रोजगारी र विशेषाधिकार

रोजगारी र विशेषाधिकार

सन्दर्भ : ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस

महिला सम्बन्धी सम्पूर्ण हिँसा बन्द गर,
सामन्ती पितृसत्तात्मक सत्ता मूर्दावाद,
महिला बेचबिखन बन्द गर,
घरेलु श्रमको उचित मूल्याङ्कन गर,
आमाको नामबाट नागरिकता दिने कानुन लागु गर,
११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस जिन्दावाद ।

सन् १९०८ आजैको दिन अमेरिकाको कलखारखानामा काम गर्ने कामदार महिलाहरूले आफूहरूमाथि भएको सबैखाले उत्पीडनका बिरुद्धमा आवाज उठाए । जुन समान ज्याला, कामको समानता, मतदानको अधिकार, महिलामाथि भएको सम्पूर्ण विभेदको अन्त्य, महिलाहरूको आत्मसम्मानजनक व्यवहार, चरम उत्पीडनको अन्त्यको जोड दिँदै आन्दोलनमा भाग लिए । यसको नेतृत्व समाजवादी नेतृ क्लारा जेट्किनले गरेकी थिइन् । त्यो समय संसारभरिका महिला चरम उत्पीडनमा गुज्रिरहेका थिए । सामन्तवादले महिलाहरूलाई यौन सन्तुष्टिमा सजाइएको सृङ्गार सामग्री, सन्तान उत्पादन गर्ने कारखाना, पुरूषको सेवा गर्ने सेवक र घरेलु काम गर्ने औजार बनाई लुट मच्चाइरह्यो भने पूँजीवादी व्यवस्थासम्म आउँदा महिलाहरूलाई घरेलुु कामदारबाट कारखानासम्म त पुर्‍यायो तर महिलाको आत्मसम्मान भने फेरिएन । समान कामको असमान ज्याला, पुरुष सरह सम्मान पाउन लायक बनाइएन । यस्तो असमान पूँजीवादी जन्जिर तोड्न अमेरिकाका गार्मेण्ट मजदुर महिलाहरूले आफ्नो माग राख्दै सन् १८५७ आठ मार्चको दिन कारखाना हडताल गरेर संसारकै पहिलो सङ्गठित महिला आन्दोलन स्थापित गरे । आन्दोलन भुसको आगोजस्तै फैलियो । यो आन्दोलनले व्यापकता हासिल गर्‍यो ।

यसरी अगाडि बढेको आन्दोलनले सन् १९१० मा सर्वहारा मजदुर महिलाहरूले सम्मेलन गर्ने निधो गरे । अष्ट्रेलिया, फ्रान्स, अमेरिकी महिलाहरू भेला भई डेनमार्कको कोपन हेगेनमा सम्मेलन गरे र आठ मार्चलाई नै अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा मनाउने निर्णय गरे । ठिक यसैबेला रूसमा पनि जारशाही विरुद्ध आन्दोलन चर्किएको थियो । पछाडि रुसी अक्टोबर क्रान्तिपश्चात् मार्च आठलाई अन्तर्राष्ट्रिय महिला दिवसकै रूपमा मनाउने निर्णय त्यहाँ पनि गरे । अगाडि बढ्दै जाँदा आज विश्वभर यही आठ मार्चलाई मान्यता दिई महिला दिवसको रूपमा स्थापित गर्न सफल भए ।

यसरी आजभन्दा १५० वर्ष पहिलेदेखि आफ्नो अधिकारमा लड्दै आएका महिला हामी आजको प्राविधिक युग, भनौ २१औँ शताब्दीमा आइपुग्दा पनि खासै अधिकारमा उपलब्धिपूर्ण सफलता प्राप्त गर्न सकेका भने छैनौँ । त्यसो त २००७ साल २०१७ साल २०३६ साल र १० वर्षे जनयुद्धमा महिलाहरू अग्रपङ्क्तिमा नै भाग लिए । अधिकारको निम्ति काखमा बच्चा र काँधमा बन्दुक बोकेर होमिएका थिए ।

समय बदलियो । एकात्मक राजतन्त्रात्मक सत्ता ढल्यो । लोकतान्त्रिक नामको शासन व्यवस्थाबाट गणतन्त्रसम्म आइपुग्दा पनि पितृसत्तात्मक सोँचमा भने फरक देखिएको छैन । महिला दिवसका दिन मात्र समानताको अधिकारमा घनिभुत बहस छलफल हुन्छन् तर व्यवहार जस्ताको तस्तै नै छ । मुलतः फड्को मारेको देखिँदैन । दैनिक जसो हत्याहिंसाका घटना घट्छन्, बलात्कृत हुन्छन् । समानता कानुनमा मात्र छ । व्यवहार जहाँको तहीँ छ नै । अन्धविश्वास, धर्म, संस्कार संस्कृतिका बलिष्ट बन्धनका खात छन् । आज पनि छाउपडी प्रथा छँदैछ । जसले हरेक वर्ष किशोरीहरुको मृत्य,ु हत्या, बलात्कार, अपहरणका घटना निम्त्याउन छोडेको छैन ।

सत्तामा नगन्य सङ्ख्यामा महिला उपस्थिति छ । परन्तु नीति निर्माण तहमा पुरूषहरूकै हात एकलौटी चल्छ । फलतः महिलाहरूलाई तल्लो तहका कार्यमा मात्र समावेश गरिएका छन् । त्यसैले महिलाहरूलाई समानताको अधिकार, रोजगारीका अवसर र विशेषाधिकारको खाँचो नै आजको आवश्यकता हुन गएको छ ।