समाजविज्ञानको सबैभन्दा प्रगतिशील सिद्धान्त माक्र्सवाद हो

समाजविज्ञानको सबैभन्दा प्रगतिशील सिद्धान्त माक्र्सवाद हो

 

–चन्द्रहरी सुवेदी (अटल)

१) आजभोलि के गर्दै हुनुहुन्छ ?

–भर्खरै सम्पन्न क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय समितिले गरेका निर्णय कार्यन्वयन गर्न जिल्लाहरुको बैठक राख्ने, सबै जिल्लाहरुमा जनसम्बन्ध विस्तार अभियानको उद्घाटन गर्ने, केन्द्रीय टोली आफ्नो जिम्माको जिल्लामा आउँदा कार्यक्रम मिलाउने कार्यतालिका बनाउने काममा लागिएको छ ।

२) तपाई २०३६ सालको विद्यार्थी आन्दोलनको प्रत्यक्षदर्शी र आन्दोलनकारी समेत हुनुहुन्थ्यो । त्यसबारे सुनाउनु न ?

–२०३६ सालको ऐतिहासिक विद्यार्थी आन्दोलन केन्द्रीय राजनैतिक वर्गसंघर्षको उत्कर्ष थियो । अहिलेको राजनैतिक पार्टीहरुका दोस्रो तहका नेताहरु २०३६ सालको विद्यार्थी आन्दोलनका उपज हुन्  भन्दा फरक पर्दैन । खासगरी निरंकुश पंचायती व्यवस्थाका समर्थक ‘राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डल’ बाहेक अरु संघ, संगठनहरुलाई बोल्ने, लेख्ने, सभा, संगठन गर्ने सम्पूर्ण अधिकारमा प्रतिबन्ध लगाइएको थियो । समाज उकुसमुकुस थियो । त्यसको विस्फोटको लागि कमजोर विन्दु चाहिएको थियो । भित्रभित्र उम्लिरहेको लाभा निस्कनु, त्यही कमजोर जमिनी विन्दु बन्न पुग्यो ।

पाकिस्तानका भूतपूर्व प्रधानमन्त्री जुल्फिकर अलि भुट्टोलाई फासी दिएको विरोधमा २०३५ साल चैत्र २५ गते पाकिस्तानी दुतावासमा विरोध पत्र दिन गएका विद्यार्थीमाथि प्रहरीले लाठीचार्ज गरेर दमन गरेपछि विद्यार्थी आन्दोलनको विस्फोट भयो, खासगरी २०३६ साल वैशाख ९ गते अस्कल क्याम्पसमा जम्मा भएका विद्यार्थीहरुमाथि निर्मम दमन भएपछि यो आन्दोलन देशभरी फैलियो । म त्यतिखेर वीरेन्द्र क्याम्पस भरतपुरमा चौथो सेमेस्टरमा पढ्दै थिएँ । २०३६ वैशाख २ गते अन्तिम परीक्षा शुरु थियो । कृषि क्याम्पस रामपुर र वीरेन्द्र क्याम्पस भरतपुरका विद्यार्थीको संयुक्त आन्दोलनबाट परीक्षा बहिष्कार गरेर आन्दोलन अगाडि बढ्यो । विद्यार्थी आन्दोलन, जनताको आन्दोलन बन्यो । आन्दोलन बीचमै रोक्न, तात्कालीन राजाले बनाएको शाही आयोगसँग नेविसंघ, नेरावि. फ्रेडेरेशन र नेप्रवियुले सम्झौता गरेपछि आन्दोलन झन उग्र बन्यो, त्यो सम्झौता विद्यार्थीले मानेनन् । आन्दोलन सुधारिएको पंचायत कि बहुदल भन्ने जनमतसंग्रह घोषणा गरेपछि मात्र रोकियो । २०३६ साल जेठ १० गते ।

३) यहाँले शिक्षण कार्यको अनुभव पनि लिनु भएको छ । शिक्षक आन्दोलनमा पनि लाग्नु भयो कि ?

–हो मलाई आइ.ए. मा ब्याक लागेपछि २०३६ भदौदेखि २०३९ माघसम्म निमावि भीमनगरमा शिक्षकको रुपमा काम गरें । त्यतिखेर विद्यार्थी लगायत शिक्षक, सुकुम्बासी र अन्य जनवर्गका पनि आन्दोलन अगाडि बढ्यो, शिक्षक आन्दोलनले उठाएका माग १ वर्ष पढाएकालाई स्थायी , प्रा.वि.मा विएनको दरबन्दी , शिक्षकलाई पेन्सन जस्ता माग पूरा गर्न सरकार बाध्य भयो । म पनि स्थायी भए तर २०३९ माघदेखि पार्टीको योजनामा वि.ए. पढ्न वीरेन्द्र क्याम्पस भरतपुर आएँ, त्यहाँदेखि निरन्तर राजनीतिक आन्दोलनमा क्रियाशील रहँदै यो ठाउँमा आएको छु ।

४) कम्युनिस्ट पार्टीको सदस्यता कहिले प्राप्त गर्नु भयो ?

– मैले झण्डै २ वर्ष विद्यार्थी, किसान जस्ता जनवर्गीय संगठनमा काम गरेपछि २०३७ सालमा उम्मेदवार सदस्यमा दरखास्त दिएर ९ महिना परीक्षणकालमा राखेर २०३८ सालमा पार्टीले पूर्ण सदस्यता प्रदान ग¥यो ।

५) नेकपा (मशाल) को पाँचौं महाधिवेशनलाई स्मरण गर्नुपर्दा के भन्नुहुन्छ ?

–पाँचौं महाधिवेशनमा मैले स्वयंसेवकको रुपमा भाग लिएँ । हामी १५ जना स्वयंसेवक करिव ६० जना पर्यवेक्षक कलाकार, १०८ जना प्रतिनिधि थियौं । २०४१ मंसिर १ देखि १३ सम्म भारतको अयोध्यामा महाधिवेशन सम्पन्न भएको थियो । स्वयम्सेवक भएपनि पर्यवेक्षक जत्तिकै सुन्न, हेर्न र बुझ्न पाइन्थ्यो, कैयौं कमीकमजोरी, सीमा, समस्याका बाबजुद त्यो एउटा विश्वविद्यालय थियो । २०१० सालदेखिको आन्दोलनका नेता, भक्तबहादुर, मोहनविक्रम लगायतका नेताका जीवनन्त खदिला विश्लेषण, संश्लेषण सुन्दा मेरो स्तर ह्वात्तै बढेको महशुस गरे । त्यहाँका हरेक पात्र प्रवृत्ति र घटना अहिले पनि मेरो मानसपटलमा घुमिरहन्छ । अहिलेको चेतनाले हेर्दा मलाई लागेको अनुभूति चाहिं मोहनविक्रम सिंहलाई कि महाधिवेशनमा जानै दिनुहुन्थेन । सहभागी गराइसकेपछि आयोगको रिपोर्ट अनुसार कार्यवाहीको जिम्मा नयाँ केन्द्रीय समितिलाई दिएर वैचारिक, सैद्धान्तिक, राजनैतिक प्रवृत्तिमा मात्र बहस गराएको भए महाधिवेशनको अझ उचाई प्राप्त गर्दथ्यो । स्वयं बहुमतलाई पनि त्यसले राम्रो गरेन । मोहनविक्रम रुँदै बाहिर गएपछि कैयौं इमान्दार साथीहरुलाई भावनात्मक रुपमा छोयो, राप्तीका १० जनाले आफ्नो मतभेदले बाबुराम, शितलकुमार पनि दरोसँग उतै उभिए । त्यो भावनात्मक कुरा थियो भन्ने कुरा ६ वर्ष पछि उहाँहरुको विद्रोहले पुष्टि ग¥यो ।

६) २०४७ सालमा गठन भएको नेकपा (एकताकेन्द्र) मा तपाईको सांगठनिक जिम्मेवारी के थियो ?

–त्यतिखेर अहिलेको प्रचण्डको जस्तो ११ हजार सि.सि.एम. बनाउने लक्ष्यका साथ ४ हजारको केन्द्रीय समिति थिएन । जम्मा विद्रोही (मसाल) का २०४७ माघमा ४ जनाको केन्द्रीय समिति थियो । म नारायणी व्यूरो सदस्यका साथ अमिक शेरचन अध्यक्ष र चितवन जिल्ला पार्टीको सचिव थिएँ । १९ जना अरु सबै सदस्यहरु थिए ।

७) ऐतिहासिक जनयुद्धको समयमा यहाँको कार्यक्षेत्र कहाँकहाँ थियो ? जनयुद्धको बेलाको महत्वपूर्ण घटना ?

– ऐतिहासिक माओवादी जनयुद्ध, एक युगान्तकारी घटना थियो। म शुरु हुँदा केन्द्रीय कार्यालयको सचिव थिएँ भनेपछि सूचना र घटनाको कति केन्द्रीकरण थियो होला । हामीले अझै क्रान्ति सम्पन्न गर्नुछ । क्रान्ति र लक्ष्य दुवै पूरा नभएको अवस्थामा वीजित क्रान्तिको जस्तै सबै कुरा बाहिर ल्याउनु हुन्न जस्तो लाग्छ । मेरो कार्यक्षेत्र २०५३ वैशाखसम्म के.का. २०५५ मंसिरसम्म धादिङ, २०५६ भदौ ३ सम्म कास्की, ०५९ असारसम्म पर्वतका १८ वटा गाविस सहित बागलुङ, म्याग्दी, मुस्ताङ, इन्चार्ज, ०५९ असारदेखि ०५९ माघसम्म अर्घाखाँची इन्चार्ज, ०५९ माघदेखि ०६१ असारसम्म पुनः बागलुङ, ०६१ असारदेखि ०६३ पौषसम्म ५ नं. डिभिजन मंगलसेन व्रिगेड पहिला सहकमीसार र २०६२ मंसिर १४ पछि कमिसार, सामान्य अवस्थामा २० वर्षका घटना युद्धकालमा १ दिनमा हुने गर्छन्’ भन्ने महान लेनिनको भनाई अनुसार यो छोटो अन्तर्वार्तामा सम्भव छैन । सबैभन्दा दुःख लाग्दो घटना ५ नं. डिभिजन घोषणाकै दिन सल्यान र रोल्पाको सिमाना मनिमारेमा आकाशबाट जासुसी प्लेनले ८१ एम.एमका गोला खसाल्दा र जी.पी. एमजीजीले साँझको गोधुली बेलामा गोलीको पर्रा बर्साउँदा डिभिजन कमाण्डर घोषणा सभामा घोषणा हुन नपाउँदै कमाण्डर सुनिल ( किमबहादुर थापा) को सहादत र अर्को बटालियन कमाण्डर निर्ममको सहादतको घटनालाई स्मरणीय घटनाको रुपमा लिएको छु ।

८) एनेकपा माओवादीमा विद्रोह गर्नुको खास कारण के थियो ?

– एकदमै सैद्धान्तिक थियो । हामीले ८० प्रतिशत ग्रामीण भूभाग कब्जा ग¥यौं । अब बाँकी २० प्रतिशत राजधानी र शहर जनविद्रोह मार्फत् कब्जा गर्ने भनेका थियौं । २०६८ वैशाखमा सिन्धुपाल्चोकको सुकुटेमा सुकुटी खाँदै ¥याफटिङ गरेर प्रचण्डले ‘अव विद्रोह सम्भव छैन संविधानसभाबाट संविधान र पहिचान सहितको संविधान’ भनेर बाबुरामको राजनैेितक लाइनमा समाहित भए त्यहाँदेखिका सवा वर्ष, पार्टीभित्र पार्टी, संगठन भित्र संगठन, संघर्षभित्र संघर्ष भन्दै भीषण दुई लाइन संघर्ष चलाइयो र २०६९ असार २ गते अग्लो र ठूलो विद्रोहको झण्डा उठाइयो । पछि संविधानको धारा ७४ मा यो व्यवस्था ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थापिका संसद हो । भनेर प्रचण्डले सही धस्काएपछि “संसदीय व्यवस्थाको भ्रममा नपरौं नयाँ जनवादी क्रान्तिको दिशामा अगाडि बढौं” भन्ने २०५२ साल फागुन १ को लक्ष्यबाट प्रचण्ड र उनको समूह भड्किएकोले यो विद्रोहको औचित्य सानदार ढंगले पुष्टि भएको छ ।

९) कम्युनिस्ट आन्दोलनमा जीवनको लामो समय व्यतित गरिसक्नु भएको छ । अबको कम्युनिस्ट आन्दोलन कसरी अगाडि बढनु पर्दछ भन्ने ठान्नुहुन्छ ?

– क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल (आरसीपी) हाम्रो पार्टीको नाम हो । नामबाटै प्रष्ट हुन्छ कि हामीले नयाँ जनवादी क्रान्तिको खुट्किलो पूरा गर्दै वैज्ञानिक समाजवादमा जाने भन्ने कुरा विश्व क्रान्तिको हाम्रो भागमा परेको जिम्मेवारी हो । हामीले नेपालमा चलाउने वर्गसंघर्ष विश्व क्रान्तिको सेवाको लागि हो । महान् माओले भने झैं “कि हामी सबै साम्यवादमा पुग्ने छौं कि कोही पनि पुग्दैनौं” भन्ने नै हो । कम्युनिस्ट घोषणाापत्र निस्केको सन् १८४८ फेब्रुअरीदेखि कम्युनिस्ट आन्दोलनको जन्म भएको मानिन्छ । त्यसदेखि यता १७७ वर्ष भएको छ । यो भन्दा प्रगतिशील र राजनैतिक सिद्धान्त समाज विज्ञानले प्रमाणित गरेको छैन । समाज विकास क्रममा एक हजार वर्ष भन्दा पुरानो सामन्तवाद र ४०० वर्ष भन्दा पुरानो पुँजीवादले त आफूलाई नयाँ भन्न छोडेका छैनन् भने उनीहरुको तुलनामा हामी बच्चै छौं । त्यसैले महान् एंगेल्सले भन्नुभएको थियो, “पुँजीपतिहरुले हामीलाई (कम्युनिस्टलाई) बच्चाहरुको पार्टी भन्छन् हामी त्यसलाइई सहर्ष स्वीकार्छौं, बच्चाहरुको भविष्य हुन्छ, बच्चाहरुको तुलनामा बुढाहरु पहिला मर्छन्” भनेर । त्यसकारण यो धर्तीमा पहिला सामन्तवाद र पुँजीवाद सिद्धिन्छ । होची मिन्हले भनेका थिए । हामी एक हजार वर्षदेखि लड्दै आएका छौं र आवश्यक परे अरु एक हजार वर्ष लड्न तयार छौं भनेर ।”

त्यसकारण सिंगो संसार हाम्रो हुनेछ । बाटो कठीन छ तर भविष्य उज्ज्वल छ ।

१०) तपाईको गृह जिल्ला चितवनको कम्युनिस्ट आन्दोलन र त्यस जिल्लाको वर्गसंघर्षबारे बोल्नु पर्दा के भन्नु हुन्छ ?

–नेपालमा सामन्तवाद पहाडमा विश्व र मुख्यालीको रुपमा र तराईमा जमिन्दारको रुपमा विकास हुँदै गयो । तराई र भित्री मधेशमा जमिन्दार प्रथा रह्यो । चितवनको जमिन पहिला सबै थारुहरुको थियो , पहाडको इच्छा कामना एउटा पालिका बाहेक २०११ देखि राप्ती विकास परियोजना मार्फत् ५–५ विघा जमिनको प्लेट वितरण गरेकोले आबद्ध बाहेक चितवनमा जमिन्दारी प्रथा कम भयो । आदिवासी चेपाङलाई आधार बनाएर नेपाल मजदुर किसान संगठन (रुपलालको) नेतृत्वमा संचालित जुगेडी र जुटपानी वर्गसंघर्ष चितवनको महत्वपूर्ण वर्गसंघर्षका घटना हुन् । चितवनमा कम्युनिस्ट पार्टी २०१७–१८ सालपछि मात्र स्थापना भएकोले नयाँ मानिन्छ । थारुहटलाई कम्युनिस्ट मुख्य नेतृत्व उत्पादन नहुनु कमजोरी रह्यो । राज्य र प्रगतिशील जनसमुदायबीचको राजनैतिक संघर्षको रुपमा यहाँको वर्गसंघर्षको रुप रह्यो । रुसी संशोधनवादी राजनैतिक लाइन “राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम” का विरुद्ध विद्रोह गरेर आनन्ददेव भट्टको नेतृत्वमा नन सेन्टर ग्रुप बन्नु र २०२८ सालमा बनेको केन्द्रीय न्यूक्लसमा समाहित हुनु एउटा ऐतिहासिक प्रगतिशील कदम थियो र संशोधनवाद, संसदवाद र सुधारवादको विद्रोहको इतिहास चितवनले रचेको छ ।

११) क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको गत माघ २६ फागुन १ गते सम्म सम्पन्न दोस्रो पूर्ण बैठकबाट यहाँ ११ नम्बर व्यूरोको इन्चार्जको जिम्मेवारीमा हुनुहुन्छ । त्यस व्यूरोमा पार्टी काम कसरी अगाडि बढ्दैछ ?

– व्यूरो भर्खरै गठन भएको र व्यूरो केन्द्रको अंग हुने भएकाले यो स्थायी संरचना होइन र हुनुहुन्न । यो समन्वयकारी संस्था भएकोले व्यूरो सानो र समन्वयकारी बनाउनुपर्दछ । पार्टी संगठन सोही अनुसार बनेको छ र अन्य जवस मोर्चा, युवा, जुझारु संगठन पनि सोही अनुसार बनाउने सोचिएको छ । वैशाख १८ सम्म सम्पूर्ण ध्यान जनसम्बन्ध विस्तार अभियानमा लगाइने छ । सुस्ता पूर्व नवलपरासीमा फागुन १७ मकवानपुरमा फागुन २३ मा र चितवनमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका साथ जिल्ला बैठक बसेर योजना र कार्यतालिका बनाएर काम अगाडि बढाइएको छ ।

१२) पार्टीको जनसम्बन्ध विस्तार अभियानलाई ११ नम्बर व्यूरोले कसरी सम्पन्न गर्दैछ ?

– क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल अन्य संस्थापन पक्षसँग विद्रोह गरेर बनाइएका पार्टीहरुबाट बनेको पार्टी हो । विद्रोह सचेत र माथिबाट गरिने हुँदा जनतासम्म जरा पु¥याउन यसले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । डेढ महिना पूरै समय दिएर पार्टी काममा लाग्न सम्पूर्ण पार्टी सदस्यहरुलाई अपिल गरिएको छ । जिल्ला जिल्लाले आ–आफ्नो जिल्लामा र केन्द्रीय टोली आउँदा टोलीसँग मिलेर अभियानको काम संचालन गर्नेछ ।

१३) अन्त्यमा थप केही छ कि ?

–हाँक साप्ताहिक एउटा ऐतिहासिक छापा पत्रिका हो । २०४० सालमा अक्षर प्रेसमा पत्रिका निस्कँदा माघमा सम्पन्न अनेरास्ववियुको आठौं चितवन जिल्ला सम्मेलनबाट म अध्यक्ष चुनिएको र हाँकमा मेरो पहिलो पटक नाम आएको थियो । त्यतिखेर पत्रिकामा नाम आउनु गर्वको विषय हुन्थ्यो । देशी विदेशी षडयन्त्रबाट मारिनु भएका शोभाखर धनञ्जय जस्ता सहिदको सम्पादनमा पत्रिका दर्ता र नाममा निस्कनु अर्को विशेषता हो । कागजमा पत्रिका प्रकाशन गर्न कठिन काम भइरहेको वर्तमान समयमा, राष्ट्रियता, जनतन्त्र र जनजीविको पक्षमा आवाज उठाउने हाँक साप्ताहिक, पठनीय, संग्रहणीय योग्य छ । यसको प्रकाश, व्यव्स्थापक टिमलाई धन्यवाद दिंदै यसको निरन्तरता र उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

–चन्द्रहरी सुवेदी (अटल) क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको ११ नं. व्यूरो इन्चार्ज हुनुहुन्छ

हाँक साप्ताहिकका लागि रामबहादुर बुढाले लिएको अन्तरवार्ताबाट साभार