शनिबारीय साहित्य ः कविता
*** ***
हामीले त भनेकै हौँ
खरको छाना च्यातेर
जस्ता टल्काएको मात्रै हो
उस्तै छ जग उस्तै छ भित्तो
भित्रका भण्डार सधैको रित्तो
भान्सा वरिपरि ¥याल काढेका
ढाडे बिरालाहरू लुछालुछ गर्छन्
चोर ढोकाबाट पसेका ब्वाँसाहरू
दाउ मारेर छिर्के हान्छन् र घोषणा ठोक्छन्
तँ न्यायाधिश म मठाधिश
बंशका लागि अंशको मान्यतालाई
सिरानी हालेर नयाँ श्री तीनहरू
पोलिरहेछन् आफैँले ओढेको बर्को
भन त मालिक तिमीले ओढेको बर्को कस्ले बुनेको हो ?
आगोको राप सेलायो ठानेर
एक आँखाले तिमीले अँगार मात्र देख्यौ र घोषणा ठोक्यौ
गहिराइमा छ भुत्भुते र साथमा छ जब्बर फिलिङ्गो
तिमी अगेनुमा पानी हाल्ने चेष्टा गर्छौ भने
हामी पेट्रोल बोकेर सेन्ट्री रुङछौं
तराजु समातेर इतिहासमाथि धावा बोल्छौ भने
कमला बिमला र बासुहरू चिहानबाट बौरिन्छन्
जङ्गेको बासी कानुन चपाएर
जसले ग¥यो अमिलो बान्ता
फेरि चर्कनेछन् सहरका भित्ता
के सेतो घरको हुण्डी खाएर
डाकिरहेका हौ तल्लोघरेका सन्तती
अँगालीरहेका हौ खोलापारिका दुर्जन
आँगन लत्किएर जाओस्
धुरीमाथि पहिरो आओस्
बिरालाहरूको अङ्कमाललाई ताली पिटेर
लोली बोली पुरानै दुरुस्तै विरासत
के चिनेका छौ
पिपल गाउँका खत्रीहरूका नाति नातिनीहरू
बुझेका त छौ जोगिमाराका मैते चेपाङ्का दौँतरी
निगाला काटेर गुलेलीले
ढाडे बिरालाहरूको ढाड्मा
सुम्ठ्याउन अबेर भै सकेको छ
कसरी ओइरिएको हो अखबारमा
सिंहदरबारको पालिबाट
शित्तल दरबारको अट्टालिबाट
बानेश्वरको दुवालिबाट
प्रदुषित घिनलाग्दा खबर ?
खबरदार !
खबरको उत्पादन कारखानाको बासी जिम्मालहरू
ढाडेहरूका बिरुद्ध शब्दको जुलुश मात्र होइन
गलिल पनि नजिकै छ ।