“लुतो एउटा पीडादायी रोग हो । जब मानिसहरु क्रान्तिकारी लफ्फाजीको लुतोले ग्रसित हुन्छन् तब यो रोग देख्ने वित्तिकै असह्य पीडा हुन्छ”– लेनिन, लुतो– १९१८, प्रगति प्रकाशन मास्कोद्वारा १९६५ मा प्रकाशित लेनिन संकलित रचनाहरुको अंग्रेजी संस्करण, ग्रन्थ २७, पृ.३६ ।
लेनिनले ब्रेष्टलितोभ्स्तक सन्धिका सन्दर्भमा ट्राट्स्कीपंथीहरुलाई लागेको क्रान्तिकारी लफ्फाजीको लुतोबारे चर्चा गर्दा माथि उद्धृत उद्धरण संश्लेषण गर्नुभएको थियो । ट्राट्स्की र बुखारिन रुपमा त क्रान्तिकारी तथा रुसको एक इन्च जमिन पनि जर्मनीलाई नदिएर सन्धि गर्न चाहने राष्ट्रवादी थिए भने सारमा जर्मनेली शासकहरुसँग मिलेर वैज्ञानिक समाजवादको शिशु हत्या गर्न चाहन्थे । लेनिन र स्टालिन सारमा क्रान्तिकारी हुनुहुन्थ्यो भने रुपमा रुसको केही भू–भाग गुमाएर पनि जर्मनीसँग सम्झौता गरी वैज्ञानिक समाजवाद जोगाउन चाहनुहुन्थ्यो । आखिर खतरनाक कार्यनीतिक खेल नखेलीकन राजनीतिक रणनीति प्राप्त हुन सक्तैन ।
नेपाली सर्वहारा तथा उत्पीडित जनताको अग्रदस्ता क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा रहेका केही जिम्मेवार कमरेडहरु क्रान्तिकारी लफ्फाजीको लुतोले ग्रसित भए । कन्याउँदा–कन्याउँदा औडाहाले असह्य भएर “एकता असफल” भएको घोषणा गरे । लुतोको औडाहाले प्रकट भएको यो वाक्यांशलाई “दुरदर्शी संश्लेषण” भनी आफ्नो विस्तारित बैठकमा आत्मप्रसशां गरेका छन् । यसभित्र जनतामाझ एकता विरोधी भइने डर छिपाइएको छ । सार र रुप नमिलेको नाम राखेका कन्चनले यो क्रान्तिकारी लफ्फाजीको लुतोले ग्रस्त लुते गुटको नेतृत्व गर्नुभएको छ । आफूलाई वैज्ञानिक समाजवादी, क्रान्तिकारी, रुपान्तरणकारी र माक्र्सवादको पण्डित ठान्ने “सृजनशील माक्र्सवादी” ले आफूले बोलेको कुरालाई ब्रह्म वाक्य ठान्दै कहिल्यै पनि टसको मस गर्न नयार हुँदैनन् । उनले क. किरणलाई जडसुत्रवादी, संसदवादी, पुरातनपंथी, संक्रीर्णतावादी आदि आरोप लगाएर ‘अह्राई बुद्धि, सिधाई सामल कति होला फारो’ भन्ने नेपाली उखानलाई पुस्टि गरेका छन् । सारमा केही सहमति गरेर भएपनि क. किरण नेतृत्वको पार्टीले एकतालाई जोगाउन चाहन्थ्यो भने कञ्चन मण्डलीले एकतालाई भाँड्न चाहन्थ्यो भन्ने कुरा उनीहरुको व्यवहारले पुष्टि ग¥यो ।
कन्चन गुट फुटवादी नै हो । नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) बीच एकता भएको केही दिनपछि कन्चनले पूर्व बहुमतको कार्यालयको अलग बैठकलाई निरन्तरता दिने प्रस्ताव ल्याएका थिए । मैले आवश्यकता प¥यो भने नेतृत्वको स्वीकृतिमा बसौंला, तर निरन्तर बस्नु एकताविरोधी क्रियाकलाप हुन्छ भनेको थिएँ । कन्चनले केहीलाई लिएर अलग बस्ने र गुटबन्दीजन्य क्रियाकलापमा संलग्न भइरहेको पनि पुष्टि भएको छ । विभिन्न जनवर्गीय संगठनहरुमा रहेका, पार्टी एकता मन नपराएका र वाध्यात्मक अवस्थामा संगठनमा रहेकाहरुबाट ‘अह्रराई बुद्धि सिधाई सामल’ को नीति अनुसार फुटको बीउ छर्ने काम भईरहेको प्रस्ट देखिएको थियो । यसबाट पार्टी र जवसका केही व्यक्तिहरु प्रभावित त छँदै थिए, त्यसमा बाह्य तत्वको पनि मिसावट भयो । दोस्रो पटक कन्चन म कहाँ आएर बैठक बस्ने प्रस्ताव ल्याए । उनले ‘किरणजीहरु आफ्नो पूर्व पार्टीको बैठक बसिरहनुभएको छ । हामी पनि बसांै, केही फरक पर्दैन भनी प्रस्ताव राखे । मैले अब पनि यसरी पुर्व समूहको बैठकलाई निरन्तरता दिनु गुटबन्दी हुन्छ भनिदिएँ । यसले उनको गुटवादी चिन्तनमाथि ठक्कर दिएको थियो । त्यतिबेलासम्म उनी नेतृत्वको महत्वकाङक्षाले ग्रस्त भइसकेका थिए । यसपछि उनले अपारदर्शी भेटघाट, पूर्वसमुहको बैठक, अराजक दौडधुप र पार्टीको संस्थागत निर्णय विरुद्धका वक्तव्यबाजी हुन थाल्यो । भर्खरै विद्रोह गरेको पूर्व पार्टी नेकपाका नेताहरुसँग नियमित सम्र्पकमा रहे । एकता पछि नेतृत्वको सल्लाहविना नै यो सबै भइरहेको थियो । पूर्ब (बहुमत) को भेलामा अस्वीकृत भइसकेको ‘कार्यकारी राष्ट्रपतिको चुनाव’ जस्तो संसदवादी नारा पनि उनले भट्याई नै रहे । माओवादी केन्द्र निकट ‘ज्ञान केन्द्र’ ले आयोजना गरेको एक अन्तरक्रियामा ‘म पनि राष्ट्रपतिको उम्मेद्वार हुँ’ भन्ने संसदवादी उद्घोष गरे । यसले माधव र प्रचण्डहरुलाई खुशी तुल्याएको थियो किनभने उनीहरुको समर्थक बढ्यो । उनीसहितको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको कार्य सम्पादन मण्डलको पछिल्लो बैठकमा समेत प्रचण्डप्रति नतमस्तक हुँदै ‘हिजो सदनमा प्रचण्डले कार्यकारी राष्ट्रपतिको नारा उठाए’ भन्दै खुसी प्रकट गरिरहेका थिए । प्रवक्ताको हैसियतले दिएको एउटा वक्तव्यमा उनले भनेका थिए–‘एमसीसी सम्झौता संसदले पारित गरेको होइन, शेरबहादुर देउवा र प्रचण्ड पनि यसका विरोधी हुन्’ भन्ने कुरा लेखी दिउसै रात पार्ने काम गरेका थिए । जसले गर्दा उनी ठाउँ ठाउँमा पङ्गु भएका थिए । उनी वास्तवमा बैज्ञानिक समाजवादको क्रान्तिकारी लफ्फाजीभित्र लुकेका दक्षिणपंथी संशोधनवाद परस्त प्रवृत्तिका प्रतिनिधि हुन् ।
श्री कन्चन वैज्ञानिक समाजवादको विषयमा कुनै ज्ञान भएका व्यक्ति होइनन् । यो उनले प्रस्तुत गरेको वैज्ञानिक समाजवाद सम्बन्धी प्रस्तावबाट पुष्टी हुन्छ । एङ्गेल्सले हामीलाई मार्गदर्शन गर्दै आफ्नो प्रसिद्ध कृति ‘ड्युहरिङ मतखण्डन’ मा भन्नुभएको छ–“सामाजिक परिवर्तन र राजनीतिक क्रान्तिका अन्तिम कारणहरु मानिसको दिमागमा, मानिसको साश्वत सत्य र न्याय सम्बन्धी अन्तरदृष्टिमा खोज्न हुँदैन, बरु उत्पादन प्रणाली र विनिमयका परिवर्तनहरुमा खोज्नुपर्दछ । तिनलाई दर्शनशास्त्रमा होइन, बरु हरेक विशिष्ट युगको अर्थशास्त्रमा खोज्नुपर्दछ” –प्रगति प्रकाशन मस्कोद्वारा १९८७ मा प्रकाशित माक्र्स–एंगेल्स संकलित रचनाहरुको अग्रेजी संस्करण, ग्रन्थ २५, पृ.२५४ । यो माक्र्सवादी सश्लेषण अनुसार राजनीतिक कार्यदिशा वा सामाजिक परिवर्तनको कार्यदिशा श्री कन्चन वा क. किरणको दिमागमा खोजेर पाइदैन । ती चीज दर्शनशास्त्रमा पनि भेटिनैनन् । क्रान्तिको कार्यदिशा उत्पादन प्रणाली र विनिमयका परिवर्तनहरुमा खोज्नुपर्दछ, हरेक विशिष्ट युगको अर्थशास्त्रमा खोज्नुपर्दछ । हाम्रो पार्टीको अनुसन्धान टोलीले अनुसन्धान गरेको र पार्टीले हासिल गरेको ज्ञान भनेको नेपालको अर्थ सामाजिक स्थिति नव औपनिवेशिक रहेको छ । यसरी नै नेपालको अर्थ राजनीतिको विश्लेषण गर्दा, अर्थात् वर्गविश्लेषण गर्दा दलाल तथा नोकरशाही पूँजीपतिवर्ग र नेपाली श्रमजीवी तथा शोषित उत्पीडित वर्गबीचको अन्तरविरोध नै प्रधान अन्तरविरोध हो । यो कुरा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा एकताबद्ध पूर्व तीन पार्टीले नै स्वीकृत गरेका छन् । ऐतिहासिक जनयुद्ध र जनान्दोलनबाट आएको मात्रात्मक परिवर्तन; भूमण्डलीकृत साम्राज्यवादको अति केन्द्रीकरण तथा अति एकाधिकारवाद; विकेन्द्रित उत्पादन र केन्द्रीकृत वितरण, उत्पादन प्रणालीमा विज्ञान र प्रविधिको संयोजन; अर्थ निर्देशित राजनीतिको कारणले वैज्ञानिक समाजवाद सन्निकट छ । प्रधान अन्तरविरोध नेपाली श्रमजीवी तथा शोषित–उत्पीडित जनता र दलाल तथा नोकरशाही पूँजीवादका बीच हो भन्ने कुरामा विवाद छैन भने क्रान्तिको प्रक्रिया त दलाल पूँजीवादलाई कब्जा गर्नेतिरबाट शुरु हुन्छ । दलाल पूँजीवादलाई कब्जा गरेर राष्ट्रिय पुँजीमा परिणत गर्ने भनेकै नयाँ जनवादी क्रान्तिको खुड्किलो हो । यसो गर्ने भनेको फेरि लेनिन र स्टालिनले रुसको वैज्ञानिक समाजवादी क्रान्तिका सन्दर्भमा भने जस्तै फेरि ‘नयाँ आर्थिक नीति’ मा नफर्कने भनेको हो । दलाल तथा नोकरशाही पूँजी र यसको केन्द्रीय अभिव्यक्ति दलाल संसदीय व्यवस्था कब्जा गरिसकेपछि हामी नयाँ जनवाद (पुँजीवाद) मा बस्दैनौं । हामी समाजवादमा संक्रमण गर्दछौं । यस सन्दर्भमा सोभियत अर्थशास्त्रको आलोचना गर्ने क्रममा नयाँ जनवादी क्रान्तिका प्रवर्तक क. माओले भन्नुभएको छ ः “चीनले मुक्तियुद्धका क्रममा जनवादी क्रान्तिका कार्यभारहरु पूरा ग¥यो । १९४९ मा जनगणतन्त्र चीनको स्थापनाले जनवादी क्रान्तिको आधारभूत निस्कर्ष अंकित ग¥यो र त्यसलाई समग्र जनताको स्वामित्वमा बदल्यौं– सोभियत पाठ्यपुस्तकको राजनीतिक अर्थशास्त्र सम्बन्धी टिप्पणी ः १९६२–६३, श्रमिक प्रकाशन हैदरावाद भारतद्वारा अंग्रेजीमा प्रकाशित माओ चुनिएका रचनाहरु, भाग ८, पृ. ३५० ।
माओले सोभियत संघमा भएको समाजवादी क्रान्तिबाट शिक्षा लिएर नै वैज्ञानिक समाजवादको अभिन्न अंगका रुपमा नयाँ जनवादी क्रान्तिको कार्यक्रम पेश गर्नुभएका थियो । यो क्रान्ति पुरा गर्न २५ वर्ष लागेको थियो र त्यही दौरानमा नै यो पुरा भएको थियो । माओले १ अक्टोबर १९४९ मा जनगणतन्त्र चीनको घोषणा गर्दा नै भन्नुभएको छ ः ‘नयाँ जनवादी क्रान्तिको कदम निस्कर्षमा पुगेको छ र समाजवादी क्रान्तिको चरण शुरु हुदैछ…अब मजदुर वर्ग र पूँजीपति वर्गका बीचको अन्तरविरोध प्रमुख भएको छ…चीनलाई महान समाजवादी राज्यमा विकास गरौँ’–चीनको दार्शनिक फाँटमा तीन प्रमुख संघर्ष, सिर्जोनी प्रकाशन कोलकाटा भारतद्वारा सन् २००३ मा प्रकाशित अंग्रेजी संस्करण, पृ.५–६ ।
कन्चन मण्डलीले नयाँ जनवाद र वैज्ञानिक समाजवादलाई अलग–अलग रुपमा बुझनु र बुझाउन खोज्नु नै फुटवादको विउ रोप्नु हो । नेपालमा नेपाली काँग्रेसले भन्ने गरेको प्रजातान्त्रिक समाजवाद पूँजीवादी समाजवाद हो । यो स्पस्ट नै छ । नेपाली कम्युनिस्ट आन्दोलनमा नयाँ जनवाद होइन, अब समाजवाद भन्नुपर्दछ र यो कार्यक्रम अघि बढाउनु पर्छ भन्ने रोहितको नेतृत्वमा रहेको नेमकिपाले वि.स. २०४७ देखि समाजवाद भन्दै आएको छ । त्यसपछि चैतन्य मिश्र र घनश्याम भुसालले नेपालमा पूजीवाद आइसकेको हुनाले समाजवादी क्रान्तिको कार्यक्रम हुनुपर्दछ भन्ने निस्कर्ष निकाले । यो समाजवादको बाटो एमाले र एकिकृत समाजवादीले लिएका छन् । यो कार्यदिशा घनश्याम भुसालको हो । तर यो वास्तवमा वर्गसमन्वयमा आधारित हिजडा समाजवाद हो । प्रचण्डले घनश्यामबाट यही कार्यदिशा सापट लिएका छन् ।
क. किरणको नेतृत्वमा प्रचण्ड नेतृत्वको एनेकपा(माओवादी)बाट विद्रोह भइसकेपछि हामी केही साथीहरु मिलेर वि.सं.२०६९ को हेटांैडा महाधिवेशनका क्रममा वैज्ञानिक समाजवादको विषयमा वहस गर्न थाल्यौं । ‘अहिले वैज्ञानिक समाजवाद भन्दा साम्राज्यवादीहरुले ठूला– ठूला आँखाले हेर्न थाल्छन् । अर्कोतिर संविधानसँग तालमेल मिलाउनुपर्दछ’ भन्ने तर्क प्रचण्डले गरे । हामीले थप बहस ग¥यौं । महाधिवेशनमा हाम्रो मत राख्न दिइएन । २०७२ को चैत्रमा हामी क्रान्तिकारीहरुले ‘कम्युनिस्ट न्युक्लियस नेपाल’ गठन गरेको घोषणा ग¥यौं र २०७३ को असारमा पहिलो भेला काठमाडौमै गरियो । वैज्ञानिक समाजवादको कार्यदिशा पहिलो पटक हामीले संश्लेषण गरेका हौं । तर त्यसमा संगति मिलेको थिएन । त्यो राजनैतिक कार्यदिशा र कार्यक्रम प्रति क. किरणलाई पनि दिएका थियौं । २०७३ को भाद्र ७ गते विप्लव नेतृत्वको नेकपा माओवादीसँग हाम्रो एकता भयो । त्यहाँ एकीकृत जनक्रान्तिलाई सामरिक कार्यदिशा र वैज्ञानिक समाजवादलाई राजनीतिक कार्यदिशा निर्धारण गर्ने सहमति अनुसार छलफल भयो र त्यसपछि नयाँ जनवादको पूल सहितको वैज्ञानिक समाजवाद आठौँ महाधिवेशनबाट पारित भएको हो । २०७८ को चैत्रमा हामीले विप्लवको नेतृत्वको नेकपाबाट विद्रोह ग¥यौं र २०७९ बैशाख २१ गते देखि २३ गतेसम्म सम्पन्न विशेष राष्ट्रिय भेलाबाट नयाँ जनवादी क्रान्तिको कार्यभार सहितको वैज्ञानिक समाजवाद पारित ग¥यौं । २०८० को बैशाख १७ गते नेकपा(क्रान्तिकारी माओवादी) र नेकपा(बहुमत)को एकता अधिवेशनबाट नयाँ जनवादी क्रान्तिको खुड्किलो सहितको वैज्ञानिक समाजवाद पारित भयो । यहाँसम्म पनि हामीले नयाँ जनवादलाई वैज्ञानिक समाजवादबाट अलग गरेका छैनौं किनभने नयाँ जनवाद वैज्ञानिक समाजवादको अङ्ग हो । दोस्रो, कन्चन मण्डलीले नयाँ जनवादलाई पश्चगामी भन्न र पुरातनपंथी भनेको छ । यो सरासर गलत हो । यसलाई पश्चगामी भन्न त नेपालमा वैज्ञानिक समाजवादी क्रान्ति भइसकेको हुनुपर्दछ । वैज्ञानिक समाजवादी क्रान्तिका लागि नयाँ जनवादको खुड्किलो पार गर्नैपर्दछ । नयाँ जनवादी क्रान्ति भनेको पुँजीवादी क्रान्ति हो । पुरानो जनवादी क्रान्ति पूँजीपतिवर्गको नेतृत्वमा हुन्थ्यो । १९१७ को रुसी अक्टोबर क्रान्तिपछि पूँजीपति वर्ग र सामन्तीवर्ग मिल्न थाले । त्यसपछि चीनमा माओले अब कम्युनिस्ट पार्टीको नेतृत्वमा पुँजीवादी क्रान्ति गर्नुपर्ने विचार प्रतिपादन गर्नुभयो जसलाई नयाँ जनवादी क्रान्ति भनियो ।
तेस्रो, कन्चनले एकता महाधिवेशनका लागि तयार पारेको ‘समानान्तर प्रस्ताव’मा समाजवादी क्रान्ति सम्पन्न भएपछि जनताको जनवादी अधिनायकत्व लागू हुन्छ भनेका छन् । यो वैज्ञानिक समाजवादी क्रान्ति अनुरुप छैन, यो त नयाँ जनवाद अनूरुपको शासन सत्ता हो । माक्र्सले भने झैं यो त अज्ञानताको त्रासदी नै हो । उनले यतिसम्म अज्ञानता प्रकट गरेका छन् कि ‘चीनमा बाकुनिनले सर्वहारा अधिनायकत्व लागू हुँदैन भनी सल्लाह दिएका थिए’ । १८७६ मै मरिसकेका बाकुनिनले चीनमा आएर कसरी सल्लाह दिए, ताजुब लाग्दो कुरा छ ।
चौथो, श्री कन्चन यस्ता माक्र्सवादी सर्जक हुन् जसले एक पार्टी दुई कार्यनीतिको सिद्धान्त सिर्जना गरेका छन् । त्यसमा उनले जनवादी केन्द्रीयताको संगठन परिचालन पद्धतिले विचारहरुको निषेध गर्ने भएकोले एक पार्टी दुई कार्यनीति लागू गर्ने बताएका छन् । जनवाद भनेकै सयौँ विचारहरु फूल्न दिने स्वतन्त्रता र केन्द्रियता भनेको अराजकताको झारपात मौलाउने स्थितिलाई नियन्त्रण गर्नु हो । एक पार्टी दुई कार्यनीति चिनियाँ संशोधनवादीहरुको एक देश दुई व्यवस्थाबाट प्रेरित भएको छ । यसमा पनि उनी पूँजीवादी विचारहरुलाई निस्फिक्री चलखेल गर्न दिने पक्षमा छन् । सारमा पुँजीवादी चिनियाँ नेतृत्वले समाजवादी भनिएको चीनमा हङकङ र ताइवान अटाउनु आश्चार्यको कुरा होइन । तर एउटा क्रान्तिकारी पार्टीमा पँुजीवादी विचार र समाजवादी विचार, पूँजीवादी कार्यदिशा र वैज्ञानिक समाजवादी कार्यदिशा जस्ता शत्रुतापूर्ण विचारहरु चलखेल गर्न दिनुपर्दछ भन्नु भनेको नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्र र हाम्रो पार्टी एउटै बनाउँ भन्नु हो । यसले विषयलाई वर्गसमन्वयतिर लैजान्छ । बृहद् छलफल हुनुपर्दछ, तर जनवादी केन्द्रीयताको मान्यताबाट बाहिर जाँदा एमाले र माकेको के हालत भएको छ, त्यो त हाम्रै आँखा अगाडि रहेको छ । त्यसकारण ‘एक पार्टी दुई कार्यनीति’ संसदीय झ्याउकिरीको घ्याम्पो बाहेक अरु केही होइन ।
बैज्ञानिक समाजवादबारे कन्चन मण्डलीसँग सैद्धान्तिक कुरा गर्न जरुरी छ, जसको पछि यस सम्बन्धी अल्पज्ञानी साथीहरु भ्रमवस लागेका छन् । कम्युनिस्ट सिद्धान्तका प्रतिपादक र विश्व कम्युनिस्ट आन्दोलनका संस्थापक नेताहरु कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले डिसेम्बर १८४७ देखि जनवरी १८४८ सम्म तयार पारेको र फ्रवरी १८४८ मा लण्डनबाट प्रकाशित विश्वप्रसिद्ध घोषणा पत्रमा लेख्नुभएको छः“कम्युनिस्ट क्रान्ति परपम्परागत सम्पत्ति सम्बन्धहरुसँग सबभन्दा बढी क्रान्तिकारी क्रमभंगता हो । यो पनि आश्चर्यको कुरा होइन कि यस क्रान्तिको विकासको अर्थ समाजको परम्परागत विचारसँग क्रान्तिकारी सम्बन्ध विच्छेद हो” –प्रगति प्रकाशन मास्कोद्वारा १९७६ मा प्रकाशित माक्र्स–एंगेल्स संकलित रचनाहरुको अंग्रेजी संस्करण, ग्रन्थ ६, पृ.५०४ ।
यसमा माक्र्सले समाज रुपान्तरणका लागि सुधार र आलटालको होइन, बरु तत्काल दुखे पनि चिरफारको बाटो लिनुपर्ने बताउनु भएको छ । परम्परागत सम्पत्ति सम्बन्धलाई पनि उहाँहरुले सैद्धान्तिकरुपले स्पस्ट पार्नुभएको छ । कम्युनिस्ट पार्टीको घोषणापत्रमा नै यसरी स्पस्ट पारिएको छ ।
“…कम्युनिस्ट सिद्धान्तलाई एउटै वाक्यमा नै यसरी भन्न सकिन्छ ः निजी सम्पत्तिको अन्त गर्नु”–उही, पृ.४९८ ।
क्रान्तिमा हामी कसरी अघि बढ्छौ त ? माक्र्स–एङगेल्स अझ अघि बढेर भन्नुहुन्छ ः
“….मजदुर वर्गीय क्रान्तिको पहिलो कदममा सर्वहारा वर्गलाई उठाएर शासक वर्गको आसनमा राख्नुपर्दछ र जनवादको लडाई जित्नुपर्छ”–उही,पृ.५०४ ।
यो लडाई कसरी लड्ने उहाँले सिकाउनु भएको छ ः
“सर्वहारावर्गले आफ्नो राजनीतिक प्रभुत्व पूँजीपतिवर्गबाट विस्तारै सम्पूर्ण पूँजी खोस्न, उत्पादनका सम्पूर्ण साधनहरु सर्वहारा राज्यको हातमा केन्द्रीत गर्न र सम्भव भएसम्म तीव्रतापूर्वक समग्र उत्पादक शक्तिलाई बृद्धि गर्न प्रयोग गर्नेछ ।
“बास्तवमा, प्रारम्भमा यो कार्य सम्पत्तिको अधिकार र पूँजीवादी उत्पादनको अवस्थामाथि निर्मम हमला नगरीकन प्रभाकारी हुँदैन, त्यसकारण यस्तो उपायविना यो आर्थिक रुपमा नै अपर्याप्त र अव्यावहारिक हुन्छ, तर आन्दोलनको प्रक्रियामा यसले आफ्नो सिमा नाघ्नेछ, पुरानो समाज व्यवस्थामाथि अझ गहिरो भेदन अपरिहार्य हुनेछ र समग्र रुपले क्रान्तिकरण हुँदै गएको उत्पादन प्रणालीका साधनहरु अपरिहार्य हुनेछन् ।
“निश्चय नै यी उपायहरु भिन्न–भिन्न देशहरुमा भिन्न–भिन्नै हुनेछन”–उही, पृ.५०४–५०५ ।
पछिल्लो बाक्यले हरेक देशमा हुने क्रान्ति एउटै तरिकाले हुँदैनन् भन्ने माक्र्सको परिपक्व विचारलाई प्रदर्शन गर्दछ ।
अन्तमा घोषणापत्र सुन्दर ढंगले घोषणा गर्दछ ः
“कम्युनिस्टहरुले आफ्नो दृष्टिकोण र उद्देश्य लुकाउनु आफ्नो सानको विपरित ठान्दछन् । उनीहरु खुलेआम के घोषणा गर्दछन् भने तिनका उद्देश्यहरु सम्पूर्ण विद्यमान सामाजिक अवस्थालाई बलपूर्वक भत्काएपछि मात्र पूरा हुनसक्छन् । शासकवर्गलाई कम्युनिस्ट क्रान्तिको भएले काँप्छन् भने काँप्न दिनुस् । सर्वहारा वर्गसँग गुमाउनका लागि हत्कडी बाहेक केही छैन । उनीहरुसँग जित्नका लागि सारा संसार छ”–उही, पृ.५१९।
यही नै हो वैज्ञानिक समाजवादको वैज्ञानिक प्रस्तावना । माक्र्सले आफ्नै कलमले वैज्ञानिक समाजवाद लेखेको अहिलेसम्मको अध्ययनमा एङगेल्स रचित कृति ‘समाजवादःकाल्पनिक तथा बैज्ञानिक’को छोटो भूमिकामा बाहेक अन्यत्र मैले भेटेको छैन । तर हामी सबैलाई थाहा छ, उहाँले सेन्टसाइमन, चाल्र्स फुरिये र रवर्ट ओवेनहरुको काल्पनिक समाजवादका समीक्षा गरेर वैज्ञानिक समाजवादको स्थापना गर्नुभयो ।
माथि उल्लेखित पछिल्लो परिच्छेदमा ड्युरिङ मतखण्डनबाट सारसंक्षेपमा राखिएको छ भने त्यसपछिको परिच्छेद जस्ताको तस्तै उद्धृत गरिएको छ । पहिलो परिच्छेदमा वैज्ञानिक साम्यवादका विशेषताहरु उल्लेख गरिएको छ । दोस्रो परिच्छेदमा एंगेल्सले आधुनिक सर्वहारा वर्ग र आजको उत्पीडितवर्गलाई वैज्ञानिक समाजवादको चरणमा नै वैज्ञानिक साम्यवादको कार्यभारका लागि तयारी गर्ने र अभ्यास गर्ने कार्यभार दिनुभएको छ । १८८० मा एंगेल्सले ‘समाजवाद ः काल्पनिक या वैज्ञानिक’ पुस्तक लेखेर वैज्ञानिक समाजवादबारे अझ स्पस्ट पार्नुभएको छ ।
कम्युनिस्ट पार्टीको घोषणापत्रपछि माक्र्सले १८४८ देखि १८५० सम्म फ्रान्समा भएको क्रान्तिकारी आन्दोलनबारे समिक्षा गरी एउटा महत्वपूर्ण कृति ‘फ्रान्समा वर्गसंघर्षः १८४८–१८५०’ लेख्नुभयो । त्यसमा उहाँले समाजवादबारे वैज्ञानिक परिभाषा गर्नुभएको छ । त्यसमा भनिएको छ ः
“समाजवाद स्थायी क्रान्तिको उदघोषण हो, आवश्यक संक्रमण बिन्दुका रुपमा सर्वहारा अधिनायकत्वले सामान्यत ः वर्गविभेदको अन्त गर्ने, वर्गविभेद आधारित हुने सम्पूर्ण उत्पादन सम्बन्धको अन्त गर्ने, यो उत्पादन सम्बन्ध अनुरुपका सम्पूर्ण सामाजिक सम्बन्धहरुको अन्त गर्ने, यो सामाजिक सम्बन्धबाट उत्पन्न सम्पूर्ण विचारहरुलाई क्रान्तिकारीकरण गर्ने काम गर्दछ”–प्रगति प्रकाशन मास्कोद्वारा १९७८ मा प्रकाशित माक्र्स–एंगेल्स संकलित रचनाहरुको अंग्रेजी संस्करण, ग्रन्थ १०, पृ. १२७ ।
माक्र्सको यो उद्धरण चीनमा सर्वहारा साँस्कृतिक क्रान्तिको वेला चार अखिल(ायगच बिि) का नामले लोकप्रिय थियो । यसले माओको निरन्तर क्रान्तिलाई समेत पथप्रर्दशक गरेको बुझिन्छ । स्थायी क्रान्ति भनेको अन्ततः निरन्तर क्रान्ति हो । यसमा वैज्ञानिक समाजवाद भनेको सर्वहारा अधिनायकत्व भएको संक्रमणकालीन सामाजिक व्यवस्था हो । यसमा मुख्यतः चार कार्यहरु–वर्गहरुको अन्त, वर्ग उत्पन्न हुने उत्पादन सम्बन्धको अन्त, त्यो उत्पादन सम्बन्धबाट उत्पन्न हुने सामाजिक सम्बन्ध र त्यो सामाजिक सम्बन्धबाट उत्पन्न विचारहरुको क्रान्तिकारीकरण हुन्छन् । यी कार्यहरु सबैभन्दा देशमा सम्पन्न भएपछि मात्र विश्व साम्यवादको उदय हुन्छ ।
माक्र्सले ५ मार्च १८५२ का दिन आफ्ना अमेरिकी साथी जोसेफ वेडेमेयरलाई चिठी लेख्नुभएको छ । त्यसमा पनि वैज्ञानिक समाजवादको मर्म व्यक्त गर्दै लेख्नुभएको छ ः
“…आधुनिक समाजमा वर्ग अस्तित्व खोजी गर्ने श्रेयको अधिकारी म होइन । वर्गसंघर्षको खोजी गर्ने श्रेय पनि मलाई चाँहिदैन । म भन्दा धेरै पहिले नै पूँजीवादी इतिहासकारहरुले वर्गसंघर्ष सम्बन्धी ऐतिहासिक विकासको र पँुजीवादी अर्थशास्त्रीहरुले वर्गहरुको आर्थिक बनावटबारे वर्णन गरिसकेका छन् । मैले जुन नयाँ कुरा गरे त्यो भनेको यो सिद्ध गर्नु थियो ः १) वर्गहरुको अस्तित्व उत्पादन विकासको ऐतिहासिक क्रमसँग जोडिएको छ ; २) वर्गसंघर्षले अनिवार्य रुपमा सर्वहारा अधिनायकत्वको दिशामा लैजान्छ ; ३) यो अधिनायकत्व स्वयंले सबै वर्गहरुको उन्मूलन तथा वर्गविहीन समाजतिर संक्रमणमा लैजान्छ”–माक्र्स–एङगेल्स पत्रव्यवहार ः १८४८–१८९५, प्रगति प्रकाशन मास्कोद्वारा १८८२ मा प्रकाशित हिन्दी संस्करण, पृ. ६८ ।
वर्गसंघर्ष–सशस्त्र संघर्ष–सर्वहारा अधिनायकत्वको क्रमवद्ध माक्र्सीय विन्यासद्वारा नै समाजवाद काल्पनिक नभएर वैज्ञानिक भएको हो । यस प्रक्रियाबाट क्रान्ति अघि वढाएर नै सर्वोत्कृष्ट समाज व्यवस्था वैज्ञानिक समाजवाद हासिल गर्न सकिन्छ । आलोचनात्मक–काल्पनिक समाजवादले वर्ग अन्तरविरोध समाधान गर्न सक्तैन ।
युजेन ड्युहरिङका विरुद्ध लड्दा ‘ड्युहरिङ मतखण्डन’ नामक ग्रन्थमा एङ्गेल्सले पहिलोपटक वैज्ञानिक समाजवाद पदवालीको प्रयोग गर्नुभयो । उहाँले के भन्नुभएको छ भने समाजले उत्पादनका साधनहरु कब्जा गरिसकेपछि माल उत्पादन समाप्त हुनुका साथै उत्पादकमाथि उत्पादनको प्रभुत्व पनि सकिनेछ, सामाजिक उत्पादनमा अराजकताको स्थान व्यवस्थित संगठनले लिनेछ, व्यक्तिगत अस्तित्वका लागि हुने संघर्ष विलोप भएपछि मानिसले आफूलाई पहिलोपटक पशुजगतबाट अलग गरी मानव अस्तित्वका लागि प्रवेश गर्नेछ, मानिसको पर्यावरण तयार हुने जीवन परिस्थितिको समग्र क्षेत्र जसले मानिसमाथि प्रभुत्व जमाउदै आएकोमा त्यो अब मानिसको प्रभुत्व र नियन्त्रणमा आउनेछ, यसपछि मानिस प्रकृतिको वास्तविक मालिक बन्नेछ किनभने ऊ आफ्नो सामाजिक संगठनको आफै मालिक बनेको हुन्छ, अहिलेसम्म मानिसको सामाजिक कार्यको नियमले बाह्य प्राकृतिक नियमको आमनेसामने भएर उसमाथि शासन गर्ने गर्दथ्यो भने अब उसले त्यसैलाई पूर्ण समझदारीका साथ उपयोग गर्दै आफ्नो नियन्त्रणमा लिनेछ, अहिलेसम्म मानिसको सामाजिक संगठनले प्रकृति र इतिहासद्वारा लादिएको एउटा आवश्यकताका रुपमा मानिसको मुकाविला गर्दथ्यो भने अब त्यो उसको स्वतन्त्र कार्यको परिणाम हुनेछ, त्यसपछि मात्र मानिसको पूर्ण चेतनाका साथ आफ्नो इतिहास आफै बनाउने छ र सामाजिक कारणहरुलाई गतिशील बनाउनेछ । अनि मात्र मुलतः र निरन्तर बढदो मात्रामा उसद्वारा चाहेको परिणाम आउनेछ, यही नै मानिसको आवश्यकताको संसारबाट स्वतन्त्रताको संसारमा छलाङ हुनेछ । यति भनिसकेपछि एङ्गेल्सको संश्लेषण यस्तो छ ः
“सार्वभौम मुक्तिको यो कार्यभार पूरा गर्नु आधुनिक सर्वहारावर्गको ऐतिहासिक ध्येय हो । आजको उत्पीडित वर्गलाई ऐतिहासिक परिस्थिति र यसरी नै यो कार्यभारको तत्कालिन प्रकृति पूर्ण रुपले बोध गराउनु, परिस्थितिको एउटा पूर्ण ज्ञान र महत्वपूर्ण कार्यभारको अर्थ विदित गराई यसलाई पूरा गर्न आह्वान गर्नु, यही नै सर्वहारा आन्दोलनको सैद्धान्तिक अभिव्यक्ति वैज्ञानिक समाजवादको कार्यभार हो”–प्रगति प्रकाशन मास्कोद्वारा १९८७ मा प्रकाशित माक्र्स–एंगेल्स संकलित रचनावलीको अंग्रेजी संस्करण, ग्रन्थ २५, पु.२७०–७१ ।
लेनिनले आफ्नो १९०५ मा लेखिएको रचना ‘निम्न पूँजीवाद र सर्वहारा समाजवाद’मा भन्नुभएको छ ः
“मानवजातिले धेरै पहिलेदेखि, धेरै शताब्दीदेखि, यहाँसम्म कि हजारौँ वर्ष देखि सबै प्रकारका शोषणहरु “पुरै” अन्त गर्ने सपना देखिरहेको छ । यो सपना त्यस समयसम्म सपनै रह्यो जबसम्म विश्वका लाखौँ नरनारीले पूँजीवादी समाजलाई त्यसको विकासबाट स्वभाविक दिशामा बदल्न दृढ र चौतर्फी संघर्षका लागि संयुक्त भएको थिएनन् । समाजवादी सपना लाखौँ मानिसहरुको समाजवादी संघर्षमा त्यसबेला परिवर्तन भयो जसबेला माक्र्सको वैज्ञानिक समाजवादले यो परिवर्तनको आकांक्षालाई एउटा निश्चित वर्गको संघर्षमा एकीकृत गरयो । वर्गसंघर्षको अभावमा समाजवाद खोक्रो शब्द या सिधासादा सपना मात्र रहनेछ”–प्रगति प्रकाशन मास्कोद्वारा १९६५ मा प्रकाशित लेनिन संकलित रचनाहरुको अंग्रेजी संस्करण, ग्रन्थ ९, पृ. ४४३ ।
पछि १९१७ मा ‘राज्य र क्रान्ति’ नामक प्रसिद्ध पुस्तक लेख्दा यसमा लेनिनले थप विकास गर्नुभयो । वर्गसंघर्ष मात्र मानेर कोही वैज्ञानिक समाजवादी वा कम्युनिस्ट हुन सक्तैन । जसले वर्गसंघर्षलाई सर्वहारा अधिनायकत्वसँग जोडन सक्छ त्यही नै वैज्ञानिक समाजवादी हुनसक्छ । माक्र्सले माथि भने झै वर्गसंघर्षले सर्वहारा अधिनायकत्वतिर लैजान्छ र सर्वहारा अधिनायकत्वले मात्र पूँजीवादी सामाजिक सम्बन्धहरुबाट उत्पन्न विचारहरुलाई क्रान्तिकारीकरण गर्नेछ । आज आइपुग्दा जसले माओका योगदानहरुलाई सार्वभौम मान्दछन उनीहरुले यदि सर्वहारा अधिनायकत्व अन्र्गत निरन्तर क्रान्ति–महान सर्वहारा साँस्कृति क्रान्ति) अस्वीकार गर्दछन् भने ती वैज्ञानिक समाजवादी कम्युनस्टि हुन सक्दैनन ।
स्टालिनले‘सर्वहारा समाजवाद’ नामक आफ्नो कृतिमा लेख्नुभएको छ ः “ सर्वहारा समाजवाद भावनामा होइन, सर्वहारा वर्गप्रतिको प्रेममा होइन,तर…वैज्ञानिक आधारमा आधारित रहेको हुन्छ । त्यसैले सर्वहारा समाजवादलाई वैज्ञानिक समाजवाद पनि भनिन्छ” –पैरवी प्रकाशन काठमाडाँै नेपालद्वारा २०६४ मा प्रकाशित कृष्णदास श्रेष्ठद्वारा अनुदित ‘स्टालिनका छानिएका रचनाहरुको नेपाली सस्करण’, पृ. १७ ।
वैज्ञानिक समाजवादको व्याख्या गर्दै जाँदा स्टालिनले यस्तो निस्कर्ष निकाल्नु भएको छ ः
“वर्तमान स्थिति अन्तर्गत माक्र्सवादी कार्यक्रम दुई भागमा विभाजीत हुन्छ– अधिकतम कार्यक्रम जसको लक्ष्य समाजवाद हो र न्युनतम कार्यक्रम जसको उदेश्य जनवादी गणतन्त्र मार्फत समाजवाद तर्फ जाने बाटो विछ्याउनु हुन जान्छ”–उही, पृ. १८ ।
यही आधारमा नै माओले चीनमा नयाँ जनवादी क्रान्तिको कार्यक्रम बनाउनु भयो र समाजवादमा जाने स्टालिनकै शब्दमा ‘सर्वोतम पुल’ निर्माण गर्नुभयो । माओले भन्नुभएको छः
“चिनिया समाज औपनिवेशिक, अर्धऔपनिवेशिक र अर्धसामान्ती हुनाले, पूँजीपतिवर्गले कहिलेकाहीं भाग लिने राष्ट्रिय र जनवादी क्रान्तिद्वारा यी दुईटा शत्रुको तख्ता पल्टाइदिनु क्रान्तिको अभिभारा हुनाले र ठूलो पूँजीपतिवर्गले क्रान्तिप्रति विश्वासघात गरेर शत्रु नै हुँदा पनि क्रान्तिको धार सामान्यतः पूँजीवाद र पूँजीवादी निजी सम्पत्तका विरुद्ध सोझ्याइने हुनाले–यी सबै कुरा सत्य हुनाले चिनियाँ क्रान्तिको वर्तमान चरणको स्वरुप सर्वहारा समाजवादी नभएर पूँजीवादी जनवादी हो ।
“…नौलो जनवादी क्रान्ति विश्व सर्वहारा समाजवादी क्रान्तिकै एक अंग हो, कारण यसले साम्राज्यवाद, अर्थात, अन्तराष्ट्रिय पूँजीवादको दृढतापूर्वक विरोध गर्दछ । राजनीतिक रुपमा यसले साम्राज्यवादी, देश द्रोही र प्रतिक्रियावादीहरुमाथि सवै क्रान्तिकारी वर्गहरुको संयुक्त अधिनायकत्व कायम गर्ने प्रयत्न गर्दछ र चिनियाँ समाजवाद पूँजीवादी अधिनायकत्वमा रुपान्तरण गर्ने कुराको विरोध गर्दछ”–चिनियाँ क्रान्ति र चिनियाँ कम्युनिस्ट पार्टी १९३९, सिर्जनशिल प्रकाशन डिल्लीबजार उकालो काठमाडौँद्वारा प्रकाशित तथा खगेन्द्र संग्रौलाद्वारा अनुदित माओ चुनिएका रचनाहरुको नेपाली संस्करण, भाग २, पृ.३३४ ।
माओले अर्को ठाउँमा भन्नुभएको छः
“नयाँ जनवाद सुदृढ गर्नु र यसलाई सधंैका लागि सुदृढ गर्दै जानु पूँजीवादमै रहनु हो । नयाँ जनवाद भनेको सर्वहारा नेतृत्व अन्तर्गत पूँजीवादी जनवादी क्रान्ति हो । यसले त भूमिपति र दलाल पूँजीवादलाई मात्र असर गर्दछ, यसले राष्ट्रिय पूँजीपतिलाई विल्कुल असर गर्दैन ।…भूमिसुधारले पूँजीवादलाई उन्मुलन गर्न सक्तैन, नत यसले समाजवादतिर लैजान्छ” –दर्शनशास्त्रको प्रश्नबारे कुराकानी–१९६४, श्रमिक वर्ग प्रकाशन हैदरावाद भारतद्वारा १९९४ मा प्रकाशित माओ चुनिएका रचनाहरुको अंग्रेजी संस्करण, ग्रन्थ ९, पृ. १२९ ।
वैज्ञानिक समाजवादको नाममा माक्र्सवादको भ्रष्टीकरण गर्ने र क्रान्तिकारी लफ्फाजीभित्र दक्षिणपंथी संशोधनवादपरस्त कन्चन मण्डलीलाई माक्र्सवादको श्रृंखलावद्ध अध्ययन गर्न, निम्न पूँजीवादी नेपाली अर्थ व्यवस्थाबाट पैदा भएको आत्मकेन्द्रीत व्यक्तिवाद र अराजकतावादलाई सच्याउन विशेष आग्रह गर्दै इमान्दार क्रान्तिकारीहरुलाई भ्रममा नपरी स्वस्थ बहसमा उत्रन आह्वान गर्दछौं । वैज्ञानिक समाजवाद र नयाँ जनवाद अलगअलग कुरा होइनन् । माओले भने झैं नयाँ जनवाद वैज्ञानिक समाजवादकै अंग हो । दलाल पूजीवादको ढिस्कोले हाम्रो समाजवादमा राख्नुपर्ने पाइला रोकिएको छ । ढिस्को ढाल्नेबित्तिकै जनगणतन्त्रको स्थापना हुन्छ र हामी वैज्ञानिक समाजवादमा प्रवेश गर्न सक्छौं । तर क्रान्तिकारीहरुको एकताविना त्यो ढिस्को पल्टाउन सकिदैन । इमान्दार कमरेडहरु ! तपाईहरु पनि केही मानिसहरुलाई लागेको क्रान्तिकारी लफ्फाजीको लुतोको आहात देखेपछि सुम्सुम्याउन जानुभयो र त्यो रोग स¥यो । अब माक्र्सवादी औषधि ग्रहण गर्नुहोस्, तब मात्र पुनः एकता हुन्छ ।