तीज पर्व ः महिलाको शोषण या मुक्ति ?

शनिबारीय साहित्य ः सांस्कृतिक समालोचना
***  ***

तीज पर्वको प्रारम्भ :

तीज पर्वको प्रचलनबारे नेपाली समाजमा मिथकीय कथन छ । यद्यपि धर्मान्धहरूले यसलाई सत्य ठान्दछन् । परन्तु नेपाली समाजमा प्रचलित ‘धार्मिक कथनहरू’ वास्तवमा मिथक मात्रै हुन् । त्यसको कुनै प्रामाणिक तथ्य तथ्याङ्कहरू भेटिँदैनन् । धार्मिक ग्रन्थ, पुराण र कथाहरूमा वर्णित कुरालाई नै नेपाली धर्मान्ध समाजले आधार बनाएर त्यसअनुरूप व्यख्या गर्ने गरेका छन् ।

पौराणिक कथाअनुसार हिमालय पर्वतकी छोरी पार्बतीलाई विष्णुसँग विवाह गरिदिन थालेपछि विवाह मण्डपमा नगई पार्बती भागेर जङ्गलमा गइन् । शास्त्रअनुसार उनी शिवजीकी पे्रमिका थिइन् । जवर्जस्ती विष्णुसँग विवाह गराइदिन थालेपछि पार्बतीका सङ्गिनीहरूले उनलाई भगाएर (हरण गरेर) जङ्गलतिर पु¥याए । पार्बतीले त्यहीँ बालुवाको शिवलिङ्ग खडा गरेर शिवजीको भक्ति आराधना गर्न थालिन् । शिवजी पति पाम् भनेर व्रत गरेका हुनाले तीजपर्वलाई पतिव्रतको रूपमा लिइन्छ । भाद्र शुक्ल तृतीया तिथिका दिन पार्बतीलाई उनका सङ्गिनीहरूले हरण गरेर लिएको हुनाले यसलाई हरितालिका तीज भनिन्छ । घरमा विवाहको धुमधाम तयारी भएको अवस्थामा भागेर जङ्गल गएपछि त्यतिवेला कुनै खानपिनका सामग्री उनीहरूसँग हुने कुरा पनि भएन । खानपिन र भोकको चिन्ता भन्दा पनि जसरी हुन्छ शिवजीलाई छिटो प्राप्त गर्ने चिन्ता पार्बती र उनका सङ्गिनीहरूलाई हुने कुरा स्वाभाविक नै भयो । त्यसैले तीजको व्रत बस्दा निराहार बस्ने चलन चलेको हुनुपर्छ । विवाह मण्डपबाट भागेर जङ्गल गई शिवजीको भक्ति र व्रत गरेपछि शिव प्रकट भएर पार्बतीलाई वरदान दिई शिवजीसँग विवाह भएको भन्ने पौराणिक कथनअनुसार अहिले पनि आफ्नो इच्छाअनुसारको पति प्राप्त होस् भनेर अविवाहित युवतीहरूले तीज व्रत गर्ने चलन छ । विवाहित महिलाहरूले भने आफ्नो पतिको आयु लामो होस् र अर्को जुनीसम्म पनि अहिलेकै पति प्राप्त होस् भनेर व्रत गर्ने चलन बसालियो ।

आफ्नो पति जतिसुकै बदमास र आपराधिक चरित्रको भए पनि त्यसको सेवाभक्ति गरिरहनुपर्ने चलन चलाइयो । मनुस्मृतिमा भनिएको छ–
गुनहिन दुश्चरित्र चाहे होस् कामलम्पट,
पुज्नु पर्छ नारीले ‘देवता’ झैं सँधै पति ।

यसरी आफ्नो पति गुण नभएको, दुश्चरित्र भएको, अल्छी र लम्पट भए पनि नारीले त्यसलाई ‘देवता’झैं मानेर पुज्नुपर्ने भनेर उपदेश दिइएको छ । महिलाहरूलाई अधिकार बिहीन बनाएपछि उनीहरूलाई स्वर्गको लोभ देखाएर ‘सेवाले पतिकै मात्रै स्वर्गमा सुख पाउँछे’ भन्दै मनुस्मृतिमा महिलालाई केवल पतिको सेवा गर्न लगाइयो । सामाजिक अधिकारबाट बञ्चित बनाइएका महिलाहरूलाई ‘स्त्री भ्रमन्ती विनश्यति’ अर्थात् भ्रमण गर्ने महिलाहरू नासिन्छन् भन्दै उनीहरूलाई चुलोचौकाको चौघेरोमा कैद गरियो । महिलाहरूलाई पुरुषले आफ्नो अधिनमा लिनुपर्छ भन्दै मनुस्मृतिमा भनिएको छ– ‘अस्वतन्त्रा स्त्रियः कार्याः पुरुषैः स्वैर्दिवानिशम्’ अर्थात् ‘स्त्रीको स्वतन्त्रता सबै लोग्नेले खिच्नु पर्छ र उनीहरूलाई काममा मात्र जोत्नु पर्छ’ भनेर महिलाहरूका अधिकार सबै खोसेपछि उनीहरूलाई बालक छँदा बाबुको अधिनमा, युवती हुँदा लोग्नेको अधीनमा र बूढी हुँदा छोराको अधिनमा राखेर अवला बनाइयो । यसप्रकार महिलाहरूलाई सम्पूर्णरूपले अधिकारबिहीन बनाएपछि उन्मुक्तिको रूपमा तीज पर्वलाई मनाउन थाले । यसरी एकातिर तीजलाई पतिव्रताको रूपमा र अर्कोतिर मनोरञ्जन तथा स्वतन्त्रताको रूपमा मनाउने चलन पछिल्ला समयहरूमा बस्दै आयो ।

महिला अधिकारको अपहरण :

मानव सभ्यताको इतिहास हे¥यौं भने महिलाहरू नै समाजका अगुवा रहेको तथ्य फेला पर्छ । किनभने सन्तान जन्माउने अधिकार प्रकृतिले नारी जातिलाई दिएपछि त्यो सन्तानको पालनपोषण र संरक्षण स्वतः महिलाको जिम्माको कुरा भयो । महिलाले आफ्नो बच्चालाई स्याहार्नु पर्दा उसलाई निश्चित स्थानको आवश्यकता पर्न गयो । अनि ऊसले वासस्थानमा बसेर पुरुष वा जुनसुकै तरुनी तन्नेरीलाई बाहिर आहाराको खोजीमा पठाउन थाली । यसरी समाज मातृसत्तात्मकरूपमा विकसित हुँदै गयो । कविला समाजपछि जब समाज दास युगमा परिणत भयो तब समाजको मालिकको रूपमा पुरुष आयो । किनभने अन्य गणहरूलाई लडाइँमा हराएपछि हारेका गणका नारी पुरुषलाई जितेको गणले दासदासीको रूपमा लियो । अनि त्यही समयदेखि महिलाहरूलाई उत्पादनका साधनको अधिकारबाट बञ्चित गराएर आफ्नो भोगविलासको साधन र सन्तान उत्पादन गर्ने मेसिनको रूपमा लिइयो । आफ्नो कृति ‘परिवार निजी सम्पत्ति तथा राज्यको उतपत्ति’मा एङ्गेल्स भन्नुहुन्छ– ‘मातृसत्ताको विनास नारी जातिको विश्व ऐतिहासिक महत्वको हार थियो । त्यसपछि घरभित्र पनि पुरुषले आफ्नो हैकम जमायो । नारीलाई पदच्यूत गरेर बन्धनमा जकडियो । तब ऊ पुरुषकी बासनाकी दासी र सन्तान जन्माउने मेसिन बन्न पुगी ।’

महिलाहरूको अधिकार अपहरण गरेर पुरुषले उसलाई आफ्नो अधिनमा लिएपछि महिलावर्ग स्वतः अवला वा कमजोर हुनु स्वाभाविक भयो । सम्पत्तिमा अधिकार नहुनु, डुलघुम गर्न नपाउनु, कुनै पनि स्वतन्त्रता नपाउने र केवल पुरुषको मात्र सेवा गरेपछि स्वर्गमा जान सकिनेजस्ता अन्धविश्वास थोपरेपछि आफ्नो सहाराको रूपमा महिलाहरूले ‘भगवान’ ‘देवता’लाई पुकार्न थाले । वास्तवमा ‘भगवान’ वा ‘देवीदेवता’ भनेका त्यतिवेलाका बलवान र लडाकु मानिस थिए । ती कुनै अलौकिक शक्ति थिएनन् र होइनन् । त्यसैले आजको दुनियाँमा पुरुषले भन्दा महिलाहरूले बढी ‘देवीदेवता’को पूजाआजा गर्ने, धर्मकार्यमा लीन हुने र ‘भगवान’प्रति विश्वास गर्ने गर्छन् । यसमा महिलाको दोषभन्दा पनि पुरुषको षड्यन्त्रले बढी काम गरेको छ । आफु कमजोर भएपछि शक्तिको साहरा लिनु मानवस्वभाव नै हो ।

मनुस्मृति लगायतका धार्मिक ग्रन्थहरू, विभिन्न शास्त्रादिहरूमा निराकार रूपमा रहेको ‘भगवान’, ईश्वरलाई शक्तिशाली बताइएको छ । मान्छेले दुःख भोग गर्नु र सुख भोग गर्ने कुरा उसले कमाएको धर्मको आधारमा ईश्वर, ‘भगवान’ वा ‘दैदेवता’ले गर्ने फैसला हो भनेर पुराणहरूमा उल्लेख गरियो, पण्डितहरूले बाचन गर्न थाले । यसरी महिला भएर जन्मनु पनि अघिल्ला जन्ममा पाप गर्नु हो भन्ने जस्ता अत्यन्तै झुठ र अवैज्ञानिक तर्कना गरेर अन्धविश्वासको साम्राज्य फैलाइयो । यो सबै कार्य महिलाहरूबाट मातृसत्ता खोसेर पितृसत्ताको प्रारम्भपछि फैलाइएको हो । मावनसमाजका चाहे त्यो हिन्दू ग्रन्थ होस् वा मुस्लिम, इसाई वा क्रिश्चियन सबैमा ‘भगवान’ वा ‘ईश्वर’लाई अलौकिक शक्तिको रूपमा देखाइएको छ । र, त्यो बोधगम्य छैन, निराकार, निर्गुण रहेको भनेर चर्चा गरिएको छ । यस्तो शक्तिका आराधना, उपासना र भक्तिभाव गरेपछि मनोकाङ्क्षा पुरा हुने अन्धविश्वास फैलाएर समाजमा असाहाय, गरिब, निमुखा र महिला वर्गलाई राजनीतिक, सामाजिक, सांस्कृतिक र मुख्य रूपमा अर्थव्यवस्थाको अधिकारबाट बञ्चित गराइएको छ । लेनिन भन्नुहुन्छ– ‘नारीहरूले पुरुष सरह सही स्वतन्त्रता पाउनको लागि हामीकहाँ सामाजिक अर्थव्यवस्था हुनु र सबै उत्पादनका काममा नारीहरूले पनि समान रूपले भाग लिनु जरुरी छ । तब मात्र नारीहरूले पुरुष सरहको अवस्था र स्वतन्त्रता पाउन सक्छन् ।’

महिलाहरूलाई अधिकारबिहीन बनाई केवल पुरुषहरूका भोग्या बनाउने काम उनीहरूलाई आर्थिक अधिकारबाट बञ्चित गराएर भएको हो । आर्थिक रूपले स्वतन्त्रता नपाउँदासम्म अन्य सबै प्रकारका स्वतन्त्रताका जेजस्ता कानुन र नियम बनाए पनि ती हात्तीका देखाउने दाँत मात्र सावित हुनेछन् । आर्थिक अधिकार नै सबै अधिकारको मेरुदण्ड हो । आज विश्वका हरेक देशका महिला अधिकांश रूपमा आर्थिक अधिकारबाट बञ्चित छन् । नेपाली समाजमा त उनीहरूलाई आफ्नो पेवा भनेर पालेको एउटा कुखुरा बेच्न समेत श्रीमान् वा घरको मूली मान्छेलाई सोध्नुपर्ने बाध्यता छ । एकाध समाजमा यस्तो प्रचलन नहुनु बेग्लै कुरा हो । तर सिङ्गो समाज पुरुषप्रधान भएकाले महिलाहरूलाई दोस्रो दर्जाको रूपमा राख्ने काम गरिएको छ । त्यसैले अधिकारबाट बञ्चित भएका महिलाहरूले साहाराको निम्ति ‘भगवान’ वा ‘दैदेवता’प्रति विश्वास गर्नु बाध्यता बन्दै गयो । त्यसैमा पनि महिलाहरू घरको चारदिवार भन्दा बाहिर जान नपाएपछि उनीहरूको चेतना पनि कुन्ठित हुँदै गयो । यसरी न्यून चेतना भएकाहरूमा अन्धविश्वासले गाँज हाल्नु सर्वथा स्वाभाविक हुन्छ । त्यसैले महिलाहरू अझै पनि अन्धविश्वासमा रुमालिएर कुहिराको काग बन्न विवश छन् । यस्ता महिलाहरूलाई पुरुषले आफ्नो स्वार्थमा रचिएका धर्मग्रन्थहरूको आधारमा झन् बढी शोषण गरेको कुरा कथित धर्मकर्म र पूजापाठमा लिप्त महिलाहरूलाई के थाहा ? उनीहरू अर्को जन्मको निम्ति धर्मकर्म पूजापाठ र तप व्रतमा लिप्त रहँदै गए, पुरुषले आफ्नो स्वार्थ सिद्धि गर्दै गयो । यसप्रकार महिलाहरूलाई जब आर्थिक अधिकारले समृद्ध गराइँदैन तबसम्म उनीहरू साहाराको खोजी गर्न भौंतारिरहने छन् । त्यसैले आर्थिक अधिकार नै सबै प्रकारको स्वतन्त्रता र अधिकार प्राप्तिको कुँजी हो ।

महिलाहरूलाई सबैभन्दा शोषण गर्ने काम धर्मले गरेको छ । तर पनि महिलाहरूलाई धर्ममै बढि लिप्त बनाइएको छ । आपूmले मान्दै आएको धर्मले आफैलाई दासी र दोस्रो दर्जाको नागरिक बनाएको आम महिलाहरूलाई थाहा नै हुँदैन र थाहा पाउने सचेत भनिएका महिलाहरू पनि यही फेसन र अन्धविश्वासमै रुमल्लिइरहेका छन् । किनकि धर्म भनेको अन्धविश्वास हो । यसको कुनै प्रामाणिक र वैज्ञानिक आधार र कारण छैन । तर हुँदै नहुने कुरा र मृत्युपछि मोक्ष (मुक्ति) पाउने कुरामा उनीहरूलाई रुमल्याइएको छ । भौतिक जीवनका सुख सुविधा र अधिकार जति पुरुषले आफ्नो कब्जामा राख्ने तर अभौतिक तथा अमूर्त कुरा जति महिलालाई थोपरिदिने संस्कार र संस्कृतिको जग नै धर्म भएपछि धर्म नै शोषणको आधार भएन त ?

पर्वको नाममा फेसनको होडबाजी :

महिला होस् वा पुरुष दुवैले मनाउने चाडपर्वको शुरुआत इतिहासका खासखास अवसरहरूबाट भएका छन् । कविला समाज रहँदासम्म समाजमा चाडपर्व, धर्मकर्म आदि केही पनि थिएन । सबैले आफ्नो सीप क्षमता र शक्तिअनुसार श्रममा भाग लिन्थे अनि उत्पादित उपभोग्य बस्तु गणमा बाँडचुँड गरेर उपभोग गर्थे । जब कविला गणराज्यले सामन्तवादी युगमा पादार्पण गर्दै गयो तब श्रमको शोषण गरेर आफ्नो स्वार्थ पुरा गर्ने अभिजातवर्गको जन्म भयो । यसरी सामन्तवर्ग र शोषितवर्गको अभ्यूदय भयो । यही युग परिवर्तनका क्रममा भएका ठुल्ठुला शक्तिसङ्घर्षहरूले धार्मिक मान्यता ग्रहण गर्दै गए । अलिखित समाजमा भएका कविलायी राज्यका नियमहरू पछि गएर क्रमशः धार्मिक संस्कारमा परिणत हुँदै गए । प्रकृतिपूजा, शक्तिपूजाजस्ता कुरादेखि ‘ईश्वर’, ‘देवीदेवता’ र ‘भगवान’को मान्यता अशिक्षित र कविला समाजमा मानिसले अनुमानका आधारमा मान्न थाल्यो । जस्तो कुनै बाढी, पहिरो, आगो, हुरी चट्याङले समाजमा कुनै प्रकोप सिर्जना गर्दा त्यसलाई मान्छेले ‘भगवान’ रिसाएर दुःख दिएको ठाने । त्यसैले ‘भगवान’लाई खुसी पार्न प्रकृतिको पूजा गरे । त्यस्तै पाण्डव–कौरवको लडाईं, दैत्य र देवहरूको लडाई, शुर–अशुरहरूको लडाई, राम–रावणहरूको लडाई त हामीले पौराणिक कथाहरूमा पाउँछौँ । यद्यपि यी मिथकहरू हुन् । यिनै लडाइँमा विजय प्राप्त गर्ने वर्गलाई देवत्व प्राप्त ‘भगवान’ र पराजित हुने वर्गलाई राक्षसको नामाकरण गरियो । यसरी देवत्व प्राप्त वर्गलाई शक्ति ठानेर उनीहरूको पूजाआजा गर्ने र व्रत गरी बरदान माग्ने प्रचलन शुरु भएको हो भन्न सकिन्छ ।

कविला समाजमा धर्मलाई राज्यको कानुन बनाइयो । जब लेख्य इतिहास शुरु भयो तब पुराण लेख्ने वर्गले आफ्नो अनुकूलतामा पुराण लेख्ने गरेको पाइन्छ । कतिपय कुराहरू आदर्शीकरण गरेर पनि लेखिएका छन् । किनभने कविला समाज पूर्णरूपले सामन्तवादी समाज भइनसक्दासम्म समाजमा साम्यवादी राज्यको प्रभाव थियो । त्यसैले सबै मानवको कल्याण गर्ने भनेर धर्मलाई आदर्शीकरण गरियो । पछि गएर समाज सामन्तवादी चरणमा बदलिसकेपछि धर्मलाई उत्पीडितवर्गलाई शोषण गर्ने माध्यमको रूपमा शासकवर्गले प्रयोग गर्दै गयो । यसरी शासकवर्गको अनुकूलतामा धर्मलाई व्याख्या गर्दै लगेर अशिक्षित समाजमा त्यसले अन्धविश्वासको रूप लियो । पुराण, उपनिषद्हरूमा लेखिएका कुरा अकाट्य सावित भए । त्यो कुराको अवज्ञा गर्नेलाई पापी, अधर्मीको संज्ञा दिइयो । शास्त्रमा लेखिएको धर्म नमान्नेलाई नास्तिक भनिएको छ– ‘स शुद्रवत् बहिष्कार्यो नास्तीको वेदनिन्दक’ अर्थात् अध्यात्मवाद नमान्ने मान्छेलाई वेद निन्दक भनेर समाजबाट बहिष्कार गर्नु पर्छ भनियो । यसरी भौतिकवादको विरुद्धमा अध्यात्मवादी दर्शन अगाडि सारियो । यद्यपि त्यतिवेला भौतिकवादी दर्शनको कुनै चर्चा थिएन । किनभने मान्छे अशिक्षित र कविला समाजमा थियो । समाजका यिनै अध्यात्मवादी कुराहरू अहिले पुँजीवादी युगमा समेत धार्मिक कट्टरताको रूपमा सञ्चालित छन् ।

यतिवेला नेपाली समाजमा हिन्दू चाडपर्वहरूको समय भएको छ । हिन्दू धर्मका मुख्य चाडको रूपमा तीज, दशैं, तिहार, माघेसक्रान्ती र चैत्राष्टमी एवम् कृष्ण जन्माष्टमी विशेष प्रकारका छन् भने श्रावण शुक्लपञ्चमी (नागपञ्चमी) देखि चैत्रशुक्लअष्टमी (चैत्राष्टमी)सम्म दर्जनौं चाडपर्वहरू मनाइन्छन् । हरेक महिना कृष्णपक्ष र शुक्लपक्षमा दोहोरिने तिथिहरूको छुट्टै विशेषता छन् । हिन्दूहरूका तेत्तीसकोटी ‘देवीदेवता’ छन् भनिन्छ । त्यसो भएकाले पनि वर्षैभरी चाडपर्व पर्नु हिन्दूको अर्को विशेषता हो । यो सामन्तवादी संस्कृति पनि हो । माथि नै चर्चा गरियो कि पौराणिक कालमा गणहरू बीचका लडाइँमा हारेको वर्गलाई दैत्य वा राक्षस वा पापीको रूपमा दर्ज गरियो भने जितेको वर्गलाई देवगण वा ‘भगवान’को रूपमा मान्नेजस्ता मिथकहरू प्रचलनमा आए । राजालाई विष्णु ‘भगवान’को अवतार मान्ने चलन पनि हिन्दू धर्ममा नै छ । यसले पनि पुष्टि हुन्छ कि शासकवर्ग ‘भगवान’ र शाषितवर्ग प्रजा वा दैत्य भनिएको छ ।

हिन्दू धर्ममा पूजापाठ तीर्थ, जप, व्रत आदि कार्य बढीजसो महिलाले नै गर्छन् । पुराण र धर्मग्रन्थहरूमा पनि त्यही उल्लेख गरेका धेरै छन् । त्यसैमा तीज व्रत, पञ्चमी व्रत, स्वस्थानी व्रत, सन्तोषी माताको व्रत, लगायतका व्रतहरू महिलाहरूलाई गराइन्छ । त्यसैगरी वर्षभरिमा पर्ने अन्य थुपै्र व्रतहरू पनि महिलाहरूले नै बढी गर्छन् । साथै बिहान बिहान फूलपुष्प र पञ्चपात्रोमा अक्षता, चन्दन र धुपदिप लिएर मन्दिर धाउनेहरू पनि पुरुषको तुलनामा महिलाहरू नै अत्यधिक हुन्छन् । यसको कारण पहिलो त महिलाहरू अधिकारबिहीन भएका हुनाले साहाराको रूपमा ‘भगवान’ सम्झन्छन् । दोस्रो चुलोचौकोमा मात्र सीमित महिलाहरू कम्तिमा बाहिर डुलघुम गर्ने एकमात्र अवसर त्यही मन्दिर धाउनु हुन्छ । तेस्रो कारण हो आडम्बर र शक्ति प्रदर्शन । अहिले आधुनिक युगमा पूजापाठ गर्नु र व्रत बस्नुलाई सामन्ती आडम्बर तथा फेसनको रूपमा लिन थालिएको छ । जस्तो कि १२÷१४ वर्षका र त्यो भन्दा पनि कम उमेरका केटीहरूले तीज व्रत बस्नु, बिहान बिहान मन्दिर जानु भनेको आधुनिक फेसनको परिणम हो । पहिलो त उनीहरूमा भौतिक ज्ञान नै नहुने हुँदा अरूको देखासिखीमा गर्ने हुन्छन् र अर्को कुरा छरछिमेकी साथीसँगीले गरेको देखेर पनि त्यसको नक्कल गर्ने हुन्छन् । अझ अर्को कुरा त नेपाली शिक्षा पनि हो । किनकि एक कक्षादेखि ईश्वरभक्ति सिकाइन्छ जसले गर्दा बाल मनोविज्ञाननमै अन्धविश्वास पैदा गरिदिएपछि त्यो पछि गएर उसको संस्कृति बन्न पुग्दछ । त्यसैले पनि ‘देवीदेवता’ छैनन् र हुँदैनन् भन्ने जान्दाजान्दै पनि पूजाआज्ञा गर्ने प्रचलन बस्दै गएको छ । जस्तो कि कुनै कलकारखाना वा मेसिनरी सामान स्थापना गर्दा वा पहिलोपटक सञ्चालन गर्दा ग्रहशान्ति गर्नु, पूजाआजा गर्नु र धारधुप गर्नु संस्कृतिको प्रभाव हो । विज्ञान पढेर डाक्टर भएको मान्छेको कोठामा ‘देवता’को फोटो राखेर बिहान बेलुका धुप सल्काउनु र घण्ट हल्लाउनु त्यही संस्कार र संस्कृतिको छाप हो ।

यतिखेर हिन्दू संस्कृतिमा तीज पर्व आएको छ । तीज भनेको सबै महिलाहरूको चाड भनिएको छ भने पञ्चमी व्रत विवाहित महिलाहरूले आफ्नो रजश्वलाको ‘पाप कर्म’ (?) को प्रायश्चित गर्न र मोक्ष पाउन गरिने व्रत भनेर पुराणमा उल्लेख गरिएको छ । विभिन्न प्रकारका व्रतहरू महिलाले पुरुषका निम्ति नै गर्नुपर्ने प्रचलन बसाल्नुको कारण राज्यसत्तामा महिलाहरूको अधिकार खोसेर नै भएको हो । धर्मग्रन्थहरूमा महिलालाई मानवकै रूपमा लिइएको छैन । विशेष गरेर मनुस्मृतिको पालादेखि पछि महिलाहरूलाई बढी दमन गरेर पुराण र शास्त्रका कथाहरू रचिएका छन् । यो सबै एउटा पक्ष भयो । अर्को पक्ष भनेको अहिलेको आधुनिक समाजमा चाडपर्व पूजापाठलाई फेसन र धन एवम् शक्ति प्रदर्शनको होडबाजीको रूपमा लिन थालिएको छ ।

पर्वहरूमा बजारको प्रभाव :

यतिखेर सहरहरूमा कपडा र श्रृङ्गारका सामान खरीद गर्ने प्रतिस्पर्धा चलेको छ । सकिनसकि कपडा, गरगहना किन्ने र चाडपर्वका दिन पहिरिएर आफ्नो शक्ति देखाउने होडबाजी चल्दछ । तीजका गीतहरू नै विशेष गरी तेरो पोई यस्तो र मेरो पोइ उस्तो, तेरा घरका यस्ता मेरा घरका उस्ता भन्ने शब्द रचना गरिन्छ । आफ्ना गरगहना, कपडा र फेसनेवल बस्तुका बयान गरेर गीत गाउने र नाच्ने चलन छ । त्यसका अतिरिक्त वर्षदिनसम्म सासूससुरा, देवर–नन्द, श्रीमान्हरूले दुःख दिएका, पीर मर्काका काहनी सुनाउने गर्छन् । आजभोलि समाजमा राजनीतिक प्रभावको विस्तार भएपछि राजनीतिक व्यङ्गयको रूपमा पनि तीज गीत गाउने गाइजात्रा मनाउने चलन बढेको छ । तथापि लवाइखवाई र मन्दिर धाउने कुरामा भने पुँजीवादी आडम्बर प्रदर्शन गर्ने प्रथा गुणात्मक रूपले बढेको छ ।

अबका चाडपर्वहरू बजारले निर्धारण गर्न थालेका छन् । कुन पर्वमा कस्तो खालको बस्तु उत्पादन गर्ने भन्नेकुरा कर्पोरेटहाउसले निर्धारण गर्छ । जस्तो कि यही तीज र महिलाहरूकै सन्दर्भ लिऊँ । आज भन्दा तीन दशक अगाडिसम्म साउनमा सोमबारे ब्रत बस्ने, हरिया कपडा र चुरा लगाउने चलन थिएन । आज यसले पूरै नेपाली समाज ढाकेको छ । यो सबै बजारले निर्धारण गरेको संस्कृति हो । त्यसै गरेर हरेक चाड पर्व अनुसारका शृङ्गारका प्रसाधनहरू निर्माण भएका छन् । हिज नेपाली समाजमा प्रचलित सुन चाँदीका गरगहनाहरू भन्दा आज नयाँ नयाँ प्रकृतिका निर्माण भएका छन् । यो सबै उपभोगतावादको प्रभाव हो ।

अन्त्यमा :

तीज, पञ्चमी, कृष्ण जन्माष्टमी वा तिहार र दसैंजस्ता हिन्दू चाडहरूलाई राष्ट्रिय चाडकै रूपमा लिएर मनाउने गरिन्छ । यसरी राष्ट्रिय चाड होस् वा व्यक्तिगत तप, व्रत जे भए पनि भौतिकवादी चेतनाबाट हेर्दा यी सबै अवैज्ञानिक र कुनै सत्यता नभएका कुराहरू छन् । यसरी अवैज्ञानिक कुराहरूलाई फेसनको रूपमा मनाउँदा एकातिर आर्थिकरूपले समाज, राष्ट्र र व्यक्तिलाई बेफाइदा हुने अर्कोतिर अस्वस्थ प्रतिस्पर्धा र फेसनले गर्दा समाजमा वैमनस्पता, साम्प्रदायिक हिंसा समेत फैलन सक्ने खतरा पनि त्यत्तिकै हुन्छ । मुस्लिमको मस्जिदमा राखिएका माइक र हिन्दूहरूका भजनकिर्तनका क्यासेट घन्काउँदा साम्प्रदायिक झगडा भएका कयौं उदाहरण छन् । दाइजोप्रथाका कारण हजारौं महिलाहरूले ज्यान गुमाउनु पर्ने र जीवन नै धरापमा परेका घटना दिनहुँ बढिरहेका छन् । त्यस्तै चाडपर्वका समयमा फेसन र शृङ्गारका कारण कयौं चेलीबेटीहरूको इज्जत लुटिएका, गरगहना चोरी भएका, किशोरीहरूको हत्या भएका घटना बढिरहेका छन् । त्यसैले आजको वैज्ञानिक युगमा यस्ता अन्धविश्वासको पछि दौडेर समय, सम्पत्ति र शरीरको सत्यानास गर्नु भन्दा अधिकारको खोजी गरेर सुन्दर, सभ्य, समुन्नत समाज निर्माणमा यस्ता चाडपर्वमा लिप्त हुने लाखौं युवायुवतीहरूको श्रम र ज्ञान प्रयोग गर्दा राष्ट्रको उन्नती हुने थियो ।