काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका संयोजक मोहन वैद्य किरणले तीन पार्टी बिचको एकताले क्रान्तिको लागि अत्यन्तै ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ । शनिबार पार्टी कार्यालय कुपण्डोलमा पार्टीको सूचना तथा प्रशारण प्रदेश समितिको एकता बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो विश्वास व्यक्त गर्नुभएको हो ।
उहाँले भन्नुभयो, “तीन पार्टीबिचको एकताको महत्व र मुल्य धेरै छ । यो एकतालाई सुदृढ गर्ने र स्थापित गर्न सबैले मिहनेत गर्नुपर्छ ।” उहाँले विचार, राजनीति, संगठन र संघर्षका हिसाबले पार्टीलाई माथि उठाउन, राजनीतिक तथा सामरिक कार्यदिशाको थप विकास गर्न पार्टीभित्र छलफल बहसको प्रक्रिया अगाडि बढाइएको बताउनु हुँदै अब बस्ने केन्द्रीय समितिको बैठकले पार्टीको एकताको महाधिवेशनको मिति तय गर्ने जानकारी दिनुभयो ।
उहाँले पार्टी र क्रान्तिका लागि मिडियाको भूमिका असाध्यै महत्वपूर्ण हुने भन्दै पार्टीद्वारा सञ्चालित मिडियाहरुको प्रभावकारी व्यवस्थापन र सञ्चालनमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औल्याउनु भयो ।
त्यसैगरी सूचना तथा सञ्चार समितिका इन्चार्ज गुणराज लोहनीले पनि सूचना र प्रविधिको उच्चतम प्रयोग गरी प्रचारको कामलाई अग्रमोर्चामा रहेर क्रान्तिको पक्षमा भूमिका खेल्नुपर्ने कुरामा जोड दिनुभयो ।
बैठकको सञ्चालन समितिका संयोजक हुकुमबहादुर सिंहले गर्नुभएको थियो । कार्यक्रममा तत्कालीन तीनवटै पार्टीको प्रचार विभाग तथा पार्टी प्रकाशनहरु वर्गदृष्टि साप्ताहिक, मूलबाटो डटकम, हाँक साप्ताहिक, हाँक टुडे डटकम, रातोखबर साप्ताहिक, इरातोखबर डटकममा कार्यरत सम्पादक तथा व्यवस्थापकहरु लगायत समितिमा रहेका नेताहरुको उपस्थिति रहेको थियो ।
बैठकले समितिको प्रदेश अधिवेशन असार १ गते, विभागको बैठक ७ गते र पत्रकार संगठनको एकता अधिवेशन असार ८ गते गर्ने निर्णय गरेको छ ।