गोलबजार । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य रामसिंह श्रीस नेतृत्वको १ नंं जनसम्बन्ध विस्तार अभियान टोलीलाई पार्टीको १३ नंं ब्यूरोले सिरहाको गोलबजारमा बिहीबार भव्य स्वागत गरेको छ । अभियान टोलीलाई गम्छा र अवीर लगाएर भव्य स्वागत गरिएको थियो ।

स्वागत कार्यक्रमको सञ्चालन १३ ब्यूरोका सचिव रामनारायण सिंहले गर्नुभएको थियो भने नेता रामसिंह श्रीस र १३ नं ब्यूरोका इन्चार्ज कृष्णदेव सिंह दनुवारले अभियानको बारेमा समीक्षात्मक भनाइ राख्नुभएको थियो ।

स्वागत कार्यक्रमको समापन लगत्तै पार्टीका अर्का स्थायी समिति सदस्य हरिभक्त कँडेल प्रतीकको नेतृत्वमा रहेको २ नं अभियान टोलीसँग संयुक्त रुपमा समीक्षात्मक बैठक सम्पन्न गरिएको छ । समीक्षात्मक बैठकमा दुवै अभियान टोलीमा सहभागी सदस्यहरुले आ–आफ्ना अनुभूति राख्नुभएको थियो ।

समीक्षात्मक बैठकले जनसम्बन्ध विस्तार अभियान भव्य र प्रभावकारी रुपमा अगाडि बढिरहेको, जनताबाट अमूल्य सुझावहरु प्राप्त भएको, लक्षित उद्देश्य अनुसार नै अभियानलाई थप प्रभावकारी बनाउँदै लैजाने लगायतको संश्लेषण गरेको छ ।

दुवै अभियान टोलीले भोलि (शुक्रबार) गोलबजारमा संयुक्त रुपमा पत्रकार सम्मेलन गर्ने पनि निर्णय गरेको छ । गोलबजारस्थित उद्योग वाणिज्य कार्यालयको हलमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।




























