शनिबारीय साहित्य :कविता
*** ***
इतिहासले ओढेको निस्पट्ट अँध्यारो मेट्न
सुर्योदयको रातो किरण भेट्न
बोकेर गरुङ्गो भारिको बोझ
जब हामी चढिएथ्यो उकालो
साथमा एउटा फराकिलो छाता
हातमा लट्ठी र कुन्जा
पहाड नाघ्न उक्लिएथौँ
मेचीको धुर्कोदेखि कालिको टुप्पोसम्म
साझा थियो सातु नुन र सिरौँला
बाँढेर खाइयो सामल र पानी
यात्रामा ठेस लाग्दा सङ्गै झथ्र्यो आँसु
पाकेका फल भेट्दा सङ्गै बढ्थ्यो हाँसो
कहिले दर्कन्थ्यो आगोको असिना
ढुङ्गाको आड लागेर गरेथ्यौँ प्रतिवाद
बिषालु आँधिको बेगले जति हिर्काओस्
किन्चित थिएन अत्यास
निराशाका भेल बाढिमा पनि
खुट्टा दह्रा थिए अहँ हल्लिएनौँ ।
शिखर ताकेर हिँडेका हामी
जब भेटियो साँघुरो चौतारी
साथीहरूमा जाँगर मरेर आलस्य जाग्यो
छाता च्यात्ने सल्लाह भयो
लट्ठी फाल्ने सल्लाह भयो
साथीहरूको थाकेको तन
चौतारोले तानेको मन
छुटेर दौतरीको साथ
लम्कन पो थाल्यो लामो लामो हात ।
रोकेर अदम्य यात्राको अभियान
च्यातेर जिउँदो स्वाभिमान
फोहोरमा गडेका झिङ्गा जस्तै
सर्प बिच्छी र भ्यागुता सङ्गै
चुर्लुम्म डुबेका दौँतरी छोडेर
केही जोर पैतालाहरू
खोजी रहेछन् अर्को अभियान
चलिरहेछन् निरन्तर यात्रामा
शिखरको चुचुरो चुम्न
आउ साथी सङ्गै यात्रामा जुटौँ
झुल्कने छ नयाँ घाम एक बिहान ।
दिल रम्तेलको समाधिमाथी उभिएर
उनका भतिजहरूले नयाँ सपना उनेको यो समयमा
हर्ष बहादुर र तारामानहरू फेरि कल्पनाको धरातलमा
अर्को अभियानको योजना बुन्दै छन्
नजिकै छन् बासी सपनाका ब्याज खानेहरू
भाँजा तेस्र्याउँदैछन् भ्रमका पुलिन्दा बुन्नेहरू
इतिहासका आला घाउहरूले मल्हम खोजिरहेको बेला
उठ ललन सदाहरू
बुझ दोक्ला लामाहरू
धर्तिमा छिट्फुट उम्रन लागेको रातो अनारको बिरुवामा
काम्ले जुका र खुम्रे किराले नष्ट गर्न थालेपछि
ढोड बालेर धुवाउँदै
निमोठ्नु पर्छ लार्भा र फुल
एउटा टोर्नाडो आँधी निम्त्याएर
मिल्काउनु पर्छ भाँजाहरू
सनमाया रनमाया र सुकबहादुरहरू
जुटेर एउटै मैदानमा सल्काऔँ सल्लको पाँजाहरू ।