समिटार हत्याकाण्ड र सहिद हरि सुवेदी ‘विपिन’ 

शनिबारीय साहित्य ः सहिद गाथा संस्मरण
***  ***

‘एकदिन दुई जना अरू साथी लिएर घर आएको थियो । दिदी कुखुरा काट्न, मासु खान मन लागेको छ भन्यो । मैले यस्तो गर्मीमा म सक्दिनँ भनें’ । मासु पकाई दे भन्थ्यो, मैले मानिन अब कसलाई खुवाउनु भनेर रुनु पर्ला नी । भन्यो उसले । मैले मासु पकाएँ । चिउरा ल्याइदे भन्यो । उनीहरू घरको चोटामा बसेर खाजा खाँदै थिए, सेनाले घर घेरा हालीहाल्यो ।

हरि सुवेदी ‘विपिन’ को कान्छी दिदी गोमा शर्मालाई भरतपुर वेणीचोक नेर उनकै घरमा भेट्दा साँझ झपक्क हुन लागि सकेको थियो ।
आफ्नो कान्छो भाई हरि सुवेदी ‘विपिन’ सम्झिदै गोमा दिदीका आँखा टल्पलाए । आँखाको डिलसम्म आँसु भरियो । पल्लो खाटमा गोमाकी सासुआमा बस्नु भएको थियो ।

‘साह्रै असल थिए ती बाबु । भुमिगत भएर पार्टीमा हिँडेपछि पनि कहिलेकाँही हामीलाई भेट्न आउँथे । साइकल चाहीँ अल्लि परै राख्थे ।’ सासुआमाले थप्नु भयो ।

हरिको जन्म गोरखा जिल्लाको खोप्लाङ गाविसको फलामखानी गाउँमा भएको थियो । गाउँकै विद्यालयमा कक्षा चारमा पढ्दै गर्दा उनको परिवार चितवन बसाई स¥यो । गौरीगञ्जको स्कुलमा पाँच कक्षा पढेपछि स्थानीय माओवादी नेता तुलसी भुसालले उनलाई प्रेमवस्ती स्कुल भर्ना गरिदिए कक्षा छ मा । तुलसी भुसालका दुई छोराहरू चन्द्रप्रकाश, कृष्ण सहित हरि सुवेदी र राजिव तिवारी मिल्ने दौंतरी थिए । उनीहरू सँगै प्रेमवस्ती स्कुल पढ्दथे र अखिल (क्रान्तिकारी) मा सङ्गठित थिए । हरि सुवेदी तिनीहरूका नेता थिए । तुलसी भुसाल त्यो समय भारतमा रोजगारी गर्दै अखिल भारत नेपाली एकता समाजमा सङ्गठित थिए । घर आएका बेला प्रेमवस्तीमा स्कुलमा छोराहरूको आन्दोलन छ भन्ने सुनेर उनी प्रेमवस्ती स्कुल पुगे । प्रेमवस्तीका हेडसर राजकृष्ण कँडेल एकदम कडा हुनुहुन्थ्यो । हेडसर घरबाट हिड्नु भयो भन्ने समय अनुमानकै आधारमा शिक्षक कर्मचारीहरू सतर्क हुन्थे । अनुशासनको मामलामा विद्यार्थीमा पनि उत्तिकै प्रभाव थियो उनको । ‘हरिहरूले अनुशासित ढङ्गको आन्दोलन गरे । एउटा सभा गरे, कालो व्याच लाएर कक्षामा प्रवेश गरे । मेरो लागि नयाँ अनुभव थियो ।’ तुलसी भुसालका निरश आँखामा विगत झलझली छ ।

भरतपुरकै गौरीगञ्ज, पारसनगर, केशरवाग क्षेत्र माओवादी सुरक्षित क्षेत्र जस्तै थियो । पार्टीका सदस्य, समर्थक शुभचिन्तकहरू धेरै थिए । जनयुद्धकै क्रममा र त्यसभन्दा अघि पनि उनीहरू पार्टीलाई सहयोग जुटाउन श्रम शिविर देखि जिन्सी सङ्कलन अभियान समेत सञ्चालन गर्दथे । तोयानाथ पन्त, कृष्णप्रसाद प्रजापती, होमनाथ र विष्णु वास्तोला, कृष्णहरि पौडेल, उमाशंकर वस्ताकोटी लगायतका नेता कार्यकर्ताहरू सक्रिय थिए । सबैको प्रभाव युवा हरि सुवेदीमा प¥यो ।

अभाव र दुःखले गाउँ छोडेर चितवन झरेको परिवारको आर्थिक स्थिति नाजुक थियो । हरिका आमा बुबाका तीन छोरी र दुई छोरा मध्य हरि कान्छा थिए ।

गरिबी र शोषणबाट मुक्तिका खातिर क्रान्तिकारी पार्टीमा लागेका उनी गाउँकै एक असल र मिलनसार किशोर थिए । आÇफ्ना साथीहरूलाई क्रान्तिका कुरा सिकाउँथे । उनको उमेर कम, परिपक्वता बढी थियो । विद्यार्थीकालमै पनि स्थानीय पार्टीले आयोजना गरेका कार्यक्रममा सक्रियता पूर्वक लाग्थे । उनका दाई कोलेनिका भरतपुरमा पियनको नोकरी गर्दथे । हामी कुरा गर्दै जाँदा भुसाल दम्पतीको अनुहारमा प्रश्नहरूको मिश्रीत भाव थियो, ‘आखिर बलिदान केका लागि ?’

हरि सुवेदीको पाइला पछ्याउँदै हामी (सहिद अनिसका बुबा खड्ग बहादुर कुँवर र म) कृष्णहरि पौडेलको आँगनमा थियौँ । मध्य असोजमा झरीसँग लुकामारी खेल्दै हामी त्यहाँ पुगेका थियौँ । कृष्णहरि विपिन भन्दा उमेरले जेठा र सङ्गठनमा समकालीन थिए । उनीहरू वाइसिएल हुँदै गाउँ जनमिलिसियाका सदस्य थिए ।

‘हामीले मिलिसियाको तालिम सँगै लिएका हौं । बरण्डाभार जङ्गलमा बीस दिन सम्म आधारभूत तालिम लिएका हौं ।’ वीरबहादुर भन्ने एकजना कमाण्डरले आफुहरूलाई तालिम दिएको कृष्णहरिलाई विगतको धमिलो सम्झना छ । हरि सुवेदी विपीन तालिमपछि पूर्णकालीन भएर । तालिममा तिर्थ अधिकारी, सविता, टिका खरेलको बैनी, हरिकृष्णको बैनी लगायत सहभागी थिए । कतिले तालिम पुरा गरे कतिले बिचमै छाडे । हरि सुवेदी र कृष्णहरिहरू तालिम पुरै लिनेमा पर्छन् । वार्ता भङ्ग भएपछि हरिकृष्णको बैनीलाई पुलिसले गिरफ्तार ग¥यो, कृष्णहरिलाई सेनाले भरतपुर व्यारेकमा धेरै ठुलो यातना दियो । कृष्णपुरका बालकृष्ण पौडेल (पछि सहिद), केशव पौडेल (पछि सहिद) लगायतका बन्दिहरू भरतपुर ब्यारेकमा थिए । यिनीहरू सबै शिक्षक थिए । बालकृष्ण सरलाई पहिले गोली हान्यो, सायद खुट्टामा लागेछ क्यारे त्यसपछि पिटी पिटी मा¥यो । टाँडी पर्सातीरबाट गिरफ्तार गरेर ल्याएको दुई जना महिलालाई पनि हत्या ग¥यो । मिलाएर राखेको एल्बमबाट खसेर असरल्ल परेका फोटाहरूझैँ कृष्णहरिको स्मृतीमा चित्रहरू धेरै छन् तर क्रममा छैनन् । तिथिमिति र घटनाहरूको तारतम्य मिलाउन खोज्छन् तर मिल्दैन । अझ कति धेरै इतिहासहरू विस्मृतीमा लोप होलान् ।

एकदिन कतैबाट साइकलमा आएर हरिले दिदी गोमालाई भने ‘साइकल लिएर म सँगै आइज’ । चौबीसकोठीमा नारायणघाट जाने बाटोपट्टी उभिनु । यस्तो यस्तो रङ्गको लुगा लगाएको मान्छे छन् । केही पनि नभन्नु, नबोल्नु । दिदी हरिको पछिपछि सँगै गइन् । चौबीसकोठीमा नारायणघाट पट्टी क्रस गरेर उभिई रहिन् । एकैक्षणमा भाइले भनेका जस्ता दुई जना मान्छे आइपुगे । उनीहरू केही खोजे जस्तै गर्दै थिए । दिदीले उनीहरू जासुस वा सुरक्षकर्मी भएको लख काटिन् । तिनीहरूलाई छलेर हरि चाँही रामपुर पट्टी बाटो लागिसकेका थिए । उनले कसैले आफुलाई पिछा गरिरहेको शंका गरिसकेका रहेछन् । युद्धमा एउटा सिपाही जहिले पनि जीवन र मृत्युको दोसाधमा हुन्छ । साथीहरू लिएर मासु पकाउन लगाएको दिन पनि हरिहरू माथि खाजा खाँदै थिए, पुलिसले घर घेरा हालीसकेछ । गोमा दिदीलाई लाग्यो आज आफ्नै आँखा अगाडि भाइको हत्या हुने भयो । पुलिसको अगाडि डर देखाउन पनि भएन, लुकाउन पनि सजिलो हुँदैन । तला माथि माटो छापेको चोटा खडाईले बारेको थियो । पुलिसले माथि खोजतलाश गरेर खाली हात चुपचाप आएर सोध्यो ‘यो मासु कसको लागी पकाको ?’

‘आफैंलाई हो, अरू कस्लाई हुनुनी ।’ मनभित्रको हावाहुरीलाई जर्वजस्ती दवाएर उनले भनिन् । धेरैबेर बसेर अनेकौं प्रश्न सोधेर पुलिसहरू बाटो लागेपछि उनी डराइ डराइ चोटामा उक्लिन । ठुलो अनिश्चयको भारी बोकेर उनी कोठामा पुग्दा कोठा रित्तै थियो, सफा थियो । पुलिस आएको देखेर उनीहरू खडाईको बारबाट मकैवारीमा हाम फालेर भागी सकेका रहेछन् । खाजा खाएको भाँडा कतै लुकाएर गएछन् ।

२०५९ को भदौ महिनामा लोथर गाविसको डिहीटारमा सैन्य प्रशिक्षण चलिरहेको थियो । ईश्वरी खनाल, प्रतीक, कृष्णप्रसाद अर्याल, हरिबाबु सेढाई सहित हरि सुवेदीको टोली कोराककोे समिटारमा थियो । उनीहरू लजिस्टिक सप्लाई र सेन्ट्रि दुवै काम गरिरहेका थिए । करिब ९–१० दिनदेखि ईश्वरी खनाल नेतृत्वको टोली त्यही भूगोलमा थियो । स्थानीय माओवादी कार्यकर्ता भरतलाल चेपाङको घरतिर आफ्नो सेल्टर व्यवस्थापन गरेर तिनीहरू त्यहाँ बसेका थिए । तालिमको समापन दस गते थियो । दस गते बेलुका उनीहरूले छलफल गरे, अलिक वरपर जाने कि भनेर । कृष्ण अर्यालहरू आँपपिपलतिर गए, अबेर भइसकेका कारण आज पनि यतै बसौं भनेर ईश्वरी खनालले भनेपछि अबेरसम्म गफ गरेर उनीहरू त्यहीँ बसे । राती करिब दस बजेपछि ईश्वरी खनाल र हरिबाबु सेढाई खाटमा एवम् हरि सुवेदी विपिन र भरत खाटमुनी मान्द्रो ओछ्याएर सुते । तालिमको अन्तिम दिन भएर होला उनीहरू कम सर्तक थिए । बिहान करिब ३ बजे घर घेरा हालेर आर्मीले सबैलाई नियन्त्रणमा लिएर बन्दुकको कुञ्जा र बुटले हान्न थाल्यो । ईश्वरी खनालले आफुहरू राजनितिक कार्यकर्ता भएका कारण राजनीतिक र मानवीय व्यवहार गर्न भन्नुभयो । हरिबाबु सेढाईले घेरा तोडेर भाग्न खोज्दा सबै जना ऊ पट्टी खनिएको मौका छोपेर भरत त्यहाँबाट भाग्न सफल भए । ईश्वरी खनालको जिब्रो काटे अनि सबैलाई अमानवीय यातना सहित अलिक वर रातमाटेमा ल्याएर तीनैजनाको हत्या गरे ।

अध्याँरो बोकेर आएको जुनेली रातको खबर बिहान रेडियो एवम् टिभीले दोहोरो भिडन्तमा आङ्ककारी मारिएको भनेर प्रसारित ग¥यो । टिभीमा खबर सुन्ने बित्तिकै गोमा दिदीले टेकेको भुई आफै कता सरेको जस्तो भयो । उनी आमा भएकोमा पुगिन । आमा त्यसै विक्षिप्त थिइन् । त्यहीँ माथि पार्टीबाट घट्ना पुष्टि गर्ने खबर लिएर आएको मान्छेले ‘किरिया न वार्नु’ भनेर गए । ‘परिस्थिति त जटिल थियो नै पार्टीले त्यसो भनेपछि उनीहरू दोधारमा परेपछि कुशको लास बनाएर पम्परागत ढङ्गले उनीहरूले सद्गत किरिया गरे’ स्थानीय बुद्धिजिवी राजु तामाङ करिब २०–२१ वर्ष अघिको त्यो घटना सम्झनुहुन्छ । त्यो क्षेत्र माओवादीको राम्रो क्षेत्र भएपनि आफ्नो भाइ हरि घर आएको केही बेरमा नै आर्मी–पुलिस कसरी आइ पुग्थ्यो भन्ने प्रश्न अहिले पनि गोमा दिदीको मनमा काँडाझँै बिझी रहेकै छ ।

हरिसँगै सहिद शिवहरि तिम्सेना ‘उज्ज्वल’ पनि घर आइ रहन्थे । यसरी आउनेमा किसान नेता शिव रेग्मी ‘हर्क’ पनि पर्दथे । हरिको सहादतको खबर लिएर पनि सायद शिव रेग्मी नै पुगेका थिए । कताबाट कसरी जतन गरेको हरिको एउटा फोटो फ्रेम मात्रै त छ नी उसको निशानी । तस्विर हेरेर टोलाइरहेकी गोमा दिदीलाई हेरेँ मलाई कवि अनिल श्रेष्ठको कविता सम्झना आयो ।
फूलहरू छैनन् भने
मेरो बारीका आरुका बोटहरूमा कुनै वसन्त छैन
चराहरूको कुनै सङ्गीत छैनन् ।

नारायण शर्मा ‘विपिन’