प्रतिक्रान्तिले निम्त्याएको प्रतिगमनका विरुद्ध क्रान्तिकारी शक्तिको नीर्माण

प्रतिक्रान्तिले निम्त्याएको प्रतिगमनका विरुद्ध क्रान्तिकारी शक्तिको नीर्माण

“माक्र्सवाद प्रकृति र समाजलाई ,विकासलाई सन्चालन गर्ने नियमहरूको विज्ञान हो । शोषित तथा उत्पीडित जनताको क्रान्तिको विज्ञान हो । सबै देशहरूमा समाजवादको विजयको विज्ञान हो । साम्यवादी समाज निर्माण गर्ने विज्ञान हो । विज्ञानको रूपमा माक्र्सवाद गतिहीन रहन सक्तैन, यो विकशित र परिपूर्ण हुन्छ । आफ्नो विकासमा माक्र्सवाद नयाँ अनुभव, नयाँ ज्ञानद्वारा समृद्ध नबनिरहन सक्दैन । त्यसैले त्यसका केही सूत्र र निष्कर्षहरू समयको क्रममा नफेरिइरहन सक्दैनन् , तिनको ठाउँमा नयाँ ऐतिहासिक कार्यभारहरूका अनुकुल नयाँ सूत्र तथा निष्कर्षहरू नभइरहन सक्दैनन् । माक्र्सवादले सबै युग तथा अवधिहरूका लागि मान्नु पर्ने अपरिवर्तनीय निष्कर्ष तथा सूत्रहरूलाई मान्दैन । माक्र्सवाद सारा जडसूत्रवादको शत्रु हो ।”– स्टालिन ( माक्र्सवाद र भाषाशास्त्र )
कम्युनिस्ट क्रान्तिकारीहरूले आफ्नो नीति सिद्धान्तमा गल्ती गरे भने , आफ्नो सर्वहारावर्गीय विश्वदृष्टिकोणलाई लत्याए भने , माक्र्सवादी दर्शनलाई तिलाञ्जली दिएर पुँजीवादी दर्शनको वकालत गर्न थाले भने , राष्ट्र र जनताप्रति अनुत्तरदायी भए भने अर्थात आफ्नो नैतिकता ,ईमानदारिता र जवाफदेहीतालाई कुल्चेर स्वच्छन्द भएर हिड्न थाले भने ठुलै अभूतपूर्व त्याग र बलिदानबाट विजयको शिखरमा पुग्न थालेको क्रान्ति पनि प्रतिक्रान्तिमा बदलिन्छ ।
अर्को कुरा क्रान्तिको नेतृत्व गर्दै आएका नेताहरू जब प्रतिक्रियावादीहरूको प्रलोभनमा फसेर वर्गीयरूपमा र राष्ट्रियरूपमा आत्मसमर्पण गरी राष्ट्र र जनता प्रति गम्भीर घात गर्न पुग्दछन्, त्यतिबेला विजय उन्मुख क्रान्तिले ठूलो धक्का खान्छ र प्रतिक्रान्तिमा बदलिन्छ । हामीले विश्वका थुप्रै घटना अध्ययन गरर्यौं । तर सबै घटना एकै प्रकृतिका छैनन् । नेतृत्व सही हुँदा हुँदै पनि कतिपय क्रान्ति वा विद्रोह आन्तरिक तयारी पुरा नहुँदै थालिएका क्रान्ति दुष्मनको कारण क्षत विक्षत भएका छन् र पछि त्यही नेतृत्वले नै लामो तयारी पश्चात् क्रान्ति सम्पन्न गरेको रूसको १९०५ को असफल क्रान्ति पश्चात् १९१७ को अक्टोबर क्रान्ति हाम्रा सामु ताजै छ ।
त्यस्तै नेतृत्वको गिरफ्तारीले सेट्ब्याक खाएको पेरूको क्रान्तिको पनि उदाहरण ताजै छ । हजारौं चुनौतीको ( भित्री र बाहिरी ं) वावजुद नयाँ जनवादी क्रान्ति सफल पारेको चिनियाँ क्रान्ति पनि ताजै छ । नेतृत्व सही हुनु वा नहुनुले क्रान्तिको भविष्य निर्धारण हुन्छ अर्थात पार्टीको कार्यदिशा सही हुनु वा नहुनुले क्रान्तिको भबिष्य निर्धारण हुन्छ भन्ने कुरा विश्वका र स्वयं नेपालकै कम्युनिस्ट आन्दोलनले पुष्टि गर्दै आएको छ । जब सम्म नेतृत्वले क्रान्तिकारी कार्यदिशा अबलम्बन गरेको हुन्छ तब सम्म पार्टी र क्रान्ति अर्थात नेतृत्व चढावमा हुन्छ , भन्नुको तात्पर्य विकासको तीव्र गतिमा हुन्छ । जब नेतृत्वले गलत कार्यदिशाको बाटो लिन्छ तब सिंगो पार्टी टुट्फुट ,विभाजन हुँदै दिन प्रतिदिन ओरालो अर्थात पतनको दिशातिर लाग्छ । आज सम्मको नेपालको कम्युनिस्ट आन्दोलन यही आरोह अवरोहको स्थितिबाट गुज्रदै आएकोछ ।
२०२८ सालमा सुरू गरिएको झापा आन्दोलनको उद्देश्य सही थियो । त्यो आन्दोलनमा प्राबिधिक तयारीमा केही कमजोरी रहे तापनि रणनैतिक लक्ष ,उद्देश्य सामन्तवादका विरुद्धमा केन्द्रीत थियो । त्यसले घरेलु सामन्तवादलाई समुलरूपमा अन्त्य गरेर मुलुकमा सर्वहारा वर्गको राज्यसत्ता नयाँ जनवादी सत्ता स्थापना गर्ने लक्ष राखेको थियो । त्यही महान लक्ष प्रति समर्पित भएर केही क्रान्तिकारी त्यो आन्दोलनमा होमिएका थिए । त्यो आन्दोलनले नेपालका श्रमजीवी उत्पीडित वर्गहरूमा क्रान्तिकारी उद्देलन पैदा गरेकोथियो । त्यतिबेलाका क्रान्ति नायकहरूले कमरेड माओलाई चीनको पनि अध्यक्ष हाम्रो पनि अध्यक्ष ,माक्र्सवाद ,लेनिनवाद ,माओ त्सेतुङ विचरधारा जिन्दावाद भन्दै जोडतोडले नारा लगाउँथे । त्यो बेला केही क्रान्तिकारी योद्धाहरूले सहादत पनि प्राप्त गरे । समय बित्दै जाँदा त्यतिबेलाका नायकहरू चालिसको दशक पछि मालेबाट एमाले हुँदै इतिहासको खलनायकको रूपमा बदनाम हुँदै प्रतिक्रियावादमा पतन भए । अहिलेको शासन सत्ता तिनै खलनायकको हातमा छ ।
२०५२ साल फागुन १ देखि तत्कालीन ने. क. पा. माओवादीले राजतन्त्रात्मक सामन्ती राज्यसत्ता एवं व्यवस्थाका विरुद्ध विद्रोहको झण्डा उठायो । त्यतिबेला पार्टीले प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंस गर्दै नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौं , विद्रोह जनताको अधिकार हो ,जनयुद्ध जिन्दावाद भन्ने नारा सहित सामन्ती राजतन्त्रका विरुद्ध हतियार उठाएको थियो । दश वर्षको जनयुद्धले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा उथलपुथल नै ल्यायो । त्यसले एकातिर क्रान्तिकारी कम्युनिस्टहरूमा विश्वभरि नै उद्देलन पैदा गरिदियो र रक्षामा धकेलिदै गएको कम्युनिस्ट आन्दोलनमा नयाँ उर्जा थप्यो र क्रान्तिका तरङ्गहरू विश्वभरमा फैलिन थालेको थियो भने अर्कातिर विश्वभरका खुनी शासकहरू ,साम्राज्यवाद ,विस्तारवाद समेतको निद्रा हराम गरिदिएको थियो । नेपाली जनयुद्ध रणनैतिक रक्षा ,सन्तुलन हुँदै जब केन्द्रीय सत्ता कब्जा गर्ने रणनैतिक प्रत्याक्रमणको चरणमा पुग्यो, त्यसबेला पार्टी नेतृत्व खासगरी प्रचण्ड र बाबुराम साम्राज्यवादीहरूको ग्राइन डिजाइनमा फसे र उनीहरूसँग लम्पसार परेर आत्मसमर्पण गर्न पुगे । अनि पार्टी भित्रको एउटा क्रान्तिकारी तप्का—मोहन वैद्य किरण र सीपी गजुरेललगायतलाई ठेगान लगाएर जनयुद्ध अर्थात जनवादी क्रान्तिको कार्यदिशा परित्याग गरी नाटकीय ढङ्गले बुर्जुवा गणतन्त्र अर्थात पुरानै संसदीय व्यवस्थालाई आत्मसात गर्न पुग्यो । यो घटनाले जनयुद्धको राप र तापले अत्तालिएको प्रतिकृयावादी तप्का खुसीले गदगद भयो र रातो मखमल बिच्छाएर खादा र फूलमाला लिएर जनयुद्धका नायक भनिने प्रचण्ड—बाबुराम मण्डलीहरूलाई स्वागत गर्नलामबद्ध भयो । तत्पश्चात उक्त नेतृत्वबाट एक पछि अर्को आत्मसमर्पण ,सम्झौता र गद्दारीका शृङ्खलाहरू बढ्दै गए । महान जनयुद्धका उपलब्धिहरू निरन्तररूपमा प्रतिकृयावादीहरूको कब्जामा पर्दै गए । त्यसले गर्दा मृत्युको मुखमा परेको प्रतिक्रियावादी तत्व सफल भयो भने विजयको शंखघोष गर्न तम्तयार भएको सर्वहारावर्ग रक्षाको दिशातर्फ धकेलिदै गयो ।
नेतृत्वको गद्दारी,आत्मसमर्पण र सम्झौतापरस्त नीतिले देश र जनतालाई कतिसम्म धोका दिदो रहेछ भन्ने दृष्टान्त अरू पनि छन् । १०४ वर्षे राणा शासनका विरुद्ध नेपाली काङ्ग्रेसले ठूलो संघर्ष गर्यो । कैयौं सहिद भए । कैयौं देश निकाला भएर निर्बासन बस्नु पर्यो । २००७ सालको घटनामा राजा ,राणा र काङ्ग्रेसको त्रिपक्षीय सम्झौताले राणाको औपचारिक सत्ता त हट्यो तर अनौपचारिक सत्ता निरन्तर चल्यो । काङ्ग्रेसले राणालाई सत्ताच्युत गराएर जेलमा कोच्न सकेन बरू सम्मानपूर्वक संरक्षण गर्दै जाँदा सिङ्गो काङ्ग्रेस नै राणाकरण हुँदै गयो । बि. पी. को प्रजातान्त्रिक समाजवादको सिद्धान्त राणासँगको सम्झौतामा गएर टुङ्गियो । काङ्ग्रेसको हातमा आउनु पर्ने राज्यसत्ताको चापी २०१७ पछि राजतन्त्रको हातमा गयो र त्यो निर्दलीय निरङ्कुशतन्त्रमा अभिव्यक्त भयो । त्यसले नेपाली जनतालाई कहिलै टाउको उठाउन दिएन । फलतः नेपाली जनताले बारम्बार सामन्ती राजतन्त्रका विरुद्ध आन्दोलन गरिरहनु पर्यो । २०५२– ०६२ को महान जनयुद्ध त्यसैको उपज थियो ।
“बुर्जुवा वर्गलाई निःशस्त्र पारेपछि मात्र सर्वहारा वर्गले आफ्नो विश्व ऐतिहासिक अभिभारा प्रति विश्वासघात नगरिकन सारा हातहतियारलाई रद्दीको थुप्रोमा मिल्काउन सक्ने छ र सर्वहारावर्गले निसन्देह यसो गर्नेछ तर त्यो बेला मात्र जब यो सर्त पूरा गरिन्छ त्यस भन्दा अघि निस्चय नै होइन ।” भन्ने लेनिनको भनाई यतिबेला सार्थक बन्न गएकोछ । माओवादी जनयुद्धले प्रतिक्रियावादी सत्तालाई जसरी घेरा हाल्दै सशस्त्र बल प्रयोगको माध्यमबाट उनीहरूमाथि पूर्ण विजय हासिल गरी उनीहरूलाई निःशश्त्र बनाएर राज्यसत्ता कब्जा गरेको भए र मुलुकमा नयाँ जनवादी सत्तासन्चालन गरेको भए न त देशको हालत यस्तो हुने थियो, नत मुलुक प्रतिक्रान्तिको बाटो हुँदै प्रतिगमनको बाटो लाग्ने थियो, नत जनताले यो सास्ती भोग्नु पर्ने थियो । जतिबेला नेपालमा गणतन्त्रको घोषणा गरियो त्यति बेला नै सामन्ती राजतन्त्रका अबशेषहरूलाई ठेगान लगाएर थन्काउनु पर्दथ्यो ।
त्यसो किन गरिएन भने क्रान्तिकारी नेतृत्वले उनीहरू सामु घुँडा टेकेको कारण निर्मम बन्न सकेन न उदारताको नीतिले उसले जतिसुकै अपराध गरेको भए पनि क्षमा दियो । हुन त राज्यसत्ताको दृष्टिले हिजोको राजतन्त्र र अहिलेको बुर्जुवा गणतन्त्र भन्ने एउटै हो । त्यसमा कुनै द्विविधा हुनु पर्ने छैन । जुन जोगी आए पनि नेपाली जनता र राष्ट्रको निम्ति कान चिरेकै जोगी हुन् किनकि उनीहरूको वर्ग एउटै हो । अहिलेका संसदीय पार्टी र पुराना एउटै ड्याङका मूला हुन् । नेपाली जनताको निम्ति कौवालाई बेल पाके जस्तै हो । तर शासन सत्ता निरंकुश हुनु र नहुनुले केही फरक देखिन्छ नै । माक्र्सवादले तुलनात्मक रुपले राजतन्त्रभन्दा गणतन्त्र केही प्रगतिशील हो भनेको छ । तर वर्गीय रुपमा ती दुवै सर्वहारावर्गका ागि दुश्मन वर्ग नै हुन ।
अहिले नेपालका संसदीय पार्टी र तिनका नेताहरूको भ्रष्ट, अनैतिक , राष्ट्रघाती र जनघाती कार्यशैलीले जुन स्थिति पैदा हुँदै आएकोछ, यसले जबर्जस्तरूपमा दुई वटा बिकल्पहरूको सम्भावना देखाउँदै छ । पहिलो बिकल्प , सशस्त्र जनविद्रोहद्वारा जनगणतन्त्रको स्थापना हुँदै वैज्ञानिक समाजवादको बिकल्प हो भने दोस्रो खराव विकल्प – प्रतिगमन हो । अहिले सडकमा प्रतिगमनद्वारा राजतन्त्र पुनः स्थापित गर्ने जुन हल्ला चलेकोछ , स्थितिको जटिलतालाई हेर्दा मुलुकले त्यो परिस्थितिको पनि सामना गर्नु पर्ने हो की भन्ने देखिन्छ ।
यसै प्रसंगमा फ्रेडरिक एङ्गेल्सको एउटा उक्ति सान्दर्भिक देखिन्छ, जसमा एङ्गेल्स भन्नू हुन्छ, “जब सम्म जनताको घुस्साहरूसित राजाको टाउको टकराउँदैन र क्रान्तिको ढुंगाको मारले उसको राजमहलका झ्यालहरू फोरिदैनन, तब सम्म राजाहरूको तर्फबाट कुनै असल कामको आशा गर्नु बेकार छ ।” समयमा नै राजतन्त्र र त्यसका मतियारहरूलाई ठेगान लगाउन नसक्नुको कारण यिनीहरू आफ्नो मुकुण्डो उतारेर अहिले सडकमा आइरहेका छन् । अब तिनीहरूलाई जनताको घुस्सा चाहिएको छ । हिजोका बडे राजा र आजका छोटे राजाहरूलाई जनताले जनविद्रोहमार्फत चोटिलो घुस्सा नदिइकन र यिनका दरवारहरू , राजमहलहरू नभत्काए सम्म राष्ट्र र जनताले मुक्ति पाउने छैन । अहिले मुलुकमा जुन प्रतिगमनको खतरा बढ्दै गएकोछ,त्यो यिनै कथित वाम र काङ नामका संसदवादी प्रतिक्रान्तिकारी तत्वहरूले निम्त्याएको प्रतिगमन हो । यहाँनेर अर्को खतरा दृष्टि क्षितिजमा के पनि देखिन्छ भने यी सबै मिलेर वा नयाँ परिवेशमा नयाँ सम्झौता गरेर क्रान्तिकारी शक्ति र आन्दोलनलाई दमन गर्ने र आमूल परिवर्तनको जनचाहना प्रति कुठाराघात गर्ने सम्भावना पनि देखिन्छ, किनभने यिनीहरू सबैको मुख्य दुश्मन सर्वहारावर्गको नेतृत्व गर्ने क्रान्तिकारी कम्युनिस्ट शक्ति नै हो । एक न एक दिन यो क्रान्तिकारी कम्युनिस्ट शक्तिले जनता र राष्ट्रको मुक्तिको सपना पुरा गरेरै छाड्ने छ । सयौं चोटिको क्षणिक हार एकै चोेटिको ऐतिहासिक जीतमा परिणत हुने छ । प्रतिक्षाको घडी पट्यारलाग्दो भए पनि द्वन्द्वात्मक भौतिकवादमा आधारित विज्ञानको नियमलाई कसैले टार्न सक्ने छैन ।