१४ मार्च १८८३ मा विश्व कम्युनिष्ट आन्दोलनका अग्रजप्राधिकार र महान व्यक्तित्व कार्ल हेनरी माक्र्सले मात्र ६४ वर्षको अल्पायुमा सदाका लागि यो संसारबाट विदा लिएका थिए । युरोपको औद्योगिक क्रान्तिले स्वाभाविक रुपमा मजदुर वर्गको संख्यामा अभिवृद्धि ग¥यो । औद्योगिक कारखानाका मालिकहरुको शोषणका कारण मजदुर वर्गको अभाव, कोलाहल र दुर्दशाको जिन्दगीले माक्र्सलाई बेचैन बनायो । यस्तो बेचैनी रोबर्ट ओवेन, सेन्टसाइमन, चाल्र्स फुरिय, जिनजोसोफ चाल्र्स लुई व्लाङ्क जस्ता विचारकहरुलाई पनि बनाएको थियो । यी विचारकहरुले पूँजीपतिलाई मानवता र नैतिकताको पाठ पढाएर वर्ग समन्वयको आधारमा शोषित मजदुरहरुको जीवन पद्धति बदल्न सकिन्छ भनेर जीवनभर प्रयत्न गरे । नाफाखोर निर्दयी पूँजीपति वर्गले यी विचारकहरुको आग्रह र अपिललाई सुनेनन् । मजदुर वर्गको जीवन पद्धतिमा परिवर्तन हुन सकेन । जिन जोसोफ चाल्र्स लुइ व्लाङ्क त माक्र्सकै समकालीन व्यक्तित्व थिए । माक्र्सवादको उदय हुनुमा काल्पनिक समाजवादीका विचारहरुले पनि महत्वपूर्ण स्थान राखेका छन् । रोवर्ट ओवेनलाई त आधुनिक जनसहकारी प्रणालीका प्रणेता नै मानिन्छ ।
कार्ल माक्र्सले पूँजीपति वर्गको घरानाबाट आएका फ्रेडरिक एंगेल्स जस्तो सहयोद्धा पाए । ठूलै पूँजीपति वर्गको घरानाकी एउटी छोरी जेनिफोन वेस्ट फालेन जस्ती पत्नी पाए । सह्दयी साथी फ्रेडरिस एंगेल्स र जीवनसाथीका रुपमा जेनिफोन वेस्ट फालेनलाई पाउनु माक्र्सका जीवनका ठूला सौभाग्य थिए । फ्रेडरिक एंगेल्स एउटा सम्पन्न परिवारबाट आएको भएता पनि मजदुर मुक्तिका लागि जीवनभरि माक्र्ससित मिलेर वैचारिक संघर्ष गरे । माक्र्सको परिवारलाई लगातार आर्थिक सहयोग मात्र होइन बौद्धिक सहयोग पनि गरिरहे । कुनै कुराको अभाव नभएको सम्पन्न घरानामा जन्मेकी जेनि फोन वेष्ट फालेन पछि जेनी माक्र्सका नामले प्रख्यात भइन् । जेनी माक्र्सले आफ्ना जीवनका सम्पूर्ण व्यक्तिगत भौतिक सुखसुविधालाई परित्याग गरिन् । दुःखको बाटो रोजिन् । त्यतिबेलै युरोपमा विवाह र सम्बन्ध विच्छेद सामान्य कुरा मानिन्थ्यो तर जेनीले माक्र्सको महान मस्तिष्कलाई चिनिन र जीवनभर साथ दिइन् । उनले माक्र्सलाई यति प्रेम गरिन् कि जेनीले माक्र्सलाई गरेको प्रेमलाई लेखकहरुले महान र आदर्श प्रेमका रुपमा लामा–लामा परिभाषा गरेका छन् । माक्र्स र जेनीले सात बच्चाहरु जन्माए तर तीन बच्चा मात्र जीवित रहे । चार बच्चाले त औषधि उपचारको अभावमा ज्यान गुमाए भन्ने भनाइहरु छन् । कार्ल माक्र्स लगातार १८–२० घण्टासम्म अध्ययन तथा अनुसन्धानमा व्यस्त हुन्थे । लण्डनको पुस्तकालयमा माक्र्स पढ्दा पढ्दै चक्कर आएर ढल्ने गर्दथे । कार्ल माक्र्सको परिवार कति कठिन जीवन बाँच्यो भन्ने कुरा जेनीले एंगेल्सलाई लेखेको एउटा मार्मिक पत्रले नै प्रस्ट पार्दछ । त्यसमा उनले पटक–पटक आर्थिक सहयोगका लागि कलम उठाउनु पर्दा निकै असजिलो महसुस हुन्छ । म सुत्केरी छु, बच्चाले लगातार स्तन चुसिरहन्छ, दूध आउँदैन मलाई चक्कर आउँछ । दैनिकीका समस्याले मलाई निकै नराम्ररी थिचेको छ भन्ने मार्मिक भावको पत्र लेखेकी थिइन् । त्यतिबेला युरोपमा पनि आजको जस्तो सूचना र सञ्चारको विकास भएको थिएन । चिठी पुग्न पनि समय लाग्थ्यो । एंगेल्सले माक्र्सलाई आर्थिक सहयोग मात्र गरेनन् बौद्धिक सहयोग पनि गरे । सन् १८४८ मा प्रकाशित कम्युनिष्ट घोषणापत्र नै माक्र्स एंगेल्सको संयुक्त दिमागको उपज थियो । माक्र्सवादको भण्डारमा एंगेल्सका दर्जनांै पुस्तकहरु छन् । माक्र्सले पूँजीको एउटा खण्ड मात्र पूरा गरे । बाँकी रहेका दुई र तीन खण्डलाई माक्र्सले तयार गरेका नोटका आधारमा एंगेल्सले नै पूरा गरेका थिए । प्रतियोगितात्मक पूँजीवादी युगमा माक्र्स एंगेल्सद्वारा प्रतिपादित वर्ग संघर्षको मूल्यमा आधारित माक्र्सवादको भण्डारबाट एंगेल्सलाई अलग गराउन सकिन्न किनभने माक्र्सवादबाट एंगेल्सको योगदानलाई अलग गराउँदा माक्र्सवाद नै अपांग बन्न जान्छ । त्यसो त माक्र्स जस्तै एंगेल्स पनि विश्व कम्युनिष्ट आन्दोलनका प्राधिकार हुन् ।
कार्ल माक्र्सले दर्शन, राजनीति, अर्थशास्त्र, इतिहास, समाजशास्त्र, कानुनलगायत मानव जीवनसँग सम्बन्धित सबैजसो विषयमा वैकल्पिक सिद्धान्तको प्रतिपादन गरेका छन् । भारतका समाज सुधारक ‘ज्योतिबा फुलेले आजको संसार सुतिरहेको छ । त्यसलाई जगाउनु पर्छ’ भनेका थिए । उनी माक्र्स एंगेल्सकै समकालीन थिए । माक्र्सले फायरवाखबारे नामक एउटा निबन्धमा यो संसार टाउकाले टेकेर उभिएको छ मैले खुट्टाले टेकेर उभ्याइ दिएको छु भनेका छन् । माक्र्सले मानव जातिको इतिहास र दर्शनको जति गहन अध्ययन गरे त्यति अध्ययन उन्नाइसौं शताब्दीमा अन्य विचारहरुले गर्न सकेनन् । फायरवाखको भौतिकवाद र हेगेलको द्वन्द्ववादभित्रका सत्यलाई निफनेर माक्र्सले द्वन्द्वात्मक भौतिकवाद भन्ने भौतिकवादको नयाँ परिमार्जित दार्शनिक भाष्यको निर्माण गरे । माक्र्स एंगेल्सका अधिकांश कृतिहरु समाजको समग्र पक्षको अध्ययनका वैज्ञानिक निष्कर्ष हुन् । तर अर्थशास्त्रको क्षेत्रमा अतिरिक्त मूल्यको सिद्धान्त र इतिहासको व्याख्याको सन्दर्भमा ऐतिहासिक भौतिकवाद माक्र्सका नयाँ आविस्कार हुन् । माक्र्सवाद भनेको मानव जातिको महान र उच्च आदर्श बोकेको नयाँ मूल्य हो । जुन मूल्यले मानव समाजमा समानता र स्वतन्त्रताको माग गर्दछ । सबैखाले अन्धविश्वास तथा रुढीवादी धार्मिक पाखण्डको खण्डन गर्छ ।
त्यतिबेलै कतिपय विचारकहरुले माक्र्स एंगेल्सलाई भोलिको युगका मान्छे भनेर टिप्पणी गरेको कुरा पनि सुनिन्छ । माक्र्सवादी विचारलाई रुस–चीन लगायत विश्वको एक चौथाई भन्दा ठूलो भूगोलमा माक्र्सवादका अनुयायीहरुले प्रयोगमा ल्याए । ती मुलुकमा प्रतिक्रान्ति भएर पूँजीवादको पुनस्र्थापना भयो । माक्र्स एंगेलसले परिकल्पना गरेको वैज्ञानिक समाजवादका पिलरहरु ढले तर माक्र्सवादी विचार ढलेन । एउटा अध्ययनका अनुसार आज विश्वमा डेढ अर्ब भन्दा धेरै मानिसहरुले माक्र्सवादप्रति आस्था राख्ने मात्र गर्दैनन् कट्टरता नै देखाउँछन् । तिनीहरु माक्र्स एंगेल्सद्वारा परिकल्पित वैज्ञानिक समाजवाद र साम्यवादी क्रान्तिप्रति विश्वस्त छन् । माक्र्स एंगेल्सको विचारले प्रतियोगितात्मक पूँजीवादी युगमा माक्र्सको जीवनकालमा खास महत्व पाएको देखिन्न । पूँजीवाद र पूँजीपति वर्गसित मात्र होइन कम्युनिष्ट अन्तर्राष्ट्रियमा पनि माक्र्स र एंगेल्सलाई अराजकतावादी तथा सम्झौतावादी विचारहरुसँग महान र उच्च प्रकारको वैचारिक संघर्ष गर्नुप¥यो । त्यसमा बाकुनिन र ब्लमंकीवादको अराजकतावाद तथा लसालपन्थीहरुको सम्झौतावाद मुख्य छन् । त्यसो त सन् १८८३ मार्च १४ मा माक्र्सको निधन हुँदा विश्वभरिमा जम्मा २०० माक्र्सवादीहरु थिए । प्रथम कम्युनिष्ट अन्तर्राष्ट्रिय संगठनको विघटन भइसकेको थियो । माक्र्स बाँचेको कठिन जीवनको इतिहास एउटा लेखमा चर्चा गर्न सकिन्न । सन् १८६२ मा उनको जीवन निर्वाहमा निकै कठिनाई भयो । एंगेल्सले पठाउने नियमित सहयोग आउन ढिलो भयो । पत्रिकामा लेखेको स्तम्भको आयले खर्च चलाउन कठिन भयो । त्यसपछि माक्र्सले लण्डनको एउटा कम्पनीमा कलर्कको जागिरका लागि आवेदन दिए । आवेदन फाराममै उनका नराम्रा अक्षरका कारण उनले जागिर पाएनन् । निराश भएर आफ्नो कोठामा फर्के । माक्र्सको जीवनभर उनका कृतिहरुको कुनै चर्चा भएन । सन् १८४८ मा प्रकाशित कम्युनिष्ट घोषणा पत्र सन् १८७२ मा २४ वर्षपछि मात्र द्वितीय संस्करण प्रकाशित भएको थियो । माक्र्सका अखवारी लेखका भने केही बौद्धिक पाठक थिए । माक्र्सको जीवनभर पूँजी खण्ड एकको खास चर्चा भएन । १८८३ सम्म बल्लतल्ल एक हजार प्रतिमात्र बिकेको थियो । उनकी छोरीले १६ पाउण्ड रोयल्टी पाएकी थिइन् । लेखकहरुका अनुसार कार्ल माक्र्सकी आमाले एक पटक भनेकी थिइन् रे ‘यो कार्लले पूँजी भन्ने पुस्तक लेख्नु भन्दा पूँजी नै कमाएको भए राम्रो हुन्थ्यो ।’ माक्र्स मर्दा जम्मा एघार जना मात्र मलामी थिए, भनिन्छ । आफ्नो जीवनकालभरी माक्र्सलाई तिरस्कारको नै सामना गर्नुप¥यो । समयमा पैसा तिर्न नसक्दा घरमालिक, माछा मासु तथा खाद्यान्न पसलेहरुले उनलाई थर्काएर तिरस्कार गरे । बुर्जुवा बुद्धिजीवीहरुले वास्ता गरेनन् । युरोपका सरकारहरुले लखेटिरहे । तर माक्र्स आफ्नो सपना, लक्ष्य र क्रान्तिप्रतिको आस्थाबाट डगमगाएनन् । उनको मृत्युपश्चात रसियनहरुले कार्लमाक्र्सलाई गहन रुपमा अध्ययन गरे । विस्तारै माक्र्सवादको प्रचार भयो । विश्वभरिका श्रमिक मजदुरहरुले माक्र्सवादलाई आफ्नो मुक्तिको दर्शनका रुपमा स्वीकारे । माक्र्सवादको जगमा रुस र विश्वका कैयन देशमा क्रान्तिका ज्वारभाटा उठे । बीसौं सताब्दीको शुरुवातसँगै माक्र्स एंगेल्सका राता किताबहरुले विश्व बजार पिट्न थाले । १९१७ को रुसी क्रान्तिपछि लाखौं कृति प्रकाशित भए । चिन्तनको इतिहासमा आज माक्र्सवाद पूँजीवादको वैकल्पिक विश्वव्यवस्थाका रुपमा स्थापित छ । आज करोडौं मान्छे माक्र्सवादी विचारलाई स्वीकार्छन् । तर धेरैले माक्र्सवादलाई जीवनदर्शनका रुपमा अंगिकार गर्न सकेका छैनन् । त्यसैले तिनीहरु क्रान्तिकारी र अवसरवादीका रुपमा विभाजित छन् ।































