थाङ्नाहरूसँग उत्तर हुँदैन

थाङ्नाहरूसँग उत्तर हुँदैन

शनिबारीय साहित्य : कविता
*** ***

 

दर्शन र थाङ्ना फरक छ

दर्शनमा बुझ्ने र फेर्नेसम्मका तागत हुन्छ

थाङ्नामा उडुसजुम्रा दुर्गन्ध सबै हुन्छ

चुस्छन् लुट्छन् जुम्रा उडुसहरू

हो, थाङ्ने र दार्शनिक उस्तै हुँदैनन् ।

 

संसार सजायो दर्शनले सजायो

सुन्दर विचारले संसार सजायो

व्यवहारले सजायो

मानवले सजायो

बिशिष्ट बुद्धिले नयाँ बनाउँछ

चेतना विजयी छ ।

याज्ञबल्क्य, कपिल, बुद्ध !

पाणिनी, कौटिल्य बाजेलाई सोध्नू नि पूर्व !

थेल्स, अनाक्सिमेन, अनाक्सिमण्डर

ग्रिसेली स्कूलहरूलाई सोध्नू

जर्मन युरोप स्कूलहरू हेर्नू

पाइथागोरस, डेकार्डे र स्पिनोजालाई सोध्नू पश्चिम !

सफल असफल शताव्दी शताव्दीलाई सोध्नू

अठारौं शताव्दी यतालाई सोध्नू

अहो विचित्र पूर्व र पश्चिम !

अहो विज्ञान, प्रविधि धर्म !

अहो पद्धति, तत्व, ज्ञान, आचारमीमांसा !

अध्याय अध्यायमा दर्शन छ

गासदेखि साससम्म दर्शन छ

कतै उर्ध्वगामी कतै थाङ्ने यथास्थिति

कतै पू्र्व, कतै पश्चिम !

तर विश्व एउटै हो

थाङ्नाका नभएर

द्वन्द्वात्मक नवचेतयुक्त मानिसहरूकै हो ।

 

मोक्ष, निर्वाण, मुक्ति !

ग्रीस, युनान, भारत !

दर्शन नयाँकै लागि

दार्शनिक नयाँकै लागि !

द्वन्द्वका इतिहास हेर्नू

सामन्तहरुका युग सामन्तहरूका थियो

ओैनिवेसिक युग विश्व दादाहरूका थियो

लौकिक र वैदिक ओैचित्य !

तत्व, ब्रह्म, प्रमेय, पदार्थ !

केवल

क्रान्ति उपज !

संसार पहिलेजस्तो छैन, हुन्न

भौतिक अभौतिक !

लोकायत सांख्य जैन, बौद्ध, योग, बैशेशिक !

न्याय, मीमांसा, वेदान्त र तिनका पद्धति !

द्वन्द्ववाद अधिभूतवाद !

आदर्श अनादर्श !

ज्ञान र प्रमाण सम्बन्ध !

अलौकिक अर्थात् लोकबाहिरका सत्य ?

कठै आदर्शका कारणवाद !

कठै ईश्वरवाद र भ्रान्ति !

कठै प्रकृति र सास्वत यथार्थ ?

परमाणु दर्शनमै मानिस कहाँ छ ?

शून्य र मायावादमा मानिस कहाँ छ ?

थाङ्नाहरूसँग उत्तर हुँदैन ।

 

तन्त्र र विज्ञान अतुलनीय छ

भौतिक र अभौतिक अतुलनीय छ

विज्ञान र अविज्ञान अतुलनीय छ

दर्शन र थाङ्ना अतुलनीय छ

पदार्थ र गति अन्योन्याश्रित !

निरन्तर खोजी नयाँकै छ

यही हो क्रान्ति चेत,

उडुस जुम्रामा हुन्न चेतना

थाङ्नाहरूसँग दर्शनका उत्तर हुँदैन ।

………

पोखरा