जनयुद्धका ३० वर्ष र भावी क्रान्तिको सवाल

जनयुद्धका ३० वर्ष र भावी क्रान्तिको सवाल

“शस्त्रबलद्वारा राज्यसत्ता कब्जा गर्नु, युद्धद्वारा समस्या हल गर्नु क्रान्तिको केन्द्रीय काम र सर्वोच्च रुप हो । क्रान्तिको यो माक्र्सवादी–लेनिनवादी सिद्धान्त सर्वत्र लागू हुन्छ, चीन र अन्य सबै देशमा लागू हुन्छ । तर सिद्धान्त एउटै हुँदाहुँदै पनि जब सर्वहारावर्गको पार्टीले त्यसलाई व्यवहारमा लागू गर्दछ, त्यतिबेला उसले अलग–अलग परिस्थितिअनुसार अभिव्यक्तिको अलग अलग तरिका अपनाउँछ ।”– क.माओ (युद्ध र रणनीतिका समस्याहरु)

चिनियाँ नयाँ जनवादी क्रान्तिका नायक कमरेड माओको उपरोक्त भनाइले स्पष्ट गर्दछ कि नेपालमा तत्कालीन नेकपा (माओवादी)को नेतृत्वमा सञ्चालित जनयुद्धको नेपाली मौलिक विशेषता थियो । विरोधीहरुले आरोप लगाउने गरेजस्तो यो चिनियाँ क्रान्तिको नक्कल थिएन, नेपाली अर्थ–सामाजिक तथा राजनीतिक ठोस परिस्थितिको ठोस विश्लेषणकै आधारमा जनयुद्धका रणनीति र कार्यनीतिको विकास गरिएको थियो ।

“पार्टीलाई क्रान्तिकारी संघर्षको नेतृत्व गर्न लायक तुल्याउने उद्देश्यले सैन्य विज्ञान, भूमिगत कार्यप्रणाली, माक्र्सवाद–लेनिनवाद–माओवाद, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका अनुभव, पार्टीका सैद्धान्तिक एवम् सामरिक कार्यदिशा आदिका बारेमा सबै क्षेत्रमा विशेष प्रशिक्षणको व्यवस्था गर्ने । मिलिट्यान्ट गतिविधिको प्रत्यक्ष नेतृत्व प्रदान गर्न सरल र व्यवहारिक हुनेगरी माथिदेखि तलसम्मका पार्टी कमिटिहरुको संगठनात्मक संयन्त्र खडा गर्ने र संघर्षको बारेमा तत्कालका लागि क्रान्तिकारी राजनीतिको प्रचार गर्दै स्थानीय रुपमा नै विविध ढंगका संघर्षहरु संगठित गर्न पहल गरिनु पर्दछ । संघर्षलाई नयाँ योजना लागू गर्ने वातावरण बनाउन प्रयोग गरिनु पर्दछ । केन्द्रिकृत नीति र विकेन्द्रिकृत कार्यान्वयको पद्धतिलाई दह«ोसँग समात्नु पर्दछ । प्रत्येक कार्यक्रमका लागि केन्द्रको मुख ताक्ने पद्धतिलाई दुरुत्साहित गरिनु पर्दछ ।”वर्तमान परिस्थिति र हाम्रो कार्यभार (२०५१ फागुन २–४ मा सम्पन्न केसको तेस्रो विस्तारित बैठकमा महामन्त्री प्रचण्डद्वारा प्रस्तुत एवम् पारित प्रतिवेदन), नेपाली कम्युनिस्ट आन्दोलन र जनक्रान्तिका ऐतिहासिक दस्तावेजहरु, पृष्ठ ३२९)

यसबाट प्रस्ट हुन्छ कि तत्कालीन नेकपा (माओवादी)ले लामो पूर्व तयारी गरेर मात्रै जनयुद्ध सुरु गरेको थियो ।

“मालेमाको सैद्धान्तिक निर्देशन र नेपाली समाजका सामन्य विशेषताका आधारमा हाम्रो पार्टीले सर्वहारावर्गको नेतृत्व, मजदुर–किसान एकताको आधारमा सामन्तवाद र साम्राज्यवादका विरुद्ध परिलक्षित जनवादी अधिनायकत्वसहितको नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने राजनैतिक रणनीति निर्धारण गरेको छ । विश्वसर्वहारा समाजवादी क्रान्तिको अभिन्न अंगका रुपमा सम्पन्न हुने नयाँ जनवादी क्रान्तिको सफलतासँगै समाजवादी क्रान्तिको दिशामा अघि बढ्नु तथा सर्वहारावर्गको अधिनायकत्वअन्तर्गत क्रान्ति जारी राख्ने सिद्धान्तका आधारमा साँस्कृतिक क्रान्ति चलाउँदै साम्यवाद हासिल गर्नु पार्टीको भावी उद्देश्य हो ।” उही पृष्ठ ३३५

सर्वहारावर्गको नेतृत्व र मजदुर–किसानको संयुक्त अधिनायकत्वसहितको नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने जनयुद्धको राजनैतिक रणनीति थियो । तर यो राजनीतिक रणनीतिक लक्ष्य हासिल नहुँदै २०५२ साल फागुन १ गते घोषणा गरिएको जनयुद्ध २०६३ मंसिर ५ गतेको विस्तृत शान्ति सम्झौतासँगै अन्त्य गरियो ।

जनयुद्ध घोषणाको तयारीको क्रममा उल्लेखित जनयुद्धको दस्तावेजमा भनिएको थियो– “एकपटक विद्रोहको झण्डा उठाई सकेपछि अन्तसम्म नझुकाउने दृढताबिना त्यसो गर्नु जनताप्रति अपराध गर्नु तथा त्यो मालेमाका सिद्धान्त विपरीत हुने कुरालाई ध्यान दिनुपर्दछ ।”

अझ जनयुद्धको ऐतिहासिक पहलका क्रममा तत्कालीन नेकपा (माओवादी)को केन्द्रीय समितिले ७ बुँदे सैद्धान्तिक प्रतिबद्धता समेत गरेको थियो । ती ७ बुँदामा भनिएको थियो–

“(क) हाम्रो योजना क्रान्तिकारी हिंसा सम्बन्धि माक्र्सवाद–लेनिनवाद–माओवादका शिक्षामा आधारित हुनेछ। हाम्रो देशको विशिष्टता अनुसार गाउँबाट शहर घेर्ने रणनीतिमा आधारित दीर्घकालिन जनयुद्धका रुपमा अघि बढ्ने यस प्रक्रियाको पहलकदमीको योजना निर्माणका सन्दर्भमा पार्टी एकपटक पुनः माओद्वारा विकास गरिएको सर्वहारा वर्गको सार्वभौम र अपराजय माक्र्सवादी सैन्य सिद्धान्तका रुपमा जनयुद्धको सिद्धान्तप्रति अविचल रहने प्रतिज्ञा गर्दछ।

(ख) जनयुद्धको थालनीको हाम्रो यो योजना ‘राज्यसत्ता बाहेक अरु सबै भ्रम हो’ भन्ने मान्यतामा आधारित हुनेछ। जनताका निमित्त राजनैतिक सत्ता कब्जा गर्नु नै सशस्त्र संघर्षको प्रमुख उद्देश्य हो भन्ने कुरामा दृढ रही यस प्रश्नमा देखा पर्ने अर्थवाद, सुधारवाद, अराजकतावाद, लगायतका सबै प्रकारका विचलनवादी चिन्तन र प्रवृत्तिका विरुद्ध निरन्तर संघर्ष गर्न पार्टी आफ्नो प्रतिवद्धता जाहेर गर्दछ।

(ग) हाम्रो योजना सामन्तवाद र साम्राज्यवादलाई ध्वस्त गरी नयाँ जनवादी क्रान्ति पूरा गर्ने त्यसको लगत्तै समाजवादी क्रान्तिमा अघि बढ्ने तथा सर्वहाराको अधिनायकत्व अन्तरगत क्रान्ति जारी राख्ने सिद्धान्तका आधारमा साँस्कृतिक क्रान्तिहरु चलाउँदै मानव जाती कै स्वर्णिम भविष्य साम्यवादको स्थापनासम्म जाने उद्देश्यमा आधारित हुनेछ। एक पटक हतियार उठाएपछि त्यसलाई अन्तसम्म लैजाने दृढता विना सशस्त्र संघर्षको थालनी गर्नु सर्वहारा वर्ग एवं आम जनता प्रति अपराध हुने कुरामा हामी दृढ छौं। यो संघर्ष जनताको स्थितिमा आंशिक सुधार गर्ने, प्रतिक्रियावादीलाई दवाव दिई सामान्य सम्झौतामा टुंग्याउने साधन बन्न कदापि दिइने छैन। यसरी हाम्रो सशस्त्र संघर्ष सबै प्रकारका निम्न पूँजीवादी, संकिर्ण, राष्ट्रवादी, धार्मिक, साम्प्रदायिक एवं जातीवादी विभ्रमहरुबाट सम्पूर्ण रुपले मुक्त रहनेछ ।
(घ) हाम्रो यो योजना सर्वहारा अन्तराष्ट्रवादको महान् भावनामा आधारित रहनेछ। नेपाली क्रान्ति, सर्वहारा विश्व क्रान्तिको अभिन्न अंग हो र यसले विश्व क्रान्तिको सेवा गर्ने छ। हाम्रो पार्टी यस सन्दर्भमा माक्र्सवाद–लेनिनवाद–माओवादको निर्देशनमा विश्वक्रान्ति अघि बढाउन तथा नयाँ अन्तराष्ट्रिय निर्माणको दिशामा अद्धि बढिरहेको ‘क्रान्तिकारी अन्तराष्ट्रियवादी आन्दोलन’ (रिम) (जसको हाम्रो पार्टी पनि सदस्य छ।) को विकासमा अझ बढी सहयोग र्पुयाउने कुरालाई गम्भीरतापूर्वक लिन्छ ।

(ङ) हाम्रो योजना नयाँ जनवादी क्रान्तिकालमा सर्वहारा वर्गको पार्टीको नेतृत्वमा क्रान्तिकारी संयुक्त मोर्चा र क्रान्तिकारी सेना निमार्णको सैद्धान्तिक मान्यतामा आधारीत रहने छ। अन्तरविरोधको नियमको सार्वभौमिकताअनुसार पार्टी भित्री संघर्षलाई द्धन्दात्मक ढंगले ग्रहण र त्यसलाई संचालन गर्नु पार्टीलाई त्यसरी सजिव राखी हर क्षेत्रमा त्यसको नेतृत्व स्थापित गर्नु पूरा हृदयले जनताको सेवा गर्ने जनतासँग घनिष्ट सम्बन्ध कायम राख्ने जनदिशाको सिद्धान्त अविचल रहने कुरामा पार्टी कटिबद्ध छ।

(च) हाम्रो यो योजना सर्वहारा वर्गको पार्टीको स्वतन्त्र आत्मनिर्णयको अधिकारको मान्यता अनुसार बन्नेछ। पार्टीको नेतृत्वमा सामन्तवा र साम्राज्यवाद विरोधी सबै तह र तप्काका जनसमुदायलाई गोलबन्द गर्दै सशस्त्र संघर्ष सञ्चालन गरिनेछ। कृषि क्रान्तिलाई मेरुदण्ड मानी हाम्रो सशस्त्र संघर्ष श्रमजीवि जनससमुदाय मूख्यतः गरीव किसाहरुमाथि भर परेर चल्नेछ। कहिल्यै र कुनै पनि हालतमा पार्टी देशी एवं प्रतिक्रियावादी गुटहरुको दवाव, धम्की र प्रलोभनमा पर्ने छैन।

(छ) युद्धमा आफ्नै नियम अनुसार त्यो सरल रेखामा होइन जटिल बक्ररेखामा अघि बढ्ने छ। लनिनको “क्रान्ति आफैले आफ्नो विकास क्रममा सधै नै असाधारण जटिल परिस्थिति सिर्जना गर्दछ” भन्ने कुराको महत्वलाई आत्मसात गरेर जानु जरुरी छ। जीत र हार, उपलब्धि र क्षतिका चक्रहरु पार गरेर नै जनयुद्ध विजयी बन्नेछ। खराव कुरालाई असल कुरामा रुपान्तरण गर्ने अन्तरविरोधको नियमलाई ठीक ढंगले पकडेर नै हामीले जनयुद्धको नेतृत्व गर्न सक्नेछौं ।”

तर यी सैद्धान्तिक प्रतिबद्धताहरुमा तत्कालीन नेकपा (माओवादी)को नेतृत्व अडिन सकेन । जनयुद्धको राजनीतिक लक्ष्य पूरा नहुँदै नेकपा (माओवादी)का तत्कालीन नेतृत्व प्रचण्ड–बाबुरामले १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेर जनताप्रति अपराध गरे । मालेमाप्रति गद्दारी गरे । जनयुद्धमाथि धोका दिए । बलिदानको घोर अपमान गरे । घाइते, बेपत्ता योद्धा र आम क्रान्तिकारी पार्टीपंक्तिप्रति विश्वासघात गरे । वर्गीय र राष्ट्रिय रुपमा आत्मसमर्पण गरे ।

आज जनयुद्धको ३० औं स्मृति दिवस हो । जनयुद्ध लडेर आएका माओवादी जनयोद्धाहरु आज तितरबितर हुन पुगेका छन् । आफ्नै सैद्धान्तिक प्रतिबद्धता र घोषित राजनीतिक लक्ष्यका विपरीत जनगणतन्त्रको मूल एजेण्डा छाडेर लोकतान्त्रिक गणतन्त्र (दलाल संसदीय बुर्जुवा गणतन्त्र)को बाटो हिडेपछि प्रचण्ड–बाबुरामसँग सम्बन्ध विच्छेद गर्दै २०६९ असार ४ गते पार्टीका बरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरणको नेतृत्वमा पार्टी विभाजित हुन पुग्यो ।

मोहन वैद्य किरण नेतृत्वको पार्टीबाट नेत्रविक्रम चन्द विप्लवको समूह २०७१ मंसिर ८ गते अलग्गियो भने बादलको नेतृत्वका अर्को एक समूह पनि प्रचण्डमै मिसिन पुग्यो । यता मोहन वैद्य किरणले भने परि थापा नेतृत्वको नेकपा (एकीकृत)सँग २०७२ मा एकता गरे । र, नेकपा–माओवादीको नाम नेकपा (क्रान्तिकारी माओवादी) बन्यो । यही पार्टीले पछिल्लो पटक नेकपा (बहुमत) र नेकपा (मशाल)सँग एकता ग¥यो र पार्टीको नाम क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल राख्यो । यो पार्टीले मंसिर १३ देखि २३ सम्म महाधिवेशन सम्पन्न ग¥यो । र, पार्टीले राजनैतिक रणनीति ‘नयाँ जनवादी क्रान्तिको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवादमा जाने’ पास गरेको छ । यो पार्टीले यही राजनीतिक रणनीति (कार्यदिशा) कार्यान्वयन गर्न माघ २६ देखि ३० सम्म केन्द्रीय समितिको बैठकको आयोजना गरेको थियो । बैठकको समापनसँगै यो पार्टीले आज जनयुद्धको ३० औं जनयुद्ध दिवस मनाउँदैछ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आफूलाई झापा विद्रोह र जनयुद्धको सच्चा उत्तराधिकारी भएको दावी गर्दै आएको छ । र, जनसंघर्ष, प्रतिरोध संघर्ष र सशस्त्र संघर्षको फौजी कार्यदिशामार्फत् नयाँ जनवादी क्रान्तिको खुड्किलो पार (जनगणतन्त्रको स्थापना) गर्दै वैज्ञानिक समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्ने घोषित लक्ष्य किटान गरेको छ ।

आजको नेपाली समाजलाई अर्धसामन्ती तथा नवऔपनिवेशिक अवस्थामा रहेको निष्कर्ष निकाल्दै वर्तमान दलाल संसदीय व्यवस्था र जनताबिचको अन्तरविरोधलाई प्रधान अन्तरविरोध किटान गरेको छ ।  वर्तमान सत्ता, व्यवस्था र संविधानको समूल अन्त्य गर्ने स्तरको संघर्ष उठानको योजना निर्माण गरेको छ ।

विगत कालखण्डमा भएका सशस्त्र संघर्ष र विद्रोहहरु– २००७ सालमा नेपाली कांग्रेसको मुक्ति सेनाद्वारा गरिएको सशस्त्र विद्रोह र स्थानीय सत्ता कब्जा संघर्ष, २००८ सालमा दिल्ली सम्झौताको विरुद्धमा भएको डा. केआई सिंहको सशस्त्र विद्रोह र त्यो विद्रोह दबाउन भारतीय फौज झिकाई गरिएको दमन, २००९ सालमा रक्षा दलको सशस्त्र विद्रोह– र त्यो विद्रोहले गरेको जेल, सानोठिमी, गठ्ठाघर, स्वयम्भू बारुदखाना, हनुमान ढोकाको मुलुकीखाना, नेपाल बैंक र सिंहदरबार कब्जाको संघर्ष, २०१० सालमा भीमदत्त पन्तको किसान विद्रोह, २०१८–२० सालमा नेपाली कांग्रेसद्वारा भारतीय सिमाना क्षेत्रबाट चलाइएको ‘हिट एण्ड रन’ संघर्ष, २०१८ सालमा जनकपुरमा दुर्गानन्द झा (नेपाली कांग्रेसद्वारा) राजा महेन्द्रमाथि गरिएको असफल बम प्रहार, २०२८ सालको सशस्त्र झापा विद्रोह, २०३० सालमा नेकाद्वारा सशस्त्र बलद्वारा गरिएको विमान अपहरण र भा.रु. ३० लाख जफत, २०३१ सालमा राजा वीरेन्द्रमाथि विराटनगरमा भएको बम प्रहार, २०३१ सालमै नेपाली कांग्रेसद्वारा स्थानीय सत्ता कब्जा गर्ने उद्देश्यले सोलू–ओखलढुंगामा गरिएको सशस्त्र आक्रमण, २०४२ सालमा रामराजाप्रसाद सिंहको जनवादी मोर्चाले काठमाडौंमा गराएको बम विष्फोटन, २०४६ सालमा कीर्तिपुर र पाटनका जनताद्वारा जनआन्दोलनको सिलसिलामा गरेको सशस्त्र विद्रोह र दशवर्ष लामो सशस्त्र जनयुद्धका विराट अनुभवबाट मात्र होइन अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन, विकसित राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति, विकसित सूचना प्रविधि लगायत नेपाली सर्वहारा क्रान्तिका अगाडि खडा सारा चुनौतीको सूक्ष्म अध्ययन अनुसन्धान गरेर त्यसबाट शिक्षा लिएर नै अबको क्रान्तिको प्रक्रिया अगाडि बढ्ने छ ।

उल्लेखित सशस्त्र संघर्ष र विद्रोहमा नेपाली जनताका सर्वोत्तम छोराछोरीहरुले गरेको महान बलिदानलाई स्थापित गर्दै अगाडि बढ्न जरुरी छ । महान सहिदहरु क्रान्तिका उर्जा र उत्प्रेरणा हुन् ।

वर्तमान दलाल संसदीय व्यवस्था चौतर्फी रुपमा असफल बनिसकेको छ । भ्रष्ट र नालायक व्यवस्थाको रुपमा अन्तर्राष्ट्रिय स्तरमा नै बद्नाम बनिसकेको छ । जनतामा असन्तुष्टी र आक्रोश चुलिदै गएको छ । जनअसन्तुष्टीको व्यवस्थापन गर्न र यही व्यवस्थालाई टिकाउन देशी र विदेशी प्रतिक्रियावादी शक्तिहरुले नयाँ नयाँ विकल्पहरु अगाडि सारेर व्यवस्थाका विरुद्ध जनतालाई संगठित हुन दिइरहेका छैनन् । जनतालाई अल्मल्याइरहेका छन् । र, जनअसन्तुष्टीमा क्रान्तिकारी शक्तिहरुले पहल लिन नसकून भनेर उनीहरुले विभिन्न तहका ‘ड्यामेज कन्ट्रोल’ रणनीतिहरु बनाएका छन् । साम्राज्यवादी शक्तिहरु र उनीहरुका नयाँ पुराना दलालहरुका हरेक चालबाजीहरुको सुक्ष्म अध्ययन गरी सच्चा देशभक्त र क्रान्तिकारी शक्तिहरुले नेपाली श्रमजीवी शोषित उत्पीडित वर्ग र समुदायको मुक्तिका निम्ति आम जनसमुदायको विश्वास आर्जन गर्दै र क्रान्तिकारी पंक्तिलाई उत्साहित तुल्याउँदै क्रान्तिको तयारीलाई तीव्र तुल्याउन जरुरी छ । एआई प्रविधिको विकासले फिजिकल मात्रै होइन, डिजिटल सम्प्रभूता र स्वाधीनतामाथि थप चुनौती खडा गरेको छ । चुनौती मात्र होइन, एआई प्रविधिले क्रान्तिलाई पनि अझ सन्निकट तुल्याइदिएको छ । जसले सूचनामा पहिलो पहुँच स्थापित गर्न सक्छ, क्रान्तिको पहलकदमी उसैले लिन सक्छ । मालेमावादी वैचारिक पथप्रदर्शनमा सूचना प्रविधिको ज्ञानले समृद्ध जुझारु (मिलिट्यान्ट) नेता कार्यकर्ताहरुको गतिशील संगठन सञ्जाल नै भावी क्रान्तिका अनिवार्य शर्त हुन् । क्रान्तिमा सचेत प्रयत्नको भूमिका अपरिहार्य हुन्छ । क्रान्तिकारी उभार पैदा भएपछि लाखौ करोडौ जनता स्वतःस्फूर्त सडकमा उत्रन्छन् । यही शिक्षा ३० वर्षको महान जनयुद्धले दिएको छ । महान जनयुद्ध जिन्दावाद ! वीर सहिदहरु लालसलाम !