काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट अखिल नेपाल आदिवासी जनजाति महासंघले अगष्ट ९ अथवा विश्व आदिवासी दिवसको अवसरमा शुभकामना व्यक्त गरेको छ । महासंघका अध्यक्ष पवनमान श्रेष्ठले एक शुभकामना सन्देश जारी गर्दै ३० आँै विश्व आदिवासी दिवशको अवसरमा सम्पूर्ण आदिवासी जनजाति तथा नेपाली जनतामा हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो । अन्तर्राष्ट्रिय स्तरमा विश्व आदिवासी दिवश सन् १९९५ अगष्ट ९ बाट मनाउन शुरु गरिएको हो ।

शुभकामना वक्तव्यमा भनिएको छ, “नेपाल जस्तो बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देशमा पृथ्वीनारायण शाहले केन्द्रीकृत सामन्ती ब्रम्हाणवादी राज्य निर्माण गरेपछि यहाँका आदिवासी जनजातिहरुमाथि निरन्तर रुपमा जातीय उत्पीडन हुँदै आएको छ । यसका विरुद्ध राणाकालदेखि नेपालमा आदिवासी जनजातिहरुले संंघर्ष गर्दै आएका छन् । जातीय उत्पीडनको अन्त्य सबै जातीय समुदायलाई समान अधिकारको ग्यारेण्टी र शासक जातीय समुदायलाई दिइदै आएको विशेषाधिकारको अन्य हो । यसका लागि सुसंगत (अधिकतम) जनवादको अधिकार उत्पीडित जातीय समुदायलाई अनिवार्य छ । नेपालमा यसको उपलब्धिका लागि भएको संघर्षको उत्कर्ष जनयुद्धका क्रममा आदिवासी जनजातिहरुले सामन्ती ब्रम्हाणवादी राज्यका विरुद्ध गरेको संघर्ष थियो । तर जनयुद्धका मूल नेतृत्वहरुको राष्ट्रिय तथा वर्गीय आत्मसमर्पणले संघर्ष सफल हुन सकेन र यो मुद्दा अझै पनि नेपालमा यथावत रहेको छ ।

आज केपी ओलीको नेतृत्वको एमाले र काँग्रेसको सरकारले नेपालको विद्यमान संविधानमा रहेका केही प्रगतिशील प्रावधानहरु समानुपातिक र नाम मात्रैको भए पनि धर्मनिरपेक्षतालाई संविधान संशोधन गरेर खारेज गर्ने दिशामा गएको छ । ब्राम्हणवादी हिन्दुअतिवादी यी दुई पार्टीको नियोजित षडयन्त्रमा जनताको वलिदानबाट प्राप्त सिमित अधिकार जनताबाट खोसेर यहाँका सबै आदिवासी जनजातिलगायत उत्पीडित समुदायलाई अधिकार विहिन बनाई इतिहासको पाङ्ग्रा उल्टो दिशातिर फर्काकाएर सामन्ती ब्रम्हाणवादी हिन्दुअतिवादसहितको फासिवाद नेपालमा थोपर्ने दुस्साहास गरिँदैछ । जबकि नेपालमा उत्पीडित आदिवासी जनजातिको संख्या कूल जनसंंख्याको ३५% (सरकारी तथ्यांक अनुसार) रहेको छ । त्यसै गरी उत्पीडित दलित, मधेशी, महिला, मुस्लीम र वर्गसहित उत्पीडित जनताको संख्या ९०% भन्दा बढि रहेको छ । त्यसैले केपी ओलीको प्रतिगामी सरकारले उठाउन खोजेको प्रतिगामी कदमका विरुद्ध संयुक्त आन्दोलन सृष्टि गरी उक्त प्रतिगामी कदमलाई ध्वस्त पार्नु पर्दछ । यसका लागि हाम्रो महासंघ सबै उत्पीडित जातिहरुलगायतका संघसंस्थाहरुलाई हार्दिक अपील गर्दछ ।

यसका साथै आदिवासी जनजातिहरुको पूर्ण मुक्तिका लागि सुसंगत (अधिकतम) जनवादी अधिकार प्राप्त गर्न जातीय मुद्दालाई सबै उत्पीडित जनताको समग्र आन्दोलनसँग एकाकार गरी ब्राम्हणवाद र साम्राज्यवादका विरुद्धको संघर्षलाई शसक्त बनाउन आवश्यक छ । यसमा सम्पूर्ण आदिवासी जनजातिहरु एक ढिक्का भएर संघर्ष गरेर मात्र यो अधिकार प्राप्त गर्न सकिन्छ । त्यसैले यस आदिवासी दिवशको अवसरमा आदिवासी जनजातिहरुको आफ्नो अधिकार प्राप्त गर्न संघर्षमा उत्रन प्रेरणा मिलोस् भन्ने पुनः हार्दिक शुभकामना व्यक्त गर्दछ ।”

प्रतिक्रिया

सम्बन्धित खवर