घुमाउरो साहित्य

घुमाउरो साहित्य

 
शनिबारीय साहित्य : कविता
*** ***
 
घुमाउरो कथा
घुमाउरो कविता
घुमाउरो वाचन पद्धति
बुझ्दैनन् सीधा-सोझा जनता
बुझ्दैनन् कुल्ली-ज्यामीका सन्तान
बुझ्दैनन् मेरा गाउँका किसान ।
 
तर वरिष्ठ कवि भन्छन्-
सोझै लेख्न हुँदैन कविता
अत्याचारी विरुद्ध
भ्रष्टाचारी विरुद्ध
बलात्कारी विरुद्ध,
कवितामा
ठूला-ठूला विम्ब चाहिन्छ
ठूला-ठूला प्रतीक चाहिन्छ
विम्बात्मक हुनुपर्छ कविता
प्रतीकात्मक हुनुपर्छ कथा
सर्वसाधारणले नबुझ्ने हुनुपर्छ साहित्य ।
 
वरिष्ठ आख्यानकार भन्छन्-
अनेकार्थी हुनुपर्छ रचना
क्लिष्ट हुनुपर्छ शब्दजाल
निस्पक्ष हुनुपर्छ सिर्जना
उनीहरु भन्छन्-
जतिधेरै क्लिष्टता, उतिधेरै उत्कृष्टता
जतिधेरै विम्ब-प्रतीक, उतिधेरै सुन्दरता ।
 
सायद यही भएर होला-
कविहरु खोई के लेख्छन्?
कथाकारहरु खोई के लेख्छन्?
नाटककार/उपन्यासकारहरु
खोई के लेख्छन्?
बुझ्दैनन् खेतमा काम गर्ने किसान
बुझ्दैनन् कारखानामा काम गर्ने मजदूर
बुझ्दैनन् निर्धा-निमुखा जनता ।
 
अचेल कविहरु
कामुक ओठको कविता कोर्दैछन्
गजलकारहरु
सेक्सी नितम्बको गजल लेख्दैछन्
कथाकारहरु/उपन्यासकारहरु
यौनकुण्ठा र विलासिताको कथ्य बुन्दैछन्
उनीहरुको बुझाई छ-
बरु फूलको कविता लेखिनु पर्छ
बरु झरना/खोलाको गीत गाइनु पर्छ
बरु चञ्चल नयन र
पोटिला गालाको गजल बनाइनु पर्छ
प्रेमकथा र उपन्यासहरु लेखिनु पर्छ
तर…
देशको अराजकताको कथा लेखिनु हुँदैन
अत्याचारी/व्यभिचारीको पोल खोलिनु हुँदैन
राष्ट्र लुट्ने, जनता ठग्नेहरुको
विवरण समेटिनु हुँदैन
यदि यस्तो लेखिहाले पनि
सोझै लेख्न हुँदैन
अर्थात्, जनताले बुझ्नेगरी लेख्नु हुँदैन
जनताले चिन्नेगरी नङ्ग्याउनु हुँदैन
जनता सधैँ गुमराहमा हुनुपर्छ
जनताले उनीहरुको असली शत्रु
किमार्थ चिन्नु हुँदैन।
 
जबदेखि यस्तो फरमान भयो-
घुमाउरो कथा/कविता लेखेर
क्लिष्ट साहित्य रचेर
मेरा देशका लेखकहरु
मेरा देशका कविहरु
महान बन्ने होडमा जुटेका छन्
उत्कृष्ट बन्ने बाटोमा लागेका छन्
तर निर्धा-निमुखा जनता
विम्ब-प्रतीकको जालोमा लपेटिएर
क्लिष्ट शब्दजालको सुरुङमा अलमलिएर
कुहिरोमा हराएको काग भएका छन्
मूलधार सत्ता, राजनीति, सूचना, साहित्यदेखि
उनीहरु
बेखबर-बेखबर रहेका छन् ।