कमान्डरको लास

शनिबारीय साहित्य  : कथा

 

कमान्डरका आँखा खुल्दा बिहानको मिरमिरे भएको थियो । उसले आकाश हेर्‍यो । आकाशमा अझै पनि ताराहरू टिलपिलाउँदै थिए । केही पर पुग्दा काग कराएको आवाज आयो । एकै छिनमा केही टाढा बम पट्किएको आवाज सुनियो । मानिसहरू कल्याङमल्याङ गर्दै हिँडिरहेका थिए । उसले आफू कहाँ छु भन्ने अड्कल काट्ने प्रयत्न गर्‍यो, तर सकेन ।
ऊ कपडाको स्ट्रेचरमा सुतेको थियो । शरीर पाखीले छोपिएको थियो । उसलाई यतिखेर प्यास लागिरहेको थियो । शरीर भतभती पोलिरहेको थियो । उकालो उक्लिदा र ओरालो झर्दा उसको शरीर यताउता हल्लिन्थ्यो । यसरी हल्लिदा शरीर सहनै नसक्ने गरी दुख्थ्यो ।
घाइतेलाई कसरी बोकिन्छ भन्ने थाहा थियो उसलाई । सुरुका दिनमा उसले पनि यसैगरी घाइते बोकेको थियो । युद्धमा मिलिसियाको काम युद्धसामग्री र घाइते बोक्नुहुन्थ्यो । ठुलठुला लडाइँमा मिलिसियाले मात्र युद्धको व्यवस्थापन धान्न सक्दैनथे । गाउँले र समर्थकलाई पनि स्वयम्सेवक बनाउनुपथ्र्यो । स्वयम्सेवकहरू मिलिसिया जस्ता भरपर्दा हुन्नथे । परिस्थिति प्रतिकूल भए घाइतेलाई बाटोमै छोडेर भाग्थे । यस्तो बेला मिलिसियाले नै घाइतेको उद्धार गर्नुपथ्र्यो ।
उसले कैयौँ कमरेडहरू घाइते अवस्थामा बोल्दाबोल्दै सहादत भएको देखेको थियो । आँखै अगाडि हवाइ आक्रमणमा परेर मारिएको पनि देखेको थियो । मोर्चामा घाइतेहरूको चित्कार नसुनेको हैन, तर पनि ऊ लडाइँसँग कहिल्यै डराएन । उही मान्छे आज बोल्नै नसक्ने गरी घाइते भएको थियो । केही समय अघिसम्म बाघ जस्तै हुङ्कार छोड्ने ऊ अहिले खाडा परेको बिरामी जस्तै भएको थियोे । तर पनि ऊ चिच्याएको थिएन । दुखाइको असैह्य पीडामा पनि एक शब्द निकालेको थिएन । ऊ जस्तै उसलाई बोक्नेहरू पनि नबोली नबोली हिँडिरहेका थिए ।
त्यसपछि ऊ निदायो ।
अर्कोपल्ट जाग्दा छर्लङ्ग उजेलो भैकेको थियो । यतिखेर ऊ घरको दलानमा थियो । उसलाई स्लाइन दिइएको थियो । स्लाइनबाट दबाई पनि दिइएको थियो क्यार ! उसलाई अलिक आराम भएको थियो ।
‘गोली निक्लियो कमरेड ?’ कसैले सोध्यो ।

प्रतिउत्तरमा निक्लियो भन्ने आवाज आयो ।
गोली लागेको त उसलाई थाहा थियो । गोली नै लागे पनि ऊ केहीबेर लडेको थियो । लड्नुभन्दा पनि उफ्रिएर जिपिएमजी समाउन पुगेको थियो । बुरुक्क उफ्रिएर जिपिएमजी नजिक पुगेको थाहा छ उसलाई । इन्सास तेर्साउँदै आफूतिरै आउँदै गरेको छापामार देख्दा सिपाहीहरू भागेका थिए । उसले जिपिएमजी कब्जा गरेपछि न हो जनसेनालाई युद्ध जित्न सहज भएको । त्यसपछि के भयो उसलाई थाहा भएन । अहिले उनीहरूको संवाद सुन्दा उसलाई थाहा भयो, ऊ गोली लागेर गम्भीर घाइते भएको छ । गोली निस्कियो भन्दा सन्तोषको सास फेर्‍यो उसले ।
उसले बिस्तारै हात चलायो । हातहरू सद्धे थिए । खुट्टा पनि चलाउन खोज्यो । खुट्टा भने मरिगए उठाउन सकेन । दुबै खुट्टा किलामा बाँधेजस्तै भएका थिए । कति बल गर्दा पनि उठाउन सकेन । गोली खुट्टामा लागेको रहेछ भन्ने अड्कल काट्यो उसले ।
ऊ निदाउन खोज्यो । केहीबेर त्यहाँको दिक्दारलाग्दो वातावरण बिर्सिएर सुदूर गाउँमा पुग्यो । आमाले ख्वाँकख्वाँक गर्दै बारी खनिरहेको सम्झियो । लामो समय भएको थियो आमालाई नभेटेको । जान्छु भन्दाभन्दै पनि जान पाएको थिएन । बिरामी आमालाई सहर लगेर दबाई गर्न चाहन्थ्यो । जाडोमा लगाउने एकजोर न्याना कपडा किनिदिन चाहन्थ्यो । तर यो सबै सपना जस्तै भएको थियो ।
गाउँको पखेरामा घुम्दाघुम्दै उसको हात छातीमा पुग्यो । छातीमा ठुलै घाउ रहेछ । जसमा यतिखेर पट्टी बाँधिएको थियो । ऊ गम्भीर भयो । ‘निश्चय पनि यो घाउ गोलीको हुनुपर्छ’, उसले अनुमान लगायो । हुन त घाउ दायाँ छातीमा थियो । दायाँ छाती अलि सुरक्षित ठाउँ हो भन्ने थाहा थियो उसलाई ।
धमाधम घाइतेहरू ल्याइँदै थिए । केही समयमै दलान र आँगन घाइतेले भरियो । स्वास्थ्य विभाग इन्चार्जले उपचार सकिएका घाइतेलाई लैजाने आदेश दियो । ऊ लगायत झन्डै दुई दर्जन घाइते बोकेर मिलिसियाहरू उकालो लागे ।
ऊ फेरि निदायो ।
जाग्दा बम र गोलीको चर्को आवाज आउँदै थियो । एकनास मकै भुटेसरी गोली पट्किँदै थिए । आकाशमा हेलीले फन्को मार्दै रहेछ । नजिकै कान खाने आवाज आयोे । कमान्डरले रुख र ढिस्कोको आड लिने आदेश दियो । तुरुन्तै बम फाट्यो ।

‘लन्चर हान्, लन्चर, नजिकै आउँदै छ ।’ फेरि कमान्डरले आदेश दियो । तुरुन्तै रकेट लञ्चरको आवाज आयो ।
‘भाग्यो, भाग्यो ।’ एकैचोटि धेरै आवाज आए ।
उसलाई बोकेका कमरेडहरू अघि बढे । त्यसपछि ऊ फेरि निदायो । जाग्ने र निदाउने क्रम चली नै रह्यो । छिनछिनमा निदाउँथ्यो छिनछिनमा जाग्थ्यो ।
जाग्दा रात परिसकेको थियो । भारी बिसाएर मिलिसियाकहरू आराम गर्दै थिए । सायद खाँदै थिए क्यार ! एउटाले चुरोट सल्कायो । चुरोटको गन्ध उसको नाकमा आएर ठोक्कियो । उसलाई पनि चुरोटको तलतल लागेर आयो ।
‘साह्रै थाकियो,’ स्वयम्सेवकले भन्यो, ‘हैन कस्तो भारी हो ! कतै मर्न त मरेन ।’
‘नचाहिने कुरो नगर,’ अर्कोले भन्यो, ‘कम्पनी कमान्डर हो । त्यति सजिलोसँग मर्दैन ऊ ।’
‘के तैँले चिन्छन् ?’ पहिलोले सोध्यो ।
‘काँ चिन्नु ? कम्पनी कमान्डर हो राम्ररी लैजानु भन्थी स्वास्थ्यकर्मी कमरेड ।’
‘कतै उसकै नाठो त हैन ?’
‘भनेको छु नचाहिने कुरो नगर । अरूलाई यस्तो आरोप लगाएको मन पर्दैन मलाई ।’
‘के तैँले कहिल्यै प्रेम गरेको छस् ?’ फेरि पहिलोले सोध्यो ।
‘गरेको थिएँ, धनी बाउको छोरो भेट्टाएर भागी ।’
‘तँ पनि गँबारै रै’छस् । पहिल्यै भगाउनु पर्दैनथ्यो ?’
‘तँ जस्तो पातकी हुँ र केटी भगाउँदै हिँड्ने ?’
‘पातकी ! हुँ !!’ उसले टाउको झट्कार्‍यो । दोस्रो बोलेन ।
केही घन्टापछि कमान्डरलाई अर्को स्वास्थ्यशिविरमा पुर्‍याए उनीहरूले । बाँकी रात उसलाई त्यही शिविरमा राखियो ।

अर्को दिन बिहानै हिँडेका उनीहरू केहीबेर खाना खान सानो गाउँमा रोकिए । आराम गरेर बस्ने समय थिएन । खाना खाँदाबित्तिकै हिँडी पनि हाले । दिन ढल्किदा उनीहरू फराकिलो बगरमा हिँड्दै थिए । एक्कासी आकाशमा हेलीले फन्को मार्न थाल्यो । एचएमजीबाट एकनास गोली बर्सिन थाले । सबैतिर भागाभाग भयो । सबैजना नजिकैको खोल्सो र जङ्गलतिर दौडिए । अब त्यो सुनसान बगरमा घाइते मात्र बाँकी रहे ।
निरन्तर रकेट र बमगोला पट्किएको आवाज आई नै रह्यो । हेली हुइँकिदै जान्थ्यो र नाङगो डाँडोमा हिँडिरहेका छापामारका लस्करमाथि रकेट खसाउँथ्यो । फन्को मार्दा कैयौँ रकेट बगरमा खसे । बगरको आसपासमा घन्टौँ दोहोरो मुठभेड भयो ।
कमान्डरले ज्यानको माया मार्‍यो । बाँचिएला भन्ने झिनो आशा पनि बिस्तारै हराउँदै गयो । घाइतेहरू चिच्याउँदै थिए । साथीहरूलाई बोलाउँदै थिए । ऊ भने मुढो जस्तै लडेको थियो । न बोल्न सक्थ्यो न उठ्न ।
साँझ पर्नै लाग्दा भिडन्त रोकियो ।
हेली फर्किएको आधा घन्टापछि स्वयम्सेवकहरू आए । त्यो सुनसान बगरमा अब स्वयम्सेवक र मिलिसिया मात्र थिए । छापामार अघि नै हिँडिसकेछन् । घाम अस्ताइसकेको थियो । बगरमा रिमरिम अँध्यारो झरिसकेको थियो ।
‘कमान्डरको लास कुन हो कमरेड ?’ स्वयम्सेवकले सोध्यो ।
‘लास रे ! हैन के भन्छ यो ?’
‘लासै त हो । अब कति नै बाँच्ला र !’ उसले थप्यो, ‘कमरेड हेर्नोस् त कतिका स्ट्रेचर ? हैन अघि त याँ एउटा मात्र थियो त !’
‘परेन फसाद ? हैन कुन हो हाम्रो ?’
‘जुन बोके पनि हुन्न र ! जुन लगे पनि माओवादी नै लाने हो क्यारे !’
‘त्यसो भनेर काँ हुन्छ ? कमान्डर खै भन्दा के भन्ने ?’
‘मर्‍यो भन्दिउँला नि !’
‘तैँले खालि नचाहिने कुरो गर्छस् । तँ किन यति निर्दयी भएको ?’

‘यी माओवादीहरू पटक्कै मन पर्दैनन् मलाई,’ उसले फुसफुसाउँदै भन्यो, ‘न भनेको बेला खान पाइन्छ न पिउन । यिनीहरू नआउन्जेल हामी कति स्वतन्त्र थियौँ ? मन लागेकोसँग रमाइलो गर्न पनि नपाइने । मन लागेको चिज खान पनि नपाइने । हैन यिनीहरूको शासन आयो भने त स्वास्नीसँग सुत्न पनि अनुमति लिनुपर्छ होला । हैन कमरेड ?’
‘तँ गँबारलाई के थाहा र यिनको सिद्धान्त ?’ मिलिसियाले भन्यो, ‘अर्काका स्वास्नीसँग नारिएर हिँड्ने तँ जस्तालाई कारबाही गरेर ठिकै त गरेका हुन् । अर्काकी स्वास्नीसँग उठबस गर्नुहुन्न भन्ने थाहा छैन र तँलाई ?’
‘उनीहरू के बालब्रह्मचारी होलान् र !’ उसले भन्यो, ‘प्रेम गर्न पनि नपाइने ?’
‘हैन के भन्छ यो ? घरमा स्वास्नी हुँदाहुँदै कस्तो प्रेम गर्ने हो ? त्यो पनि अरूकी
स्वास्नीसित । तँ साँच्चिकै पातकी रै’छस् । त्यसै कारबाही गरेका रैनछन् माओवादीले ।’
‘खानु न पिनु लास बोक्न लाउँछ । जाँठाहरू !’ ऊ भुनभुनियो ।
‘भन्द्या छु है बढी नबोल,’ कमरेड जङ्गियो, ‘हैन तँ घाइते बोक्न आ’को कि बहस गर्न ?’
उनीहरूले केहीबेर घाइतेहरूको जाँच पड्ताल गरे । लस्करै बाह्र पन्ध्रओटा स्ट्रेचर थिए । तिनैमध्ये एउटामा थियो कम्पनी कमान्डर । उसले उनीहरूको संवाद सुनिरहेको थियो । म यहाँ छु भन्न कैयौँपल्ट आँ पनि गर्‍यो । तर सकेन । अहिले पो उसलाई घाइते हुनुको पीडा महसुस भयो ।
उनीहरूको संवाद सुन्दा कतै यहीँ छोडिने त हैन भन्ने चिन्ताले व्याकुल भयो ऊ । नभन्दै उनीहरू ऊसँगैको अर्कै घाइते बोकेर अगाडि बढे ।
कमान्डर जिल्लियो । अब उसलाई कसले लैजाला ? कतै ऊ त्यो सुनसान बगरमा एकलै छुट्ने त हैन ?
बिस्तारै बिस्तारै अरू स्वयम्सेवकहरू आए । आ–आफ्ना स्ट्रेचर बोके र बाटो लागे । केही
समयमै बगरबाट सबै घाइतेहरू उठिसकेका थिए । मात्र कमान्डरको स्ट्रेचर छुटेको थियो । यसरी त्यो सुनसान बगरमा ऊ बेवारिसे भयो ।
यही बगर हुँदै रातभर मानिसहरू हिँडिरहे । घाइतेको अन्तिम खेप पनि अगाडि बढ्यो । तर उसलाई कसैले फर्किएर हेरेन । उसलाई लाग्यो अब ऊ यही सुनसान बगरमा मर्नेछ ।

रातसँगै चिसो बढेर आयो । हावा सायँसायँ गर्न थाल्यो । नदीपारि स्याल कराएको सुनियो । मनलाई जति नै कठोर बनाउँछु भन्दा पनि ऊ झनै कमजोर बन्यो । ऊ फेरि गाउँ पुग्यो । उसले दलानमा पुगेर आमालाई बोलायो । आमाले हतारिँदै ढोका खोलिन् ।
‘बाबु तँ आइस् ? तँ आइस् छोरा !’ उनले आँसु बगाउँदै भनिन्, ‘तँ नआएको भए म कसरी बस्थेँ हुँला र !’
कमान्डर आमासँगै मझेरीमा पुग्यो ।
‘मलाई छोडेर किन जान्छस् बाबु ! यो संसारमा तँबाहेक अरू को नै छ र मेरो !’ आमाले के के हो के के भन्दै अलापविलाप गर्दै थिइन् । उनको दुब्लो र चाउरी परेको अनुहारमा अनन्त पीडा छचल्किएको प्रष्ट देखिन्थ्यो ।
‘भो भो शान्त हुनोस् । म अब आएँ नि आमा !’ उसले आमाका आँसु पुछिदिँदै भन्यो ।
‘ओहो ! कस्तो रमाइलो हुन्थ्यो बाँच्न पाए,’ उसले सोच्यो, ‘आमालाई एकपल्ट नभेटी मर्ने भएँ । मलाई क्षमा गर आमा ! म तिमीलाई जिउँदै मारेर मर्ने भएँ । मलाई भुल आमा !’
उसका आँखाबाट बरर्र आँसु खसे ।
***

जनसेना आधारक्षेत्रको गाउँमा केन्द्रित हुँदै थिए । त्यो गाउँ महाभारत पवर्त श्रृङ्खलामा पर्ने सुरक्षित ठाउँमा थियो । यतिखेर त्यो मगरबस्ती घाइतेको स्याहारसुसार गर्न र जनमुक्ति सेनालाई ख्वाउन जुटेको थियो ।
घाइतेलाई यही गाउँको हेल्थपोष्टमा राखिएको थियो । एकपछि अर्को गर्दै घाइतेहरू आउँदै थिए । मोर्चाबाट पठाइएका मध्ये तीन जनाले मात्र बाटोमा सहादत प्राप्त गरेका थिए । बाँकी सबै आइपुगे पनि कम्पनी कमान्डर अबेरसम्म आइपुगेन ।
बिहानै आउनुपर्ने कमान्डर दिउसोसम्म पनि नआउँदा बटालियन कमान्डरले सोधखोज गर्‍यो । सम्पूर्ण घाइते आइपुग्दा ऊ किन आएन ? उसको सहादत पनि भएको थिएन । फेरि सहादत नै भएको भए पनि कम्पनी कमान्डरलाई त्यत्तिकै गाड्न पाइन्न । त्यसो भए कहाँ गयो कम्पनी कमान्डर ? बटालियन कमान्डर सोचमग्न भयो । उसले सबै कम्पनी कमान्डरलाई जम्मा हुने आदेश दियो । घाइतेको जिम्मा लिने मिलिसिया कमान्डरलाई पनि डाकियो ।
बुझ्दा कम्पनी कमान्डर बगरसम्म आइपुगेको पत्ता लाग्यो । असाबधानीका कारण कमान्डरको स्ट्रेचर ल्याउनुपर्नेमा अर्कै स्ट्रेचर ल्याएको पनि थाहा भयो । घाइते कमान्डर बाटोमै छुट्नु भनेको सामान्य कुरो थिएन । भूलबस नै भए पनि गम्भीर गल्ती भैसकेको थियो ।
कमान्डरको खोजी गर्न सेनासहित दश जनाको टोली जाने भयो । छापामार थाकेर लस्त भएका थिए । हप्तौँको युद्धअभ्यास र मोर्चाको थकानले उनीहरू चल्नै नसक्ने भएका थिए । तर पनि मिलिसिया र स्वयम्सेवकलाई अघि लगाएर कमान्डरको खोजीमा हिँडे ।
बगरमा पुग्दा झमक्क रात पर्‍यो ।
‘कमान्डर त सुइँकिसकेछन् ।’ स्वयम्सेवकले भन्यो ।
‘हैन के भन्छ यो ? कम्पनी कमान्डर मरिसकेछन् !’ कमरेडले प्रश्नसूचक दृष्टिले उसलाई हेर्‍यो ।
‘मैले भनेकै थिएँ नि कमरेड,’ स्वयम्सेवकले भन्यो, ‘मलाई त हिजो नै मरे जस्तो लागेको थियो ।’
‘ओहो ! भर्खरका युवा थिए ! हाम्रै कारण यिनको मृत्यु भयो ।’ कमरेडले चित्त दुखायो ।
‘नचाहिने कुरो नगर कमरेड । कसरी हुन्छ हाम्रै कारण ?’ स्वयम्सेवक जङ्गियो ।
‘हिजो तेरै गलफतीले गर्दा अर्कै स्ट्रेचर बोक्न पुग्यौँ । हामीले नछोडेको भए उनको अकालमा मृत्यु हुने थिएन ।’ कमरेड पनि जङ्गियो ।
‘भो भयो ! यो हिजै मरिसकेको थियो,’ स्वयम्सेवकले आफ्नो भनाइलाई माथि पार्दै भन्यो,
‘मैले त हिजै भनेको थिएँ ।’
‘अब गाड्ने त होला नि !’ स्वयम्सेवकले थप्यो ।
‘गाड्छस् ! तँलाई था छैन यिनी कम्पनी कमान्डर हुन् भन्ने ।’
‘कमान्डर होस् कि कमिस्नर म लास बोक्दिनँ ।’

‘भन्द्या छु बढी नबोल । खालास् झापु । तेरै कारण मलाई कारबाही हुने भयो ।’
‘होस् न त ।’ स्वयम्सेवक च्याठ्ठियो ।
‘हैन, केको गलफती हो ?’ जनसेनाको सदस्यले सोध्यो, ‘कमान्डर जिउँदै छन् नि !’
‘छैनन्,’ स्वयम्सेवले संक्षिप्त उत्तर दियो, ‘मरिसकेछन् ।’
‘मरे हैन, मार्‍यौँ भन् न ।’ कमरेडले आँसु झार्दै भन्यो ।
‘हो र !’ जनसेनाले योबाहेक अरू प्रतिक्रिया जनाएन ।
***

जङ्गलनजिकै रहेको स्कुलमा कार्यक्रम हुँदै थियो । युद्ध जितेर आएको जनसेनाको स्वागतार्थ कार्यक्रम आयोजना गरिएको थियो । त्यही कार्यक्रममा बटालियन सह–कमान्डर र कम्पनी कमान्डरलाई सलामी दिइँदै थियो । सह–कमान्डरलाई मञ्चमा लगिसकिएको थियो । कम्पनी कमान्डरलाई पनि हतारहतार मञ्चमा लगियो । दुवै जनालाई गाड्नका लागि जङ्गल छेउमा खाडल पनि खनिदै थियो ।
कार्यक्रम स्थलमा मानिसहरू आउने क्रम जारी थियो । चउरको परपरसम्म मानिसको भिड थियो । मञ्चमा पार्टीका नेता, कमिस्नर, कमान्डर र गाजस प्रमुख बसेका थिए ।
कार्यक्रम सुरु भयो ।
सञ्चालकले भर्खरै जितिएको युद्ध र यसले पार्ने प्रभावबारे लामै मन्तव्य दिए । बटालियन कमान्डरले मृत कमान्डरहरूको उच्च मूल्याङ्कन गर्दै आफ्नो धारणा राखे । स्वास्थ्यकर्मीको टोली ढिलो गरी सभामा आयो । यो टोली गाउँमा आइपुग्दा नै ढिलो भएको थियो । खाना खाइसक्दा कार्यक्रम सुरु भैसकेको थियो । सभामा पुग्दासम्म कमान्डरले मन्तव्य राखिसकेका थिए ।
यही टोलीमा थिई कम्पनी कमान्डरकी प्रेमिका सिलू । यही टिमले युद्धमोर्चाबाट पठाइएका घाइतेको प्रथम उपचार गरेको थियो । कम्पनी कमान्डरको गोली यही टिमले निकालेको थियो ।
सिलू कमान्डरको स्वास्थ ठिक हुनेमा विश्वस्त थिई । आफूबाट छुट्टिदा उसको अवस्था त्यतिसाह्रो खराब पनि थिएन । कुममा लागेको गोली निकालिएको थियो । भाँचिएको खुट्टामा प्लास्टर गरिएको थियो । फेरि कमान्डरको सोच त्यतिसाह्रो कमजोर पनि थिएन । तर ऊ सभामा आइपुग्दानपुग्दै उसको विश्वास डगमगाउन थाल्यो । सभामा कम्पनी कमान्डरको मृत्यु भएको हल्ला फैलिएको थियो ।
कमान्डरको मृत्युको समाचार सुन्दा उसलाई भाउन्न भयो ।
ऊ दगुर्दै मञ्चमा पुगी । यतिखेर उसका आँखा अगाडि कालो बादल मडारिँदै थियो । ऊ रुँदै र चिच्याउँदै थिई । उसले कमान्डरलाई ओढाएको कपडा निकालेर हुत्याई । कमान्डर गुमाउनु पर्दा ऊ विक्षिप्त भएकी थिई । उसले कमान्डरको लासमा गम्लङ्ग अङ्गालो हाली । उसको चिच्याहट र स्पर्शले कमान्डरको अन्तश्चेतना तरङ्गित भयो । उसले कमान्डरको अनुहार मुसारी । उसका आँखाबाट ग्रीष्ममा वर्षिएको पानीका थोपा जस्तै गरी आँसुका थोपा खस्दै थिए । ऊ कमान्डरको अनुहारमा घोप्टिएकी थिई । आँसुका ढिक्का कमान्डरको अनुहारमा खस्दै थिए ।
उसको स्पर्श र आर्तनादले कमान्डरले आँखा खोल्यो ।
‘मलाई बचाऊ सिलू !’ कमान्डर फुसफुसायो ।
‘कमान्डर ! तपाईंको होस फर्कियो !? तपाईं जिउँदै हुनुहुन्छ ?’ उसले टाठो स्वरमा सोधी । उसको आवाजले मञ्चमा हलचल पैदा भयो ।
अतिशय संवेदनाले आवेशमा आउँदै कमरेड सिलू चिच्याई, ‘कमान्डर मरेका छैनन् ।’