शनिबारीय साहित्य : कविता
*** ***
भन्थ्यौ आउँछ देशमा जनमुखी सर्कारको शासन
भोको पेट भयो भनी घर घरै बाढ्छन् अरे रासन
आमा हिड्नु भयो क्रान्ति पथमा मै के गरी बाचुला
जे खोजे पनि पाउला भुवनमा आमा कहाँ पाउला ।
आमाको बलिदान भो मुलुकमा हौ क्रान्तिको नायिका
आमा सालिक बन्नु भो तर यहाँ नेता भए मालिक
आमाको छ अभाव हेर घर यो रित्तो छ के खाउला
जे खोजे पनि पाउला भुवनमा आमा कहाँ पाउला ।
तिम्रो त्यो ममता र मोह नहुदा मेरो नि चर्चा भयो
ल्यायौ राहत द्वन्द्वको त अहिले बाको बिहे खर्छ भो
पैसा छन् घरमा सुखै छ भनी रोजी लुगा लाउला
जे खोजे पनि पाउला भुवनमा आमा कहाँ पाउला ।
आँखा आँसु भरेर बस्नु कसरी रोकिन्न केही गरि
फुट्दैछन् मुल आसुको नयनमा बर्षे भदौरे झरी
बाबा हिड्छ रमाउदै शहरमा सन्तान के सोचला
जे खोजे पनि पाउला भुवनमा आमा कहाँ पाउला ।
गोर्की बन्नु समाजको हित गरि लेख्ने र बोल्ने गरौं
खुट्टा टेक्नु दरो गरि सकसमा आफै उजेलो छरौ
आमाको सपना पूरा म नगरी त्यो शान्ति काँ पाउला
जे खोजे पनि पाउला भुवनमा आमा कहाँ पाउला ।