‘देवकोटाको व्यङ्ग्य कवित्व’ लाई सरसर्ती हेर्दा

‘देवकोटाको व्यङ्ग्य कवित्व’ लाई सरसर्ती हेर्दा

समालाेचना

थालनी

डा.ताराकान्त पाण्डेय (२०१७–२०८०)को नाम प्रगतिवादी नेपाली समालोचनाका क्षेत्रमा महत्वकासाथ लिने गरिन्छ । प्राध्यापनसँगै समालोचकीय लेखनलाई अघि बढाएका डा.पाण्डेयका करिव एक दर्जन समालोचनात्मक कृतिहरू प्रकाशित छन् । प्रगतिवादी समालोचनाभित्र पनि डा.पाण्डेयको मुख्य साधना र योगदान कविताको क्षेत्रमा रहेको छ । कतिपय कृतिपरक र व्यक्तिपरक समालोचनामा समेत कलम चलाए पनि उनको मुख्य लेखन सैद्धान्तिक समालोचनामा केन्द्रित रहेको पाइन्छ भने विधागत दृष्टिले हेर्दा चाहिँ कवितामै बढी संकेन्द्रित भएको देखिन्छ । माक्र्सवादी सौन्दर्यशास्त्र र समालोचना पद्धतिलाई दह्रोसँग समाउँदै कृतिको मूल्य निरूपण गर्ने डा.पाण्डेयका समालोचनात्मक कृतिहरू उत्तरोत्तर सैद्धान्तिक र स्पष्ट दृष्टिकोणका साथ अघि बढेको पाइन्छ । सडक दुर्घटनामा परी उनको असमयमै निधन हुनुले नेपाली प्रगतिवादी साहित्यको क्षेत्रमा ठुलो क्षति हुन पुगेको छ । डा. पाण्डेयका करिव एक दर्जन कृतिहरूमध्ये २०५८ मा प्रकाशित ‘देवकोटाको व्यङ्ग्य कवित्व’ प्रवृत्तिगत दृष्टिले प्राध्यापकीय र स्वरूपका दृष्टिले शोधमूलक ढाँचाको कृति हो । प्रस्तुत सन्दर्भमा डा. पाण्डेयको यही कृतिलाई सरसर्ती नियाल्ने प्रयास गरिएको छ ।

विषय प्रवेश

नेपाली साहित्यमा महाकविका रूपमा चिनिने लक्ष्मीप्रसाद देवकोटा (वि.सं.१९६६–२०१६) र उनको साहित्यका बारेमा विभिन्न लेखक, समालोचक तथा अनुसन्धाताहरूले विभिन्न कोणबाट विभिन्न प्रकृतिका खोज अनुसन्धान गरिसकेका छन् । साहित्यका विभिन्न विधामा कलम चलाएका देवकोटाको सर्वाधिक योगदान कविता र निबन्धका क्षेत्रमा रहेको छ । उनका काव्य प्रवृत्तिमध्ये व्यङ्ग्यात्मकता र विद्रोहचेतलाई प्रमुख प्रवृत्तिका रूपमा लिने गरिन्छ । देवकोटाका कवितामा पाइने यही व्यङ्ग्य चेतना वा व्यङ्ग्य कवित्वको निरूपण गर्ने उद्देश्यले डा. पाण्डेयले ‘देवकोटाको व्यङ्ग्य कवित्व’ लेखेको पाइन्छ ।

जम्मा छ अध्यायमा विभक्त गरी विवेचना गरिएको प्रस्तुत कृतिको पहिलो अध्यायमा ‘व्यङ्ग्यको सैद्धान्तिक स्वरूप’, दोस्रो अध्यायमा ‘देवकोटाको कवित्वमा व्यङ्ग्य चैतन्यको निर्माण र उनको व्यङ्ग्यात्मक कवितायात्रा’, तेस्रो अध्यायमा ‘पहिलो प्रहरका कवितामा व्यङ्ग्य’, चौथो अध्यायमा ‘दोस्रो प्रहरका कवितामा व्यङ्व्य’, पाँचौं अध्यायमा ‘तेस्रो प्रहरका कवितामा व्यङ्व्य’ अनि छैटौं अध्यायमा ‘देवकोटाको व्यङ्व्य कवित्वको मूल्याङ्कन’ गरिएको छ । प्रत्येक अध्यायलाई पनि विभिन्न शीर्षक र उपशीर्षकहरूमा विभक्त गरी अध्ययनको निष्कर्ष दिनुबाट कृतिलाई खोजमूलक ढाँचामा व्यवस्थित गरिएको पाइन्छ ।

शोधविधिको ढाँचाअनुरूप कृतिको पहिलो अध्यायमा व्यङ्ग्यको सैद्धान्तिक स्वरूपका बारेमा चर्चा गरिएको छ । यसअन्तर्गत व्यङ्ग्यको प्रचलित र कोशीय अर्थ केलाइएको छ । यसमा बृहत् नेपाली शब्दकोश र नेपाली साहित्यकोशद्वारा अथ्र्याइएका कुराहरूलाई नै मुख्य आधार मानिएको छ । यसवाहेक हिन्दी, अङ्गे्रजी र संस्कृत कोशहरूले व्यङ्ग्यलाई के कसरी अथ्र्याएका छन् भन्ने बारेमा चाहिँ कुनै उल्लेख पाइँदैन । नेपाली कोशका साथै अन्य भाषाका कोशहरूले अथ्र्याएका कुराहरूलाईसमेत राख्न सकेको भए कोशीय अर्थ अझ स्पष्ट र पूर्ण हुन सक्दथ्यो भन्ने देखिन्छ ।

हास्य–व्यङ्ग्य सम्बन्धी सैद्धान्तिक विश्लेषण

जम्मा छ अध्यायमा विभक्त प्रस्तुत कृतिको पहिलो अध्यायमा व्यङ्ग्यसम्बन्धी पूर्वीय र पाश्चात्य सैद्धान्तिक मान्यताको चर्चा गरिएको छ । व्यङ्ग्यसम्बन्धी पूर्वीय अवधारणाको चर्चा गर्दै लेखकले संस्कृत साहित्यमा ध्वनिको समानार्थी शब्द व्यङ्ग्य भएको कुरा उल्लेख गरेका छन् । संस्कृत साहित्यमा ध्वनिवादलाई स्थापित गर्ने आनन्दबर्धन हुन् । उनले ध्वन्यार्थलाई व्यङ्ग्यार्थको समानार्थीका रूपमा लिएका छन् । ध्वनिलाई साहित्यमा वेग्लै र विशिष्ट रूपमा प्रयोग गरेका आनन्दबर्धनले काव्यको विशिष्ट अर्थ वा भाव नै ध्वनि हो भन्दै ध्वनिलाई काव्यको आत्मा मान्न पुगेका छन् । उनले व्यङ्ग्यार्थप्रधान काव्यलाई उत्तम काव्य, व्यङ्व्यार्थ गौण र वाच्यार्थप्रधान काव्यलाई मध्यम काव्य र व्यङ्ग्यार्थरहित चित्रकाव्यलाई अधम काव्यका रूपमा वर्गीकरण गरेका छन् । ध्वनिकाव्यलाई पनि रस–ध्वनि, अलङ्कार–ध्वनि र वस्तु–ध्वनि गरी तिन तहमा विभाजन गरेको पाइन्छ । लेखक पाण्डेयले आधुनिक व्यङ्ग्यको प्रवृत्ति छेड हान्नु हो भन्दै रसध्वनि, अलङ्कार–ध्वनि र वस्तुध्वनिले पनि आधुनिक हास्यव्यङ्ग्यको मान्यतालाई आत्मसात गर्न नसकेको ठहर गरेका छन् ।

संस्कृत साहित्यमा हास्य र व्यङ्ग्यको बेग्ला–बेग्लै अस्तित्व स्वीकार गरिएको पाइन्छ, जसमा हास्यलाई रस विशेषका रूपमा र ध्वनिवादी व्यङ्ग्यलाई काव्य–सौन्दर्यका रूपमा लिइएको पाइन्छ । डा. पाण्डेयले आधुनिक हास्य व्यङ्ग्यमा पूर्वीय हास्य र व्यङ्ग्यको उपस्थितिलाई केही हदसम्म स्वीकार गर्न सकिने (पृ.६) भन्दै सिर्जनामा जति व्यञ्जनाको प्रयोग गरिन्छ हास्य–व्यङ्ग्य त्यति नै प्रभावकारी हुने कुरा उल्लेख गरेका छन् ।

व्यङ्ग्यको सैद्धान्तिक स्वरूपको चर्चा गर्ने सन्दर्भमा समालोचक पाण्डेयले पाश्चात्य साहित्यमा व्यङ्ग्यको स्वरूपलाई पनि केलाउन पुगेका छन् । पाश्चात्य साहित्यमा हास्यका लागि ह्युमर र व्यङ्ग्यका लागि सेटायर शब्द प्रयुक्त भएको तर दुवैको संयुक्त स्वरूपका लागि ‘ह्युमर सेटायर’ पदावलीको प्रयोग भने नभेटिने भन्दै हास्य र व्यङ्ग्य दुवै भिन्नै प्रवृत्तिका हुन् भन्ने धारणा राखेका छन् जुन यथार्थ पनि हो । सैद्धान्तिक चर्चाका क्रममा डा.पाण्डेयले व्यङ्ग्य हास्यको उपकरण बन्न सक्ने तर व्यङ्ग्यलाई हास्यको एक भेद मान्ने कुरालाई भने विवादास्पद भन्दै हिन्दी साहित्यका समीक्षकहरूले व्यङ्ग्यलाई एक हास्यभेद अन्तर्गत राखेका र नेपाली समीक्षकहरूले पनि हिन्दी समीक्षकहरूकै वर्गीकरणलाई स्वीकार गरेको भन्ने कुरालाई महत्वका साथ अघि सारेका छन् ।

व्यङ्ग्यको पाश्चात्य स्वरूपको चर्चा गर्ने सन्दर्भमा समालोचक पाण्डेयले हास्य र व्यङ्ग्यको बेग्ला बेग्लै चर्चा गरेका छन् । पाश्चात्य साहित्यमा हास्यचिन्तनको थालनी अरस्तुको सुखान्त चिन्तनबाट थालिएको भन्ने मान्यता रहेको छ । पश्चिमी विद्वानहरूले हास्यलाई निकै मर्यादित हाँसोका रूपमा लिएको देखिन्छ । उनीहरूले यसलाई स्मित हास्य पनि भन्ने गरेका छन् । यहाँ डा.पाण्डेयले हास्यलाई करुणा, सहानुभूति र बौद्धिकता आदिको पर्याप्त सम्मिश्रण भएको शिष्ट र गम्भीर हाँसोका रूपमा लिएका छन् । व्यङ्ग्यका सन्दर्भमा डा. पाण्डेयले बर्सानेलाल चतुर्वेदीको ‘आधुनिक हिन्दी काव्यमें व्यङ्ग्य’ पुस्तकलाई प्रमुख आधार बनाएको पाइन्छ । व्यङ्ग्यका सम्बन्धमा चतुर्वेदी भन्छन्—मानव समाजको प्रारम्भदेखि नै समाज जस्तो छ र जस्तो हुनुपर्दछ अर्थात् आदर्श र यथार्थका बीचमा द्वन्द्व चल्दै आइरहेको छ । यसैले समाजका मान्छेहरूले पनि दुई थरी विशेषतालाई आत्मसात् गर्दै आएका छन् । एकथरि मान्छेले जे छ त्यसैमा सन्तोष गर्छ भने अर्कोले जे हुनुपर्छ त्यसको खोजी गर्छ र त्यसका लागि प्रतिरोध वा विद्रोहमा उत्रिन्छ । हास्य (Humour), व्यङ्ग्य (Satire), वक्रोक्ति (Irony), वाग्वैदग्ध्य (Wit), विहास (Parody), अतिरञ्जना (Caricature) र प्रहसन (Farce) जस्ता एक अर्काका उपकरण बन्न जाने व्यङ्ग्यका रूपहरूको पनि यहाँ संक्षिप्तमा चर्चा गर्दै विश्लेषणको सैद्धान्तिक आधार तय गरिएको पाइन्छ । सैद्धान्तिक स्वरूपको निष्कर्षमा डा. पाण्डेय के भन्दछन् भने हास्य–व्यङ्ग्यको आधुनिक चेतनालाई पूर्वीय हास्य र व्यङ्ग्यले समात्न सकेका छैनन् भने पाश्चात्य साहित्यमा पनि हास्य–व्यङ्ग्य संयुक्त रूपमा प्रयुक्त भएको पाइँदैन । तर हास्य–व्यङ्ग्यको आधुनिक चेतनाका दृष्टिले पाश्चात्य चिन्तन निकै विकसित भएको उनको ठहर छ (पाण्डेय, २०५८ः १२) ।

देवकोटामा व्यङ्ग्य चेतनाको निर्माण सम्बन्धी विश्लेषण

समालोचक पाण्डेयले कृतिको दोस्रो अध्यायमा नेपाली स्वच्छन्दतावादी कविताका प्रणेता देवकोटाका कवितामा व्यङ्ग्य चेतनाको निर्माण कसरी भयो भन्दै त्यसका कारक तत्वहरू खोतल्न पुगेका छन् । पहिलो कारक तत्वमा देवकोटाको कमजोर आर्थिक अवस्थालाई देखाइएको छ । दिनको १४–१५ घण्टा ट्युसनमा जोतिंदा पनि दाल–भात–डुकुको समस्यामा परिरहने र कैयौं पल्ट भोकभोकै बस्नुपरेको अवस्थाले देवकोटामा विद्रोह चेतको निर्माण हुन पुगेको र त्यो व्यङ्ग्यका रूपमा प्रकट भएको लेखकको विश्लेषण छ । यसैगरी अन्य कारकतत्वहरूमा वि.सं.१९८७ को लाइब्रेरी काण्डमा देवकोटासमेत परेका र त्यस घटनाबाट देवकोटामा राणाशासनप्रति घृणा र विद्रोह–भाव पैदा भएकाले त्यसको प्रकटीकरणका लागि व्यङ्ग्यको सहारा लिएको भन्ने छ । नेपाली समाजमा विद्यमान सामाजिक आर्थिक विभेदका कारण पनि देवकोटामा विद्रोहचेत पैदा भएको र त्यसले व्यङ्ग्यका रूप लिएको अर्को तर्क पाइन्छ । यसैगरी नेपाली समाजमा एकातिर परम्परागत अन्धविश्वास र कुरीति विद्यमान थियो भने अर्कातिर आधुनिकताका नाउँमा विकृत पाश्चात्य संस्कृतिको प्रभाव बढ्दै थियो । यही अन्तर्विरोधको स्थितिले देवकाटामा व्यङ्ग्यचेतनाको विकास भएको भन्ने तर्कसमेत डा. पाण्डेयको रहेको छ । यसैगरी देवकोटाको प्रतिभाको उपयोग गर्ने तर उपयुक्त अवसर आइपर्दा उनलाई पागल भनेर पन्छाउने प्रवृत्तिका साथै देवकोटामा रहेको आलोचनात्क यथार्थवादी प्रवृत्तिले पनि उनमा व्यङ्ग्यचेतनाको विकास भएको भन्ने लेखकको धारणा यथार्थपरक देखिन्छ ।

यसरी यिनै छ–सातवटा कारकतत्वहरूले देवकोटामा व्यङ्ग्य चेतनाको निर्माण भएको भन्ने डा. पाण्डेयको धारणालाई सही नै मान्न सकिन्छ । धेरैले देवकोटाको आर्थिक अवस्था अत्यन्त कमजोर रहेको र कैयौं छाक भोकभोकै बस्ने गरेको भन्दै उनको गरिवीप्रति सहानुभूति राख्ने गरेका छन् । डा. पाण्डेयले पनि गरिवीको कारणले पनि देवकोटामा व्यङ्ग्यचेतना र विद्रोहभाव उत्पन्न भएको धारणा राखेका छन् । तर, वास्तवमा देवकोटा गरिव थिएनन् । मध्यवित्त ब्राह्मण परिवारमा जन्मिएका, कहिले त्रिचन्द्र कलेजमा र कहिले नेपाली भाषानुवाद परिषद्मा जागिरे भएका (अझ तिन महिना त मन्त्रीसमेत भएका) र खाली समयमा ट्युसनको घुइँचो चल्ने देवकोटाको कमाइ त्यतिखेर निकै राम्रो थियो । भनिन्छ, देवकोटाको त्यो आम्दानीको राम्रो व्यवस्थापन हुन सकेको भए उनको आर्थिक अवस्था निकै मजबुत बन्ने थियो । उनको आम्दानीलाई घर–परिवारबाट राम्रो व्यवस्थापन गर्न नसक्दा कहिले जथाभावी खर्च गर्ने र कहिले भोकै बस्नुपर्ने स्थिति पैदा भएको देखिन्छ । यसैले देवकोटा आम्दानी नभएर होइन उचित व्यवस्थापनको अभावमा आर्थिक बारम्बार आर्थिक सङ्कटमा पर्नुपरेको हो । यस वाहेक पुत्रशोकको पीडा, आफ्नै मित्र र राजनीतज्ञहरूले गरेको अपहेलना, उपहास र धोका, आफूभित्रको उच्च स्वाभिमान, राणाशासनको निरङ्कुशता, देशमा विद्यमान सामाजिक–आर्थिक विभेद, रुढि र अन्धविश्वासले ग्रसित समाज अनि पाश्चात्य साहित्यको अध्ययनले पनि देवकोटामा विद्रोह–भाव पैदा भई त्यसले व्यङ्ग्यचेतनाको विकास भएको पाइन्छ ।

कविता–यात्राको विभाजन

समालोचक पाण्डेयले देवकोटाको कवित्वभित्र देखिएको व्यङ्ग्य चेतको प्रस्फुटन, त्यसको विकास र आलोचनात्मक यथार्थवादसम्मको यात्रालाई तिन चरणमा विभाजन गरेका छन् । प्रायः धेरैले भन्ने गरेको ‘चरण’ शब्दलाई उनले ‘प्रहर’ नाम दिएका छन् । डा. कुमारवहादुर जोशी र डा. वासुदेव त्रिपाठीले गरेकै विभाजनलाई डा. पाण्डेयले पनि अवलम्वन गरेको पाइन्छ । वि.सं. १९९१ देखि सुरु भएको देवकोटाको काव्य–यात्रामध्ये वि.सं.१९९१ देखि १९९९ सम्मको अवधि स्वच्छन्दतावाद र अझ भन्ने हो भने निष्कृय स्वच्छन्दतावादको अवधि भएकाले यस समयमा लेखिएका उनका कविताहरूमा हास्यव्यङ्ग्यात्मक चेत भेटाउन सकिँदैन । प्रकृतिप्रतिको अनुराग र अतितको मोहलाई तीब्र भाव–प्रवाहका साथ प्रस्तुत गर्नु नै यस अवधिका रचनाको मुख्य प्रवृत्ति हो । यसैले वि.सं. २००० पछि मात्र देवकोटाका रचनामा केही हास्यव्यङ्ग्यात्मकता भेटाउन सकिए पनि व्यङ्ग्यात्मक चेत चाहिँ वि.सं.२००३ का कविताहरू ‘साँढे’, ‘बाघले बच्चा किन खान्छ’ जस्ता कविताबाट नै प्रारम्भ भएको पाइन्छ । डा. पाण्डेयले २००२ मा प्रकाशित ‘लक्ष्मी निबन्धसङ्ग्रह’ का कतिपय निबन्धहरू— ‘हाइ हाइ अङ्ग्रेजी’, ‘कविराजको च्याङ्ग्रे खच्चर’, ‘भलाद्मी’ आदिको आधारमा वि.सं.२००० बाटै देवकोटाका रचनामा व्यङ्ग्यचेतना प्रारम्भ भएको ठहर गरेका छन् । तर, प्रस्तुत कृतिको उद्देश्य अन्य विधामा नभएर कवित्वमा व्यङ्ग्यचेतना खोज्नु रहेकाले निबन्धमा आएको हास्यव्यङ्ग्य (व्यङ्ग्यभन्दा पनि हास्य)लाई कवितामा पनि आएझैं गरी देखाउनु चाहिँ उपयुक्त हुँदैन । यहाँ वि.सं. २००४ देखि २००९ सम्मको अवधिलाई दोस्रो प्रहरका रूपमा र वि.सं.२०१० देखि वि.सं.२०१६ सम्मको अवधिलाई तेस्रो प्रहरका रूपमा विभाजन गरिएको छ । व्यङ्ग्य–चेतनाको दृष्टिले मात्र होइन विद्रोह–चेतका दृष्टिलेसमेत वि.सं. २००४ देखि दोस्रो चरणको सुरुवात मानिनु उपयुक्त देखिन्छ तर यो अवधि २००९ सम्म कायम गरिनुमा चाहिँ कुनै मानक आधार देखिँदैन । डा.पाण्डेयले ‘साथी’ को प्रकाशनलाई मुख्य आधार बनाएको देखिन्छ । पुस्तकमा वि.सं.२०१० देखि २०१६ सम्मको अवधिलाई तेस्रो प्रहर मानिएको छ । यो अवधि भनेको देवकोटामा विकास हुँदै गएको क्रान्तिचेतको अवस्था हो र आलोचनात्मक यथार्थलाई आत्मसाथ गरेको अवधि पनि हो । यसैले देवकोटाको समग्र काव्ययात्राकै विभाजन गर्दासमेत अधिकांश समालोचकले यस चरणलाई तेस्रो वा चौथो चरणका रूपमा विश्लेषण गरेको पाइन्छ ।

चरणगत विश्लेषण

समालोचक पाण्डेयले चरण विभाजनका क्रममा सजिलोका लागि वि.सं.२००० देखि २००३ सम्मलाई पहिलो चरण मानेपनि विश्लेषणका क्रममा चाहिँ वि.सं. २००२ देखि २००३ सम्मका कवितालाई पहिलो चरण वा प्रहरमा समेटिको पाइन्छ । २००० र २००१ मा देवकोटाले कुनै त्यस्तो हास्य–व्यङ्ग्यात्मक कविता नलेखेको हुनाले पनि यसो गरिएको हुनुपर्छ । पहिलो चरण (प्रहर)मा लेखिएका देवकोटाका जम्मा पाँचवटा कविता— ‘एक डल्लो आलु’, ‘किचकिन्नी’, ‘जीवन’, ‘बूढो बाजे’, ‘बाघले बच्चा किन खान्छ’ र ‘साँढे’ कविताको विवेचना गरिएको छ । यिनीहरूमध्ये पनि ‘बाघले बच्चा किन खान्छ ?’ र ‘साँढे’ यस अवधिका प्रमुख व्यङ्ग्य कविता हुन् । राणाशासनको निरङ्कुश प्रवृत्तिप्रति व्यङ्ग्यका माध्यमबाट विरोध गरिएको हुँदा यी कवितालाई देवकोटाका सशक्त व्यङ्ग्य कविताका रूपमा लिने गरिन्छ । लेखकले ‘बाघले बच्चा किन खान्छ’ मा हास्यको उपस्थितिसँगै व्यङ्ग्य पनि सशक्त रूपमा आएको र ‘साँढे’मा चाहिँ व्यङ्ग्यको तीव्रता रहेको यथार्थ मूल्याङ्कन गरेका छन् ।

समालोचक पाण्डेयले वि.सं. २००४ देखि २००९ सम्मको अवधिलाई देवकोटाका व्यङ्ग्य कविताको दोस्रो चरण (प्रहर) का रूपमा विश्लेषण गरेका छन् । यस अवधिमा लेखिएका कवितामध्ये जम्मा २३ वटा कवितालाई उनले उल्लेख्य व्यङ्ग्यकविता मान्दै तिनको विश्लेषण गरेका छन् । उनले यस चरणभित्र पनि बनारस प्रस्थानपूर्वका, बनारस प्रवासकालका र काठमाडौं प्रत्यागमनपछिका गरी तिनवटा उपचरणमा विभाजन गरेका छन् । समय, घटना र परिवेशका कारण एउटै चरण वा प्रहरभित्र पनि विभिन्न उपचरण हुनसक्ने भएकाले अध्ययनमा सहजताका लागि यो आवश्यक पनि हुन जान्छ । बनारस प्रबासपूर्वका कवितामा ‘प्रभुजी भेडो बनाऊ’, ‘भाँचू कि मेरो कलम’, ‘मेरो सर्टिफिकेटलाई’ र ‘सडक’ लाई उल्लेख्य व्यङ्ग्य कविता मानी तिनको विवेचना गरिएको छ । बनारस प्रवासकालका व्यङ्ग्य कवितामा ‘मुसागान’, ‘स्वदेशी मानवता’, ‘स्वर्गको राज्य’, ‘चेतना’, ‘ढेंडूशाही’, ‘विधि’, ‘ढ्वाङ् गुरु’ र ‘माकचा’ को विवेचना गरिएको छ । काठमाडौं प्रत्यागमनपछिका कवितामा चाहिँ ‘निरक्षर भट्टाचार्य’, ‘मरुभूमि’, ‘मेरो कोठा’, ‘दालभात–डुकु’ र ‘साथी’ लाई उल्लेख्य मानिएर तिनको विवेचना गरिएको छ ।

समालोचक पाण्डेयले यस चरणका कवितामध्ये हास्य र व्यङ्ग्यको सन्तुलनका दृष्टिले ‘दाल भात डुकु’ लाई उत्कृष्ट मानेका छन् भने व्यङ्ग्यको प्रयोग र कविताकै स्तरीयताका दृष्टिले चाहिं ‘प्रभुजी भेडो बनाऊ’, भाचूँ कि मेरो कलम’ र ‘साथी’ लाई सफल मानेका छन् । पाण्डेयको उक्त विश्लेषण सही लाग्दछ । देवकोटाका यस चरणका पछिल्ला कवितामा वर्गबोध हुँदै गएको पाइन्छ । यस्तो वैचारिक पक्षतिर भने समालोचकले त्यति ध्यान पुग्न नसकेको जस्तो देखिन्छ । वैचारिक विश्लेषणभन्दा पनि हास्य–व्यङ्ग्यको विश्लेषणमा केन्द्रित भएकाले पनि त्यता ध्यान नदिएझैं लाग्छ ।

देवकोटाका तेस्रो चरण (वि.सं.२०१०–२०१६) का कवितामा पाइने व्यङ्ग्यको विश्लेषण गर्ने क्रममा समालोचक पाण्डेयले पत्रिका र पुस्तकभित्र सङ्कलित कविताहरूको छुट्टा छुट्टै चर्चा गरेका छन् । यहाँ ‘प्रगति’ मा प्रकाशित दुईवटा, ‘चिल्ला पातहरू’ मा प्रकाशित सातवटा, ‘लक्ष्मी कविता–सङ्ग्रह’ मा प्रकाशित २६ वटा, ‘लक्ष्मी गीति–सङ्ग्रह’ मा प्रकाशित १२ वटा, ‘रचना’ मा प्रकाशित दुईवटा र ‘मनोरञ्जन’मा प्रकाशित २१ वटा हास्य–व्यङ्ग्य कविताको विश्लेषण गरिएको छ । ‘प्रगति’(२०१०) मा प्रकाशित ‘पागल’ कवितालाई विशिष्ट व्यङ्ग्य कविताका रूपमा लिँदै समालोचक पाण्डेले यसको साङ्गोपाङ्ग विश्लेषण गरेका छन् । विश्लेषणका क्रममा ‘पागल’ कविता जन्मनुको पृष्ठभूमिका साथै यसमा समेटिएको देवकोटाको जीवन–दर्शनलाई खोतलिएको छ । यहाँ प्रयुक्त वैपरित्यमूलक व्यङ्ग्यद्वारा कविले आफूलाई पागल भन्ने लोकलाई नै पागल सिद्ध गरी आफूलाई अपागल ठहर गरेको कुरालाई सूक्ष्म ढङ्गले विश्लेषण गरिएको छ । व्यङ्ग्यका दृष्टिले मात्रै नभएर देवकोटाका समग्र कविताहरूकै सापेक्षतामा यसलाई उत्कृष्ट कविताको श्रेणीमा राख्न सकिन्छ । अन्य उत्कृष्ट व्यङ्ग्य कविताहरूमा ‘भूतलाई झटारो’, ‘एक सुन्दरी च्यामिनीप्रति’, ‘चुकुल’, ‘उद्बोधन’, ‘एक सुन्दरी वेश्याप्रति’, जित्नु छ साथी जिताउनु छ साथी’, ‘गैंडोपासना’, ‘नयाँ जवाना’, ‘हुरीपछिको गृहागमन’ आदि रहेका छन् । यी प्रत्येक कविताहरूको समालोचक पाण्डेले हास्य–व्यङ्ग्यका उपकरण र मान्यताका दृष्टिले साङ्गोपाङ्ग विश्लेषण गरेका छन् ।

अन्तिम अर्थात् छैटौं अध्यायमा आएर समालोचक पाण्डेयले देवकोटाको व्यङ्ग्यकवित्वको मूल्याङ्कन गरेका छन् । यहाँ देवकोटाको व्यङ्ग्यकवित्वलाई वि.संं.२००७ पूर्व र २००७ पश्चात् गरी मूलभूत रूपमा दुई चरणमा बाड्न सकिने निष्कर्ष निकाल्दै देवकोटाका कवितामा हास्य–व्यङ्ग्य कहिले शैलीका रूपमा र कहिले भावका रूपमा बढी आएकोले कुनै हास्यप्रधान र कुनै व्यङ्ग्यप्रधान रहेको कुरा उल्लेख गरेका छन् । विषयवस्तुका दृष्टिले देवकोटाका कवितामा विविधता पाइने भन्दै निकै साना र सूक्ष्म कुरादेखि लिएर निकै स्थूल र विशेष महत्वका विषयसमेतलाई हास्य र व्यङ्ग्यको आलम्बन बनाएको कुरा पनि निष्कर्षका रूपमा उल्लेख गरेका छन् । राजनीतिक निरङ्कुशताको विरोध, निर्धा–गरिवलाई हेप्ने समाजका शक्तिशाली वर्गका उत्पीडन अनि सांस्कृतिक तथा सामाजिक विकृति र विभेदप्रति पनि देवकोटाले व्यङ्ग्य गरेको अनि आर्यसंस्कृतिका पक्षपाती हुँदाहुँदै पनि रुढि र अन्धविश्वासप्रति भने व्यङ्ग्य गर्ने प्रवृत्ति देवकोटाका व्यङ्ग्य कवितामा पाइने ठहर उनको छ । देवकोटाको व्यङ्ग्यचेतना प्रततिवादसँग संश्लिष्ट रहेपनि स्वच्छन्दतावाद, प्रगतिवाद, मानवतावाद र व्यङ्ग्यचेतनाको संश्लिष्ट अभिव्यञ्जना नै देवकोटाको हास्यव्यङ्ग्य कवित्वको मूल प्राप्ति हो भन्ने निष्कर्ष डा. पाण्डेयको रहेको छ ।

अन्त्यमा,

लेखक आफैंले कृतिको भूमिकामा स्वीकार गरेझैं प्राध्यापकीय समालोचनात्मक प्रवृत्ति बोकेको प्रस्तुत कृति देवकोटाका कवितामा वैचारिक प्रवृत्तिको खोजी गर्नमाभन्दा परम्पररित सैद्धान्तिक आधारमा व्यङ्ग्य कवित्वको खोजी गर्नमा केन्द्रित रहेको पाइन्छ । लेखकले यसलाई स्वीकार्नु लेखकीय इमानदारी पनि हो । तर, लेखकले यति भन्दाभन्दै पनि देवकोटाको व्यङ्ग्य कवित्वको खोजी गर्ने सन्दर्भमा वैचारिक प्रवृत्तिलाई पनि यथास्थानमा केलाउँदै जानु उनको प्रगतिवादी समालोचकीय चिन्तनको उपज हो । विषयलाई गहिराइमा पुगेर सूक्ष्म विश्लेषण गरी निष्कर्ष दिने उनको समालोचकीय प्रवृत्ति यस कृतिमा पनि देखिन्छ । देवकोटाको व्यङ्ग्य कवित्वलाई कालक्रमिक रूपमा खोजी गरिएको यो कृतिले देवकोटाका कवितामा पाइने वैचारिक विकासको अवस्थालाई बुझ््नसमेत सहयोग पुग्ने भएकाले कृतिको थप महŒव पुष्टि हुन्छ ।