भगवानकाे उत्पादन

शनिबारीय साहित्य : कविता
***  ***
 
बिचरा भगवान । 
मान्छेको प्राेडक्सन ।
कुनै भगवान बहुराष्ट्रिय कम्पनीमा जन्मन्छन्
कुनै भगवान गल्ली गल्लीमा सटरभित्र हुन्छन् 
भगवान यत्रतत्र छन् 
किनभने भगवान बेच्ने ब्यापारी सर्वत्र छन् 
भगवानका व्यापारीहरू
बिज्ञापन गर्छन
चाेक चाेकमा कराउँछन् 
झन्डा झन्डामा फहराउछन्  
भगवानका ब्यापारी जहाँ आउँछन् 
भगवान ल्याउँछन्  
अनि बर्बराउँछन् 
मेराे भगवान गुणस्तरीय छ 
आउ, मेराे भगवान खरिद गर ।
आउ भगवानकाे  उपभाेग गर ।
मेराे भगवान सर्वशक्तिमान छ 
आउ स्वर्गद्वारकाे सिँढी चढ 
बिचरा भगवान चुपचाप छन्
खरिद बिक्रीका साधन बन्छन् ।
कतै सजाइन्छन् 
कतै भजाइन्छन् 
ब्यापारीहरूबाट कजाइन्छन् 
कथित भगवानका स्वघाेषित कर्मचारीहरूबाट 
गुणगान गाइन्छन् 
कतै कसैकाे पेउटे बनाइन्छन् 
ब्राेइलर र खसीजस्तै  
कतै किनिन्छन्  
कतै बेचिन्छन्  
भगवान भगवान बिचमा जुधाइन्छन् 
आपसमा लडाइन्छन् 
ब्यापारीहरूमा भगवान बेच्ने प्रतिस्पर्धा छ
कुन नक्कली 
कुन सक्कली 
कुन भगवान विश्वासिलो र भरपर्दो ? 
कुन भगवान कमजाेर र घिनलाग्दाे ? 
बडाे चर्चा चलाइन्छ 
स्वर्ग र नरक पूर्वजन्म र पुनर्जन्म 
अनेक भ्रमका फूल फुलाइन्छ 
खाेजी खाेजी,
राेजी राेजी 
जसलाई जस्तो चाहिन्छ 
बजारमा भगवान खरिद्न पाइन्छ 
अहाे ! भगवानकाे गजबको ब्यापार चलाइन्छ 
कारखानामा
धमाधम उत्पादन गराइन्छ 
कठै बिचरा भगवानलाई   
नतमस्तक र लाचार बनाइन्छ ।
===
दाङ