अनुभूति र धारणा – दश

शनिबारीय साहित्य ः संस्मरण
*** ***

 

साना साना बालबच्चाका बाबु आमाको मृत्यु भयो भने जाने–बुझेका ठूलाहरूले आकाशतर्फ देखाएर भन्ने गरेको पाइन्छ ‘तिम्रो आमा अथवा बाबा स्वर्गमा जानु भयो’ । आफन्तको वा जो कसैको मृत्युमा शुचिन्तकहरूबाट भन्ने गरेको सुनिन्छ ‘बैकुण्ठको बास होस् !’, ‘स्वर्गमा पुगोस् !’ कहाँ छ त बैकुण्ठ ? धर्तीमा छ कि आकाशमा ? नेपालमा छ कि अन्यत्र ? नेपालीले मात्र भन्छन् कि अन्यले पनि ? स्वाभाविक रूपमा उब्जिने जिज्ञासाहरू हुन् यी । तर तर्क सहित यही हो भनेर ठोस् गरेको भने भेटेको छैन अहिलेसम्म । आकाशमा स्वर्ग हुन्छ भन्ने भ्रम बाल मस्तिष्कमा मात्रै रोपिँदैन जानेबुझेका वा विज्ञान पढेर जीविका गरिरहेकाहरूमा पनि दह्रो गरि गडिबसेको हुन्छ । के साच्चै बैकुण्ठ आकाशमा नै छ त ? मेरो ज्ञानको दायरामा सीमित भएर छोटो चर्चा गर्न मन लाग्यो ।

केही दिनअघि बाकुलाई दायाँ पारेर १२,२०० मिटरको उँचाइमा यात्रा गरिरहँदा सिट अगाडि स्क्रिनको माइ फ्लाइटमा बाकु देखाएपछि वासुदेव शर्मा अधिकारीको ‘कुन चाहिँ धर्म कुन चाहिँ अधर्म’ पुस्तकमा व्यक्त गरिएका तर्कहरू सम्झिएँ । हुन त आकाशको यही मार्गमा उडेको यो पाँचौँ पटक थियो तर यस अघि बाकुबारे सुनेको थिइन र वास्ता पनि थिएन तर अधिकारीको पुस्तकमा बाकुबारे व्यक्त तर्कमा दम भएकैले हुनसक्छ मलाई ती तर्कहरू मनासिब लागेको । मलाई मनासिब लाग्नु मात्रै नभएर बाकुस्थ अर्थात् बैकुण्ठ बारे थप चर्चा हुँदै तथ्यमा पुगोस् भन्ने मनसायले पनि त्यहीँ मोबाइलमा टिपिएका मनका तरङ्गलाई यहाँ राखिएको हो ।

उक्त पुस्तकको पादटिप्पणीमा दिए अनुसार भोल्गाको तटमा बस्ने आर्यहरू विभिन्न समूहमा फुट्दै गएको र यौटा समूह कश्यपसागर पार गरि बाकु टर्की लगायत भूमध्ये सागर आसपास इराक इरान आइपुगे । जुन समूहको नेतृत्व विष्णुले गरेको र विष्णु बाकु भन्ने स्थानमा छन् भन्ने जनाउन बाकुस्थ भन्दै जाँदा ‘बैकुण्ठ’ भएको तर्क छ । एलबुर्ज पर्वत र अन्य पर्वत शृङ्खलाहरू मिलेर कमलको फूल जस्तो बनेको स्थान बाकु र विष्णु नाम गरेका टोली नेता बस्ने स्थान बाकुस्थ नै कमलको फूलमा सुतेका बैकुण्ठका विष्णुको मिथ बनेको भनाइ सहि होला नहोला तर आर्यहरू इराक, इरान, सिन्धुघाँटी हुँदै नेपालको पश्चिम पहाड छिरेका हुन् भन्ने भनाई तथ्यसहित सत्यको नजिक रहेको इतिहास त छँदैछ ।

आफ्नो जन्मस्थान सबैलाई प्यारो लाग्छ । हाम्रा पूर्खालाई पनि प्यारो लागेर मृतक आफन्तप्रति सहानुभूति प्रकट गर्दै बाकुस्थ पुगोस् भन्ने चाहाना व्यक्त गरेहुन् । सोही बाकुस्थलाई भन्दै जाँदा बैकुण्ठ हुन गएको र आध्यात्मवादीहरूबाट बैकुण्ठलाई स्वर्गको मिथ बनाएर प्रचारप्रसार हुन थालेको तर्क ‘कुन चाहिँ धर्म कुन चाहिँ अधर्म’ले कवितात्मक शैलीमा गजब विश्लेषण गरेको छ ।

हामी भौतिक जगतमा छौँ र पनि भौतिकतालाई बेवास्ता गर्दै मिथहरूमा पूर्ण विश्वास गर्दछौँ । मिथ भनेको जनमानसमा स्थापित सत्य हो । जसमा सत्यतामाथि काल्पनिकता हावी भएर सत्यता नै ओझेलमा परिरहेको हुन्छ । यसैमा बाकु पनि परेको हुनुपर्दछ । बाकुस्थ अपभ्रंश भएर बैकुण्ठ अर्थात् स्वर्गको मिथ बनेको कवि वासुदेवको बुझाईलाई व्यवहारतः देखे सुनेकै छौँ ।

मान्छे जहाँ जसरी बसे पनि सम्भव भएसम्म अन्तिम अवस्थामा आफ्नै माटो खोज्छ । आफ्नै पूर्खालाई स्मरण गर्दछ र मरेपछि आफन्त वा शुभचिन्तकले पनि पितृ अर्थात् बितिसकेका आफन्तकोमा पुगोस् भन्ने चिताउँछ । बितिसकेका आफन्त बैकुण्ठमा छन् भन्ने अर्को मीठो भ्रममा पनि बाँचिरहेको हुन्छ मान्छे र त्यही भ्रमलाई सत्य मान्नेहरूको पनि कमी छैन समाजमा ।

मरेपछि पुगोस् भनेर कामना गर्ने बाकुस्थ हाम्रा पूर्खाको उद्गमस्थल अर्थात् बैकुण्ठ भन्दा माथि आकाशमा म जिवितै थिएँ । उसो भए के म स्वर्गमा थिएँ त ? होइन, बाकुको समय र नेपालको समयमा १ घण्टा ४५ मिनेटको फरक पर्छ । काठमाडौंबाट दिल्लीको आकाश हुँदै बाकुको आकाश पुग्न करिब ५ घण्टा लाग्छ । म भौतिक सुविधा सहित बाकुमाथि पुगेको थिएँ । जहाँ म मात्रै हैन विज्ञानले आविष्कार गरेका स्रोत र साधनमा करिब ३०० जना मग्न थिए । कोही सिनेमामा कोही मोबाइलमा । एअरकन्डिशनसहितको आरामदायी यात्रासँगै आआफ्ना योजना र आआफ्ना गन्तव्यमा थिए । स्वर्ग कसैको गन्तव्य थिएन न त बैकुण्ठ नै । तर थियौँ बैकुण्ठ अर्थात् बाकुस्थ माथि !
२०८१÷३÷४