क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महाधिवेशन सम्पन्न : महासचिवमा मोहन वैद्य ‘किरण’ सर्वसम्मत रुपमा निर्वाचित

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको १० दिने महाधिवेशन भव्य रुपमा सम्पन्न भएको छ । महाधिवेशनले मोहन वैद्य किरणको नीति र नेतृत्वलाई सर्वसम्मत रुपमा पारित गरेको छ । महाधिवेशनको बन्द सत्रले ११७ सदस्यीय पूर्ण र ८० सदस्यीय वैकल्पिक रहेको केन्द्रीय समिति निर्वाचित गरेको छ । निर्वाचित समितिको पहिलो बैठकले पार्टीको महाचिवमा मोहन वैद्य किरणलाई सर्वसम्मत रुपमा निर्वाचित गरेको छ । पार्टीका नेता सन्तबहादुर नेपालीको प्रस्ताव र हेमन्तप्रकाश ओली सुदर्शनको समर्थनमा मोहन वैद्य किरणलाई महासचिवमा निर्वाचित गरिएको हो । नव निर्वाचित महासचिवको तर्फबाट किरणले आफूले सकेसम्म क्रान्तिको तयारीमा पूर्ण रुपले लागिपर्ने प्रतिबद्धता मन्तव्य राख्नुभएको थियो ।

पार्टीका बरिष्ठ नेता सीपी गजुरेल गौरवको अध्यक्षतामा सम्पन्न भएको महाधिवेशनमा बंगलादेश कम्युनिस्ट पार्टीका प्रतिनिधिले बधाई मन्तव्य राखेका थिए भने नेता परि थापाले बन्द सत्रमा पारित समसामयिक प्रस्तुत गर्नुभएको थियो । समापन सत्रको अन्त्य गर्दै नेता सीपी गजुरेलेलले महाधिवेशन सफल पार्न प्रत्यक्ष परोक्ष रुपमा भूमिका खेल्ने सबै पार्टीका नेता कार्यकर्ता, शुभचिन्तक समर्थक लगायत विदेशी भाइचरा पार्टीका प्रतिनिधिहरुलाई समेत धन्यवाद ज्ञापन गर्नुभएको थियो । नव निर्वाचित कमिटिको बैठक माघको पहिलो साता काठमाडौंमा राख्ने निर्णय गरिएको छ । सो बैठकको तयारीको लागि महाचिव किरणको नेतृत्वमा सात सदस्यीय सहयोगी टिम समेत बनाइएको छ । सो बैठकले पार्टीको आगामी संगठन र संघर्षसम्बन्धी कामको योजना तर्जुमा गर्ने पनि बताइएको छ ।

मंसिर १३ गते काठमाडौं न्यूरोडको भूगोल पार्कमा भव्य समारोहबिच उद्घाटन कार्यक्रम सम्पन्न गरी कीर्तिपुरको स्मृति हलमा बन्द सत्र सुरु गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले मोहन वैद्य किरणले प्रस्तुत गरेको मूल राजनीतिक प्रतिवेदन, नीति तथा कार्यक्रमलाई सर्वसम्मत रुपमा पारित गरेको थियो । कार्यलयबाट प्रस्तुत १६ वटा प्रस्ताव र अन्य फरक मतमाथि २० वटा समूह बनाएर बहस चलाइएको थियो । समूह छलफलमा उठेका विषयवस्तुलाई संश्लेषित रुपमा समूहका नेताहरुले प्रस्ताव गरेका थिए ।
महाधिवेशनले पार्टीको पथप्रदर्शक सिद्धान्तको रुपमा माक्र्सवाद–लेनिनवाद–माओवादलाई पारित गरेको छ भने विचारधारालाई निश्चित विधिमार्फत् बहसमा लैजाने निर्णय गरेको छ । जनयुद्धको मूल्यांकनको प्रश्नमा सार्वजनिक रुपमा बहस नगर्ने र अहिले संघीयतालाई मानेर जाने र यसमा रहेका फरक मतलाई पार्टीभित्र र बाहिर निश्चित विधिमार्फत् बहस जारी राख्ने निर्णय गरिएको छ । अन्य फरक मतहरुका सन्दर्भमा पनि उल्लेखित विधि अनुसार नै बहसलाई जारी राखिने छ ।
महाधिवेशनमा देशैभरि, प्रवास र अन्तर्राष्ट्रिय क्षेत्रबाट समेत गरी ५५० जना प्रतिनिधि पर्यवेक्षकहरुको सहभागिता रहेको थियो ।