एकता महाधिवेशनको सहमतीय प्रस्ताव बारे भ्रम र वास्तविकता
एकता महाधिवेशनको सहमतीय प्रस्ताव बारे भ्रम र वास्तविकता
२०८१ पुस ३ बुधवार १४:३०
2.2K
shares
कुनै पनि पार्टीको नीति निर्माणका लागि महाधिवेशनको महत्वपूर्ण भूमिका रहेको हुन्छ । महाधिवेशनले राजनीतिक, सामरिक, कार्यनीतिक कार्यदिशा विधान, अन्तर्राष्ट्रिय परिस्थिति लगायत पार्टीका भावी नीति तथा कार्यक्रमका बारे निर्णय लिने गर्दछ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको एकता महाधिवेशन २०८१ मसिर १३ गते देखि २३ गते सम्म काठमाण्डौको कीर्तिपुर टियु सभाहलमा भएको थियो । महाधिवेशनमा देश र प्रवासमा रहेका पार्टी कमिटी संगठनका करिव ५ सय ५० जना प्रतिनिधि, परिवेक्षकहरुको सहभागी रहेको थियो । भारत, जर्मन, इटली, टर्की, बंगलादेशका भाइचारा पार्टीका प्रतिनिधिहरु महाधिवेशनमा अतिथि एवं दर्शकका रुपमा सहभागी रहेका थिए । वीसवटा समुहमा करिव ५६ वटा प्रस्तावमाथि समूहगत छलफल र बन्दशत्रमा बहस पछि पार्टीमा मतभेद रहेका माओविचारधारा वा माओवाद, राज्यको पुनःसँरचना, एकात्मक वा संघात्मक, माओवादी जनयुद्धको समीक्षा, नेतृत्व बहुपदीय वा एकपदीय, केन्द्रीय परिषद् राख्ने वा नराख्ने कार्यनीतिक रुपमा स्वाधीन सरकारको नारा दिएर जाने वा नजाने भन्ने विषयमा फरक फरक धारणा रहेका थिए । पार्टीमा अन्य विषयमा एकमत नै रहेको थियो ।
नेकपा (मशाल), नेकपा (वहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) बीचको विभिन्न समयमा भएको पार्टी एकताबाट क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको निर्माण भएको थियो । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र नेकपा (मशाल) बीचको एकता अधिवेशन २०८० जेठ १८ गते काठमाण्डौको पुरानो बानेश्वरमा भएको थियो । महाधिवेशनको तयारीका लागि जिल्लास्तरमा एकता अधिवेशन र फोरमहरु सञ्चालित भए । अहिले सम्पन्न भएको एकता महाधिवेशनले पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद लेनिनवाद माओवाद, राज्यपुनःसँरचनामा संघीयताको नीति लिएको छ । माओवाद वा माओविचारधारा, संघीयता बारे खुल्ला छलफल बहस विचार विमर्श गर्न सकिने प्रस्ताव महाधिवेनले सर्वसम्मत रुपमा पारित गरेको छ ।
एकता महाधिवेशनमा पार्टी फुट्छ सतप्रतिशत विभाजन हुन्छ भनी ठोकुवा गर्ने व्यक्ति, समुह पार्टीका चाहना इच्छालाई महाधिवेशनले चिरेर चकनाचुर पा¥यो । पार्टी वैचारिक र साँगठनिक रुपमा एक ढिक्का भएर महाधिवेशन सानदार रुपमा सम्पन्न गरेको छ । पार्टी विभाजन विखण्डित नभए पछि केही व्यक्ति समूह पार्टीहरुले हाम्रो पार्टीका विरुद्ध भ्रमको खेती सिर्जना गरेका छन् । सामाजिक सञ्जाल र मिडियामा चिच्याहट मच्चाउँदै कोही भन्छन्– पार्टीमा मशालीकरण भयो ? चुनावमुखी भयो ? चुनावी पार्टीको गन्ध आयो ? क्रान्ति गर्दैन ? केही भन्छन– पार्टीले माओवाद र जातीय संघीयतालाई मान्यो ? माओवादीमा विलय भयो ? भन्दै स्यालहुया मच्चाउँदै आएको छन् । यिनीहरुलाई पार्टी विखण्डन भएन एक ढिक्का भएर क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउन सक्षम भएपछि आफ्नो अस्तित्व समाप्त हुने भय एवं चिन्ता गहिरोरुपमा व्यक्त गरेका छन् । माओवादी जनयुद्धका भगौडाहरु, सिआइडिका आरोप खेप्दै आएकाहरु, प्रतिक्रियावादी राज्य व्यवस्थाको जुठोपिरोले पालित पोषित भएकाहरु, अराजकतावादीहरु तथा यही संघीय गणतन्त्रको रक्षा र संस्थागत विकास गर्ने यथास्थितिवादीहरु संकटमा परेका तथा अस्तित्व रक्षाको संकट परेकोले रोइलो मच्चिएको छ । पार्टी विभाजित नभएको कारण विभिन्न कित्ता र कोणमा रोइलो मच्चिनु स्वाभाविक छ । उनले आफ्नो वर्गीय धर्म निर्वाह गरेका छन् ।
माओका योगदान सार्वभौम रहेको कुरामा पार्टीमा एकमत रहेको छ । माओका योगदानलाई नेपालको सापेक्षतामा बुझ्ने आत्मासाथ गरी लागु गर्नेमा आ–आफ्ना बुझाइ रहेकोले व्यवहारमा जाँदा एकरुपताको बुझाइ हुनसक्ने भन्ने मान्यताले बहस खुला राखिएको हो । विश्वमा माओवाद मान्य मुलतः तीनवटा प्रवृति रहेको छन् । माक्र्सवाद लेनिनवाद माओवाद मुख्यतः माओवाद, माक्र्सवाद लेनिनवाद माओवाद, अर्को माक्र्सवाद लेनिनवाद माओवाद, माओका योगदानलाई सार्वभौम नमान्ने, आत्मासाथ गरेर लागु पनि नगर्ने तर ट्रेडमार्कका रुपमा माओवाद लेख्ने । जस्तै प्रचण्डले नेतृत्व गरेको पार्टीले एमालेसँग पार्टी एकता गर्दाको समयमा माओवादलाई त्यागेर माक्र्सवाद लेनिनवाद मात्र राखेका थिए । अहिले पुनः माओवाद पनि झुन्डाएर राखेका छन् । माओविचारधारा मान्नेहरुका पनि फरक फरक प्रवृति रहेका छन् । माओका योगदान सार्वभौम हुन यसलाई अभिव्यक्त माओविचारधाराले गर्छ, माओका योगदान सार्वभौम छैन्न चिनियाँ विशिष्टतामा मात्र लागु हुन्छ भन्ने मोहनविक्रम सिंहले नेतृत्व गरेको मसालले माओविचारधारा मान्छ तर माओका योगदान सार्वभौम मान्दैन । अहिले पार्टीमा माओवाद अफिसियल लाइन हो । पार्टीको लाइन सबै पार्टी सदस्यले मानेर जानु पर्छ । विचारको छलफलमा स्वतत्रता काम कार्वाहीमा एकरुपता नै अहिलेको आवश्यकता हो । यदि काम कारवाहीमा एकरुपता गर्न नसकेमा कुनै पनि कम्युनिष्ट पार्टी त के वुर्जुवा पार्टी समेत चल्न सक्दैन्न । विशिष्ट समयमा एकता महाधिवेशन सम्पन्न भएको हुँदा महाधिवेशनमा कुनै पनि प्रस्तावमा अल्पमत बहुमत गरिएन । असहमतिका बीच सहमति गरेर सहमतीय प्रस्ताव पारित गरिएका छन् । तर जनवादी केन्द्रियताको सिद्धान्त अनुसार अल्पमत बहुमतको मातहतमा सम्पूर्ण कमिटी केन्द्रीय कमिटीको मातहतमा केन्द्रीय कमिटी महाधिवेशनको मातहतमा हो । त्यसकारण सबै पार्टी सदस्यहरुले महाधिवेशनको निर्णयहरु चित्तबुझे पनि नबुझे पनि मानेर जानुपर्छ । तर आफ्ना मत (विचार)) पार्टीले तय गरेको विधि, पद्धति अनुसार लिएर जान सकिने नीति महाधिवेशनले खुलै राखेको छ ।
अहिलेको संघीयताको खारेज गर्ने विषयमा पार्टीमा एकमत छ । तर नयाँ जनवादी व्यवस्थामा राज्यको पुनः संरचना केका आधारमा कसरी गर्ने भन्ने विषयमा फरक––फरक मत भए पनि पार्टी लाइन पहिचान र सामथ्र्यता सहितको संघीयता संरचनाका आधारमा राज्यको पुनःसंरचना गर्ने भन्ने हो । जुन व्यक्ति समुहले अहिलेकै संघीय सरकार र संविधान अनुसारको सपथ अर्थात ल्याप्चे सहि छाप गरि म विद्यमान संविधान र कानुन मान्छु भनी सांसद तथा उपप्रधानमन्त्रीको पद धारण गरी बसेका थिए । उनीहरुले हामीलाई संघीयता स्वीकार गरे समाप्त भए भन्ने हल्ला र भ्रम सिर्जना गर्नु कति नैतिक हो ? जसले अहिलेको संविधान कानुन मानेर सांसद र उपप्रधानमन्त्री हुँदा सपथपत्रमा ल्याप्चे गर्नेहरुले संघीयताको खारेजको माग गरेको भन्नु नौटङ्की तथा भ्रम मात्र हो । पद पाए संघीय व्यवस्थाको सांसद उपप्रधानमन्त्री पनि हुने पद गए । संघीयताको विरोध गर्ने दोहोरो मापदण्ड वा चेपारे प्रवृतिले कति दिन भ्रम छर्न सकिएला ? एकता महाधिवेशनले संघीयताको विषय कुनै पार्टी विशेषको विषय नभएकोले यसलाई खुल्ला छलफल गरेर लिन सकिने नीति पारित गरेको छ ।
पार्टी विपरीतहरुको एकत्व हो वा वस्तु विपरीत तत्व मिलेर बनेको हुन्छ । अँध्यारो विना उज्यालो, उकालो विना ओरालो,दायाँ विना वायाँ आकाश विना पताल, जन्म विना मृत्यु, महिला विना पुरुष हँुदैन वा विपरीत चीज पनि सँगसँगै हुन्छ भन्ने दार्शनिक मान्यताको ज्ञान नभएको व्यक्ति समुहले एकमनावादी एकताको हुँइया चलाएका छन् । कुनै पनि जीवन्त वस्तुमा एकमनावादी एकता हुँदैन केवल मृत प्रायः वस्तुमा मात्र त्यस्तो देखिने गरेको छ । नेपालको कम्युनिष्ट आन्दोलनको मूल प्रवृति झिना मसिना र साना कुराको पनि व्यवस्थापन गर्न नसकी टुट फुट विभाजन खण्डिकरणमा रमाउने गरेको देखिन्छ । कुनै क्रान्ति नगर्नेका लागि त बलियो शक्तिशाली कम्युनिष्ट पार्टी निर्माण गर्नु आवश्यक भएन तर क्रान्तिको कार्यभार पुरा गर्नका लागि विशाल क्रान्तिकारी पार्टी निर्माण गर्नु पहिलो दायित्व हो । यही महान कार्यभारलाई पूरा गर्नेका लागि नेपालको इतिहासमा पहिलो पटक पार्टी भित्रका केही मतभेदहरुलाई सार्वजनिकरुपमा पनि छलफल चलाउन सकिने नीति महाधिवेशनले पारित गरेको छ । यो नेपालको कम्युनिष्ट आन्दोलनमा नयाँ अभ्यास हो । यसले पार्टीको वैचारिकस्तरलाई उच्चाइमा पु¥याउन तथा विशाल क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण गर्नमा टेवा पुर्याउने छ । जीवन नै टुटफुट विभाजन खण्डिकरणमा बिताएका टुटफुट विभाजन खण्डिकरण नगरेमा असहज महशुश गर्ने जसरी पनि जहिले पनि टुक्रा टुक्रा भइ समाप्त हुनेहरुका लागि यो एकता महाधिवेशन असहज तथा अस्वाभाविक सारसँग्रवादी लाग्न सक्छ तर त्यो तथ्य र वास्तविकता सँग मेल खाँदैन । उनीहरुको चिन्ता वेचैनी छटपटाहरुको अभिव्यक्ति सामाजिक सञ्जालमा व्यक्त भएरहेका छन् । यो कुनै नयाँ अचम्मित कुरा होइन यस्ता भ्रमित कुरा विगतमा पनि गरेका थिए अहिले गर्दै छन भविष्यमा पनि गर्ने छन् । अंशलाई समातेर समग्रको विश्लेषण गर्ने टपरटुया प्रवृत्तिको वैचारिक र राजनीतिक सांगठनिक रुपमा सामना गरेर जानुको विकल्प छैन ।
पार्टीले माओवाद र संघीयताबारे लचिलो नीति अवलम्वन गरेको छ । कुनै पनि व्यक्ति समुह वा पार्टीले माओवाद वा माओविचारधारा मान्छ र राज्यपुनः सँरचना संघीयता वा एकात्मक रुपमा गर्नुपर्छ भन्ने फरक–फरक आस्था विश्वास राख्ने समूह पार्टी एकतामा आउन सक्ने बाटो खुलेको छ । समुद्रको पानी ल्याउन कसैले गिलास लोटा लिन्छन् कसैले ट्यांकर नै लिएर जान्छन भने गिलास र लोटा लिएर जानेको भन्दा ट्यांकर लिएर जानेले पानी बढी ल्याउने छ । महाधिवेशनको नीतिले नेपालमा रहेको विभिन्न क्रान्तिकारी व्यक्ति, व्यक्तित्व वा समूहलाई पार्टीमा गोलबन्द हुन सहज हुने छ । यसका लागि पार्टीले लचिलो एव खुल्ला नीति अवलम्वन गरेको छ ।
कुनै दुई वा दुई भन्दा वढी वस्तु एकआपसमा मिल्छन वा अन्तरघुलिन हुन्छन भन्ने पुराना वस्तुमा भएका तत्वहरुको प्रभाव एकअर्कोमा पर्छ नयाँ वस्तुमा नयाँ गुण वा तत्वको देखा पर्दछ । वुवा––आमाको गुण स्वाभाव र रुप छोरा छोरीमा देखिनु विज्ञान सम्मत कुरा हो । अर्थात् हाइडोजन र अक्सिजनको समिश्रणबाट पानीको निर्माण हुन्छ । पानी भनेको ज्द्दइ हो । पानीलाई हाइडोजन वा अक्सिजनकरण भयो भन्न मिल्दैन । अहिले नेकपा (मशाल) नेकपा(वहुमत) र नेकपा(क्रान्तिकारी–माओवादी)को एकता महाधिवेशनले क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको निर्माणलाई अनुमोदन गरेको छ । यी पार्टीहरु बीच वैचारिक, राजनीतिक, साँगठनिक र व्यक्ति–व्यक्तिबीच अन्तघुलित हुने क्रम चलिनैरहेको छ । एक––अर्कोका राम्रो गुण, पक्ष, अनुभव, संस्कार, कार्यशैली जसले पार्टी र क्रान्तिलाई अगाडि बढाउन मद्दत गर्छ यस्ता कुराहरु पार्टीले स्वीकार गरी पार्टी अगाडि बढ्नुको विकल्प छैन यो स्वाभाविक, सही र विज्ञान सम्मत पनि हो । केही फुटपरस्तहरु र संकिर्णवादीहरुले क्रान्तिकारी पार्टीलाई कसैले माओवादीकरण वा विलय देख्छन त कसैले मशालीकरण भयो भनी भ्रम सिर्जना गरेर हुँया चलाए बाट पार्टी सही ठाउँमा छ भन्ने पुष्टि हुन्छ ।