
लेनिन पढेर कम्युनिष्ट समर्थक बनेको म, लेनिन पढेरै त्यतिबेलाको सबभन्दा ठूलो कम्युनिष्ट पार्टी नेकपा (एमाले) कम्युनिष्ट पार्टी होईन भन्ने निस्कर्षमा पुगेको थिएँ । लेनिन पढेर भएको मेरो अर्को उपलब्धीपूर्ण निस्कर्ष थियो । सरकार चलाईरहेको नेपाली कांग्रेसले यो देशको समस्या समाधान गर्न सक्दैन । त्यसैले सही कम्युनिष्ट पार्टीको खोजीमा म नेकपा (मसाल)को छेउमा पुगेको थिएँ । मसालको छेउमा पुगेपछि सबभन्दा पहिला पढेको पुस्तक थियो मोहनविक्रमको ‘गद्दार पुष्पलाल’ । किनकि मलाई सही कम्युनिष्ट को हो पत्ता लगाउनु थियो । एमालेले पुष्पलालको फोटो बोकेर हिड्ने हुँदा र मोहनविक्रमको गद्दार पुष्पलाल पढेपछि पुष्पलाल प्रति मेरो थप खोजको सिलसिला टुट्यो । किनकि ममा पुष्पलाल प्रति गलत भावनाको अंकुरण त्यहीबाट सुरु भयो ।
पछिसम्म मसाल नजिक रहेपनि मोहनविक्रम हिपोक्रेटिक नेता हुन भन्ने ठम्याई मेरो धेरै पहिलेदेखि थियो । तर समय अभावले खासै यतातिर खोज गरेर हिंड्न सकिएन । मोहनविक्रमको पछिल्लो लेख पढे , मोहनविक्रमले कार्वाही गरेर फालेका फरक धारणा राख्ने र एकता चाहनेहरुलाई उनीहरु अर्को आधारभूत नीति मिल्ने पार्टीसँग एकता गर्ने भएपछि उनीहरुलाई फुटपरस्तको आरोप लगाएका छन् ।
कम्युनिष्ट आन्दोलनमा आवद्ध भएकाहरुको लागि ‘मोहनविक्रम सिंह’ नौलो नाम होईन । विगत पचासौँ वर्षदेखि उनले एउटा कम्युनिष्ट बताउने समुहको नेतृत्व अकन्टक गर्दै आईरहेका छन् । नेतृत्वमा रहिरहनको लागि कैयांै पटक कम्युनिष्ट पार्टी फुटाउने गरेका छन् । कैयांै पटक जुट्नबाट रोकेका छन्, रोक्ने प्रयत्न गरेका छन् । यी कुराहरुलाई उनले कम्युनिष्ट पार्टी बचाउनको लागि गरेको सम्झौताहीन सैद्धान्तिक संघर्ष भन्ने गरेका छन् । २००७ सालमा नेपाली कांग्रेसको राजनीति गरेका मोहनविक्रम सिंह २०१० मा कम्युनिष्ट पार्टीमा लागे ।
२००७ को राजनीतिक परिवर्तनले सामन्तवादी उत्पादन संरचनामाथि केही अंकुस लगाउने कामको सुरुवात ग¥यो । जस्तो बेठिबेघारी उन्मुलन । बेठिबेघारी उन्मुलन गर्ने नेपाली कांग्रेसको घोषणाले ठूला सामन्तहरुको ढाड भाँचिए जस्तै भएको थियो । रुस र चीनमा गरिएको भूमिसुधारको समाचारले पनि सायद सामन्तहरु आत्तिएका थिए । त्यसैले सातसाल पछि ठूलो संख्यामा सामन्तहरु र उनका परिवार जो बाहिरी समाचारको अलि ज्ञान राख्थे उनीहरु हतार हतार नेपाली कांग्रेसमा प्रवेश गरे । उनीहरुलाई थाहा थियो शक्ति अव कांग्रेसमा आउँछ । हामी आफै त्यहाँ भएपछि हाम्रो सुरक्षा हुन्छ ।
प्यूठानका सामन्त खिम विक्रमका माहिला छोरा मोहनविक्रम सिंह कांग्रेसमा माथि भनिएको कारणले लागे वा अन्य कारणले अहिले भन्न मुश्किल पर्छ । तर उनी त्यो बेलाका सामन्तशाही परिवारका सदस्य भएको कारणले अनुमान चै लगाउन सकिन्छ । तर उनी नेपाली कांग्रेसमा भने धेरै समय टिकेनन् । सुर्कने थैलीमा चाँदीका मोहर पोको पारेर भरियालाई सुटकेस बोकाएर पढ्नको लागि काठमाडौं झर्ने हैसियत त्यतिवेला जो कोहिको हँुदैनथ्यो । हरुवा चरुवा र कमारा पाल्ने परिवारमा हुर्किएका मोहनविक्रम एकाएक कस्तो, कसरी र किन दिव्य माहापुरुषमा रुपन्तरण भए ? किन खलाबाट अन्न किसानहरुलाई बाँडे र किसानहरुसँग आफ्नै बाबुले गरेका जाली तमसुक जलाए ? एकाएक कम्युनिष्ट किन र कसरी बने ? निकै रहस्यका कथाहरू उनीबारे प्रचार गरिन्थे । तर पछिल्लो समयमा प्रचार गरिए जस्तो आफूले तमसुक नच्यातेको सिँहले स्पष्ट गरेका छन् । नेपालको कम्युनिष्ट आन्दोलनमा अधिकांस निम्न पुँजीपतिहरुको बाहुल्यता रहेको हुँदा यस्ता प्रश्नहरुमा वहस भने विरलै हुने गर्छ ।
कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ रामेछाप जिल्लामा सामान्य परिवारमा जन्मिएका थिए । उनका दाजु गंगालाल श्रेष्ठलाई जहाँनिया राणाशासनको बिरोध गर्दा राणाहरुले मृत्यदण्ड दिएका थिए । राजनीतिक वारावरणमा हुर्किएका पुष्पलाल दाजुलाई तानाशाहीको बिरोध गर्दा दिइएको मृत्युदण्ड आफ्नै आँखाले देखेका मानिस थिए । उनी दाजुसंगै राणा शासनको विरोधमा लागेका थिए । प्रजा परिषद् माथिको दमन देखेका उनी नेपाली राष्ट्रिय काङ्ग्रेस हुँदै नेपाल कम्युनिस्ट पार्टी निर्माण गरेर संस्थापक माहासचिव भएका थिए ।
भारत बसाईको क्रममा साम्राज्यवाद विरोधी भारत छोड आन्दोलनमा लागेका पुष्पलाल श्रेष्ठ अन्तर्राष्ट्रियवादी साथै संयुक्त संघर्षका पक्षपाती थिए । चिनियाँ क्रान्तिबाट प्रभावित पुष्पलाल श्रेष्ठ नेपालमा पनि तानाशाही व्यावस्थाको विरोध गर्ने सबै सँग एकता गरेर संघर्ष गर्नुपर्छ भन्ने राय थियो । उनको एकतामा धेरै बल हुन्छ भन्ने कुरामा विश्वास थियो ।
कम्युनिष्ट पार्टीको पहिलो सम्मेलनबाटै गणतन्त्र र संवैधानिक राजतन्त्रको विषयमा मतभेद आएर राजावादी पक्षधरले माहासचिवबाट हटाइएका भएपनि उनले पार्टीमै रहेर गणतन्त्र र संयुक्त आन्दोलनको पक्षमा संघर्ष गरिरहे । माक्र्सले मजदुरमाथि मालिकले कसरी तरिका मिलाएर शोषण गर्छन् भन्ने देखे, आफै शोषणमा परे । त्यसैले उनले मालिकले कसरी हामीलाई वेवकुफ बनाएको छ भनेर हिसाबकिताब सहित मजदुरलाई बुझाउँदै जाने प्रयत्न गरे । सहपाठी मजदुरहरुलाई गरिएको बुझबुझारथ नै पूँजी हो । शोषण छ भनेर बुझाए पछि, त्यसो भए के गर्नु पर्छ र कस्तो हुनुपर्छ त भनेर आएको प्रश्नको उत्तर नै कम्युनिष्ट घोषणा पत्र हो । लेनिन मध्यम वर्गमा जन्मे । उनका दाजुमा मध्यमवर्गीय उग्रकान्तिकारी चेतना हावी थियो । जनतामाथि मनलाग्दी शोषण गर्ने तत्कालीन जार सम्राट्हरु मारेर शोषण समाप्त गर्न सकिन्छ भन्ने दाजुको विचार थियो । सोही कारण उनी फाँसीमा झुण्ड्याईए । यही मुख्य कारण थियो लेनिन कान्तिकारी कम्युनिष्ट बन्नुमा । उनले शोषकलाई मारेर होइन सत्ता नै हातमा लिएर उनीहरुलाई गलहत्याउनु पर्छ । यसको लागि दास, किसान र सेनासँग एकता गर्नुपर्छ । यही विचारले लेनिनलाई कम्युनिष्ट बनायो ।’ हरेक घटनाको कारण हुन्छ र कारणको निवारण हन्छ ।’, माक्र्सको ‘भौतिक परिस्थितिले चेतना निर्माण गर्छ्र’ भन्ने सिद्धान्तसँग मिल्दोजुल्दो सिद्धान्तका प्रणेता सिद्धार्थ गौतम, आफ्नै माओली राज्यसँग युद्ध गर्नु पर्ने भएपछि दरवार र राजकाज त्यागेर हिँडेका थिए । हिन्दु धार्मिक दर्शन अनुसार राज्यसत्ताको लागि आफ्नै वन्धुवान्धवसँग पनि लडाइँ र काटमार गर्नु पर्छ । वन्धुवान्धव आफ्नै हातबाट मारिए पनि पाप लाग्दैन भन्ने मान्यता छ । हिन्दुहरुले आफ्नै वन्धुवान्धव बीच लडाइँ बनाउनकै लागि भागवत गिता जस्तो ग्रन्थ तयार गरेका छन् । यही हिन्दु दर्शनलाई अस्वीकार गर्दै सिद्धार्थले राज्य त्यागे । उनले राज्य मात्र त्यागेनन् यस्तो दर्शनको विकल्पमा शान्ति र भातृत्वको दर्शन निर्माण गरे । पाल्पाका विर्तावाल सामन्तका छोरा केशरजंग रायमाझी (दोस्रो महाधिवेसनपछिका महासचिव) मनमोहन अधिकारी (पहिलो सम्मेलन पछि नै पुष्पलाललाई फालेर बनेका महासचिव) मोहनविक्रम सिंह (जो झण्डै आधा दशकदेखि माहासचिव छन् । उनीहरु कम्युनिष्ट नेतृत्वमा आउनुको पछाडि न त घटना र घटनाको कारण छ, न त भौतिक परिस्थिति छ । यी दुवै भौतिकवादी दृष्टिकोणको आधारमा हेर्दा यिनीहरु कम्युनिष्ट आन्दोलनमा लाग्न पर्ने र नेतृत्वमा रहनपर्ने कुनै कारण देखिँदैन । उनीहरु मात्र होईन त्यतिबेला कम्युनिष्ट पार्टीमा लागेका र नेतृत्वमा रजगज गरेका धेरै कोही पनि वर्गीय उत्पीडनको कारणले कम्युनिष्ट पार्टीमा आएका थिएनन् । वर्गीय मुक्तिको दर्शन हो कम्युनिष्ट अर्थराजनीतिक दर्शन । तर कम्युनिष्ट पार्टीमा भने त्यस्ता मानिस आएर नेतृत्वमा रजगज गरे जो धेरैजसो कोही पनि वर्गीय उत्पीडनमा परेका थिएनन् । मनमोहन अधिकारी कम्युनिष्ट पार्टीको पहिलो महाधिवेसन पछिका नेता थिए । उनी उच्चमध्यम वर्गका मानिस थिए । निम्नमध्यम वर्गबाट आएका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ महासचिव बन्न सकेनन् । पहिलो महाधिवेसनबाट मनमोहन अधिकारी महासचिव बने । त्यसपछि कम्युनिष्ट पार्टीमा ठूलो संख्यामा विर्तावाल सामन्तहरु समेतको प्रवेश भएको इतिहास पाइन्छ । आफु चीन भ्रमणमा गएको बेलामा मनमोहन अधिकारीले पुष्पलाल वा डिपि अधिकारीलाई महासचिव नबनाएर केशरजंग रायमाझीलाई कामु महासचिव बनाउँछन । केसरजंग रायमाझी महासचिव भएको वेलामा त केन्द्रीय समितिको बहुमत नै राजा पक्षीय सामन्तहरुको कब्जामा पुगेको थियो । मनमोहन अधिकारी स्वयम् संवैधानिक राजावादी थिए । उनले खुलेरै यो विचार प्रकट गर्थे ।
केशरजंग रायमाझी रुस गएको वेला महेन्द्रले २०१७ मा नेपालमा निर्वाचित विपि कोईरालाको सरकार कु द्वारा अपदस्त गरे । केशरजंग रायमाझीले रुसबाटै महेन्द्रको कदमलाई प्रगतिशील बताएर समर्थन गरे । विपि लगायत कांग्रेस कम्युनिष्ट सवै नेता जेल परे । केशरजंग रायमाझीले वहुमत समुहलाई दरवार छिराएपछि तुलसिलाल, पुष्पलाल लगायत अल्पमतले रायमाझी ग्रुपलाई फालेर नयाँ समिति बनाए । यो पनि धेरै टिकेन । सोभियत कम्युनिष्ट पार्टीले सुधारवादी नीति अँगाले पछि तुलसीलालले सोभियतहरुको सुधारवादी नीति लिए भने पुष्पलाल नयाँ जनवादी गणतन्त्रको चिनियाँ नीतिलाई अगाडि बढाए । जेल बसेर छुटेका मनमोहन अधिकारी, मोहनविक्रम सिंह र शम्भुराम श्रेष्ठले काठमाडौँमा जम्मा भएर कम्युनिष्ट पार्टीको केन्द्रीय न्युक्लियस बनाए । पुष्पलालले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीसंग एकताको लागि पहल गरे पनि सफल हुन सकेन । न्युक्लियसमै पनि मोहनविक्रम सिंह र मनमोहन अधिकारी अलग अलग विचारधाराका थिए । मनमोहन अधिकारी संवैधानिक राजावादी थिए । यही कारण पुष्पलाललाई आफु वहुमतमा रहेको बेला पाखा लगाएका थिए । अहिले कसरी एकता हुन्थ्यो र । मोहनविक्रम सिंह नयांजनवादी गणतन्त्र पक्षधर त थिए तर पुष्पलालले जस्तो सामन्तवादको विरुद्ध नेपाली कांग्रेससँग कार्यगत एकता गर्ने कुरा अस्विकार गर्थे । त्यतिबेला पुष्पलालसँग एकता गरेर जानुपर्छ भन्ने तल्लोतहका समर्थकहरु पनि थिए । केशरजंग रायमाझीले वहुमत समुह दरवारमा लगेर विसर्जन गरेपछि र तुलसीलालहरुले सोभियत संसोधनको पक्ष लिएर क्रान्तिकारी विचार छोडेपछि वाँकी क्रान्तिकारीहरुलाई पुष्पलालले नेतृत्व दिने प्रयास गरेका थिए । तर पुष्पलाल भन्दा अझ क्रान्तिकारी देखिने प्रयास गरेर मोहनविक्रम सिंहले नेपाली कांग्रेससँग कार्यगत एकता नगर्ने नीति ल्याए पछि मोहनविक्रमलाई पछ्याउँदै धेरै कम्युनिष्ट समर्थकहरु चौथो महाधिवेसन आयोजकको नेतृत्व मुनि गोलबन्द हुन पुगे । मनमोहन अधिकारी न्युक्लियसबाट छुट्टिर नेकपा (मनमोहन) गठन गरे।यता मोहनविक्रम सिंहले पुष्पलालसंग नीतिगत संघर्ष गर्ने भनेर ‘गद्दार पुस्पलाल’ भन्ने किताब नै लेखे । नेपालको कम्युनिष्ट आन्दोलन लगभग लगभग ध्रुवीकरणको चरणमा थियो । राजावादीहरु, संवैधानिक राजावादीहरु र सोभियत संशोधनवादी जो सबै गरिखाने वर्गका विरोधी थिए, विर्तावाल र सामन्ती जमिनदार वर्गबाट आएका थिए । उनीहरु र साच्चै गरिखाने वर्गबाट आएकाहरुबीच कित्ताकाट र ध्रुवीकरण हँुदै थियो । यी सबैबाट पुष्पलाल अलग्गिदै थिए । तर जेलबाट भरखर छुटेका मोहनविक्रम सिंह जो नयाँ जनवादी गणतन्त्रका पक्षधर थिए, उनी भन्दा केही अगाडि नै पंचायत संग संझौता गरेर छुटेका (मोहनविक्रमले आफ्नै लेखमा उल्लेख गरेका छन) मनमोहन अधिकारी (संवैधानिक राजतन्त्रको पक्षपाती) संग मिलेर न्युक्लियस बनाउन पुगे, रहस्यको विषय छ । जनवादी गणतन्त्र पक्षधर पुष्पलाल श्रेष्ठसँग आफु जनवादी गणतन्त्रकै पक्षपाती भएर पनि किन पानी वारावार गरे ।
कम्युनिष्ट पार्टीमा लागेका विर्तावाल सामन्तहरु धेरै राजावादी र वाँकी पछि संसदवादी बने कसैलाई पनि गद्दार नभनेका मोहनविक्रम सिंहले जनवादी गणतन्त्र पक्षधर पुष्पलाललाई भने गद्दार वनाउन पुगे । नयाँ जनवादी क्रान्तिको मोडल चिनियाँ क्रान्तिको मोडल हो । जहाँ कम्युनिष्ट पार्टीले मुख्य शत्रु र गौण शत्रु छुट्याउँछ । मुख्य शत्रुसँग लड्न गौण शत्रु सँग कार्यगत एकता गर्छ । यही पद्धति अनुसार चिनियाँ क्रान्तिमा माओले स्थानीय सामन्ती युद्ध सरदारसँग लड्न राष्ट्रवादी प्रतिक्रियावादी पार्टी कोमिन्ताङ्, जापानी साम्राज्यवादी संग लड्न अमेरिकी साम्राज्यवादी र जनविरोधी भ्रष्ट च्याङ्काईसेक संग समेत कार्यगत एकता गरेका थिए । नेपाल पनि चीन जस्तै अर्धऔपनिवेशिक र अर्धसामन्ती अवस्थामा छ भनेर स्वीकार्ने मोहनविक्रम सिंह यही कुरा स्वीकार्ने पुष्पलालसँग नेपाली कांग्रेस जो निरंकुश राजतन्त्र विरोधी पार्टीसँग कार्यगत एकता गरेर पहिले निरंकुश राजतन्त्र फाल्नुपर्छ भन्ने कुरा मान्दैनन् ।
मोहनविक्रम सिंहले गद्दार पुष्पलालमा नेपाली कांग्रेससंग किन कार्यगत एकता गर्न हुन्न र किन पुष्पलालसंग पार्टी एकता संभव हुन्न भनेर धेरै नै व्याख्या गरेका छन् । त्यतिबेला मोहनविक्रम पुष्पलाल भन्दा धेरै नै क्रान्तिकारी देखिने प्रयत्न गरेका छन् । उनको मुख्य प्रयत्न पुष्पलालसँग पार्टी एकता हुनुहुन्न भन्ने हो । त्यही भएर चौथो महाधिवेशन पक्षधरहरुले पुष्पलाललाई पार्टी एक बनाएर लाने पक्षमा नरहेको भनेर प्रचार गरेका थिए । सच्चा कम्युनिष्ट पार्टी आफ्नो मात्र रहेको भनेर पुष्पलालले कम्युनिष्ट एकता गर्न नचाहेको भन्ने आरोप लगाएका थिए । इतिहास हेर्दा नेपालमा कम्युनिष्ट आन्दोलन तीसको दशकमा निकै मौलाएको पाइन्छ । यही दशकमा क्रान्तिकारी र छद्मभेसीहरुमा पनि कित्ताकाट हँुदै गरेको पाइन्छ । तर यही नै समय आधारभूत समानता हुँदाहँुदै पनि पुष्पलाल र अरु क्रान्तिकारी बीच एकता हुन नसक्नु दूर्भाग्यपूर्ण मान्न सकिन्छ । यसो हुनुमा मुख्य भूमिका मोहनविक्रम सिंहको देखिन्छ । मोहनविक्रम सिंहले भारतीय विस्तारवादलाई प्रधान सत्रु ठान्थे र नेपाली कांग्रेसलाई भारत परस्तको आरोप लाउने विपि कोईराला भारतपरस्त नेता हुन् भन्ने मोहनविक्रमको आरोप थियो । त्यसैले नेपाली कांग्रेससंग कार्यगत एकता गर्नु राष्ट्र विरोधीसँग कार्यगत एकता गर्नु हो भन्थे । यसले मोहनविक्रम सिंहलाई कट्टर राष्ट्रवादी भएको देखाउँथ्यो । यता नेपाली कांग्रेसलाई भारतपरस्त दलाल पँुजीवादी पार्टी बताएर नेपाली कांग्रेससँग कार्यगत एकता गर्न नहुने कुराले मोहनविक्रम सिंह खाटी क्रान्तिकारी भएको देखाउँथे । यही शब्दजालको भ्रममा परेर त्यो बेलाका धेरै क्रान्तिकारी पुष्पलाल विरोधी बने । उता पुष्पलाललाई चाहने,पुष्पलाललाई पढेर आउनेहरु यता मोहनविक्रम र चौथो महाधिवेसन पक्षधरहरुको बिरोधी बने ।
चौथो महाधिवेशन पछि भारतीय विस्तारवादलाई प्रधान सत्रु ठान्ने कि सामन्तवादलाई प्रधान सत्रु ठान्ने कुरामा मोहनविक्रम र निर्मल लामा बीच मतभिन्नता भयो । निर्मल लामा पनि पुष्पलाल जस्तैः नेपाली कांग्रेससँग कार्यगत एकताको पक्षमा रहे । मोहनविक्रमले निर्मल लामालाई सिआईडि भनेर आरोप लगाएको धेरै ठाउँमा प्रसंग छ । तर खास पुष्टि छैन । तर जे होस् निर्मल लामासँग फेरि पार्टी बिभाजित हुन्छ।कारण माथि नै उल्लेख छ । चिनियाँ क्रान्तिको स्थिति र नेपाली कांग्रेसको निरङ्कुश राजतन्त्र प्रतिको स्पष्ट दृष्टिकोणको कारणले नेपाली कांग्रेससँग निरंकुश राजतन्त्र विरुद्ध कार्यगत एकता गर्ने कुरा कुनै पनि कोणबाट गलत थिएन । अझ त्यतिबेलाको कांग्रेस विपि कोईरालाले नेतृत्व गरेको कांग्रेस थियो । विपि कोईरालाको अर्थ राजनीतिमा धेरै प्रस्टता थिएन । केही अलमल स्थिति थियो । तर विपि कोईराला साम्राज्यवाद विरोधी र अन्तर्राष्ट्रियवादी थिए । सांस्कृतिक रुपमा अहिलेका कथित कम्युनिष्टहरु भन्दा प्रगतिशील थिए । अमेरिकी उत्पादन पद्धति भन्दा चिनियाँ आत्मनिर्भर उत्पादन पद्धतिबाट प्रभावित थिए । भारतीय नेताहरु संग गहिरो हिमचिम रहेपनि स्वतन्त्रता पछि भारतीय नेताहरुले लिएको विस्तारवादी नीतिको छनक पाएरै नेपाल फर्किएका थिए । यद्यपि उनले भारतलाई विस्तारवादी भनेर आरोप नलगाएका भएपनि उनको स्थिति बुझ्न सकिन्थ्यो । यसैले पुष्पलाल श्रेष्ठले र निर्मल लामाले नेपाली कांग्रेससंग कार्यगत एकता गर्नुपर्छ भन्ने कुरा गलत थिएन । जहाँसम्म राष्ट्रिय पुँजीपति वर्गको पार्टीको हो वा दलाल पुँजीपति वर्गको पार्टी हो भन्ने कुरा उसले पछि अपनाउँदै जाने नीति, पद्धति र व्यवहारले पुष्टि गथ्र्यो । अर्को चरणमा फेरि के गर्ने भन्ने मार्ग उसले कस्तो नीति अपनाउँदै जानेछ भन्ने कुराले स्पष्ट पार्दथ्यो । क्रान्तिकारीहरुले चौथो महाधिशेसन पछिको फुट बेकार थियो र सबभन्दा घाटाजनक थियो भनेर समिक्षा गरिसकेका छन् । मेरो दृष्टिमा पुष्पलालसँग एकता हुन नसक्नु त्यतिकै घाटाजनक र दुर्भावना हो भन्ने ठहर छ । यसैले मैले अघि भनिसके क्रान्ति र परिवर्तनको आन्दोलनलाई पछ्याएर आउने गरिखाने वर्गका नवजवानहरुलाई विभाजित तुल्यायो ।
मोहनविक्रमलाई पढेर आउनेहरु र पुष्पलाललाई पढेर आउनेहरु एकआपसमा कहिले पनि नजोडिने स्थिति सिर्जना भयो । पुष्पलालको देहान्त पछि संशोधनवादीहरुले पनि पुष्पलालको फोटो बोकेर हिड्न थाले । पछिका पुष्पलाललाई चाहनेहरु संशोधनवदी धारतिर लाग्ने स्थिति बन्यो । समग्रतामा कम्युनिष्ट आन्दोलनलाई ठूलो क्षति भयो र हुने क्रम जारी नै छ । यही कारणलाई पछि निर्मल लामासँगको विभाजनलाई पनि मान्न सकिन्छ । तीसको दशक भन्दा अगाडिको कम्युनिष्ट पार्टीको फुट र विभाजनमा दुईजनाले मुख्य भुमिका खेले । १– मनमोहन अधिकारी २–केशरजंग रायमाझी । केशरजंग रायमाझी लगायतले कलकत्ताको क्याम्पवेल स्कुलमा मेडिकल पढ्दै गर्दा माक्र्सवादी अध्ययन समुह बनाएका थिए । सोही समूहमा बनारसमा पढ्ने मनमोहन अधिकारी समेत जोडिएका थिए । २००६ भाद्र अर्थात १९४९ सेप्टेम्बर १५ मा नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति बनाउँदा संस्थापक चार जना मध्ये सदस्य नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्ध वैद्य, नारायण विलास जोसीलाई कमिटीमा राखिएको थिएन । मोतिदेवी संस्थापक हुन् कि होइनन् भन्ने विवाद छँदैछ । केन्द्रीय कमिटीमा महासचिव पुष्पलाल श्रेष्ठ, सदस्य मनमोहन अधिकारी, शैलेनद्रकुमार उपाध्याय, डिपि अधिकारी, अयोध्या सिंह (जो भाकपा का थिए) समावेश थिए ।
२००८ सालमा कलकत्तामा भएको सम्मेलनमा राणाहरुलाई पार्टी सदस्य नबनाउने मौखिक सहमतिको विरोध भएको कुरा पुष्पलालले कम्युनिष्ट पार्टीको संक्षिप्त इतिहासमा उल्लेख गरेका छन् । राणा पनि धनी र गरिव हुन्छन् भनेर सदस्य बनाउनु पर्ने जिकिर केही सदस्यको थियो भनिन्छ । २०१० मा भएको पहिलो महाधिवेसनमा मनमोहन अधिकारीले नै २००६ मा तयार पारेको घोषणापत्र संशोधन गरेर गणतन्त्रको ठाउँमा संवैधानिक राजतन्त्र स्वीकार गर्ने भनेर प्रस्ताव गरेको र पारित भएको कुरा उनको इतिहासमा उल्लेख छ । २००८ को पहिलो सम्मेलनले पुष्पलाल श्रेष्ठलाई नै महासचिव बनाएको थियो । सदस्यहरु मनमोहन अधिकारी, तुलसीलाल अमात्य, सैलेन्द्र कुमार उपाध्याय, भाइसाहेव थिए । पछि शम्भुराम श्रेष्ठ र त्यसपछि केदार खनाल, धनुषचन्द्र गौतम, बिजयकुमार पनि थपियो । तर केही समय पछि नै पुष्पलाल श्रेष्ठलाई हटाएर मनमोहन अधिकारी महासचिव भए । सायद वहुमत आफ्नो पक्षमा पु¥याउन मनमोहन अधिकारीले सदस्य थपेका थिए र बहुमत पुर्यायपछि पुष्पलाललाई महासचिवबाट हटाईदिए र आफु बने ।
२०१० को अधिवेशनमा गणतन्त्रवादी नीति फेरेर संवैधानिक राजतन्त्रको नीति पारित गराए । संवैधानिक राजतन्त्रको लाईन बहुमतले पारित गरकोले २०१० मा मनमोहन अधिकारी वैधानिक महासचिव चुनिएको भनाई छ । जे होस् कम्युनिष्ट पार्टीमा पहिलो विवाद गणतन्त्रको विरुद्धमा संबैधानिक राजतन्त्रको वकालत गरेर मनमोहन अधिकारीले गरे । यही जगमा केशरजंग रायमाझीले राजतन्त्रको पक्षमा पकड बनाउँदै लगे । २०१७ मा महेन्द्रले कु गरेर सत्ता हातमा लिएपछि केशरजंग रायमाझीले त्यसको समर्थन गरे । केशरजंग रायमाझीको पक्षमा बहुमत थियो । अन्ततः कम्युनिष्ट पार्टी विभाजन भयो । पुष्पलाल श्रेष्ठले महेन्द्रको कुको विरुद्धमा संयुक्त संघर्ष गर्ने नीति लिए । मोहनविक्रम सिंहले संविधान सभाको चुनाव गर्नुपर्नेमा जोड दिए । केशरजंग रायमाझी राजावादी भए । २०१७ को कु पछि कु को पुरै समर्थन नगर्ने नेताजति सबै जेल हाल्ने काम भयो।केही भारतमा निर्वासीत भएर बसे । पुष्पलालले गणतन्त्रवादी र संयुक्त संघर्ष पक्षधरहरु समेटेर लाने प्रयत्न गरे । २०२७ चैत्रमा मोहनविक्रम सिह जेलबाट छुटेपछि अघि नै छुटिसकेका मनमोहन अधिकारी र शम्भुराम श्रेष्ठलाई मिलाएर न्युक्लियस बनाए । न्युक्लियसको मुख्य भूमिका पुष्पलालको नेपाली कांग्रेस समेत सित मिलेर संयुक्त संघर्स गर्ने नीतिको विरुद्ध प्रचार गर्ने र छरिएका कम्यनिष्टहरुलाई जोड्ने रह्यो । मनमोहन अधिकारीको लाईन गणतन्त्रवादी पुष्पलालसँग मिल्ने कुरै भएन ।
मोहनविक्रम सिंह कांग्रेस समेत संग कार्यगत एकता नगर्ने नीति लिएपछि मनमोहन अधिकारीको कुरो मिलेन र उनले फेरि आफ्नो छुट्टै पार्टी बनाए । सम्भुराम श्रेष्ठ मोहनविक्रम संगै चौथो महाधिवेसनमा लागे । कम्युनिष्ट पार्टी फुट्नुमा याहा सम्म निश्चित रुपमा सैद्धान्तिक असहमति नै प्रमुख कारण थियो । नीतिगत असहमति माथि उल्लेख गरि सकियो । नीतिगत असहमति कसरी जन्मिएको थियो ? कम्युनिष्ट पार्टीमा कस्ता मानिसहरु सुरु देखि नै प्रवेष गरे?नेतृत्व हत्याए । पार्टीलाई शोषक वर्गकै पक्षमा लाने प्रयत्न किन गरे ? लान नसक्दा अनेक बखेडा गरेर किन टुक्रयाए ? यो विषयमा वहस गर्नु आवश्यक छ । खासमा यो लेखको उद्देश्य पनि यही हो । नेकपाको पहिलो कार्यकारिणी समितिमा थपिएका मानिस अधिकांश भारतमा पढ्न गएका विर्तावाल जमिनदार र सामन्तका छोराछोरी थिए । स्थापनाकालको समितिमा रहेका सदस्य सबै निम्नमध्यम स्तरका थिए । पुष्पलाल श्रेष्ठ स्वयम् सहिद गंगालाल श्रेष्ठका सहोदर भाइ थिए । तर पहिलो कार्यकारिणी समितिमा पुष्पलाल बाहेक सबैलाई हटाईएको थियो । थपिएका मध्ये मनमोहन अधिकारी धनि जमिन्दारका छोरा थिए । भारतको कर्नोलमा जन्मिएका शैलेन्द्रकुमार उच्चघरानिया परिवारका मानिस थिए । पहिलो कार्यसमितिले राणाहरु पनि धनि र गरिव हुन्छन् त्यसैले राणाहरुलाई पनि सदस्य बनाउनु पर्छ भन्ने प्रस्ताव गर्नुले स्थापनाकालको समितिका मानिस हटाएर कस्ता मानिस कार्यसमितिमा राखिएको थियो प्रष्टै अनुमान लाउन सकिन्छ । किनकि त्यो बेलामा गरिखाने वर्गका राणाहरु लगभग शून्यको स्थितिमा थिए । सबै धनि र उच्च घरानियाहरु मात्र भएको कुरा अध्ययनले बताउँछ । दोस्रो महाधिवेशनबाट माहासचिवमा चुनिएका केशरजंग रायमाझी पनि विर्तावाल सामन्तकै छोरा थिए । केशरजंग रायमाझीको पालाका केन्द्रीय समितिमा अधिकांश जमिनदारहरु नै सदस्य थिए।२०१४ मा केन्द्रीय समितिमा चुनिएका मोहनविक्रम सिंह पनि सामन्त परिवारका मानिस थिए ।
कम्युनिष्ट पार्टीमा किन त्यसरी जमिनदारहरुको लर्को लाग्यो ? यस विषयमा ईतिहासको अध्ययन गर्न जरुरी छ । राणा शासन अन्त्य गर्न मुख्य भुमिका खेलेको नेपाली कांग्रेस पुँजीवादी पार्टी थिएन । सुरुको कालमा नेपाली कांग्रेस किसान र भूमि सुधारको पक्षपाती थियो । बेठिबेघारी उन्मुलन देखि बिर्ता उन्मुलन गर्न सम्म कांग्रेसको मुख्य भूमिका थियो । राणा सासनको अन्त्य हुँदै गर्दा चीनमा कम्युनिष्ट पार्टिले किसानहरुसँग मिलेर गरेको सशस्त्र जनयुद्ध सफलताको चरणमा थियो । एकपछि अर्को गर्दै सामन्त र जमिनदारहरु जमिन किसानले कव्जा गरिरहेका थिए । अन्ततः चिनिया कम्युनिष्ट पार्टीले युद्द जित्यो र सारा सामन्त र जमिनदारको जमिन किसानहरुलाई बाडिदयो । उता रुसमा धेरै पहिले नै सामन्ती दास प्रथा उन्मुलन गरिसकेको थियो । यी समाचारबाट राजा, राणा र सामन्तहरु त्राहिमाम थिए भन्ने कुरा सजिलै आकलन गर्न सकिन्छ । २००६ सम्ममा जम्मा कुल खेतिहर जमिनको ३७% जमिन विर्तवाल जमिनमा दर्ता भएको थियो।कुल एकतिहाई भन्दा वढी जमिनका मालिक मुठ्ठिभर विर्वावाल थिए । रुस र चिनको क्रान्ति देखेका विर्तावाल सामन्तहरुले आफ्नो हित रक्षा भविस्यमा उठ्न सक्ने किसान,मजदुर विद्रोहलाई दबायर हुन सक्दैन भन्ने बुझिसकेका थिए । सेनामा,रोजगारी र पढ्नको लागि वाहिरी मुलुकमा गएका नेपालीहरुले त्यहाँको वस्तस्थिति देखेका र विश्वमा के हुदैछ थाहा पाएका थिए।यसको असर नेपालमा परिसकेको थियो । किसानहरुले स्वतस्फुर्त बिद्रोह सुरुगरिसकेका थिए । त्यसैले आफ्नो हित रक्षा गर्ने हो भने भबिस्यमा शक्तिशाली बन्नसक्ने बिद्रोही शक्तिकै नेतृत्व आफुले लिनु पर्छ । यो नै हित रक्षाको बिकल्प हो भन्ने केही टाठा सामन्त र जमिनदारहरुको निस्कर्ष हो । जसको कारणले समाजवादी पार्टी नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीमा व्यापक रुपमा सामन्त, जमिनदार र विर्तावालहरुको प्रवेश भयो। कम्युनिष्ट पार्टी निर्माणमा महत्वपूर्ण भूमिका खेलेका, सहिद परिवारका सदस्य, नेपाल कम्युनिष्ट पार्टीका निर्माता पुष्पलाल श्रेष्ठ र उनका सहपाठीहरु समेतलाई पछि पार्ने काम संवैधानिक राजावादी र राजावादीहरुले गरे । उता राणा शासनको अन्त्यको लागि मुख्य भुमिका खेलेका नेपाली कांग्रेसका नेता विपि कोईरालालाई उनि प्रधानमन्त्री भएपछि विर्ता उन्मुलन गर्ने क्रन्तिकारी निर्णय गरेको केही समयमै राजा महेन्द्रले अपदस्त गरे । जनताको वाक स्वतन्त्रता समेत खोसेर निरङ्कुश तानासाही लादेका राजा महेन्द्रलाई कांग्रेसबाट गएका तुलसी गिरी लगायतले साथ दिए भने उता कम्युनिष्टहरु बनेका केशरजंग रायमाझी देखि शैलेन्द्र कुमार उपाध्यायसम्मले साथ दिए । ती साथ दिनेको लिस्ट धेरै ठुलो छ । जो सबै सामन्त र विर्तावाल जमिनदारहरु पहिले कम्युनिष्ट र कांग्रेस पार्टीमा लागेका थिए ।
२००६ सालमा स्थापना भयको कम्युनिष्ट १५ सालमा चुनावमा भाग लिदा ४ ओटा सांसद जितेको थियो।पिछडिएको अन्धधार्मिक चेतनाले ग्रस्त नेपाली समाजमा कम्युनिष्टहरुको यो प्रकारको बृद्दिदर उल्लेखनीय हो । छिमेकी चिनमा कम्युनिष्टको नेतृत्वमा सरकार चलेर क्रान्तिकारी रुपान्तरण भएको देखेका सामन्तहरु र सामन्तको नाईके राजाले नेपालमा कम्युनिष्ट क्रान्तिको खतराको राम्रै अनुभुति गरेको हुनुपर्छ । पहिलो विश्वयुद्द पछि जर्मनीमा घोर दक्षिण पन्थी राष्ट्रवादी पार्टी (नाजी पार्टी) को जोडतोडले विकास भयो।यस्तो खतरा वेलायत लगायत अरु देशमा पनि बढ्दै गैरहेको थियो । त्यसैले त्यस्तो खतरा वढ्नु अघि नै चलाख उदारवादी ब्रिटिसहरुले नाजिपार्टी बनाएका थिए । यही प्रकारको नीति दोस्रो विश्वयुद्ध पछि कम्युनिष्ट पार्टी बनाउने कुरामा लागु गरे । यही कुरा नेपालको कम्युनिष्ट पार्टी निर्माणमा सुरु देखि नै लागु गरिएको थियो भन्ने कुरा सजिलै अन्दाज गर्न सकिन्छ । आफ्नो जीवनकालभरि गणतन्त्रको पक्षमा संझौताहीन संघर्ष पुष्पलाल श्रेष्ठले गरेको पाईन्छ । यद्यपि पुष्पलाल श्रेष्ठका कतिपय कमजोरी नभएका होईनन् । तर कोही पनि मानिस सुपरपर्फेक्ट हुदैन भनेर मान्ने हो भने पुष्पलालको गणतन्त्र प्रतिको लगाव र देन अतुलनीय छ । तर उनलाई भने सधै विवादको घेरामा राख्ने गरेको पाईन्छ । पुष्पलालले कम्युनिष्ट पार्टी निर्माणकै चरणमा राजावादी र संवैधानिक राजावादीहरु संगको संघर्ष झेल्नु प¥यो । २०१७ भन्दा अगाडि मनमोहन अधिकारी र केसरजंग रायमाझि संगको संघर्स मुख्य रह्यो । त्यसपछि तुलसीलाल अमात्यहरु संसोधनवादी धारमा लागेपछि पुस्पलालले संसोधनवादी धार संग जुध्नु प¥यो । सुरुमा पुस्पलाल संग पार्टिमा आएका मदन भण्डारी पनि संसदिय संशोधनवादी धार समातेर पुस्पलालबाट अलग्गिए ।
अर्को चरणमा २०१७ सालमा संविधान सभाको चुनाव हुनुपर्छ भनेर, पुष्पलालको संसद पुनस्र्थापनाको लागि संयुक्त संघर्ष गर्नु पर्छ भन्ने धारको खण्डन गरेका मोहनविक्रम सिंहले संयुक्त संघर्षको लाईन विरुद्ध लडाइँ छेडे । गद्दार पुष्पलाल शीर्षकमा पुस्तक छपाए । यस्तो शीर्षकमा पुस्तक लेख्नु पुष्पलालको तेजोवध गर्ने अभिप्रायद्वारा प्रेरित थियो । पछि गएर ईतिहासले पुष्टि गरिसकेको छ । पुष्पलालकै लाईनल अनुसार नै २०४६ र २०६३ को परिवर्तन सम्भव भयो । त्यस अघि बीसको दशक अघि वा तीसको दशक अघि नै पुष्पलालको संयुक्त संघर्षको नीतिमा अघि वढेको भएअझ के के परिवर्तन हुन संभव हुन्थ्यो होला । अझ त्यतिवेला देशको सम्पूर्ण अर्थतन्त्र अर्धऔपनिवेशिक र सामन्ती अवस्थामा थियो । नेपाली कांग्रेस त्यतिवेला किसानको हितको पक्षमा वेठिवेघारी उन्मुलन, विर्ता उन्मुलन र जसको जोत उसको पोतको आन्दोलनमा थियो । स्मरणरहोस अहिले नेपाली कांग्रेस दलाल पूँजीवादी पार्टीको रुपमा रहेको छ । इतिहास दोहो¥याउन सकिन्न तर अव हुने गल्ति सच्याउन ईतिहासको समीक्षा गर्न जरुरी छ । मोहनविक्रम सिंहले गद्दार पुष्पलाल भन्नु गलत थियो भनेर समीक्षा गरेका छन् । तर त्यो समीक्षा दलाल पँुजीवादी पार्टीमा पुरै रुपान्तरण भएको नेपाली कांग्रेससँग चुनावी तालमेलमा जानुपर्ने भएपछि आएको छ । २०१७– २०१८ मा नेकपाको दरभङ्गा प्लेनममा पुष्पलालले संसद पुनःस्थापनाको लागि संयुक्त संघर्षमा जोड दिदा मोहनविक्रम सिंहले संविधान सभाको चुनावमा जानुपर्ने मत ल्याएका थिए । जवकि त्यतिबेलाको बस्तु– स्थिति समिक्षा गर्दा राजाको हातमा धेरै शक्ति केन्द्रित भएको थियो । कम्युनिष्टको बहुमतले महेन्द्रको कदमलाई स्वागत गरेको थियो भने तुलसी गिरी लगायत नेपाली कांग्रेसका प्रभावसाली नेताहरुले पनि महेन्द्रलाई सघायका थिए । संविधान सभाको चुनाव भए पनि राजाको पक्षमा बहुमत पुग्ने स्थिति बलियो थियो । २०४६ पछि संविधान सभाको चुनावको माग गरे । जवकि त्यतिवेलाको शक्ति सन्तुलनमा संविधान सभाको चुनावहुने छाटकाटै थिएन । तर २०६०÷६१ मा माओवादी र त्यतिवेलाको अन्तरपार्टी संघर्षमा संविधान सभाको कुरा उठ्दा प्रतिगमनले फाइदा पु¥याउँछ भनेर संविधान सभाको विरोध गरे । गणतन्त्र आएर संविधान सभाको चुनावको घोषणा गरेको अघिल्लो दिनसम्म पनि संविधान सभाको चुनावको विरोध गरिरहे । यसले के देखाउछ भने आफु फरक देखिनकै लागि तत्कालीन शक्ति सन्तुलन र वस्तुगत स्थितिको जानकारी बिनै मोहनविक्रमले नीति तय गर्छन । आफुले गरेका हरेक तत्कालीक राजनीतिक भविस्यवाणी मिल्छ ।
तत्कालीन राजनीतिको सही विश्लेषण गर्ने आफु मात्र एक्लो नेता भएको भनेर कार्यकर्ता विच व्यापक प्रशिक्षण मोहनविक्रमले गराउदै आयका छन् । फरक देखिन र एकतामा भांजो हाल्नकै लागि फरक मत ल्याउछन् । पछि त्यही पुग्नु पर्ने आफ्ना स्वार्थ जोडिए पछि पहिलेको कमजोरी थियो भनेर समिक्षा गराउने र चोखिने प्रयत्न गर्छन् । निरङ्कुश तानाशाही र राजतन्त्र विरुद्दको वा वर्गसंघर्स सबै मुख्य मुख्य आन्दोलनमा एक हुन अस्विकार गर्ने गरेका छन् । आन्दोलनबाट थोरै उपलब्धि प्राप्ति पछि लाभको पदमा जाने ठाउमा भने प्राप्त उपलब्धि गुम्ने खतरा छ भन्ने व्यापक हल्ला गरेर एकता कायम गर्ने गरेका छन् । जस्तो, २०४६ को आन्दोलनमा वाममोर्चामा सामेल हुन मानेन् तर संसदीय र स्थानीय चुनावमा भने त्यही वाममोर्चाका घटकहरू सित मिलेर चुनावी एकता गरेर लामो समय चुनावमा भाग लिए । ६२÷६३ को आन्दोलनमा पनि त्यही बेला नेकपा (एकताकेन्द्र मसाल) फुटाल्ने निर्णय गरे । संयुक्त आन्लोलनमा जोड नदिएर छुट्टै आन्दोलन गरेको नाटक गराए । सशस्त्र संघर्स गरेको माओवादी संग कुनै पनि एकता नगर्ने वाचा गरेका मोहनविक्रम माओवादी दलाल संसदीय पार्टीमा रुपान्तरण भएपछि भने चुनावी एकतामा पुगेका छन् । र सरकारमा समेत सहभागी भैसकेका छन् । आफुलाई नै सबभन्दा क्रान्तिकारी बताउने मोहनविक्रमले कांग्रेस संग समेत एकता गरेर उनीहरुकै चुनाव चिन्हमा चुनाव लड्न कार्यकर्तालाई बाध्य पारेका छन् । अर्को तिर आधारभूत कम्युनिष्ट सिद्धान्त मिल्ने पार्टीहरु बीच एकता नगर्न र एकता हुन नदिन वा भएका एकताहरु भाड्न टुपी देखि पैताला सम्मको बल लगाईरहेका छन् । यसरी कम्युनिष्ट आन्दोलनमा फुटपरस्त र गद्दार को भन्ने कुरा इतिहासलाई वर्तमानका कडीहरुसँग जोडेर हेर्दा प्रष्ट हुन्छ ।