डा रामप्रसाद ज्ञवालीको स्वप्नदृष्टि महाकाव्यको काव्यसरिताभित्र प्रवाहित भइसकेपछिक‍ो अनुभूति

डा रामप्रसाद ज्ञवालीको स्वप्नदृष्टि महाकाव्यको काव्यसरिताभित्र प्रवाहित भइसकेपछिक‍ो अनुभूति

शनिबारीय साहित्य : समीक्षा

 

प्रा डा महादेव अवस्थीले निकै सुक्ष्म र गहन अध्ययनकासाथ यस महाकाव्यको भूमिका लेख्नुभएको छ । श्रमशिल्पप्रतिको निष्ठाले भौतिक र आर्थिक रूपले समृद्ध बन्न सकिने र संसारभरिका मुलुक समृद्ध हुँदा कसैप्रति द्वेषको भाव नरहने व्यक्तिगत स्वार्थका लागि मरिमेट्न नपर्ने अवस्था रहेपछि `वसुधैव कटुम्वकम्´ को भाव जागृत भई विश्व अखण्ड राष्ट्रमा परिणत हुने स्वप्नदृष्टि यस महाकाव्यमा व्यक्त भएको र श्रमको महत्ताबोध नै यसको मुख्य विषयवस्तु रहेको कुरा उहाँले यसमा भूमिका लेखनका क्रममा भन्नुभएको छ ।

डा देवी नेपालद्वारा लिखित कवि `रामप्रसाद ज्ञवाली वैयक्तिक अनुभूति : निर्वैयक्तिक शब्दचित्र ´ शीर्षकमा महाकाव्यकार ज्ञवालीको खुलेर प्रशंसा गरिएको छ । यो आलेख पढिसकेपछि उहाँले नेपाली साहित्य क्षेत्रमा पुर्याउनुभएको उल्लेख्य र प्रशंस्य य‍ोगदानको बारेमा प्रष्ट हुन्छ ।

कवि ज्ञवालीको आफ्नै `आत्मनिवेदन तथा कृतज्ञताज्ञापन´ शीर्षकभित्र पसेर छिचोलिसकेपछि ज्ञात हुन्छ कि यो महाकाव्य जन्मिनको लागि आधार स्तम्भ कसरी बन्यो ।

उत्तरकोरिया भ्रमण मूल विषय रहेको र भ्रमण पूर्व मानसपटलमा उत्तरकोरियाप्रति रहेको धारणा जे थियो आफ्नै पाइतलाले सो भूमिमा स्पर्श गरेर त्यहाँका अवस्थिति, परिवेश वा चरम विकासक‍ो साक्षात्कार गरिसके पश्चात् ठीक विपरीत पाइसकेपछि आफू विस्मित रहेको र एउटा कवि हृदयले विना पूर्वाग्रह बोल्दा यो यात्रा महाकाव्यको रूपमा आएको कुरा उक्त आलेखमा प्रष्ट उल्लेख गरिएको छ ।

डा देवी नेपालका अनुसार आफैँ कवित्वचेतको उत्कर्ष विन्दुमा पुगिसक्नुभएका स्रष्टा हुँदाहुँदै पनि यस महाकाव्यलाई अझै परिष्कृत र निर्दोष बनाउँन काव्य मर्मज्ञहरूसँग अपील गरिएको र सहयोगप्रति नतमस्तक हुँदै प्रकट गरिएको कृतज्ञता अभिव्यक्तिले उहाँको विनयी स्वभाव प्रष्ट झल्किन्छ ।

पूर्वाभासबाट शुभारम्भ गरिएको यात्रा काव्य आत्मबोध भइसकेपछि टुङ्गिएको छ

सुन्दर शुभेच्छा युक्त काव्योद्गारबाट उठान गर्दै आफ्ना कविता नाम मात्रका निम्छरा भएको कुरा आत्मग्लानीकासाथ व्यक्त गर्दै गर्दा पनि अभिव्यक्तिमा सूक्तिमय मिठास पाइन्छ । स्वप्नमा दिवङ्गत पिताजी सँगको अपूर्व भेटलाई कुनै शुभ संकेतको पूर्वाभास भएको ठान्नुभएको छ महाकाव्यकारले ।

दोस्रो सर्गमा पूर्वाभासले साकार रूप लिने शुभ सङ्केत मिलेको प्रसङ्ग अभिव्यक्त गरिएको छ । उत्तरकोरियाको भ्रमणको निम्तो शुभ सङ्केत बनेर आएको छ ।

तेस्रो सर्गदेखि मिठासपूर्ण र सौर्न्दर्ययुक्त काव्य व्यञ्जनबाट आनन्दित हुँदै कविसँग सँगै यात्रारत रहेको अनुभूति हुन्छ पाठकलाई ।

चौथो सर्गदेखि छैटौं सर्गसम्म चीनको भव्य समृद्धि चित्ताकर्ष ढङ्गमा उद्गारित भएको छ। चीनतर्फ उडानका निम्ति ल्हासा विमानस्थलमा कुर्दै गर्दा एउटा कवि मनले तिब्बतमा राखिएको महाकवि देवकोटाको सालिकको दर्शन नगरी जान बाध्य हुँदा निकै मर्माहत भएको कुरा मार्मिक ढङ्गबाट उद्गारित गरिएको छ । मदन मुनालाई छोडेर ल्हासा पुग्नु परेजस्तो नियति अहिलेसम्म पनि रहेको मार्मिक अभिव्यक्तिले हृदय छिया छिया बनाउँछ । नाम मात्रैको प्रजातन्त्रलाई कविसँगै ऐक्वद्ध हुँदै धिक्कार्न मन लाग्छ पाठकलाई पनि ।

सातौं सर्गदेखि सोह्रौँ सर्गसम्म पाठकलाई उत्तरकोरियाको कल्पनातीत विकाससँग त्यहाँको सँस्कृति, सौर्न्दर्यसँग मज्जासँग साक्षात्कार गराइएको छ । पैतालाले स्पर्श नगरेरै सबै सौर्न्दर्यानुभूति गर्दै गर्दा मस्तिष्कमा सुन्दर चित्रात्मक बिम्ब बन्छ त्यहाँको परिवेशको । मीठो काव्य प्रवाहमा तरङ्गित भइरहँदा थाहै नपाई रहस्यको देश उत्तरकोरियाको बारेमा धेरै कुराको अवगत हुन्छ पाठकलाई । छातीभरि राष्ट्रप्रेम बोकेर राष्ट्रप्रति समर्पित रहँदै श्रमले लछप्पै भिज्ने अनुशासित र कर्तव्यनिष्ठ उत्तरकोरियाली जनताप्रति सम्मान जाग्छ भित्र भित्रै ! विस्तारवादी तथा साम्राज्यवादी राष्ट्रहरूको विपन्न र अल्पविकसित राष्ट्रप्रतिको मिचाहा र हेपाहा प्रवृत्तिले हृदयको भित्र दाग्छ र यस्तो प्रवृत्तिका विरुद्धमा खरो उत्रिने ऊर्जा दिन्छ यहाँ उद्गारित काव्य प्रवाहले पाठकलाई । एक्लै साम्राज्यवादी प्रवृत्तिसँग मुकाविला गर्दै आफ्नो स्वाधीनता र अस्तित्वको रक्षार्थ सधैँ सतर्कताकासाथ कटिबद्ध उत्तरकोरियाबाट नेपालले पनि शिक्षा लिनुपर्ने कुराको अन्तरबोध हुन्छ । यो महाकाव्य पढिसकेपछि हृदयको भित्री कुनामा राष्ट्रप्रेमले चस्स दुखाउँछ । असफल नेतृत्वप्रति असन्तुष्टि पैदा हुन्छ ; आफूले देशको लागि केही दिने कर्म गर्नु भन्दा पनि केही पाइन मात्रै भन्ने आफ्नै मनोवृत्तिलाई धिक्कार्न मन लाग्छ ।

अन्तिम सर्गमा अन्तर्बोधबाट उद्गारित भावहरू प्रष्फुटित छन्। जीवनको भोगाइबाट भुक्तभोगी भइसकेपछिका अनुभवहरू अत्यन्त मर्मस्पर्शी ढङ्गबाट अभिव्यक्त भएका छन् । शार्दूलविक्रीडित छन्दमा विरचित सुन्दर शुभेच्छाबाट उठान गरिएको महाकाव्य आफूमा आत्मबोध भएको प्रष्ट झल्किने शार्दूलविक्रीडतकै सन्देशमूलक र प्रेरणादायी भाव सम्प्रेषण गर्ने सुन्दर श्लोकबाट बिट मारिएको छ ।

कलात्मक सौर्न्दर्य र शैलीगत माधुर्यले घनीभूत यो महाकाव्य प्रशस्तै सूक्तिमय पङ्क्तिहरूले सुशोभित हुँदा अत्यन्त ओझिलो, रसिलो र मनोमु्ग्धकारी भएको छ ! साहित्यमा रुचि राख्ने जोसुकैलाई यसको माधुर्यले मजासँग तान्छ; मोहित तुल्याउँछ ! तसर्थ यो महाकाव्य पठनीय र सङ्ग्हणीय छ !

नेपाली साहित्यक‍ो उर्वर भूमिमा थुप्रै कृति उमारिसकेर आफू पनि वटवृक्ष जस्तै मजबुत हुनुभएका आदरणीय स्रष्टालाई उहाँका कलासौन्दर्यले अलङ्कृत सुललित सिर्जना पढ्न लालयित यो पाठकको सत् सत् नमन ।