क्रान्तिकारी कम्युनिस्ट पार्टीले भन्यो– ‘लोकतान्त्रिक गणतन्त्रको विकल्प जनगणतन्त्र हो, राजतन्त्र होइन’

क्रान्तिकारी कम्युनिस्ट पार्टीले भन्यो– ‘लोकतान्त्रिक गणतन्त्रको विकल्प जनगणतन्त्र हो, राजतन्त्र होइन’

नेपालका सबै अग्रगामी र क्रान्तिकारी शक्तिहरूलाई नेपालमा जनगणतन्त्र स्थापना गर्नका लागि एकताबद्ध भएर सङ्घर्षको बाटोमा अगाडि बढ्न जोडदार आह्वान

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले बुधबार (२८ फागुन, २०८१) मुलुकको पछिल्लो राजनीतिक अवस्था र आगामी दिशाबारे पार्टीको धारणा सार्वजनिक गरेको छ । पार्टीको धारणा सार्वजनिक गर्दै पार्टीका कार्यवाहक महासचिव सीपी गजुरेल गौरवले ‘लोकतान्त्रिक गणतन्त्रको विकल्प जनगणतन्त्र हो, राजतन्त्र होइन’ भन्नुभएको छ ।

यस्तो छ पार्टीको पछिल्लो राजनीतिक घटनाक्रममाथिको टिप्पणी र धारणा :

“नेपालको तात्कालिक राजनीतिक अवस्था र आगामि दिशाबारे पार्टीको धारणा सार्वजनिक गर्न यो प्रेस–वक्तव्य जारी गरिएको छ ।
नेपालमा झण्डै २४० वर्षदेखि शासन गर्दैआएको राजतन्त्रको अन्त्य भएर लोकतान्त्रिक गणतन्त्रको स्थापना भएपछि पनि जीवनमा नेपाली जनताले कुनै खास परिवर्तनको अनुभूति गर्न पाएका छैनन् । यो व्यवस्थाको विरोधमा जनअसन्तोष र जनआक्रोश चुलिँदै गएको छ । जनता यसको विकल्पको खोजिमा छन् ।
यस पृष्ठभूमिमा यही २०८१ साल फागुन ७ गते पूर्व राजा ज्ञानेन्द्रले “आफूले राष्ट्रको लागि त्याग गरेको, आवश्यकता परे अझै त्याग गर्न तयार रहेको र त्यसको निम्ति आफूलाई साथदिन जनतालाई आह्वान गर्दछु” भन्ने एउटा भिडियो वक्तव्य गरे । पछि फागुन २५ गते पोखराबाट फर्कने क्रममा काठमाडौँ विमानस्थलमा अवतरण गरेपछि उनलाई स्वागत गर्ने नाममा उल्लेखनीय भिड देखाप¥यो । उक्त भिडले “राजा आउ देश बचाउ”, “लोकतान्त्रिक गणतन्त्र मूर्दावाद” जस्ता नारा लगाएर राजावादीहरूले प्रदर्शन गरेपछि नेपालको राजनीति तरङ्गित भएको छ । यसले नेपालको लागि उपयुक्त व्यवस्था कुन हो त ? भन्ने प्रश्न खडा गरेको छ । यो प्रश्नको सही जवाफ खोज्ने उपयुक्त समूह समय आएको छ ।
नेपालमा तीन अलग प्रकृतिका राजनीतिक शक्तिहरू छन् । ती हुन् ः अग्रगामी, यथास्थितिवादी र पश्चगामी । पहिलोमा नेपालमा जनगणतन्त्रको स्थापना गरी वैज्ञानिक समाजवाद हुँदै साम्यवादलाई आफ्नो लक्ष्य मान्ने क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल लगायतका कम्युनिस्ट पार्टी तथा सङ्गठनहरू; दोस्रोमा लोकतान्त्रिक गणतन्त्रलाई अभीष्ट मान्ने नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) र नेपाली कांग्रेस लगायतका संसदवादी पार्टीहरू र तेस्रोमा सङ्ग्रहालयमा थन्क्याइसकिएको राजतन्त्रलाई फेरि फर्काउन चाहने राप्रपा लगायतका राजावादी सङ्गठनहरू पर्दछन् ।
राज्य सञ्चालन, स्रोत दोहन र संसदमा सङ्ख्याको दृष्टिले यतिखेरको अवस्थामा यथास्थितिवादी शक्तिहरू बलिया जस्ता देखिएका छन् । राजावादीका तुलनामा यिनीहरू एक कदम अगाडि हुन्, तर जनगणतन्त्रको तुलनामा यी पश्चगामी नै हुन् । यो शक्तिले प्रतिक्रियावादी वर्गको नै प्रतिनिधित्व गर्ने भएकोले यसले नेपाली समाजलाई रूपान्तरण गर्न सक्दैन । वर्तमान अवस्थामा नेपाली राजनीतिमा यी तीन धारहरू रहेको यथार्थलाई बुझ्नु, बुझाउनु र तदनुसार अग्रगामी परिवर्तनका लागि आवाज उठाउनु आजको आवश्यकता हो ।
राजावादीहरूको विरोध जुलुसमा ज्ञानेन्द्र शाहको फोटोको समकक्षमा भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो प्रदर्शन गरिएको घटनाले उनीहरुको नक्कली राष्ट्रवादको पर्दाफास गरेको छ । २४० वर्ष लामो इतिहास बोकेको राजतन्त्रको अन्त्य कुनै लहडमा होइन ऐतिहासिक आवश्यकताले भएको हो । त्यसकारण यो उल्टिन सक्दैन । जहाँसम्म लोकतान्त्रिक गणतन्त्रको कुरा हो त्यसले नेपालमा विद्यमान समस्याको समाधान गर्न सक्दैन भन्ने कुरा गत दुई दशकका घटनाक्रमले राम्रोसँग पुष्टि गरिसकेको छ । लोकतान्त्रिक गणतन्त्रको विकल्प जनगणतन्त्र हो, राजतन्त्र होइन ।
अन्तमा नेपालका सबै अग्रगामी र क्रान्तिकारी शक्तिहरूलाई नेपालमा जनगणतन्त्र स्थापना गर्नका लागि एकताबद्ध भएर सङ्घर्षको बाटोमा अगाडि बढ्न हामी जोडदार आह्वान गर्दछौं ।”

Press Statement (9)