काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको एकता महाधिवेशन प्रचार प्रसार समितिले पार्टीको आसन्न्न एकता महाधिवेशनबारे पत्रकार सम्मेलन सम्पन्न गरेको छ । प्रचार प्रसार समितिका संयोजक रामसिंह श्रीसको अध्यक्षता तथा सञ्चालनमा सम्पन्न पत्रकार सम्मेलनमा पार्टीको महाधिवेशन तथा समसामयिक राजनीतिक विषयमा पार्टीका प्रवक्ता हेमन्तप्रकाश ओली सुदर्शनले विषयवस्तु प्रस्तुत गर्नुभएको थियो ।
मंसिर १३ देखि २३ सम्म काठमाडौंमा ७ सयभन्दा बढी निर्वाचित प्रतिनिधिहरुको सहभागितामा एकता महाधिवेशन गर्न लागेको जानकारी दिंदै प्रवक्ता ओलीले महाधिवेशनबाट क्रान्तिको रणनीति र कार्यनीति तय गर्ने बताउनु भयो ।
उहाँले नेपालमा क्रान्ति कसरी सम्पन्न गर्ने ? विश्वका विभिन्न देशमा भएका क्रान्ति, जो सत्ता कब्जाको सन्निकट पुगे तर किन सफल हुन सकेनन् ? अनि रुस र चीनमा क्रान्ति पश्चात समाजवादी अभ्यासको क्रममा किन प्रतिक्रान्ति भयो ? भन्ने प्रश्नको जवाफ महाधिवेशनमा खोज्ने पनि प्रवक्ता सुदर्शनले जानकारी दिनुभयो ।
उहाँले नेपाल कस्तो देश हो ? भन्ने प्रश्नको जवाफ खोज्न पार्टीले पाँच महिना लगाएर अनुसन्धान गरी ठोस प्रस्ताव तयार पारेको भन्दै अनुसन्धान रिपोर्ट अनुसार नेपाल अर्थ सामाजिक हिसाबले नवऔपनिवेशिक देश भएको निष्कर्ष निकालिएको पनि जानकारी दिनुभयो । सामन्तवादी र अर्धऔपनिवेशिक अवशेषहरु भए पनि मूलतः नेपाल नवऔपनिवेशिक देश भएको उहाँको दावी थियो । यस्तो देशमा नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा गर्दै वैज्ञानिक समाजवादी क्रान्तिमा अगाडि बढ्नुपर्ने कार्यदिशा तय हुनुपर्ने पनि उहाँले बताउनु भयो र भन्नुभयो, “आजको दिनमा क्रान्तिको निशाना दलाल तथा नोकरशाही पुँजीवाद नै हो । दलाल तथा नोकरशाही पुँजीपति वर्ग नै नेपाली जनताको प्रमुख दुश्मन हो ।”
उहाँले भदौं २८ बाट जिल्ला अधिवेशन सुरु गर्ने पनि जानकारी दिनुभयो । जिल्ला अधिवेशनहरुले एकातिर महाधिवेशन प्रतिनिधि चयन गर्ने र अर्कोतिर महाधिवेशनमा प्रस्तुत हुने प्रस्तावहरुमाथि व्यापक रुपमा बहस गर्ने पनि बताउनु भयो ।
पत्रकार सम्मेलनमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिंदै नेपालको कम्युनिस्ट आन्दोलनमा हुने टुट, फुट, गुट र विभाजनको मूल कारण निजी सम्पत्ति र निम्न पुँजीवादी चिन्तन भएको पनि दावी गर्नुभयो ।