको थियो । त्यसैगरी राजनीतिकरुपले अमेरिकी खेमाको मानिने राष्ट्र जापानका प्रधानमन्त्री शिगेरु इशिबाले पनि ट्रम्पले जापानी सामानमा लगाएको करले राष्ट्रिय संकट निम्त्याएको बताउनुभएको छ । अमेरिकामा जापानी कम्पनीहरु सबैभन्दा ठूलो लगानीकर्ता मानिन्छन् । तर ट्रम्पले जापानी समामानको आयातमा २४ प्रतिशतको कर लगाउने घोषणा गरेपछि त्यहाँको अर्थतन्त्र धरमराउन पुगेको ठानिएको छ ।
इशिबाले त्यहाँको संसदमै अमेरिकाको सो कदमले जापानलाई आर्थिकरुपमा राष्ट्रिय संकट निम्त्याउनसक्ने बताउँदै सबैलाई सचेत रहन सतर्क गराउनु भएको थियो । त्यसैगरी युरोपेली संघले पनि संयुक्त राज्य अमेरिकाद्वारा घोषणा गरिएको नयाँ भन्सार महसुलको जवाफ दिने भनेको छ । फ्रान्सेली सरकारका प्रवक्ताले अमेरिकी कर नीति र त्यसले युरोपमा पार्ने असरबारे अध्ययन भैरहेको र यही अप्रिल महिनाको अन्त्यभित्र जबाफ दिने बताउनु भएको छ । अप्रिलभित्रै इयुले समन्वित, एकताबद्ध र बलियो तरिकाले घोषणागर्ने भनेको छ । ईयूले पछिल्लो कर नीतिबारे अमेरिकासँग वार्ताका लागि तयार रहेको जनाएको छ । त्यसैगरी ट्रम्पले अमेरिकामा भित्रिने सबै विदेशी वस्तुमा उच्च भन्सार शुल्क तोकेको भोलिपल्टै चीनले पनि गत शुक्रबारनै अमेरिकी वस्तुको आयातमा ३४ प्रतिशत कर लगाउने घोषणा गरिसकेको छ । त्यसअघि ट्रम्पले चिनियाँ वस्तुको आयातमा भन्सार दर ३४ प्रतिशत थपेर ५४ प्रतिशत पु¥याएको देखिएको थियो । विश्वव्यापीरुपमा बढ्दो व्यापार युद्धमा ट्रम्पको नयाँ कर नीतिका विरुद्ध जवाफी कारवाहीगर्ने चीन पहिलो देश भएको छ । चीन र अमेरिकाबीचको भन्सार शुल्कको रस्साकसीले विश्व बजारलाई नै ठूलो क्षति पु¥याउने आंकलनहरु पनि हुनथालेका छन् । ट्रम्पले आफ्नो नयाँ कर घोषणालाई मुक्ति दिवसकारुपमा व्याख्यागर्दै अमेरिकाको चीनदेखि युरोपेली संघसम्मका अन्य देशहरुबीचको व्यापार घाटा अन्त्यगर्न नयाँ कर नीति ल्याएको बताउनु भएको छ । तर ट्रम्पको नयाँ भन्सार दरलाई लिएर अन्य मुलुकहरुले भने तीब्र बिरोध गरेका छन् । अमेरिकाको शीर्ष व्यापारिक साझेदारहरुमध्येको एक चीनले यही अप्रिल १० देखि लागू हुनेगरी सबै अमेरिकी आयातमा ३४ प्रतिशत भन्सार शुल्क घोषणा गरेपछि अमेरिकी सामान चीनमा ठप्प हुने अवस्था सिर्जना भएको छ ।
त्यसैगरी चीनले नयाँ भन्सार शुल्कका विषयमा विश्व व्यापार संगठन (डब्लूटीओ) मा मुद्धा दायरगर्ने घोषणा पनि गरिसकेको छ । चीनले चिकित्सा प्रविधि र उपभोक्ता इलेक्ट्रोनिक्समा प्रयोग हुने केही दुर्लभ खनिज तत्वहरुमा निर्यात नियन्त्रण लगाउने पनि भनेको छ । अमेरिकी नयाँ कर नीतिले विश्वभरका मुलुक प्रतिशोधात्मक भन्सार शुल्कमा जानसक्ने भयका कारण यसले व्यापार युद्धलाई थप बढाउन सक्ने र आर्थिक मन्दीको अवस्था उत्पन्न हुनसक्ने ब्याख्या र बिश्लेषणहरु हुनथालेका छन् । ट्रम्पका पछिल्ला कतिपय घोषणा, प्रयास र नीतिहरुले विश्वमै राजनीतिक उथल पुथलको संकेत समेत गरेका छन् । उहाँको कर नीति पनि मनमौजी खालको देखिएको छ । ट्रम्पको कर नीति र ब्यापार नीतिले अमेरिकाका सहयोगी राष्ट्रहरु समेत चिडिदै गएको देखिएको छ । त्यसैगरी उक्त नीतिहरु बिभिन्न राष्ट्रका बीचमा द्वन्द बढाउने ढंगले निर्धारण गरिएका पाइन्छन् । ट्रम्पका पछिल्ला नीतिहरुले अन्य मुलुकहरुमा त प्रभाव पारेकै छ, त्यसको प्रमुख असर अमेरिकामै बढीपर्ने देखिएको छ । यस्तै अवस्था रहेमा विश्वनै चरम आर्थिक मन्दीकासाथै तेश्रो विश्वयुद्धतर्फ धकेलिन सक्ने संभावना पनि छ ।






























