नेपाली समाजमा एउटा उखान छ “घरमा पाहुना आए दालभात खान पाइन्छ” ग्रामिण समाजमा आर्थिक अवस्था कमजोर भएको परिवारका छोराछोरी वा बुहारीहरूले अभिव्यक्त गरेको भनाइ हो यो । केही दशक अघिसम्म ग्रामिण समाजमा पेटभर दालभातको समस्या थियो, तर अहिले यो समस्या केही हल भएको छ । अर्कोतिर पाहुना लाग्ने प्रचलनमा पनि कमि आएको छ । पाहुनाहरू थरिथरिका हुन्छन् । कुनै कुनै व्यक्तिहरू मिठोचोखो खान पाइने लोभमा वारिपारिका गाउँघरमा पाहुना बनेर पुग्छन् र मेजमानी डकार्छन् । ग्रामिण समाजमा “अतिथि देवो भवः” भन्ने मान्यता रहेको हुन्छ । सानो आर्थिक हैसियत भएको घरमा पनि पाहुना आएमा खोजतलास गरेर भएपनि राम्रै सत्कार गरिन्छ । सायद कुनै गरिबको घरमा पाहुना पुगे घरमा चामल नभएकोले बीउ राखेको घैया धान कुटेर पाहुनाको स्वागत भयो त्यसै दिनदेखि “पाहुना आएको लच्छिन् तर घैयाको बीउको कुलच्छिन्” भन्ने उखान बन्यो ।
हाम्रो समाजमा मागी विवाहको लामो शृङ्खला थियो । त्यस्तो कार्यमा केही पात्रहरूले लमिको काम गर्दथे । यस्ता पात्रहरू ढाँटछल र धाकधक्कुमा खप्पिस हुन्थे । यिनीहरूले वर वा कन्याका बा–आमामाथि जोरजुलुम पनि गर्दथे । यिनीहरूको यस्तो व्यवहारको कारण कयौँ अनमेल विवाह हुन्थ्यो र दाम्पत्य सम्बन्ध दुःखपूर्ण हुन्थ्यो । लमि बन्नु मीठो मसिनो खानु र आफुलाई महत्व दिने उनीहरूको ध्येय हुन्थ्यो, तर अहिले यो चलन भने हराउँदै गएको छ । केही दशक अघिसम्म लमि प्रथा कायम थियो । कसैको छोरा वा छोरीको बिहेको मगनी बनेर केही लोभी वा अर्काको भान्साको दालभातको पारखीहरू हिउँदका केही दिनरात आफन्त वा गैह्र आफन्तकोमा मेजमानी खान पुग्थे । यस्ता पात्रहरू बिहे बटुलको निहुँ नभए गोरु भैँसीको ग्राहक बनेर पनि पाहुना लाग्न पुग्थे र एकदुई छाक मीठो मसिनो खाएर मुख मिठ्याउँदै फर्कन्थे । त्यस्ता पाहुनालाई भाते पाहुना भनिन्थ्यो । भाते पाहुनाको कुरा आउँदा ढिँडे पाहुना पनि हुन्छन् भन्ने बिर्सनु हुँदैन । एक पटक हामी ढिँडे पाहुना बनेर स्वाद मानी मानी मेजमानीमा परेका छौँ ।
२०४८ सालमा संयुक्त जनमोर्चा नेपालको चुनाब प्रचारमा हामी खटाइएका थियौँ । हाम्रो क्षेत्र गोरखाको उत्तरी क्षेत्र अठार सय खोलाको सिङ्ला इलाका थियो । त्यो गाउँ पुग्नु अघिल्लो साँझ हामी माछाखोलामा बास बसेर बिहाने हिँडेका थियौँ । बाटोमा भट्टीपसल थिएनन् र गाउँमा पनि पाका मानिसहरू भेटिएनन् । भर्खर गर्मी शुरु भएकोले किसानहरू बारीमा व्यस्त थिए । दिनभर हामी भोकै भौँतारियौँ । झण्डै पाँच बजेतिर सम्पर्क घर भेटियो तर सम्पर्क व्यक्ति भने साँझ परेपछि मात्र घर आए । आँगनमा उभिएका हामी दुई पाहुना देखेर उनकी श्रीमतीले आफ्नै भाषामा खल्याङ्मल्याङ कुरा गरिन । उनका श्रीमानले खस कुरामा भने “आ ! कम्निस्ट्या त ढेँडो नि खान्छा” । त्यसपछि हामीले बुझ्यौँ त्यो घरमा चामल छैन । उनकी श्रीमतीले भदालो सफा गरिन् र करुको ढिँडो ओढालिन् । मस्याङको दाल काफलको थेवी र करुको ढिँडो हामीले भोक मीठो कि भोजन भन्दै स्वाद मानिमानी खायौँ । पाँचतारे होटलको खाना भन्दा त्यो छाकको ढिँडो कैयन् गुणा उच्च थियो । यदि त्यहाँ भाते पाहुना हुँदो हो त उसको हालत के हुँदो हो । अहिले नेपालको जनसङ्ख्या घटे जसरी अहिले त्यस्ता भाते पाहुनाको सङ्ख्या पनि घट्दै गएको छ । भाते पाहुनाको सङ्ख्या घटे पनि डाकुवा पाहुनाको सङ्ख्या भने बढोत्तरी भएको छ ।
अहिले बिहे पास्नी ब्रतबन्ध जस्ता पर्वहरूमा आयोजकहरूले आफ्नो सान औकात देखाउन भर्मार खर्छ गर्छन् । उनीहरूसँग भएको सम्पत्ती पनि पाहुना सम्पत्ती हो । सोझो औँलाले घिउ आउँदैन भनेझैँ भूमिगत बाटोबाट आर्जन गरेको सम्पत्ती त्यस्ता पर्वहरूमा खर्चिने गर्छन् र जो डाकिएका पाहुनाहरू छन् यिनीहरूले पनि उल्फाको धन फुपूको श्राद्धझैँ प्लेटका प्लेट भुटुवा र कवाफले भुँडी भरेर फर्कछन् । यस्ता पाहुनालाई चौटे पाहुना भन्दा फरक नपर्ला । साना औकात हुनेहरूले त्यस्ता पर्वहरूमा सानै आकार–प्रकारको पक्वान्न तयार गर्छन् र डाकिएका पाहुना दुईचार टुक्रा हाड मासु चुसेर झोलभात खाएर फर्कन्छन् ।
पाहुनाहरू मानव समाजमा मात्र होइन पंक्षी समाजमा पनि हुन्छन् । हामीले देखेका छौँ, मौसम परिवर्तनलाई बुझेर चिसो भूगोलका पंक्षीहरू जाडो छल्न गर्मी स्थानतिर बसाइ सर्छन् । जबजब गर्मी बढ्दै जान्छ ती पंक्षीहरू फेरि आफ्नै रैथाने इलाकातिर बसाइ सर्छन् । केही प्रजातिका चराहरू जो हिन्द महासागरीय तटमा जीवन निर्वाह गर्छन् उनीहरू अण्डा कोरल्न र बच्चा जन्माउन नेपालको भूमी रोज्छन् र आफ्नो उद्देश्य पूर्ण भएपछि आफ्नै बंश बोकेर उतैको उडान भर्छन् । पंक्षी जगतमा यो क्रम इतिहासदेखि अहिलेसम्म निरन्तर चलिरहेछ ।
वनस्पती जगतमा पनि पाहुना वनस्पती हुन्छन् । हाम्रो देशमा केही गैह्र सरकारी संस्थाहरूले आफूलाई फरक देखाउन केही पाहुना वनस्पतीको बिरुवा वितरण गरे । केही वर्षमै नगद आम्दानीको उधारो आश्वासन पाएर किसानहरूले अन्नबाली उत्पादन हुने खेतका गह्राहरूमा यस्तो वनस्पतीको खेती गरे । खास गरेर पहाडका बेसितिर रोपिएका सिसौ यसको उदाहरण हुन् तर केही वर्षपछि ती बिरुवा आफैँ सुक्दै माँसिदै गए । आखिरमा मागेको धोतीले लाज छोपिन्न भनेजस्तो भयो । रैथाने हावापानीमा पाहुनाहरू टिक्न सक्दैनन् भन्ने उदाहरण यी वनस्पतीलाई हेरेर बुझ्न सकिन्छ । वनस्पती जगतमा मात्र होइन अन्नबालीमा पनि पाहुना अन्न भित्रिएका छन् । शुरुका केही वर्ष उत्पादन राम्रो लिन सकिए पनि अन्ततः यस्ता बीउबिजन नपुङ्सक बन्न पुग्छन् । यस्ता बीउबिजनको प्रयोगले हाम्रा इतिहासदेखिको रैथाने बीउ बालीलाई विस्तापित समेत गरेका छन् । अन्त्यमा यस्ता वर्णशङ्कर बीउबिजनले “देखासिकी गरि जा आहारिसे मरि जा” बनाएर छोड्छन् ।
हामी नेपालीहरूको कला साहित्य वा संस्कार संस्कृतिभित्र पनि पाहुना प्रचलन भित्रिएका छन् । अङ्ग्रेजहरूले भारतीय सत्तामा उपनिवेश कायम गरेजस्तै पाहुना संस्कृतिले हाम्रो संस्कार संस्कृतिमा पनि औपनिवेशिकता कायम गर्न थालेका छन् । यस्ता संस्कृतिलाई बेलैमा भत्काउन सकिएन भने हाम्रो पहिचान संकटमा पर्ने निश्चित छ ।
पाहुनाहरू जाशुस पनि हुन्छन् । इतिहासमा यसको सबुद पाइन्छ । भक्तपुरका राजा रणजित मल्लसँग मितेरी साइनो लगाएर गोरखाका राजा पृथ्वी नारायणले पुरै उपत्यकाको जाशुसी गरेर षड्यन्त्र पूर्वक कान्तिपुर, पाटन र भक्तपुर आफ्नो अधिनमा राखे । पाहुना बनेर भारतको कोलकाटामा इष्ट इण्डिया कम्पनी खोलेका बेलायतीहरूले सिङ्गै भारत कब्जा गरे । हाम्रै देशमा बसाइ सर्ने क्रममा पहाडबाट डोको बोकेर मधेशका समथर भूगोलमा पुगेका पहाडी समूदायहरूले मधेशी मूलका आदिवासीको संस्कार संस्कृति र कला–साहित्य माथि आफ्नो हैकम कायम गरेको चित्र हामीले देखेसुनेकै छौँ । “वन साङ्लोले घर साङ्लो पिरेको” प्रत्यक्ष पीडामा यो आदिवासी समुदाय पिल्सिइरहेछन् ।
पाहुना सबैमा बेठिक भने हुँदैनन् । मुलुकको विकासका लागि देशविदेशबाट पाहुना आउनु पनि पर्छ । त्यसो भएमा देशको गरिमा बढ्छ, बिदेशी मुद्रा आफ्नो मुलुकमा भित्रिन्छ । अहिले हरेक जसो निकायले पर्यटनवर्ष भनेर पाहुना डाकिरहेछन् । यो राम्रो पक्ष हो । यसरी आएका पाहुनाहरूलाई हाम्रो प्रकृति, संस्कृति, कला सम्पदाको पहिचान उनीहरूको मुलुकमा प्रचार गर्ने वातावरण बनाउनु हाम्रो दायित्व हो ।
अहिले भाते पाहुनाहरूको बिगबिगी छ । पार्टी सङ्गठन निर्माण गर्न भोको पेट र नाङ्गा पैतालाले हिडेका त्यागी इमान्दार कार्यकर्तामाथि भातेहरूले औपनिवेशिकता चलाइरहेछन् । दलभित्र पाहुना भित्रिने परम्परा राजनैतिक क्षेत्रमा अत्यधिक छ ।
पञ्चायती शासन कालमा प्रतिबन्धित पार्टीका केही अवसरवादी नेताहरू पाहुना बनेर पञ्चायतमा प्रवेश गर्दथे र ठूला ठूला पद पड्काउँथे । पञ्चायत गएर बहुदल आएपछि पाहुना बनेर पार्टी प्रवेशको लामो लहर नै चल्यो । अहिलेको गणतन्त्र कालमा त यस्तो लहरको मात्रा दिन दुगुना रात चौगुना बढेको छ । खबरहरू सुन्दा र पढ्दा यस्तो लाग्छ कि मुलुकको जनसङ्ख्याको दोब्बर मानिसहरू पाहुना बनेर पार्टी प्रवेश गरेका छन् । त्यस्ता प्रवेशीहरू पद, पैसा र पावरको लोभ र लाभको आशमा आफ्नो बचेखुचेको इज्जतको तिलाञ्जली दिइरहेछन् । यसरी दल बदल्ने बदलुवाहरू भाते पाहुना जस्तै हुन् । यस्ता पात्रहरू लामो हात गर्न पनि खप्पिस हुन्छन् । यस्ता भातेहरूलाई प्रवेशको ढोका बन्द गर्न सके दलहरूको गुण कायम रहन्थ्यो तर भोटको राजनीति गर्ने संसदवादीहरूलाई यो आदत बसिसकेकोले एक कानले सुनेर अर्को कानले निष्कासन गरिदिन्छन् । भाते पाहुना भित्¥याउने दलहरू पनि भाते जस्तै छन् । कोसित मिल्दा वा कसको पाहुना बन्दा आफ्नो दुनो सोझिन्छ उनीहरूको ध्यान त्यतैतिर सोझिएको हुन्छ । भाते पाहुना भित्¥याएर दलहरूले आफुलाई गर्व नगर्नु पर्दथ्यो तर यो घिनलाग्दो संसदवादमा यो परमपरा फष्टाउँदै गएकोले यिनीहरूप्रति जनविश्वास गुम्दै गएको छ । अहिलेको आवस्यकता भनेको कर्मठ निष्ठावान कार्यकर्ताले चलाएको राजनीतिक दलको खोजी गर्नु भातेहरूबाट जोगिनु हो ।
२०८१–११–२३
रत्ननगर–३ चितवन