शनिबारीय साहित्य : कविता
*** ***
बैरागलाग्दो बैरागी मौसमविरुद्ध
एउटा आशालाग्दो सम्भावनाका निम्ति
वैद्य हाँसेका छ्न् दशकौँदेखि
अक्सर वैद्य गम्भीर छ्न् ।
(इतिहासमा गम्भीरताको मूल्य अवश्य हुन्छ)
यो विरक्तताको आँधी र टुकुचाको दुर्गन्धमा
हाँस्नुको पनि के अर्थ हुन्छ र यात्रीवर ?
(हाँस्ने हसाउँने काम मनोज गजुरेलहरूको हो ।
उनको पेसालाई सम्मान गरिरहन मन छ यतिखेर)
क्रान्तिलाई जोगाउन र प्रतिक्रान्तिलाई टार्न
चेलाहरूको करामत मात्र कहाँ काफी थियो र मित्र ?
टाँसेर भित्तामा लेनिनलाई
कहाँ ढल्थ्यो र नेपालको जारशाही ?
इच्छुकझैँ प्रतिबद्ध नभई
कसरी जोगाउन सकिन्थ्यो र सकिन्छ सौन्दर्यशास्त्रको इज्जत ?
यस्तो गम्भीर दार्शनिक विषयलाई
हाँसेर कहाँ टार्न मिल्छ र मोहन बैद्यले ?
जतिसुकै उदास गजल गाए पनि
जतिसुकै उदासीले भरिएका कविता लेखे पनि
जतिसुकै मदिराको गिलास ठोके पनि
जतिसुकै बल्खु दरबार धाए पनि
जतिसुकै विचारमाथि घन र दर्शनमाथि किला ठोके पनि
मित्र !
सानो आशा पनि काफी छ परिवर्तनका निम्ति
सानो प्रतिबद्धता पनि आगो हुन सक्छ क्रान्तिका निम्ति
जो हाँस्नु र रुनुको दोसाँधमा छ्न्
जो हार्नु र हराइनुको पर्खालमा खडा छन्
जो लालझण्डालाई साधारण र
राष्ट्रिय झण्डालाई असाधारण ठानिरहेका छ्न्
जो क्रान्तिमा बगेको रगतलाई अपमान गरेर
पुरस्कार जित्नका लागि
किताब लेखिरहेका छ्न्
जो कोभिडभन्दा डरलाग्दो सङ्क्रमण बोकेर
शहर बजारमा रगरगाइरहेका छ्न्
जो साङ्लाहरूलाई क्रान्ति जिम्मा लगाएर
आफू चाहिँ लामखुट्टे मारेर बसेका छ्न्
जो रातो चन्दन र पँहेलो सुनको कारोबारी भएर
टिसर्टमा चे ग्वेभारा टाँसेर हिँडेका छ्न्
जो सत्तामा छ्न् र सत्ताको भजन गाइरहेका छ्न्
उनीहरू हाँस्नु र नहाँस्नुको के अर्थ छ र मित्र ?
भोल्गा नदीको माछालाई
जसै बागमतीको जलमा बचाउन सकिँदैन
चुनावको गाँजा र भाङमा लट्ठिएर
जसै क्रान्ति विजय हुने दिनहरू ल्याउन सकिन्न
प्रिय सौन्दर्यशास्त्री !
सुदखोरी व्यवस्थालाई अनुमोदन गरेपछि
वैद्यलाई प्रश्न गर्नुको अर्थ कहाँ बाँकी रहन्छ र ?
प्रश्नहरू !
कृपया, आफ्नो ओज जोगाऊ
कविताहरू !
आफ्नो स्वतन्त्रता बचाऊ ।।