शनिबारीय साहित्य ः कविता
*** ***
आज
दलालहरुको उत्सव छ
भ्रष्टहरुको महाजात्रा छ
लुटेराहरुको मुस्कान छ
फासिष्टहरुको रजगज छ
तस्करहरुको उन्मत्त हाँसो छ
डनहरुको मस्ती छ
सज्जनहरुको सास्ती छ
किनकि
आज देशमा संविधान दिवश छ ।
आज
कर्मठ पाखुराहरु पलायन छन्
मष्तिष्कहरु भविश्य खोज्न कुद्दै छन्
किशोरीहरु बलात्कृत छन्
बलात्कारीहरु सम्मानित छन्
भाषाहरु दमित छन्
राष्ट्रियताहरु प्रताडित छन्
किनकि
आज देशमा राष्ट्रिय दिवश मनाउने उर्दीहरु छन् ।
यहाँ
सत्ताले सुन ओसार्छ
संसदले देश लिलामीमा राख्छ
मान्छे बेच्ने मन्त्री बन्छ
बर्दीले उसैलाई सलामी गर्छ
जब कलमहरु सत्य लेख्न जुर्मुराउँछन्
कलमहरु भाँच्न सडकमा
बर्दीका हुलहरु आउँछन्
किनकि
यहाँ ‘अजम्बरी’ संविधान जारी छ ।
३, असोज २०८१, कोटेश्वर