शनिबारीय साहित्य ः कविता
*** ***
ओ शासकहरु !
पानीले काट्छ भन्ने
थाहा हुँदाहुँदै तिमीले पानीसँग
जिस्किरहनु हुन्न
तिमी शासकहरु
खालि पानीसँग जिस्किरहन्छौ
पानीको धार
तिमीलाई छेक्ने पर्खालहरुभन्दा
बलियो हुन्छ
पानी सडकमा बग्न थालेपछि
त्यसका धारहरुले
सिंहदबारका जगहरुलाई पनि काट्छ
र लडाउँछ
तिमी शासकहरु
राजदरबारका भग्न अवशेषहरुमाथि बसेर
पानीसँग जिस्किरहन्छौ
पानीलाई बग्न
तिम्रो कानुनको स्विकृति चाहिन्न
कुनबेला, कुन ठाउँ
पानीले धार हालेर बग्छ
थाहा हुन्न
ओ शासकहरु
पानीले काट्छ भन्ने
थाहा हुँदाहुँदै तिमीले पानीसँग
जिस्कनु हुन्न
टुकुचामाथि सिंहदरबार बस्छ
कतिखेर धार हालेर टुकुचा बग्छ
र तिम्रो सिंहासन
लडाउँछ
पानीले धार हालेको देखिन्न ।
०००
दासहरुको कुनै विचार हुन्न
मान्छेभित्र
एउटा नैसर्गिक सत्ता हुन्छ
जसले मान्छेलाई
स्वतन्त्र भएर बाँच्न
सिकाउँछ
जब मान्छेले
नैसर्गिक सत्ता गुमाउँछ
मान्छे दास भएर
बाँच्न रुचाउँछ
दासहरु सधैं
अरुको विचारमा
रमाउँछन्
उसका सबै
प्राकृतिक सम्बन्धहरु मर्छ
र जड बन्छ
दासहरुको
कुनै विचार हुन्न ।
०००